रियोमा नेपाली खेलाडी

  • सरस्वतीको राष्ट्रिय कीर्तिमान

- एजेन्सी

भाद्र ७, २०७३-  

रस्वती भट्टराईका लागि रियो ओलम्पिक–२०१६ सुखद रह्यो, धेरै अर्थमा । ब्राजिल जानुअघि उनको एउटै लक्ष्य नयाँ राष्ट्रिय कीर्तिमान स्थापना गर्नु थियो र त्यसमा उनी सफल पनि भइन् । महिला १ हजार ५ सय मिटर दौडमा उनको सबैभन्दा ठूलो लक्ष्य नै राष्ट्रिय कीर्तिमान मात्र हुन सक्थ्यो, किनभने यसमा कायम कीर्तिमान समय २६ वर्ष पुरानो थियो र त्यो थियो, राजकुमारी पाण्डेको नाममा ।


सरस्वतीले रियोमा ४ मिनेट ३३ दशमलव ९४ सेकेन्डको समय निकालिन् र हिट्समा सहभागी १४ खेलाडीमध्ये १३ औं स्थानमा रहिन् । यसको अर्थ उनी सेमिफाइनल पुग्न पनि सफल भएनन्, तर उनले निकालेको समय आफैंमा ठूलो उपलब्धि थियो । राजकुमारीले सन् १९९० को बेइजिङ एसियाली खेलकुदमा यही स्पर्धामा ४ मिनेट ३४ दशमलव ४७ सेकेन्डको समयमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।

 

प्रतिष्पर्धापछि २३ वर्षीया आर्मीकी खेलाडी राजकुमारीले भनेकी छिन्, ‘यो प्रदर्शनलाई लिएर म धेरै खुसी छु । खासमा म १५ सय मिटर दौडको कीर्तिमान आफ्नो नाममा भएको हेर्न चाहन्थें र त्यो सपना पूरा भएको छ । सबैभन्दा ठूलो कुरा मैले यो कीर्तिमान ओलम्पिकमा बनाउन सकें ।’

 

लगभग आठ वर्षअघि नेपाली एथलेटिक्समा प्रवेश गरेकी सरस्वतीको यो कीर्तिमान तोड्न सम्भवत: उनी आफै र अरुलाई पनि सजिलो हुने छैन ।
किन भन्दा यसअघि १५ सय मिटर दौडमा उनको आफ्नै व्यक्तिगत उत्कृष्ट प्रदर्शन पनि ४ मिनेट ४० दशमलव ०३ सेकेन्ड थियो । यस्तोमा उनले रियोमा लगभग ६ सेकेन्डको सुधार ल्याइन् । उनले यो कीर्तिमान पछिल्लो दक्षिण एसियाली खेलकुदका क्रममा बनाएकी हुन् । सरस्वतीले आफ्नो सफलताको श्रेय आफ्ना प्रशिक्षक तथा नेपाली एथलेटिक्सलाई दिन पनि बिर्सिनन् । 

 

प्रकाशित :भाद्र ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्