गाईजात्रे प्रहसन

- साप्ताहिक संवाददाता

भाद्र ५, २०७३

 

कुन्जना घिमिरे, सुन्तली

गाईजात्रे प्रहसनका विषयमा बोल्दा मेरो दिमागमा पहिलेका वर्षका अनुभवको ‘फ्ल्यासब्याक’ आउँछन् । के गर्नु ? रहर हुँदाहुँदै पनि यो वर्ष गाईजात्रे प्रहसन गर्न सकिएन । गिराञ्चौरमा धुर्मुस–सुन्तली फाउन्डेसनबाट भैरहेको कामलाई यत्तिकै छाडेर गाईजात्रे प्रहसन गर्न समय मिलाउन सकिँदैन । त्यसैले यो वर्ष हामी जोईपोइले गाईजात्रे प्रहसन नगर्ने निधो गरिसकेका छौं । 

निकै रमाइला अनुभव छन् हामीसँग विगतका गाईजात्रे प्रहसनहरूको । पहिलो पटक १० वर्षअघि तीतो सत्यको प्रहसनबाट म गाईजात्रे कार्यक्रममा सहभागी भएकी हुँ । कलाकार रवि डंगोल ‘बेइमान’को पर्दामा देखिने बिजुलीको साटो म उहाँको जोडी भएर उक्त प्रहसनमा देखिएकी थिएँ । त्यतिबेला मैले प्रहसनबाहेक डान्स पनि गरेकी थिएँ । मेरो अनुभवमा गाईजात्रे प्रहसनको लत यसरी लाग्छ कि कुनै वर्ष छुट्यो भने थकथकी नै मान्नुपर्ने स्थिति आउँछ । जस्तो कि यो वर्ष भैरहेको छ । 

पहिलो वर्ष गाईजात्रे प्रहसन गरेपछि अर्को वर्षदेखि त ‘तीतेजिरे मेरी बास्सै गाईजात्रा’ सुरु भयो । तीनवटा सुपरहिट हास्य टेलीश्रृंखलाका कलाकारले एउटै मञ्चबाट हँसाउने भएपछि दर्शकहरू पनि उत्साहित थिए । मैले केदार घिमिरे दाइ र सीताराम कट्टेलसँग मिलेर ‘वा भुँडी’ शीर्षकको प्रहसन गरेकी थिए । त्यसपछिका वर्षहरूमा हामी अनवरत एउटै टिममा रहेर गाईजात्रे प्रहसनमा सक्रिय रह्यौं । सबै हँसाउने कलाकार भएपछि हरेक वर्षको गाईजात्रे प्रहसन रमाइलो नहुने त कुरै भएन । हाम्रा लागि त गाईजात्रा आउँदा दसैं आए जस्तो हुन्छ । यसपटक चाहिँ मिस हुने भो, दर्शक मात्र भइने भो । 

प्रकाशित :भाद्र ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्