कर्पोरेट तीज

- विदुर खतिवडा

भाद्र १८, २०७३-  

आर्थिक पक्षबाट तीजलाई मूल्यांकन गर्ने हो भने यसले १ अर्ब रुपैयाँभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । तीजका गीत–संगीत र तिनका भिडियो, तीजका सांगीतिक–सांस्कृतिक कार्यक्रम, तीजको अवसरमा आयोजना हुने एक्स्पो, विभिन्न उत्पादक तथा सेवाप्रदायकले प्रदान गर्ने स्किम, उपहार, घर–घरमा हुने तीज कार्यक्रम, सौभाग्यका रूपमा प्रदान गरिने उपहार, विदेशमा आयोजना हुने कार्यक्रम आदिको सरसर्ती अनुमानित आँकडा हेर्दा तीजको अर्थतन्त्रले अर्ब रुपैयाँ नाघेको देखिन्छ । बर्सेनि तीजको व्यापकता बढ्दो छ र त्यहीअनुरूप यसको आर्थिक पक्ष पनि बृहत् हुँदै गएको छ । 


कुनै समय, लामो समयदेखि माइतीको अनुहार हेर्न नपाएका चेलीका निम्ति दाजुभाइको निम्तो मानेर माइत जाने पर्व थियो तीज । यद्यपि अहिलेको तीज धेरै फराकिलो भैसकेको छ । तीज नजिकिने क्रमसँगै साडी, लेहेंगा आदि पहिरन किन्ने, गरगहना जोड्ने, मनोरन्जक वातावरणमा नाच्ने, रेस्टुराँका परिकार र पेयपदार्थमा रमाउने चलन अहिले नयाँ संस्कृतिका रूपमा मौलाएको छ । सञ्चारकर्मी एवं तीज पर्वका विश्लेषक दुर्गा पंगेनी भन्छन्– ‘संस्कृति भन्ने कुरा मानव जीवनशैलीले स्थापित गर्दै लाने कुरा हो, अबका दिनमा संस्थागत तवरले तीज मनाइन्छ भन्ने मान्यता विकास हुनेछ, त्यही क्रममा सबै व्यवसायिक संस्थाले तीज कार्यक्रम आयोजित गर्न थाल्नेछन् ।’


भदौ ११ गते शनिबार तीन स्थानमा आयोजित तीज कार्यक्रमले अब तीज कार्यक्रम कति व्यापक भैसकेको छ भन्ने पुष्टि गर्छ । तीन फरक स्थानमा पाठक, थामे अधिकारी तथा वाग्ले बन्धु समाजले तीज दर कार्यक्रम भन्दै भव्य रूपमा तीज कार्यक्रम सम्पन्न गरे । म्हैपीमा वाग्ले बन्धु समाज तथा धापासीमा पाठक समाजको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका निम्ति कलाकारहरू नै निम्त्याइएका थिए । वाग्ले बन्धुको तीज कार्यक्रमलाई त एउटा टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण नै गरेको थियो । विश्लेषक पंगेनीका अनुसार एउटा थरसम्बद्ध कार्यक्रम यति भव्य हुनु तथा टेलिभिजनमा त्यसको प्रत्यक्ष प्रसारण हुनुले तीजको बढ्दो बजारलाई संकेत गर्छ । 

 


मानवशास्त्री विष्णु दाहालका अनुसार गत शनिबार विभिन्न सहकारी संस्था, बैंक, सामाजिक संस्था, समूह एवं राजनैतिक विचार सम्बद्ध संस्थाका तीज कार्यक्रमको बाढी नै लागेको थियो । त्यतिमात्र होइन, यो सिलसिला साउनको अन्तिम शनिबारदेखि नै सुरु भैसकेको थियो, भदौ ४ गते शनिबार पनि सयौं तीज कार्यक्रम सम्पन्न भए । 


यसरी पार्टी प्यालेसमा मझौला स्तरको कार्यक्रम आयोजना गर्न पनि करिब ५ लाख रुपैयाँ लाग्न सक्छ, त्यस आधारमा हेर्दा यस्ता कार्यक्रम विभिन्न स्थानमा कम्तीमा ५ सयभन्दा बढी भएका हुन सक्छन्, राजधानीबाहिरका यस्ता कार्यक्रमको कुरा अर्कै छ । यसको अनुमानित रकम हिसाब गर्दा डरलाग्दो आँकडा देखापर्छ । 

 

