हास्यव्यंग्य कलाकारहरूले हामीलाई रोयल्टी तिर्नुपर्छ

- अश्विनी कोइराला

भाद्र ८, २०७३

 

नेपालमा नेवा भाषा र नेवारी संस्कृतिमा एकसाथ विज्ञता हासिल गर्ने विद्वान् थोरै छन् । त्यसमा पनि महिला विज्ञ भेट्न मुस्किलै पर्छ । डा. चुन्दा बज्राचार्य थोरै विज्ञमध्ये एक हुन् जसले २०३८ सालदेखि आजपर्यन्त नेवा भाषा तथा नेवारी संस्कृतिमा विभिन्न अध्ययन–अनुसन्धान गरिरहेकी छिन् ।

 

अनुसन्धानमूलकसहित १४ वटा पुस्तक लेखिसकेकी डा. चुन्दा मूलत: मध्यकालीन राजाको धरपौ (तत्कालीन राजाहरूले गरेका सम्पूर्ण कृयाकलाप) विज्ञ हुन् । चुन्दाका हजुरबुवा भीमशमशेरका आधिकारिक वैद्य थिए भने बुवा प्रजातान्त्रिक सेनानी । डा. चुन्दाले मानवशास्त्री डोरबहादुर विष्ट, प्राध्यापकहरू धनबज्र बज्राचार्य तथा डा. कमलप्रकाश मल्लसँग रहेर नेपाल भाषा र संस्कृतिको गहन अध्ययन गरेकी छन् । पञ्चायतकालदेखि गणतन्त्रसम्मका सरकारले गठन गरेको नेवा भाषा र संस्कृतिका सबैजसो विशेषज्ञ समूहमा डा. चुन्दाको उपस्थिति रहन्छ ।

 

त्रिभुवन विश्वविद्यालयबाट हालै मात्र अवकाश पाएकी डा. चुन्दाको विषयमा एउटा भनाइ छ– चुन्दाले नेवा भाषा र संस्कृतिको यति गम्भीर अध्ययन गर्न थालिन् कि उनको विवाहको उमेर गएको समेत पत्तो समेत पाइनन् । यसपटक यिनै अध्येतासँग साप्ताहिकले गाईजात्रापर्व र नेवार संस्कृतिका विभिन्न आयामका सम्बन्धमा लामो कुराकानी गरेको थियो । 

 

तपाईं नेवार परिवारमा जन्मिएका कारण नेवा भाषा र संस्कृतिको गहिरो अध्ययन गर्नुभएको हो ?

म नेवा भाषा र संस्कृतिसँग जोडिनुको कारण अनौठो छ । एसएलसी उत्तीर्ण गरेपछि मैले पद्मकन्या कलेजमा अर्थशास्त्र लिएर पढेकी हुँ, तर ऐच्छिक विषयका रूपमा संस्कृत भाषा छानेकी थिएँ । हाम्रो परिवार आयुर्वेद, तन्त्रशास्त्र र चिकित्सामा रुचि राख्थ्यो । राणाहरूको वैद्य भएका कारण पनि त्यो हाम्रो परिवारको बाध्यता थियो ।

 

त्यतिबेला त्यस्ता पुस्तक संस्कृतमा मात्र पाइने हुनाले परिवारले पनि संस्कृत भाषा पढ्न प्रोत्साहित गथ्र्याे । दुर्भाग्य के भयो भने संस्कृत भाषाको क्लास लिइरहेका बेला मेरा एक जना शिक्षकले मलाई कक्षामा ध्यान नदिएको आरोपमा गाली गर्नुभयो । म ध्यान नदिने विद्यार्थी थिइनँ । त्यसैले झगडा भयो । शिक्षकसँगै नराम्रो भैसकेपछि त्यही कक्षामा जाने कुरा आएन । सुरुवाती दिनमा मैले बाध्यतापूर्वक नेवा भाषा अध्ययन गर्न थालेकी हुँ । 

 

अहिले नेवा भाषा र संस्कृतिसम्बन्धी थोरै विद्वान्मा पर्नुहुन्छ, कस्तो लाग्छ ?

मलाई भाग्यले नै यता डोर्‍याएको रहेछ । आफ्नै भाषा–संस्कृति अध्ययन गर्नेहरू थोरै छन् । आफूले देशका लागि एकेडेमिक काम गर्न पाउनु खुसीको कुरा हो । 

 

नेवारी संस्कृति नेपालको ठूलो सम्पदा हो । यसबाट नेपाली समाजले जति फाइदा लिन सक्नुपथ्र्याे, त्यो लिन सकेको छ ?

