कुन बेला आउला त्यो समय, प्रिय वात्स्यायन ?

- किशोर नेपाल

भाद्र १८, २०७३-  

वात्स्यायन । रोमान्स र रति–रागका गुरु ।  

दुर्गा बराल । 
कला र शान्त जीवनका अनुरागी । 


यी दुवै नामका बीच खासै सामञ्जस्य देखिँदैन, तर दुर्गा बराल वात्स्यायनका नाममै आफ्ना कार्टुन कोर्छन् । बसिबियाँलो । टाइम पास । सबैलाई थाहा छ, उनका कार्टुन टाइम पास मात्र होइनन् । समयको सबैभन्दा संवेदनशील प्रतीक हुन् । चरम असंवेदनशील अहिलेको निर्मम समयमा पनि उनले कोरेका रेखाहरूले सरकार र समाजलाई सहजै हल्लाइदिन्छन् ।

 

कार्टुनका अवतारमा प्रकट हुने उनका रेखाहरू शाश्वत र कालजयी हुन्छन् । ती कार्टुन मात्र हुँदैनन् । समाजको प्रतिविम्ब हुन्छ तिनमा । ती कार्टुनमा मूक जनताका महत्वपूर्ण ध्वनि समेटिएको हुन्छ, तीखो र धारिलो शैलीमा । समाजको सूक्ष्म पर्यवेक्षण गर्ने र अनुभूत गर्ने अद्भुत दृष्टि र क्षमता छ दुर्गा बरालमा । त्यसैले उनी प्रिय छन, सबैका लागि ।

 

रमाइलो कुरा, दुर्गा बराल जवानीका दिनमा निकै रोमान्टिक थिए तर थिए साह्रै लजालु । यही लज्जाका कारण उनको रोमान्स एकतर्फी रह्यो । उनी कसैसँग खुल्न सक्दैनथे । कसैले गरेको प्रणय निवेदन स्वीकार गर्ने साहस गर्दैनथे उनी । बरालकै शब्दमा, ‘हो, म मानिस त रोमान्टिक नै हुँ । तर, साह्रै लजालु प्राणी ।

 

मौका परे प्रेम पनि गर्न खोज्ने तर अरूले देख्लान् कि भनेर सशंकित हुने । समाजले के भन्ला ? त्यसको चिन्ता त थिएन यद्यपि आफैंभित्रको लज्जालाई कहिल्यै जित्न सकिएन । जवानीका दिनमा एउटी केटीले विवाहको प्रस्तावसमेत राखेकी थिइन् । त्यो उनको मप्रतिको एकतर्फी प्रेम र आकर्षण थियो ।’


कार्टुन कोर्न थालेपछि, उनले आफूलाई स्रष्टा ‘वात्स्यायन’ का रूपमा नै प्रस्तुत गरे । यो नाम मौन अभिव्यक्ति बन्यो उनको व्यक्तित्वको ।
‘सिर्जना त्यति सजिलो छैन,’ दुर्गा भन्छन्, ‘निरन्तरको चिन्तनपछि मात्र विचारले आकार लिन थाल्छ । त्यो विचार आफ्नो हातमा हुँदैन, आफ्नो वशमा पनि हुँदैन । विचारलाई आफ्नो नियन्त्रणमा राख्न सकिने भए कति सिर्जना गर्ने थिएँ होला, यस्तै सोच्छु कहिलेकाहीँ ।’

 

‘कुनै पनि घटनाले चेतनाको तहमा प्रहार नगरेसम्म कार्टुन बन्दैन । मूल रूपले म कलाकार हुँ । तालिम लिएको पेसेवर कार्टुनिस्ट होइन । कार्टुन कलाकारिताको पपुलर फर्म हो मेरा लागि । कलाकारिता जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विधा पनि होइन । कलाले समृद्धिको माग गर्छ । कलामा सामान्य मानिसको रुचि भए पनि त्यो उनीहरूको पहुँचभन्दा निकै बाहिर हुन्छ । कार्टुन सामान्य मानिसले सहज रूपमा बुझ्ने कला हो । त्यसको सानो फ्रेममा उनीहरूले आफ्नो जीवनका विसंगत पक्षहरूलाई व्यंग्य र हास्यको भाषामा सजिलै बुझन् सक्छन्,’ दुर्गा बताउँछन् ।