सामान्य संघ–संस्थाभन्दा माथि उठेर हेर्ने हो भने ठूला भनिएका व्यवसायिक संस्थाले पनि तीजको सांस्कृतिक पक्ष अवलम्बन गर्न थालिसकेका छन् । आमरूपमा तीजको महत्व व्यापक भएपछि त्यसको सिको गर्दै तीजको दर खाने कार्यक्रम कर्पोरेट हाउसहरूले नै सुरु गरिसकेका छन् । गत वर्ष एक दर्जन ‘ए’ क्लास बैंकहरूले तीजको भव्य कार्यक्रम सम्पन्न गरेका थिए । 

 

यो वर्ष पनि केहीले त्यसलाई निरन्तरता दिएका छन् भने केही नयाँ ठूला बैंकले त्यसको सुरुवात गरेका छन् । बैंकहरूले आफ्ना महिला ग्राहकलाई लक्षित गरेर विविध कार्यक्रम सञ्चालन गर्नुका साथै उपहारसमेत वितरण गर्छन् । यो ट्ेरन्डको सुरुवात एनबी बैंकले गृहिणी बचत खाता खोल्ने क्रमसँगै गरेको हो । आफ्ना महिला ग्राहकहरूलाई सम्मान गर्दै उनीहरूको चाडमा आफूलाई पनि सहभागी गराउने एनबी बैंकले नारीलाई सृष्टिकर्ताको संज्ञा दिँदै आएको छ । सुरुका केही वर्षमा यो बैंकले आफ्ना ग्राहकलाई चुरा तथा विभिन्न उपहार वितरण गर्‍यो ।

 

एनबी बैंककी बजार प्रमुख प्रतिभा लिम्बू ताम्राकार बैंकले तीजकै अवसर पारेर विविध कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन् । पहिले उपहार प्रदान गरिन्थ्यो भने गत वर्ष उपहारसहित एनबीको आँगनमा नाचगानको कार्यक्रम आयोजित गरिएको थियो । बैंककी ब्रान्ड एम्बेसडर माल्भिका सुब्बाको सहभागिता तथा विभिन्न गायक–गायिकाको गीतले उक्त कार्यक्रमलाई निक्कै रमाइलो बनाएको थियो । 


यस्तै सनराइज बैंकले पनि मेहन्दी लगाउने कार्यक्रमसँगै तीजको कार्यक्रम आयोजित गर्छ । बैंकले उक्त अवसरमा आफ्ना केही विशेष महिला ग्राहकलाई उपहार समेत वितरण गर्छ । सनराइजकी बजार प्रमुख रविना आचार्य आफूलाई तीज निकै मनपर्ने चाड भएकाले यसलाई धूमधामसँग मनाउनुपर्ने कुरामा जोड दिन्छिन् । आचार्य भन्छिन्– ‘तीज हरेक तह तथा तप्काले मनाउने पर्व भैसकेको छ, साथीभाइबीच उपहार आदान–प्रदान गर्नु तथा दर ख्वाउनु परम्पराका साथै आपसी प्रेम तथा सद्भावको निरन्तरता एवं त्यसप्रतिको समर्पण पनि हो । यो महिलाहरूको आत्मसम्मानको पर्व हो । 


एनआईसी एसियाले यही वर्षदेखि तीजको कार्यक्रम सुरु गर्दैछ । बैंककी निकिता बस्नेतका अनुसार अहिलेसम्म तीजका लागि भनेर कुनै कार्यक्रमको आयोजित गरिएको छैन तर अब आवश्यकता महसुस भएको छ । आफ्नो टिमभित्र निकै रमाइलो गरी तीज मनाउने उनको अनुभव छ । बस्नेत तीजलाई भावनात्मक तथा प्रेमको चाड भन्न रुचाउँछिन् । अब यो परम्पराले दर ख्वाउन माइती नै आवश्यक छैन भन्ने सन्देश दिएको छ । प्रभु, ग्लोबल, इन्भेस्टमेन्ट, नबिल, कुमारी, सिद्धार्थ, बैंक अफ काठमाडौं, लुम्बिनी, बंगलादेश आदिका ट्ेरड युनियन एवं महिला कर्मचारीहरूले तीजको अवसरमा विभिन्न कार्यक्रम तथा जमघट गरी तीज मनाउँदै आएका छन् । 


चाडपर्वको अवसर पारेर आफ्ना कुरा एक्सपोज गर्नसमेत पाइने भएकाले उत्पादक तथा सेवाग्राही संस्थाहरूले तीजलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्ने ट्ेरन्ड नै विकास भएको छ । बैंक जस्तै अन्य थुप्रै व्यवसायिक संस्थाले तीजको अवसरमा आफ्ना ग्राहकका निम्ति विशेष स्किम र उपहार सार्वजनिक गर्छन् । यसले २ वटा काम गर्छ । एकातर्फ परम्परागत मान्यताका चाड मनाएको प्रस्टिन्छ भने अर्कातर्फ आफ्नो हितअनुकूलको प्रचारको काम पनि हुन्छ । विभिन्न स्थानका हजारौं सहकारीले महिलामुखी कार्यक्रमको प्रवद्र्धन भन्दै तीजको कार्यक्रम राख्नुले यसलाई थप पुष्टि गर्छ ।


