कसरी यौनसन्तुष्टि प्राप्त गर्ने ?

- डा. सुमनराज ताम्राकार

भाद्र १६, २०७३- 

उत्तेजना, प्लेटो, चरम सुख र रिजोलुसन गरी मानवीय यौनचक्रका चार चरण छन् । दम्पतीबीच वा यौनसाथीबीच आपसी असमझदारी, पाक्क्रीडासम्बन्धी अज्ञानता, लिंग घर्षणमा मात्र ध्यान दिने आदि कारणले पटक–पटकको यौन असन्तुष्टि अर्थात् चरमसुखको अभावका कारण वैवाहिक जीवन नै धरापमा पर्न बेर लाग्दैन । मानसिक तथा शारीरिक कारणले गर्दा कतिपय व्यक्तिले चरम सुख प्राप्त गर्न सक्दैनन् । मानिस सामाजिक प्राणी हो । दैनिक क्रियाकलाप एवं आफू वरपरको वातावरणको प्रभाव यौन जीवनमा पनि पर्छ । घरायसी, पेसागत तथा आर्थिक अवस्थाबले यौनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ ।

 

कतिपयमा भने शीघ्र स्खलन, यौन उत्तेजनाको कमी, नि:सन्तान, लिंगको बनावट आदिका कारणले चरम सुख प्राप्त गर्न गाह्रो हुनुका साथै यौन जीवन सफल पनि हुँदैन । यसका साथै गोप्यताको कमी, एकान्त वातावरणको अभाव, चिन्ता, तनाव, अनिच्छित गर्भ तथा यौनरोग लाग्ने आशंकाका कारण पनि यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ ।

विवाहइतर सम्बन्ध, अविवाहित अवस्थामै यौन सम्बन्ध आदिमा पनि यौनसन्तुष्टि प्राप्त गर्न गाह्रो हुन सक्छ । एकै खालको दैनिकी, दाम्पत्यबीचमा विश्वासको कमी, करकाप वा बाध्यतापछिको यौनसम्बन्ध, वैवाहिक बलात्कार एवं यौनहिंसाका कारणले पनि चरम सुख प्राप्त गर्न गाह्रो हुन्छ ।

 

कतिपय व्यक्ति सानै उमेरमा यौन हिंसा वा यौनजन्य अपराधबाट प्रताडित भैसकेको अवस्थामा पछि यौनसम्बन्ध नै राख्न नचाहने हुँदा यथेष्ट यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् ।

 

जीर्ण खालको स्वास्थ्य समस्याका साथै यौन उत्तेजनामा खलल पुग्ने खालको शारीरिक चोटका कारण यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ । हालसालैको ठूलो शल्यक्रिया, कतिपय औषधि तथा अत्याधिक मद्यपान एवं लागूपदार्थको सेवनका कारण पनि यौन सम्बन्ध सफलतापूर्वक स्थापित गर्न नसक्ने भै चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ ।

 

महिनावारी भैरहँदा, योनिमार्गमा सुख्खापनको समस्या हुँदा, योनि संकुचन एवं पीडादायी यौनसम्पर्कका कारण पनि चरम सुख प्राप्त गर्न सकिँदैन । माथि उल्लेखित समस्याअनुसार नै समाधानका उपाय पहिल्याउनुपर्छ ।

 

मुख्य कुरा यौन साथीबीच आपसी संवाद, समझदारीका साथै पाक्क्रीडाको महत्वपूर्ण भूमिका हुन्छ । कतिपय अवस्थामा शारीरिक अवस्था तथा स्वास्थ्य समस्यालाई विचार गरी यौनसन्तुष्टि प्राप्त गर्ने वैकल्पिक उपायहरू अपनाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा यौन साथीहरूले एक–अर्काको आत्मविश्वास जगाउने उपाय अपनाउनुपर्छ ।

 

मानसिक रूपमा तयार गरी यौन सम्पर्क राख्ने, जननेन्द्रिय घर्षणमा मात्र ध्यान नदिई यौनसम्पर्कका लागि सहज वातावरण बनाउनुपर्छ । यस क्रममा यौनांग वरिपरिको समस्या, पीडादायी यौन क्रिया, विवाहइतर यौनसम्बन्ध तथा वैवाहिक बलात्कारको पनि उचित समाधान गर्नुपर्छ ।

 

प्रकाशित :भाद्र १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्