उनले पहिलो कार्टुन लेखेका थिए आफ्नै होम प्रोडक्सन मासिक पत्रिका प्रांगणमा । विश्व शाक्य, अशोक पालिखे, नारायण कार्की, रामकाजी आदि साथीहरूको टिममा दुर्गा थिए कला सम्पादक । उनले त्यसमा पहिलो कार्टुन कोरे अघोषित लोडसेडिङप्रति व्यंग्य गर्दै : विद्युत् कर्पोरेसनको मिटर रिडरले लालटिन बालेर मिटर पढिरहेको चित्र ।

 

राजनीतिक र सामाजिक विषयमा केन्द्रित रहेर उनले कार्टुनका लागि आफ्नै ‘आइडिया’ खेलाएको चाहिँ साप्ताहिक राष्ट्रपुकारमा हो । त्यतिबेला परशुनारायण चौधरीले कांग्रेस छाडेका थिए । राजनीतिक क्षेत्रमा त्यसको निकै ठूलो हलचल थियो । दुर्गाले आकाशै खसेको हो कि भनेजस्तो गरी चलेको त्यो हलचललाई निरर्थक बताउँदै आफ्नो कार्टुनमा एउटा रूखबाट सामान्य पात खसेको घटनाका रूपमा प्रस्तुत गरे । कार्टुन सुपरहिट भयो ।


राष्ट्रपुकारपछि केही समय उनी अरू प्रकाशनतिर पनि काटुनिस्टका रूपमा देखिए । प्रजातन्त्रवादी र बीपीका प्रशंसकका रूपमा चिनिएका दुर्गाका लागि धेरै प्लेटफर्म भने थिएनन् । कान्तिपुर दैनिकसँग जोडिएपछि उनको कार्टुन कलाले संस्थागत रूप लियो । क्रमिक रूपमा उनले आफूलाई राजनीतिक एवं सामाजिक वृत्तमा महत्वपूर्ण टिप्पणीकारका रूपमा सर्वाेच्च मान्यता प्राप्त गरे ।


दुर्गा बरालको जीवन निकै जटिल रह्यो । सानै उमेरमा आमाको निधन भएपछि उनी उपेक्षित भए । परिवार ठूलो थियो । त्यहाँ उनी उपेक्षित भएको देखेपछि उनलाई फुपूले हुर्काइन् । उनी बाह्र वर्षसम्म आर्वामा बसे । त्यहीको स्कुलमा पढ्न थाले । पढाइ थियो संस्कृतको । अमर कोष र लघु सिद्धान्त कौमुदी घोक्नुपर्ने । पाठ नबुझाए गुरुले पिट्ने । त्यतिबेला उनका लागि पिटाइ खानु सामान्य थियो ।

 

उनी स्कुल नगएर जंगलका ठूला–ठूला ढुंगामा खरीले चित्र बनाउँथे । स्कुल नगएको थाहा भएपछि घरमा पिटाइ खानुपथ्र्यो । समय जटिल थियो उनका लागि । उनी कम पढ्थे र बढी चित्रकारिता गर्थे । अंगार र खरीले ठूला–ठूला ढुंगामा चित्र बनाउँथे । ती कलाकृतिका दर्शक उनका साथीभाइ नै हुन्थे । साथीभाइले आफ्ना चित्रको सराहना गरेपछि उनी दंग पर्थे । 


त्यसपछि उनी पोखरा आएर मामाघरमा बस्न थाले । त्यहाँ उनी कक्षा छ मा भर्ना भए । शिक्षकहरू उनको कलाकारितासँग परिचित थिए । उनलाई खुबै प्रोत्साहित गर्थे । उनी आठ कक्षामा पुगेपछि कथाकार मनु ब्राजाकी आइपुगे कक्षा आठमा भर्ना हुन ।

 

मनु गीत–गजल, साहित्य र कलामा रुचि राख्थे । दुवैको रुचि र मन मिल्यो, उनीहरू नजिकका साथी बने । एकपटक स्कुलमा एउटा आर्ट कम्पिटिसन भयो । प्रतियोगीमा दुर्गा र मनु दुवै थिए । जब मनुले दुर्गाले बनाएको हातको पन्जाको चित्र देखे उनी अभिभूत भए । मनुले भने, ‘म तिमीसँग चित्रकलामा कम्पिट गर्दिनँ । तिमी मसँग लेखनमा कम्पिट नगर । तिमी चित्रका मानिस हांै । म अक्षरको मानिस हुँ ।’