त्यसैगरी अन्य व्यवसायिक संस्थाहरूले आफ्ना महिला कर्मचारी तथा ग्राहकहरूलाई लक्षित गरी सामूहिक तीज कार्यक्रमको आयोजना गर्ने गरेका छन् । रिद्धिसिद्धि गहना पसलले हरेक वर्ष आफ्ना ग्राहकहरूलाई लक्षित गरी तीजको दर ख्वाउँदै आएको छ जहाँ स्थापित कलाकारहरूले प्रस्तुति दिन्छन् । कतिपय व्यापारिक केन्द्रले आफ्ना महिला कर्मचारीहरूलाई टीका–चुरा खर्च दिने क्रमको सुरुवात पनि गरेका छन् भने कतिपयले दर ख्वाउने कार्यक्रम नै सञ्चालन गर्छन् । 
संस्थागत दर खाने कार्यक्रमको विकसित स्वरूपका रूपमा कर्पोरेट हाउसहरूको दर खाने कार्यक्रम देखापरिसकेको छ । राजधानीका इन्द्रेणी ब्यांक्वेट, सिद्धार्थ, फुडल्यान्ड, बाजेको सेकुवा, ओएसिस क्याफे, मेगा पार्टी प्यालेस, कार्की पार्टी प्यालेस जस्ता थुप्रै रेस्टुराँ तथा पार्टी प्यालेसमा निरन्तर आयोजना भैरहेका दरखाने कार्यक्रमले अब तीजको स्वरूप कति बृहत् भैसकेको छ भन्ने प्रस्ट पार्छ । शनिबारको दिन एउटै रेस्टुराँमा १ दर्जनसम्म दर खाने कार्यक्रम आयोजित हुन्छन् । 

 

कर्पोरेट हाउसमा कार्यरतहरू नै विभिन्न राजनैतिक दल तथा तिनका सम्पर्क कमिटीमा रहने भएकाले तिनले आयोजना गर्ने तीज कार्यक्रमको संख्या पनि बढ्दो छ । यस्तै पेसागत पहिचानका छाता संगठनहरूले पनि तीज कार्यक्रम आयोजित गर्न थालिसकेका छन् । नेपाल सैनिक, चिकित्सक संघ, लोकदोहोरी प्रतिष्ठान, सौन्दर्यकला व्यवसायी संघ, इन्जिनियर्स एसोसिएसन जस्ता संस्थाले पनि तीज कार्यक्रमको प्रारम्भ गरिसकेका छन् ।

 

राज्यले अवैधानिक मानेको ढुकुटी खेलमा संलग्न हुनेहरूले मनाउने तीज अझ तडकभडक पूर्ण हुने विश्लेषकहरू बताउँछन् । तीज कार्यक्रमलाई नजिकबाट नियालेका दुर्गा पंगेनीका अनुसार तीज पार्टीमा २०–२५ जना मोटाघाटा महिला रातो साडीका साथ भरिभराउ गहना लगाएर हिन्दी गीतमा बेतालसँग नाचिरहेको देखियो भने त्यो ढुकुटी खेल्ने समूहको तीज भनेर बुझ्नुपर्ने हुन्छ । 


तीजले ठूला औद्योगिक घरानामा समेत प्रवेश पाइसकेको छ । तीजको पूर्वसन्ध्यामा ती व्यवसायिक घरानाले तीजको दरको नाममा भोज ख्वाउने गरेका छन् । चौधरी ग्रुप, खेतान समूह, गोल्छा अर्गनाइजेसन, पन्चकन्या ग्रुपमा तीज पार्टी आयोजित हुन थालिसकेको पंगेनी बताउँछन् ।

 

ठूला व्यवसायिक संस्थामा एक दिन भव्य पार्टी हुन थालेको छ, पंगेनी भन्छन्– ती कार्यक्रममा महिला मात्र होइन पुरुषहरू पनि सरिक हुन्छन् । कतिपय मिडिया हाउसहरूले तीज कार्यक्रमका साथै आफ्ना महिला सहकर्मीबीच तीजको उपहार आदान–प्रदान गर्न थालिसकेका छन् । पर्यटन, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था आदि क्षेत्रमा कार्यरतहरूले पनि भव्य रूपमा तीज कार्यक्रम सञ्चालन गर्न थालिसकेका छन् । 

प्रकाशित :भाद्र १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्