नेपालका धेरै मौलिक कुराहरू मध्ये नेवा संस्कृति एउटा प्रमुख संस्कृति हो, तर राजा महेन्द्रले एक भाषा, एक संस्कृतिको नाममा नेपालभरीका अन्य भाषा–संस्कृति मास्ने काम गरे । ‘सबै नेपाली हिन्दू र सबै नेपाली नेपाली भाषी’ को नीति ल्याउँदा उच्च स्थानमा रहेको नेवा भाषा र यसको संस्कृतिका जरा काटियो, जसले गर्दा ठूलो क्षति बेहोर्नुपर्‍यो । नेवा संस्कृतिका कतिपय परम्पराको गलत व्याख्या गर्ने काम पनि भयो । राज्यले यसलाई समाजको मूल धारसँग जोड्न सकेन । कतिपय संस्कार र कृयाकलाप हरा ए । हुन त समयसँगै धेरै कुरा बिलाएर जान्छन् तर केही मास्नै नमिल्ने परम्परा मासिँदा निकै दु:ख लाग्छ । 

 

कस्ता परम्परा ?

उपत्यकामा कुनै पनि मन्दिर, विहार वा अन्य सामाजिक क्रियाकलापको व्यवस्थापन गुठीले गथ्र्याे । आदिवासीहरूका सम्पूर्ण समाजिक क्रियाकलाप सामाजिक रूपमै सम्पन्न हुने चलन पुरानै हो । आजभोलि सहकारीको जुन चलन छ, त्यो काम गुठीले गथ्र्याे । गुठीमार्फत  सबै काम हुन्थ्यो । उपत्यकामा कुनै यस्तो मन्दिर, विहार वा धार्मिक कृयाकलाप छैन, जसमा गुठीको संलग्नता नहोस् । ती सबै काम गर्न गुठीले आम्दानीको पर्याप्त व्यवस्था गथ्र्याे । कुनै पनि काम गर्दा सरकारको मुख ताक्नु पर्दैनथ्यो । 

 

अहिले पनि गुठी संस्थान चलिरहेको छ । हजारौं रोपनी जग्गा गुठीकै नाममा छ । गुठीको जग्गाबाट उठाइएको करले धार्मिक क्रियाकलाप भैरहेका छन्, होइन र ?

परम्पराले जति गहिरो जरो गाडेको छ, समाजबाट त्यो हठात् हराउन सक्दैन । त्यो कसैले जोगाएको होइन, तर गुठी संस्थानको जग्गा हडप्न जसरी राजनैतिक भागबन्डा हुने गरेको छ, त्यसले भूमाफियालाई सजिलो बनाएको छ । मन्दिरै मन्दिर भएको सहरमा मन्दिर त छन् तर ती मन्दिरको खर्च चलाउने जग्गा व्यक्तिको नाममा गएका छन् । आम्दानी सुकेपछि प्रत्येक मन्दिर र त्यसका परम्परा मासिएका छन् । विश्वभरिका राम्रा परम्परा अरूतिर फैलन्छ, हाम्रा अनौठा र विश्वभर फैलन सक्ने धेरै परम्परा मासिएका छन् । जहाँ आर्थिक कृयाकलाप खुम्चिन्छ, त्यो परम्परा पनि हराउँदै जान्छ । 

 

तर गाईजात्रा, भोटेजात्रा, उपत्यका भित्रका विभिन्न पर्व एवं चलनहरू अहिले पनि चलिरहेका छन् ?

जात्रा र पर्वहरू चल्नु एउटा कुरा हो, फैलनु अर्को कुरा हो । कुनै पनि परम्परालाई आर्थिक क्रियाकलापसँग जोडिएन भने त्यो हराउँछ । उदाहरणका लागि नेवारी परम्परामा रक्सी र सुकुटी बनाउने चलन प्रसिद्ध छ । अहिले पनि काठमाडौंका बज्राचार्य, शाक्य तथा तुलाधरका घरमा बनाइएको रक्सीले विश्वप्रसिद्ध रक्सीलाई माथ गर्ने क्षमता राख्छ । 

