साहित्यकारहरूको सोच्ने तरिका कस्तो छ ?

- साप्ताहिक संवाददाता

भाद्र ११, २०७३

 

कुनै बेला साहित्यकार भन्नेबित्तिकै चुस्स दार्‍ही पालेको एउटा झोला बोकेर चोकमा कविता वाचन गर्दै हिँड्ने व्यक्तिको सम्झना आउँथ्यो । अब त्यो बिम्ब पुरानो भएको छ । उनीहरूको लवाइ, खवाइ र बोलाइको शैली मात्र परिवर्तन भएको छैन । नेपाली कलाकार वा संगीतकर्मीझैँ उनीहरू पनि सेलिब्रेटी हुन थालेका छन् ।

 

उनीहरूको बाँच्ने कलालाई सामान्य मानिसले पनि पछ्याउन थालेका छन् । अहिले साहित्यकारहरू गाडी चढ्छन्, स्मार्टफोन बोक्छन् र विश्वभरका परिकार चाख्छन् । तैपनि अन्य सेलिब्रेटीको तुलनामा साहित्यकारको रुचि फरक देखिने गरेको छ । यसपटक अहिलेका जल्दाबल्दा केही साहित्यकारको पढ्ने, हेर्ने र सुन्ने शैली :

घनश्याम खड्का 

रोबर्टाे बेनिग्नीको ‘लाइफ इज ब्युटिफुल’, आमिर खानको ‘पिके’, झोङसार रिन्पोछेको ‘ट्राभलर्स एन्ड म्याजिसियन’ मलाई मन पर्नेमध्येका केही सिनेमा हुन् । गम्पोपाको ‘दि ज्वेल अर्नामेन्ट अफ लिबरेसन’ स्टेफेन हकिन्सको ‘अ ब्रिफ हिस्ट्र अफ टाइम’ र खप्तड बाबाको ‘विचार विज्ञान’ मेरा प्रियमध्येका पुस्तक हुन् । गीतमा मलाई जोन लेननको ‘इम्याजिन देअर इज नो हेभन’ र आनी छोइङको ‘फूलको आँखामा’ मन पर्छ । अनुभव बटुल्दै जाँदा उही गीतमा पनि नयाँ अर्थ खुल्दै जाँदो रहेछ । जस्तो लता मंगेशकरको ‘लग जा गले’ मा अचेल म गहिरो जीवन दर्शन पाउँछु । 

नेतामध्ये गान्धी, मर्टिन लुथुर किङ र मण्डेला मलाई विश्व रंगमञ्चका प्रिय नेता लाग्छन् । नेपालमा बीपी र मदन भण्डारी मलाई मन पर्ने नेता हुन् । बीपीको त लेखनीकै कारण पनि भावनात्मक रूपले नजिक छु । अहिले मलाई नयाँ पुस्ताका नेताहरूबाट बढी आशा छ । गगन थापा, महेश बस्नेत र रवीन्द्र अधिकारीको पुस्ताले राजनीतिमा उपल्लो पदमा पुग्ने मौका पाउनुपर्छ जस्तो लाग्छ । 

सीएनएन हिरो पुष्पा बस्नेत, डा. गोविन्द केसी, महावीर पुन, डा. सन्दुक रुइत, सविता उप्रेतीजस्ता व्यक्तित्व मन पर्छन् । लेखनीमा अभय श्रेष्ठले सामाजिक विषयमाथि कलम चलाएको मन पर्छ, जीवनलाई हेर्ने फराकिलो दुष्टिकोण म सरस्वती प्रतीक्षाका रचनाहरूमा पाउँछु । लीला लेखनमा रत्नमणि नेपाल आशालाग्दा हुन् । बुद्धिसागरमा गज्जबको वर्णन क्षमता छ ।

नयाँ पुस्ताले सुविनले मन पराउँछन् । नयनराज पाण्डेको लेखनीमा समाजको विडम्बना देखिन्छ । शोभा शर्माका फुटकर कथामा समाजको चित्र देख्छु । नेपालमा स्वामी आनन्द अरुण मलाई वास्तविक सेलिब्रेटी लाग्नुहुन्छ । उहाँको विशाल व्यक्तित्व, ज्ञान र सादगी जतिसुकै चमक धमक भएको सेलिब्रटीलाई पनि माथ गर्न पर्याप्त छ ।

अमर न्यौपाने 

मलाई अग्र्यानिक, अभिनयजस्तो नदेखिने र हिरोइज्म नभएका चलचित्र मन पर्छन् । संगीतले शब्द र स्वरलाई नथिचेका मधुर, जो ह्दयमा यसरी छिर्छन् जसरी जमिनमा पानी छिर्छ त्यस्तो संगीत मन पर्छ । मलाई त्यस्ता व्यक्ति मन पर्छन्, जोसँग डराउनु नपरोस् । पूरै विश्वास गरेर बोल्न र मन खोल्न सकियोस् । विश्वेश्वरप्रसाद कोइरालाको साहित्य मलाई असाध्यै मन पर्छ । जति पढ्यो, त्यति पढिरहूँ जस्तो लाग्ने उनका कृतिको दर्शन असाध्यै गम्भीर छन् । 

 

