रंगमञ्चमा बोल्ड एन्ड ब्युटिफूल अर्चना

- किशोर नेपाल

भाद्र ५, २०७३-  

शिल्पी नाट्यशालामा टंक चौलागाईं निर्देशित नाटक ‘माधवी’ को मञ्चनसँगै नेपाली रंगमञ्चमा कलाकार अर्चना पन्थीको जन्म भएको छ । महाभारतको एउटा महत्त्वपूर्ण प्रसंगलाई समेटेर भीष्म साहनीले लेखेको नाटक ‘माधवी’ यसको सम्पूर्णतामा एउटा जटिल नाटक हो । ऋषि विश्वमित्रलाई गुरु दक्षिणा लिन हठपूर्ण आग्रह गर्ने मुनीकुमार गालव, गालवको आग्रहले झिंजिएका गुरु विश्वमित्रद्वारा गुरुदक्षिणाका रूपमा आठ सय अश्वमेधी (घोडा) को माग, अश्वमेधी जुटाउन राजा ययातिको आश्रममा पुगेका गालव, ययातिद्वारा गालवलाई आफ्नी पुत्री माधवीको दान र अश्वमेधीको प्राप्तिमा गालवद्वारा माधवीको प्रयोग ।

 

नाटकको कथावस्तु हरेक हिसाबले जटिल छ । मुख्य पात्र माधवीको भूमिका मनोवैज्ञानिक र तनावपूर्ण छ । पुरुषको हठ पूरा गर्न नारीको अस्मिताको प्रयोग अनादि कालदेखि यसरी नै हुँदै आएको यथार्थ छ नाटकमा । यो जटिल कथालाई माधवीको भूमिकामा प्रभावकारी अभिनयले सजाएकी छिन् अर्चना पन्थीले । रंगमञ्चमा अर्चनाको प्रस्तुति पहिलो हो । यसअघि रंगमञ्चसँग उनको कुनै सम्बन्ध थिएन, तर नाट्य निर्देशक चौलागाईं माधवीको भूमिकामा अर्चनालाई नै चाहन्थे ।

 

   चार वर्षअघि मात्र ‘मिस टिन’ भएकी अर्चनाले दुईवटा म्युजिक भिडियोमा अभिनय गरेकी थिइन । त्यो आफ्नै दाजुहरूको क्रिएसन थियो । त्यसबाहेक, उनले अरू कुनै अभिनय गरेकी थिइनन् । चौलागाईं सरको दृष्टिमा माधवीको भूमिकाका लागि अर्चना नै योग्य थिइन् : ताजा, अपरिपक्व तर योग्य । सरल तर सबल । अन्योल मनस्थितिलाई जित्न सक्ने आत्मविश्वास । भर्खर यौवनको सिंढी चढ्न लागेकी किशोरवय तरुनी ।


अर्चना भन्छिन्, ‘गएको फागुन महिनामा टंक सरले मलाई नाटक खेल्न भन्नुभयो । मसँग त्यति आत्मविश्वास थिएन । मैले सक्दिनँ होला सर भनें । उहाँले उत्साह दिइरहनुभयो । त्यसपछि नाटक पढ्न दिनुभयो । पढें तर केही बुझिनँ । मसँग पौराणिक पृष्ठभूमिको कुनै ज्ञान थिएन । गुगल सर्च गरें । त्यहाँ पनि खासै इन्फर्मेसन भेटिँन । आफैंले बुझ्न कोसिस गरें । नाटक बोल्ड थियो । संवेदनाको गहिराइमा पौडिनुपर्ने । पढ्दै जाँदा राम्रो लाग्यो । माधवीको कथावस्तु मलाई कतै पनि ‘मोनोटनस’ र ‘बोदरिङ’ लागेन । मेरो आत्मविश्वास बढ्यो ।’

 

‘मैले कतै पनि अभिनय सिकेकी छैन । नाट्य जगत्का लागि आवश्यक हाउ–भाउ, कटाक्ष, संवाद सम्प्रेषणलगायतका कुनै पनि विषयको ज्ञान ममा थिएन । मेरो मनमा यति मात्र थियो, टंक सरले ममाथि अत्यन्त ठूलो विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई म कतै पनि पराजित हुन दिन्नँ । आई सुड नट लेट हिम डाउन एज माधवी,’ अर्चना भन्छिन् ।
नाटकमा माधवीको चरित्र बोल्ड छ । अर्चनालाई माधवीको आवाजमा संवाद सम्प्रेषण गर्न निकै कठिन भयो । माधवी राजकुमारी भएकीले उनको आवाज कर्कस बनाउन नमिल्ने । आवाज चर्को र कोमल भएर मात्र नपुग्ने, संवादसँग ध्वनिको सन्तुलन मिलाउनुपर्ने । त्यो काम कठिन थियो अर्चनाका लागि । उनले नाटकको प्रत्येक प्रदर्शनमा आफूलाई सुधारेकी छिन् । उनको आत्मविश्वास हलक्क बढेको छ ।

 

