समर्पणको चाड तीज

- झरना नहर्की

भाद्र १७, २०७३

 

वर्षायाममा मनाइने तीज बिस्तारै महिलाहरूको उन्माद तथा स्वतन्त्रताको पर्वका रूपमा परिणत हुँदैछ । त्यसो त त्यस दिन महिलाहरू सकेसम्म राम्रोसँग सजिएर साथीसंगीहरूसँग गीत गाउँदै–नाच्दै मन्दिर जान्छन् । दिनभर खाली पेट बस्दा पनि उनीहरूमा कम्मर मर्काउने शक्ति कायमै हुन्छ । तीजको दिन प्राय:जसो महिला व्रत बस्ने हुनाले यसलाई व्रतको चाड पनि मान्न सकिन्छ ।

 

महिलाहरूले परिवार तथा श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने यो चलन परापूर्वकालदेखि चलिआएको हो । तीजको व्रतले महिलाहरूको परिवारप्रतिको समर्पण तथा सद्भावलाई दर्साउँछ । राष्ट्रिय रूपमा महिलाहरूको एक मात्र पर्वका रूपमा परिष्कृत तीजलाई हरेक तह तथा तप्काका महिलाहरूले उल्लासपूर्वक मनाउने यो चलन नयाँ भने होइन ।

 

वर्षको एक पटक मनाइने यो पर्वलाई सबै महिला दिदी–बहिनीहरू पर्खेर बस्छन् । यस दिन महिलाहरू राता पहिरन, गहना अनि रातै चुरा आदि एसेसरिजमा सजिएर आफूलाई भित्रैदेखि खुसी अनुभव गर्छन् जुन उनीहरूको मुहारमा पनि झल्कन्छ ।

तीज मनाउने तथा निराहार व्रत बस्ने चलन पार्वतीको पालादेखि सुरु भए पनि यसलाई महिलाहरूले आजको दिनसम्म निकै सद्भावका साथमा निरन्तरता दिइरहेका छन् । अरू दिन व्रत नबस्ने महिलाहरू पनि यस दिन सकेसम्म पानीसम्म नखाई व्रत बस्छन् । तीजलाई उनीहरूले भित्रैदेखि आत्मासात् गरेका छन्, तर पनि श्रीमान्लाई भगवान् मानेर उनीहरूको दीर्घायुका लागि निराहार व्रत बस्नुले कताकता तीज महिलाको पर्वभन्दा पनि अप्रत्यक्ष रूपमा महिलालाई नै दबाउने पर्व हो कि भन्ने लाग्न सक्छ ।

श्रीमान्लाई भगवान् मानेर खुट्टाको पानी सेवन गर्नु, उनको दीर्घ जीवनका लागि व्रत बस्नु तथा उनकै समृद्धिको कामना गर्नुले अझै हाम्रो समाज उही पुरातन मार्गमा धस्दै गएको अनुभव पनि हुन सक्छ । जुनसुकै पक्षबाट पुरुषकै जय गान ? अहिले महिलाहरूले आफूलाई घरको चौघेराबाट बाहिर निकालेर हरेक क्षेत्रमा आफूलाई स्थापित गरेको अवस्थामा श्रीमान्लाई भगवान मानी पुज्नु तथा उनीहरूका लागि निराहार व्रत बस्नुलाई कुन रूपमा लिने ? यो राम्रो संस्कार हो वा महिलाहरूलाई दबाउने परम्परा भन्ने प्रश्न पनि बहसकै विषय रहँदै आएको छ । 

जे भए पनि तीज आउनुभन्दा एक महिना अघिदेखि नै महिलाहरूको किनमेल सुरु हुन्छ । अरू बेलाको दाँजोमा तीजमा महिलाहरूले आफ्ना लागि बढी किनमेल गर्छन् । यति बेला केवल आफ्ना लागि मात्र होइन, आफ्ना नातेदार तथा साथीसंगीका लागि पनि सौभाग्यका सामग्रीहरू आदान–प्रदान हुन्छ । महिलाहरू साथीसंगी मिलेर, खाएर, नाचेर तथा मनमा गुम्सिएका भावनालाई लयमा ढालेर आफ्नो मन हलुको बनाउँछन् । 

राज्यले पनि यो दिनलाई महिलाहरूको एकल चाडका रूपमा लिइसकेको छ । पार्वतीले आफ्ना श्रीमान् शिवप्रति समर्पण तथा सद्भाव प्रदर्शन गरेको दिनका रूपमा पनि तीजको चलन सुरु भएको हो । श्रीमान्–श्रीमतीको दाम्पत्य जीवनमा कस्तो समर्पण हुनुपर्छ भन्ने सन्देश बोकेको पर्व पनि हो– तीज । यसले दाम्पत्य जीवनलाई सुखद बनाउन महत्वपूर्ण भूमिका खेल्छ । आफ्नो श्रीमान्प्रतिको समर्पण तथा सद्भाव दर्साउने माध्यम पनि हो तीज । 

त्यसैले यो चाड कसैको करकापमा होइन, आफ्नो अन्तरमनले जे भन्छ त्यही अनुरूप मनाउनुपर्छ । यदि कोही आफूले गरेको कामबाट खुसी छैन भने त्यो काम गर्नु भनेको आफैंलाई ठग्नु हो । यदि समर्पण र सद्भाव छ भने श्रीमान्का लागि व्रत बस्नु जायज हो । पक्कै पनि यस्तो समर्पणले श्रीमान् र श्रीमतीको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउँछ, तथापि मन नभएकाहरूलाई कसैले कर गरेर ब्रत बसाउनु हुँदैन । कसैको दबाब तथा देखासिकीमा व्रत बसेर कहिले साँझ पर्ला भनी अत्यासमा दिन बिताउँदा त्यहाँ श्रद्धा वा समर्पण हुँदैन, करकाप मात्र हुन्छ । यसरी जबरजस्ती व्रत बस्नु वा बस्न लगाउनु उचित होइन ।

श्रीमतीको समर्पण प्रेम, सद्भाव वा श्रद्धाप्रति श्रीमान्हरूको पनि त्यही अनुरूपको भूमिका हुनुपर्छ । तीज केवल खानपान तथा रमाइलो पर्वका रूपमा मात्र सीमित छैन । यो पर्वले संस्कारको जगेर्ना गर्दै महिलाहरूलाई पनि सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । त्यसैले तीजलाई नयाँ परिवेशमा बुझ्न आवश्यक छ र यसको आवश्यकता एवं महत्वलाई पनि त्यसै अनुरूप व्याख्या गरिनु जरुरी छ ।

प्रकाशित :भाद्र १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्