विकेण्डको रात

- साप्ताहिक संवाददाता

भाद्र १५, २०७३- 

प्रमोद अग्रहरी

एक त म शाकाहारी, त्यसमाथि मदिरा पिउँदिन । शाकाहारीका लागि त होला तर मदिरा पिउँदै नपिउनेहरूलाई काठमाडौंको नाइट लाइफले रोमाञ्चित बनाउँदैन । जीवनको केही समय मुम्बई र दिल्लीमा बिताए पनि मलाई त्यहाँको नाइट लाइफ हेर्ने चाह भएन । काठमाडौं बस्न थालेपछि पनि ठमेल तथा दरबारमार्ग क्षेत्रको नाइट लाइफ निकै रसिलो हुन्छ भन्ने कुरा साथीहरूबाट सुन्ने बाहेक आफैंले प्रत्यक्ष अनुभन गर्न भने पाएको थिइनँ । 

 

पछिल्ला केही सप्ताहन्तमा एउटा चलचित्रको चरित्र निर्वाह गर्न मैले काठमाडौंका नाइट लाइफ चहार्नै पर्ने भयो । एकजना परिचित दाइलाई साथमा लिएर शुक्रबार राति नौ बजे म दरबारमार्गका लाउञ्ज तथा बारहरू पुगेँ । हातमा जुस लिएर लाउञ्चको एउटा कुनामा बसेर त्यहाँ आउने थरीथरीका मानिस तथा उनीहरूका गतिविधि हेर्दा आफैंसँग प्रश्न गर्न मन लाग्यो– म कुन संसारमा आइपुगेको छु ? मलाई यो काठमाडौं नै हो जस्तो पनि लागेन । दरबारमार्गको एउटा लाउञ्जमा राति ११ बजे उक्लिएँ ।

 

लिफ्टबाट बाहिर निस्कने बित्तिकै एकजोडी अधरपान गरिरहेको अवस्थामा देखिए । उनीहरूलाई कसैले वास्ता गरिरहेका थिएनन् । केही भने आफ्ना साथीहरूसँग मदिरा पिउँदै रमाइलो गरिरहेका थिए । अलिक माथि बनाइएको मञ्चमा गीत–संगीत चलिरहेको थियो । नाच्ने नाचिरहेका थिए, पिउने पिइरहेका थिए, गफ गर्नेहरू गफमै भुलिरहेका थिए । १२ बजेपछि मसँग गएका एकजना भाइलाई भेज मम खान मनलाग्यो । त्यहाँ भेज मम रहेनछ । त्यसपछि हामी भेज मम खोज्न ठमेल पुग्यौं ।

 

दिउँसोको भन्दा निकै फरक थियो, ठमेल । एकजना मसँग केटी मिलाउने कुरा पो गर्न आयो । म छक्क पर्दै थिएँ । भेज मम खोज्न गएका हामी भेज स्याण्डबीचमा रमायौ, केटी मिलाउन खोज्ने केटोको ननभेज कुरा सुन्दै ।

प्रकाशित :भाद्र १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्