मलाई महावीर पुन, उत्तम सञ्जेल, रामानन्द गिरि, रवीन्द्र मिश्र, गोविन्द केसी, पुष्पा बस्नेत, किरणदत्त तिवारी, डा. हरिप्रसाद पोखरेल, एकल सिलवालजस्ता सामाजिक अभियन्ताहरू मन पर्छन् । यिनीहरूमध्ये केही मात्र सञ्चारमाध्यममा आउन सकेका छन् । नयाँ लेखकमध्ये नवराज पराजुली, रामलाल जोशी, नीरज भट्टराई, राबत, संगीत श्रोता, जनकराज सापकोटा, बाबु त्रिपाठीजस्ता लेखकसँग बढी आशावादी छु । विश्वका सबै मानिससँग केही न केही विशेष क्षमता छ । कस्तूरी छ तर धेरैले उपयोग गर्न सकेका छैनन् । नेपालमा कोही सेलिब्रेटी छन् भने मह जोडी नै हुन् । 

 

भूपिन खड्का 

मलाई मानिसको संघर्ष, संवेदना र मानवीय विचारलाई ग्लोरिफाइ गरिएका सिनेमा, पुस्तक तथा संगीत असाध्यै मन पर्छन् । अभिव्यक्तिका यी कलाले निस्सारजस्तो गडबडी बोध भैरहने जीवनमा आशा सञ्चार गर्न मद्दत गर्छन् । चर्को विसंगत बोध हुने जीवनमा केही पृष्ठ लय र संगती थप्न सघाउँछन् । कपट र धुर्ततासँग मेरो दुस्मनी छ । संगत पनि सकेसम्म त्यसबाट मुक्त मानिससँग गर्न मन लाग्छ । असल मानिसहरूसँगको सत्संग सधैँ सिर्जनात्मक र प्रिय हुन्छ । म त्यस्ता व्यक्तिहरूको संगतबाट टाढिन्छु जो छुवाछूतको विरोध त चर्को रूपमा गर्छन् तर उनीहरूसँग सामान्य असहमति जनाउँदा पनि घरमा गएर सुनपानी छर्कन्छन् । यस्ता मानिस देख्दा मलाई साँच्चै घिन लाग्छ । 

राम्रा कविताजस्तै कुनै–कुनै नेता पनि कहिल्यै पुराना नलाग्दा रहेछन् । मेरा लागि मदन भण्डारी र बीपी कोइराला कहिल्यै पुराना नहुने नेताको अग्रसूचीमा पर्छन् । म यिनीहरूको प्रशंसक हुँ । अहिले त यस्ता नेताको खडेरी नै परेको हो कि ? तर केही आशा जगाउने दुई नेता छन्, केपी ओली र बाबुराम भट्टराई । वास्तवमा म पहिले यिनीहरूलाई खासै मन पराउँदिनथेँ । कवि भएर पनि होला, ओलीका केही सपना र सधैँ दास सम्झने छिमेकीविरुद्धको अडानले मन जितेको छ । एउटा छिमेकीले चरम धोका दिँदा अर्को शुभचिन्तक छिमेकीसँग विकसित गर्नुपर्ने सम्बन्धमा उनी सफल भए । डा. बाबुराम भट्टराईको आर्थिक समृद्धिको सपना मेरो पनि सपना हो । 

म अनुराधा कोइराला र महावीर पुनको सामाजिक अभियानबाट प्रभावित छु । सीएनएन वर्ष पुरस्कार वा म्यागासासे पुरस्कार पाएकाले मात्र होइन, उनीहरूले गरेका मानवीय कामले । महावीरको असल उद्देश्यप्रति सरकार कसरी यति अनुदार हुन सक्छ ? विश्वले यिनीहरूलाई चिन्यो, पुरस्कृत गर्‍यो तर घरका मालिकले यिनीहरूको योगदानलाई कहिल्यै चिन्ने प्रयत्न गरेनन् । यहाँ मलाई चर्को विसंगतिबोध हुन्छ । मैले साहित्यमा आशा राखेका नवसर्जक धेरै छन् । रावत, हेमन यात्री, प्रसन्न, चन्द्रवीर तुम्बापो, जनकराज सापकोटा, विमल आचार्य, जेनन नेपाल, सुवास खनाल, प्रतिमा पाठक, भरत बाग्लुङे र मीनराज वसन्तको लेखनप्रति म बढी आशावादी छु । 

विचार, समर्पण र लेखनमा यिनीहरू जति फैलन्छन्, नेपाली साहित्यलाई उती फाइदा पुग्नेछ । नेता, अभिनेता, खेलाडी वा मोडललाई मात्र सेलिब्रेटी मान्ने देशमा कवि लेखकलाई सेलिब्रेटी मान्ने अडबाङ्गे मानिस हुँ म । पहिलेका देवकोटा, रिमाल, पारिजात, भूपी मेरा सेलिब्रेटी थिए । अहिलेका सरुभक्त, नारायण ढकाल, विमल निभा, श्यामल, नयनराज पाण्डे, श्रवण मुकारुङ, रोशन शेरचन, मोमिला र कुमार नगरकोटी मेरा लागि प्रिय सेलिब्रेटी भएका छन् । 

प्रकाशित :भाद्र ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्