साथी

- सुबिन भट्टराई

भाद्र १०, २०७३

 

साथीको सम्बन्ध यस्तो सम्बन्ध हो, जो नभए पनि चल्छ, तर जो नभै पनि हुँदैन । यो सम्बन्ध छ नै गजब । जहाँ, जहिले, जो पनि साथी बन्न सक्छ । बसमा एकछिन यात्रा गर्दा कोही चिनिन्छ, मोबाइल नम्बर साटासाट हुन्छ र उ साथी बनिहाल्छ । बाटोमा हिँड्दा–हिँड्दै बोल्दा–बोल्दै पनि साथी बन्छन् । फेसबुकमा पनि साथी बन्छन् । ट्विटरमा बन्छन् । साथी त साथी भैहाले, साथीका साथी पनि साथी बनिदिन्छन् । 

 

फेरि कति सजिलो छ । बा, आमा, दाइ, भाइ, आफन्तको साइनो केही गरे पनि बदल्न मिल्दैन । तर साथी ? एउटा चित्त नबुझे अर्को, अर्को चित्त नबुझे अर्कै । साथीहरू बद्लिरहन्छन् कुनै यात्रामा निस्कँदा ठाउँ बद्लिएझैँ । बाल्यकालका खेल्ने साथी, स्कुल पढ्दाका साथी, कलेज पढ्दाका साथी । अफिसका साथी, घरका साथी, कति थरीका साथी । ठावैं पिच्छेका साथी । माहौलपिच्छेका साथी । स्कुल बद्लिए साथी बद्लिन्छन् । कलेज छाडे साथी छाडिन्छन् । घर बेचेर बसाइँ हिँडे साथी छुट्छन् । अफिस फेरिए पनि फेरिन्छन् साथी । 

 

सबैभन्दा सजिलो बन्ने र सबैभन्दा सजिलो गरी भत्कने यही सम्बन्ध होला, साथीको सम्बन्ध । केही साथी फेसबुकको लिस्टमा छन् । केही साथी मुटुको भित्तामा छन् । केही साथी सम्झनामा छन् । केही साथी दूर देशमा छन् र पनि कहिलेकाहीं सम्झिरहन्छन् । केही साथी नजीकै छन्, दिनहुँ भेटिन्छन् र पनि नदेखेझैँ गर्छन् । केही साथी मलाई सम्झिरहँदा हुन् जसलाई म कहिल्यै सम्झन्नँ । केही साथीलाई म खुब सम्झन्छु जो मलाई कहिल्यै नसम्झँदा हुन् । केही साथी कुनै एउटा बेला बने र उति बेलै बिलाए । केही साथी उतिबेला बने र यतिबेलासम्म कायम रहे भने कतिपय साथी बन्नै बाँकी होलान् ।

 

यति सजिलै बन्ने र यति सजिलै हराउने भए पनि हामी साथीबिनाको संसार कल्पना गर्नै सक्दैनौँ । त्यसैले मैले माथि नै भनेको साथीको सम्बन्ध जो नभए पनि चल्छ तर जो नभए पनि हुन्न । हामी कल्पना गर्न सक्दैनौँ, साथीबिनाको स्कुले जीवन । हामी कल्पना गर्न सक्दैनौँ, बिनासाथीको कलेज जीवन । जीवनको लामो यात्रामा साथीहरूले भाँडामा सामल हालिदिने होइनन् । ओखती–उपचार गरिदिने होइनन्, तर पनि जीवनमा तिनको ठूलो महत्व हुन्छ । परिवार नभएको मान्छे साथीका कारणले एक्लो हुन पाउँदैन । 

 

साथी भन्ने सम्बन्ध नभएको भए फेसबुक भन्ने चीजको बिकास हुँदैनथ्यो होला । साथी भन्ने सम्बन्ध नहुने हो भने संसारका अधिकांश रेस्टुराँ सुनसान हुने थिए होलान् । सिनेमाहलमा एक्लै सिनेमा हेर्न को जाँदो हो ? यही सम्बन्धले त न्यू इयर, क्रिसमस, इदजस्ता चाडवाड पनि जीवित छन् । यही सम्बन्धले नै दिएका छन् मीठा सम्झनाहरू । यही सम्बन्धले नै मान्छेलाई बोल्ने, हाँस्ने तथा दु:ख पोख्ने मौका दिएको छ । यही सम्बन्धले नै मान्छेलाई बाँच्नुको अर्थ दिलाएको छ । 

हो, घर बद्लिन्छन्, स्कुल–कलेज बद्लिन्छन्, अफिस बद्लिन्छ । मान्छेका नियत पनि बद्लेलान् । समग्रमा जिन्दगी नै बद्लिन्छ । साथी पनि बद्लेलान् । ठाउँअनुसारका साथी निस्किएलान् । इच्छाअनुसारकै पनि बन्लान्, तर हामीभित्रको त्यो भाव बद्लिँदैन । हो, हामीभित्र साथी खोजिरहने भाव कहिल्यै बद्लिँदैन ।

 

किनभने चाहे जहाँ, जुन अवस्थामा हामी साथी खोज्छौँ र बनाउँछौँ, त्यहाँ हामीले साथी होइन आफैँलाई खोजिरहेका हुन्छौँ । हरेक साथीसँग बिताउने पल हाम्रो यादगार पल हुन्छ । हरेक साथीमा हामी आफूलाई खोजिरहेका हुन्छौँ ।

 

प्रकाशित :भाद्र १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्