हामी विदेशबाट महँगा ब्रान्डका रक्सी मगाउँछौं, तर पारखीहरूलाई थाहा छ, पुस महिनाभरि रक्सी बनाउने घ्याम्पामा अन्नपात राखेर बनाइएको रक्सी वा असोजमा उसिनेको गहुँलाई अलिकति चेप्ट्याएर गोबरले लिपेको भुइँमा फिँजाएर त्यसमाथि आठ दिनसम्म गुन्द्रीले थिचेको अन्नबाट बनाइएको रक्सीको स्वाद कस्तो हुन्छ ? त्यो रक्सीले विश्वप्रसिद्ध ब्रान्डसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ, तर हामीले त्यसलाई ‘नेवारको भोज’ भनेर हेला गर्‍यौं । त्यसको मौलिकताको प्रवद्र्धन गर्नतर्फ लागेनौं । 

 

रक्सीबाहेक अन्य परिकारको अवस्था कस्तो छ ?

काठमाडौंमा असोजको मौसम अद्भुत हुन्छ । वातावरण स्वच्छ भएका कारण असोजमा बनाइएको सुकुटी वर्षभरि खाइन्थ्यो । त्यसको स्वाद अरू महिना तयार पारिएको सुकुटीले भेट्नै सक्दैन । त्यो स्वादको सुकुटीलाई प्रवद्र्धन गर्न सकिन्थ्यो । यी एक–दुई उदाहरण मात्र हुन् । हाम्रा परम्पराभित्रका उत्कृष्ट स्वाद, उत्कृष्ट दृश्य एवं उत्कृष्ट व्यवहारलाई हेला गर्‍यौं । चाहे गुठीको जग्गा हडप्ने काम होस् वा परम्परा मास्ने काम होस्, त्यसमा राजनैतिक व्यवस्था र यसका लोपी–पापी नेताहरूले ठूलो भूमिका खेले । घरमा बनाइएको रक्सी नष्ट गर्ने नीतिअन्तर्गत हाम्रो रक्सी बनाउने उत्कृष्ट कला पनि नष्ट भयो । 

गाईजात्रा जस्तो पर्वचाहिँ नष्ट हुन पाएन, कस्तो लाग्छ ?

इतिहासको अध्ययन गर्दा के पाइन्छ भने कुनै पनि परम्परालाई मृत्युसँग जोडियो भने त्यस्ता पर्व कहिल्यै नष्ट हुँदैनन् । हिन्दूको श्राद्ध गर्ने परम्परा अहिले पनि कायमै छ । गाईजात्रा पनि मृत्युसँग जोडिएका कारण मृत्यु भएका परिवारजन स्वत: यो पर्वसँग गाँसिन्छन् । त्यो शोकभित्र धेरै मौलिक कुरा भएकाले यो पर्व जोगिएको हो ।

 

यसको इतिहास श्राद्ध जस्तो हजारौं वर्ष पुरानो होइन । प्रताप मल्लले सुरु गरेको यो पर्व किन यति लोकप्रिय भयो त ?

सबैभन्दा पहिले आमजनताको एउटा भ्रम निवारण गर्न चाहन्छु । गाईजात्रा प्रताप मल्लले सुरु गरेका होइनन् । खासमा यो परम्परा हजारौं वर्षदेखि विभिन्न स्वरूपमा चल्दै आएको थियो । त्यो चलनलाई प्रताप मल्लले अनिवार्य बनाइदिए । 

 

किन ? 

यसको पनि रोचक पक्ष छ । प्रताप मल्लकी मन परेकी रानीका छोरा चक्रवतेन्द्र मल्लको षड्यन्त्रपूर्वक हत्या भयो । राजा बन्न सक्ने छोरो अचानक मरेपछि रानीलाई शोक पर्नु स्वभाविक हो । राजाले धेरै विचार विमर्श गर्दा के थाहा पाए भने आममानिसहरू मरेका व्यक्तिको सम्झना गरेर विभिन्न थरीका पूजा एवं श्राद्ध गर्छन् । यस्ता ती सबै परम्परालाई व्यवस्थित    गर्ने निर्णय गरे । गाईजात्रा त्यहि घटनाको व्यवस्थित रूप हो । 

 

गाईजात्रा प्रताप मल्लले सुरु गरेका होइनन् भन्ने कुरा पहिलो पटक भन्नु भयो, यति मात्र कुराले यसको पुष्टि हुन्छ ?

