चिन्डेहरू मालामाल

- साप्ताहिक संवाददाता

भाद्र ९, २०७३- 

सत्यराज आचार्य, गायक

 

विश्वकै सबैभन्दा राम्री युवतीसँग डेटिङमा जान पाउनुभयो भने के गर्नुहुन्छ ? 

ओहो, त्यो अवसरका लागि सलाम । यदि त्यस्तो भयो मैले के गर्नु र, जे गर्नु छ उनैले गर्नेछिन् । 

 

पुरुषले पनि मेकअप गर्न पाए भने के गर्लान् ?

हाम्रो दाह्री–जुँगाका कारण महिलाको जस्तो फूल मेकअप त सम्भव छैन, हाफ–मेकअप, क्वाटर मेकअप सम्भव होला । म जस्तो दाह्री पालेकाहरूले नाक र निधारमा मात्र प्रसाधन प्रयोग गर्ने छन् । 

 

पिसाबबाट सवारी साधन चल्ने भयो भने ?

हरेक व्यक्तिको ढाडमा फलानो पेट्रोलपम्प...लेखिएको प्लेकार्ड टाँसिन्थ्यो । जस्तो— ‘सत्यराज पेट्रोल पम्प’ । कार अथवा बाइकमा पेट्रोल सकिने बित्तिकै एक लिटर जति निकाल्यो, दौडियो । 

 

साप्ताहिकमा केटाको ब्लोअप छाप्न के गर्नुपर्ला ?

सुवास ढकाल दाइलाई पत्रिकाको सम्पादनको जिम्मेवारीबाट मुक्ति दिएर एउटी सुन्दर युवतीलाई प्रधानसम्पादक नियुक्त गर्नुपर्छ ।

 

सूर्य किन पश्चिमबाट उदाउँदैन ?

पूर्वबाट नअस्ताउने भएकाले । 

 

रेखा थापाले बिहे गरौं भनेर जिद्धि गरिन भने ?

म रेखालाई सादर अनुरोध गर्दै भन्ने छु—‘रेखा, म अहिले असाध्यै व्यस्त छु, प्लिज हेमन्त शर्मालाई भन्नु ल ।’ 

 

केबुलकार बीचमै केही घन्टा बन्द भयो भने ?

त्यो अघिको पिसाववाला पेट्रोलले काम गर्दैन र त्यहाँ ? ए साँच्ची, मैले त बिर्सेछु । केबुलकार त बिजुलीले पो चल्ने हो । नेपाल विद्युत् प्राधिकरणलाई फोन गर्थें । ओहो, त्यो पनि गाह्रो छ । नेपाल टेलिकमको नेटवर्क नै ध्वस्त छ । 

 

चुम्बन गर्दा केश झर्ने रोग लाग्ने भए ?

यदि त्यस्तो रोग आयो भने हाम्रा चिन्डे साथीहरू पो मालामाल हुन्छन् होला । 

 

तीजको सांगीतिक कार्यक्रममा नांगा शिवजी प्रकट भए भने ?

शिव लिंगलाई सधैं नांगो देखिरहेको त हो नि ? खासै फरक पर्दैन । 

 

कृष्णजी प्रकट भएर वरदान माग भने ?

‘तपाईंका १६ हजार गोपिनी झैं मेरा पनि केही हजार गोपिनीसँग माया–पिरती गाँसियो भने माफ दिनु हुन अनुरोध छ’ भन्ने वर माग्थें । 

 

मिस नेपालले तपाईंलाई अचानक थप्पड हानिन् भने ? 

‘तिमी मिस नेपाल होइनौ ठिस नेपाल रै’छौ’ भनिदिन्छु । 

 

लाठीचार्ज गर्न कुन चार्जर प्रयोग गरिन्छ ?

डन्ठे चार्जर (प्रहरी) प्रयोग गरिन्छ । 

 

प्रकाशित :भाद्र ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्