सबै जातिमाझ लोकप्रिय तीज

- सिर्जना दुवाल श्रेष्ठ

भाद्र १८, २०७३- 

बाहुन–क्षेत्री महिलाहरूले विशेष पर्वका रूपमा मनाउँदै आएको तीज अहिले आएर सबै जातजातिका महिलाले उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ । विगत पाँच–छ वर्षयता नेवार, मगर, लिम्बू, गुरुङ आदिले पनि तीजलाई आत्मसात् गर्न थालेका छन् ।

 

विदेशी पर्व क्रिसमस, न्यू इयर, भ्यालेन्टाइन डे आदि पनि सेलिब्रेट गर्ने चलन विकसित भैरहेको परिप्रेक्ष्यमा महिलाहरूको एक मात्र पर्व तीजलाई सबै नेपाली महिलाले मनाउन थाल्नु सकारात्मक कुरा हो । पहिले तराईवासीले मात्र मनाउने छठ अहिले पहाडिया समुदायमा पनि उत्तिकै लोकप्रिय हुँदै गएको छ । त्यस्तै अचेल बाहुन, क्षेत्रीका साथ अन्य जातिका महिलाहरू पनि राता पहिरनमा दर खाँदै तीजको ब्रत बस्न थालेका छन् ।

ज्योतिषी तथा वास्तुविद् रतिदेवी जोशीका अनुसार तीज कुनै विशेष जातिका महिलाको मात्र पर्व हो भन्ने कुरा कतै उल्लेख छैन । सतीदेवीले पार्वतीका रूपमा जन्म लिएपछि महादेव पति पाउँm भनी व्रत बसेकी थिइन् । यो पर्व आस्था र विश्वासमा आधारित भएका कारण तीजको व्रत जसले बसे पनि हुन्छ, तर नेपालमा तीज बाहुन–क्षेत्रीले बढी मात्रामा मनाउने भएकाले यो जातिविशेषको पर्वजस्तो देखिएको हो । जोशी भन्छिन्— मानिस सामाजिक प्राणी भएकाले एक–अर्काको धर्म, संस्कृतिलाई आत्मसात् गर्नु त्यति ठूलो कुरा होइन, तर पर्वको नाममा भैरहेको विकृतिलाई भने बढावा दिनु हुँदैन । 

धरानमा जन्मिएकी सावित्री लिम्बू सानैदेखि तीजको व्रत बस्दै आएकी छिन् । आफ्नो वरिपरि बाहुन–क्षेत्रीको बाहुल्यता तथा साथी–संगत पनि उनीहरूसँगै भएकाले लिम्बू तीजमा व्रत बस्न थालेकी हुन् । पहिले साथीहरूको लहैलहैमा व्रत बसेकी सावित्रीले विवाहपछि श्रीमान्को दीर्घायु एवं सुस्वास्थ्यका लागि व्रत बस्न थालेको बताइन् । नेवार समुदायमा विवाह गरेकी लिम्बुलाई सासू, आमाजू तथा श्रीमान्ले तीजको व्रत हाम्रो समुदायको चलन होइन, व्रत नबस भनेका थिए, तर आफूमा तीजको व्रतको प्रभाव सानैदेखि परेकाले उनले यसलाई त्याग्न सकिनन् ।

 

अहिले त पहिले व्रत नबस भन्ने आमाजू, नन्द तथा देवरानीहरू पनि अहिले तीजको ब्रत बस्न थालेको सावित्रीले बताइन् । अहिले त उनीहरू तीजको दर खाने, नाचगान गर्ने कार्यक्रमसमेत आयोजित गर्छन् । सावित्री तीजको दिन बिहान नुवाइधुवाइ गरी चोखो पहिरन लगाएर मन्दिर जान्छिन् । सकेसम्म निराहार बस्ने सावित्री नसके वा स्वास्थ्यले साथ नदिए १२ बजेपछि पूजा गरेर पानी तथा फलफूल खान्छिन् । तीजको व्रतले महिलाहरूमा ऊर्जा प्रदान गर्ने उनको अनुभव छ । 