हिन्दू धर्ममा गाईको ठूलो महत्व छ । मानिसहरू स्वर्ग जाँदा गाईको पुछर समातेर बैतरिणी तर्छन् भन्ने कुरा शास्त्रमा लेखिएको छ । त्यसैले हजारौं वर्षदेखि मृत आत्माका लागि गाई दान महत्वपूर्ण हुँदै आएको छ । गाईजात्रालाई गाईजात्रा नै किन भनियो ? किनभने गाई दान गर्ने पुरानो चलन हो । त्यति मात्र होइन, गाईजात्रामा रामायणको शोक गीत गाइन्छ । मृतकका असल पक्षलाई गायनमा ढाल्नु गाईजात्राको महत्पूर्ण पक्ष हो । त्यो शोकगीतलाई किन रामायण भनियो ? किनभने पहिलेदेखि मृतकका बारेमा रामायण गाउने चलन थियो ।

 

उपत्यकाभित्र काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपुर, पाँगामा गाईजात्राका भिन्न–भिन्न चलन छन् । त्यति मात्र होइन, उपत्यका बाहिरका नुवाकोट, काभ्रे, धादिङ, दोलखा, संखुवासभा, भोजपुर र कास्कीमा पनि गाईजात्राका भिन्न–भिन्न चलन छन् । उपत्यकाबाट बाहिरिएका नेवारहरूले आफूले जानेको गाईजात्रा सँगै लिएर गए । प्रताप मल्लले सुरु गरिदिएको भए गाईजात्रामा यति विविधता आउने थिएन । उनले भैरहेको चलनलाई व्यवस्थित मात्र गरेका हुन् ।

 

गाईजात्रामा हास्यव्यङ्ग्य महत्वपूर्ण क्रियाकलाप मानिन्छ । यसको पृष्ठभूमिचाहिँ के होला ?

त्यतिबेला काठमाडौंमा ३२ वटा टोल थिए । राजा प्रताप मल्लको उर्दीपछि गाउँमै मनाइने गाईजात्रा काठमाडौंमा विशेष गरी दरबारमा ध्वजासहित मृतकका परिवारको परिक्रमा गर्न थालियो । ती ३२ वटा टोलमध्ये दुईवटा टोलमा परम्परागतदेखि नै मृत्यु उत्सवमा व्यङ्ग्य गर्ने चलन थियो । यो व्यङ्ग्य गर्ने चलनलाई कठ र वाठ भनिन्थ्यो । यही चलन परम्पराका रूपमा विकसित भएको हो । भक्तपुरमा श्रीनिवास मल्लको पालादेखि नै वाठ (व्यङ्ग्य ) गर्ने चलन थियो । त्यति बेला ठूला मानिसलाई सम्मान गर्नुपर्ने, उनीहरूका हरेक कुरा स्वीकार गर्नुपर्ने भएकाले वर्षको एकदिन व्यङ्ग्य गर्ने छुट दिइन्थ्यो । 

 

आज गाईजात्रा भन्नेबित्तिकै हास्यव्यङ्ग्य महत्वपूर्ण भएर आएको छ । यसमा तपाईंको भनाइ के छ ?

मैले अघि नै भनेँ, जुन क्रियाकलाप आर्थिक पक्षसँग जोडिन्छ, त्यो फैलिएर जान्छ । आज नेपाली कलाकार हास्यव्यङ्ग्य गरेरै देश विदेश घुम्ने, उच्चस्तरको जीवनयापन गर्ने र सम्मानजनक जीवन बिताउने अवस्थामा पुगेका छन् । गाईजात्राले नै नेपालमा धेरै हास्यव्यङ्ग्यकार जन्मायो । उनीहरूको बाँच्ने आधार बन्यो, तर उनीहरूले गाईजात्रा पर्वलाई रोयल्टी तिर्नु पर्दैन ? संसारभरि प्रोपर्टी राइट्सलाई महत्वपूर्ण अधिकार मानिन्छ । एउटा संस्कृति, परम्परा त्यही रोयल्टीले बाँचेको हुन्छ । नेपालमा जुन पर्वका आधारमा यति धेरै कलाकार जन्मिए, उनीहरूको जीवननिर्वाह भैरहेको छ, उनीहरूले कुनै न कुनै रूपमा नेवारी परम्परा र गाईजात्रालाई रोयल्टी तिर्नु पर्दैन ?

 

कसलाई रोयल्टी तिर्ने, को हो आधिकारिक निकाय ?

हामी अर्थात् नेवारी परम्परामा काम गरिरहेका संघसंस्थाहरूलाई ।

 

प्रकाशित :भाद्र ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्