एसएलसी पास गरेपछि दुर्गा आइएस्सी पढ्न थाले । विषय थियो बायोलोजी । उनी जुन कलेजमा पढ्थे त्यो कलेजले स्वीकृति पाएन । कलेजकी एक प्राध्यापकले उनलाई वायोलोजीको साटो कला नै पढ्ने सुझाव दिइन् । त्यसपछि उनी २०२० सालमा काठमाडौं आए । त्यतिबेला सरकारको घरेलु विभागले डिजाइनरको तालिम दिन्थ्यो ।

 

तालिमेहरूले महिनाको ४५ रुपैयाँ छात्रवृत्ति पाउँथे । दुर्गाले तीन महिना उक्त तालिम लिए । काठमाडौं बसाइका क्रममा नयाँ सडकको डाँफे रेस्टुराँमा उनको भेट भयो नयाँ सन्देशका सम्पादक रमेश पाण्डेसँग । पाण्डेले उनलाई आफ्नो पत्रिकाका लागि कार्टुन कोर्ने जब अफर गरे, महिना–महिनामा पारिश्रमिक दिने बताए । त्यतिबेला पाण्डेको आइडियालाई उनी कार्टुनमा उतार्थे । कार्टुन र व्यंग्यका लागि सुप्रसिद्ध पत्रिका शंकर्स बिक्ली पढ्थे । त्यसपछि बरालले जनक शिक्षा सामग्री केन्द्रमा पनि काम गरे । २०२७ सालमा उनी फर्किए पोखरा ।


खानामा भन्दा लगाउनमा शौखिन छन् दुर्गा, ‘जमानामा खुब टिपटप हुनुपथ्र्यो, जिन्स र बेलिबटममा ठाँटिएर हिंडिन्थ्यो । अमिताभ वच्चन स्टाइलको जुंगा । जितेन्द्र जस्तो ह्यान्डसम अनि दिलीपकुमारजस्तो देखिन मन लाग्थ्यो । हामी केटाकेटी हुँदा पोखरामा सिनेमाघर थिएन ।

 

भारतीय पेन्सन क्याम्पले वर्षको एकचोटि पेन्सन बुझ्न आउनेहरूका लागि अमरसिंहको खुलाचौरमा सिनेमा देखाउँथ्यो । त्यतिबेला देखाइएको दिलिपकुमारको सिनेमा देवदास उनले लगातार १७ दिन हेरेका थिए । दुर्गा भन्छन्– ‘मैले हेरेको पहिलो सिनेमा पनि त्यही नै थियो । त्यो सिनेमाले मलाई साह्रै प्रभावित तुल्यायो । त्यो देवदास पात्र म आफैं हो कि जस्तो लाग्थ्यो ।’

 

उनले सिनेमा नहेरेको ‘जुग’ भयो । भन्छन्, ‘प्रेमपिण्डपछि कुनै सिनेमा 
हेरेको छैन ।’
सबै अवसाद भोगी सकेका दुर्गा वर्तमानमा उत्साहित छन् । 

 

‘सन्तानहरू आ–आफ्नो क्षेत्रमा प्रतिष्ठित छन् । यति मात्र कि आफ्ना लागि समय कम छ र अझै धेरै काम गर्नु छ । काममा लागेका बेला समयको पत्तो हुँदैन । पेन्टिङको आनन्द असीमित हुन्छ । आँखा देखुन्जेल र हात चलुन्जेल रंगहरूसँग खेली रहने मन हुन्छ । व्यवसायिक वृत्तिले कला र साहित्यलाई गौण बनाउँछ । अहिले म आफ्नो पेन्टिङको प्याटर्न बदल्दैछु । कार्टुन अझ राम्रो बनाएको छैन । त्यो बनाउन बाँकी नै छ । कुन बेला आउँछ होला 
त्यो समय ?’

साँच्चै, कुन बेला आउला त्यो समय वात्स्यायन ?

प्रकाशित: भाद्र १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्