शिक्षिका सुषमा कर्माचार्य विवाहपछि मात्र तीजको ब्रत बस्न थालेकी हुन् । स्कुलमा शिक्षिकाहरूले रातो पहिरन लगाई दर खाएको तथा तीजको व्रत बसेको देखेर उनमा तीजको व्रत लिने रहर जागेको हो । विवाहपछि श्रीमान्प्रतिको मायाका कारण यदि एक दिन व्रत बस्दा राम्रो हुन्छ भने किन नबस्ने भनेर पनि उनी व्रत बस्न थालेकी हुन् । महिलाहरूको एक मात्र चाड भएकाले पनि तीज उनलाई मन परेको हो । कर्माचार्य माइतीमा गएर दर खान्छिन् भने आफूकहाँ नन्द, आमाजू तथा साथीहरूलाई बोलाई तीजको दर ख्वाउँछिन् । त्यही मौकामा उनी सौभाग्यका सामग्री पनि बाँड्छिन् । 

सौन्दर्यकर्मी तथा सौन्दर्य कला व्यवसायी संघ, बनेपा शाखाकी अध्यक्ष लक्ष्मी श्रेष्ठले तीजको व्रत बस्न थालेको लामो समय बितिसकेको छ । उनी महिना दिनअघिदेखि दर खान्छिन्–ख्वाउँछिन् । तीजकै अवसरमा बनेपामा तीज सुन्दरी प्रतियोगिताको आयोजना गर्दै आएकी श्रेष्ठलाई पनि घरमा किन बाहुन–क्षेत्रीको चाड मनाउनुपर्ने भनिन्थ्यो, तर हामी सबै नेपाली हौं, हामीले एक–अर्काको पर्वलाई सम्मान गर्नुपर्छ भन्ने श्रेष्ठले जसले जेसुकै भने पनि व्रत बस्न छाडिनन् ।

 

लक्ष्मी रातो साडी तथा हरियो छड्के तिलहरी लगाएर सोर्‍हश्रृंगार गरी तीजको ब्रत बस्छिन् । तीज महिलाको मात्र पर्व भएकाले पनि यो महिला स्वतन्त्रताको दिन हो भन्छिन्— लक्ष्मी । उनी बनेपामा धनेश्वर महादेवको पूजा–आजा तथा नाचगान गरी रमाउँदै तीज मान्छिन् । आफूले यसरी तीज मानेको देखेर उनका अन्य साथी तथा विद्यार्थीहरूले पनि तीजको व्रत लिन थालेको श्रेष्ठले बताइन् । 

 

पाटन क्याम्पसकी सहप्राध्यापक कल्पना गुरुङलाई अहिले तीजको ब्रत सबै जातजातिका महिलाहरूले रमाउँदै मनाएको देख्दा खुसी लाग्छ । उनका अनुसार हरेक जातिको आ–आफ्नै संस्कृति तथा संस्कार हुन्छ । जुन संस्कृति राम्रो छ त्यसलाई अरू जातीले पनि स्वीकार गरी मनाउनुलाई गुरुङ सकारात्मक रूपमा लिन्छन् ।

 

तीज महिलाहरूको विशेष पर्व भएकाले सबै महिला एक ठाउँमा भेला भएर दर खाँदै नाचगान गर्नु सकारात्मक पक्ष भए पनि अहिले तीजको नाममा देखासिकी बढेको कुराचाहिँ उनलाई पटक्कै मन परेको छैन । त्यसैले हरेकले तीजको मर्म बुझी त्यसलाई आत्मसात् गर्न सक्नुपर्छ । यो अब विशेष जातिको पर्वभन्दा सबै महिलाको साझा पर्व हो ।

प्रकाशित :भाद्र १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्