अर्चना खुसी छिन् । आफ्नो अभिनय जीवनको प्रारम्भ नै माधवीजस्तो महत्वपूर्ण नाटकबाट गर्न पाएकोमा । नारी संवेदनाका हिसाबले नाटक समकालीन समयमा दूरगामी महत्वको भएकाले पनि उनी खुसी छिन् । नाटकमा अश्वमेधी घोडाहरूको यतिविधि चर्चा भएकाले रिहर्सलका बेला उनी ठट्टा गर्थिन्, यो नाटकको शीर्षक घोडा नराखेर किन माधवी राखिएको होला ? माधवीले अभिनय कलाप्रति अर्चनाको मोह बढाएको छ । उनी नाटकलाई निरन्तरता दिन चाहन्छिन् । रंगमञ्च उनलाई मन्दिर लाग्न थालेको छ । नाटक प्रदर्शनको पहिलो दिन रंगमञ्चमा टेक्दा डर लागेको थियो उनलाई । अब त्यो डर हराइसकेको छ ।


नाटकमा अभिनय गर्नु सजिलो हुँदैन । अझ नाटक पौराणिक विषयमा आधारित छ र प्रयोगवादी पनि छ भने अभिनय कठिन हुन्छ । शारीरिक श्रम पनि त्यत्ति नै पर्छ अभिनयमा । अर्चनाले अभिनयका यी आवश्यकताहरूलाई राम्रोसँग पूरा गरेकी छिन् । अभिनय क्षेत्रमा पारंगत कलाकारहरूले उनको कठोर मेहनतको प्रशंसा गरेका छन् । ययातिको भूमिकामा जीवनको अभिनय जीवन्त छ । माधवीका रूपमा मात्र होइन, अर्चनाकै रूपमा पनि उनले जीवनमा आफ्नो पिताको प्रतिच्छवि पाएकी छिन् । गालवको भूमिकामा घिमिरे युवराजसँग उनको सामीप्य स्थापित भएको छ ।

 

सम्भवत: अर्चनाको अभिनयको सफलता यही नै हो, अचेल घर–परिवार, साथीहरू तथा सहकर्मी कलाकारहरू सबैले उनलाई माधवी भनेर बोलाउन थालेका छन् । उनको नाम परिवर्तन गरिदिएको छ नाटकले । आफ्नी छोरीलाई माधवीका रूपमा देखेर आमाले अभिव्यक्ति दिनुभएको थियो, ‘ओहो, मेरी छोरी युवती भैसकेकी छ । मैले त थाहै पाइनँ ।’ अर्चनाका आमा–बुबा दुवै खुसी हुनुहुन्छ उनको यो उपलब्धिबाट । विदेशमा भएका अर्चनाका बुबाले उनको अभिनय हेर्न पाउनुभएको छैन, तर माधवीको चर्चा र समीक्षाले उहाँलाई खुसी बनाएको छ ।


सेन्ट जेभियर्स कलेजमा सातौं सेमेस्टरमा अध्ययन गरिरहेकी अर्चना ‘बी–प्लस’ छात्रा हुन् । उनका साथीहरू टन्नै छन्, तर उनको कुरा आफूलाई सहयोग गर्ने साथीहरूसँग मात्र मिल्छ । त्यसरी सहयोग गर्ने साथीहरूमा केटीहरूभन्दा केटाहरू नै बढी हुन्छन् । उनलाई विनसित्तिका गफ गरेर समय बिताउन मन लाग्दैन । गीत सुन्नु उनको सोख हो, हिन्दी, नेपाली र अंग्रेजी गीतहरू सुन्छिन्, त्यो पनि अघिल्लो जमानाको । पुराना, मेलोडी, गम्भीर शान्त गीतहरू । सिनेमामा रुचि छैन । एसएलसी पास गर्नेबित्तिकै वीपी कोइरालाको उपन्यास सुम्निमा पढेकी थिइन् । ‘त्यतिबेला के बुझें होला र ? अब फेरि पढ्ने विचार गरेकी छु ।’ पुस्तक पढ्ने मामिलामा उनी आफूलाई अल्छी बताउँछिन् । एकै बसाइमा पुस्तक पढिसक्ने धैर्य छैन उनीसँग । फोटोसुट उनको ‘प्यासन’ हो । पार्टी र क्याफे भिजिटबाट टाढै भाग्छिन् उनी ।


माधवी नाटकका चरित्रहरूमा अर्चनाले गालवलाई स्वार्थी पाइन् । गालव, जो माधवीको आकर्षणमा फसेको छ, आफ्नो हठधर्मिताका लागि मात्र, माधवीको प्रयोग गर्छ । तीनवटा राजासँग माधवीको विवाह हुन्छ र ६ सय अश्वमेधी जम्मा हुन्छन् । बाँकी २ सय अश्वमेधी आर्यावर्तमा कतै छैनन् । ती ऋषि विश्वमित्रकै तबेलामा बाँधिएका छन् । ती २ सय घोडा जुटाउन गालवलाई कुनै जानकारी नदिई माधवी विश्वमित्रको अंकशायनी बन्छिन् ।

 

माधवीका माध्यमले ८ सय घोडा जुटाएर गालव गुरुदक्षिणाको बोझबाट मुक्त हुन्छ । चीर कौमार्य र लावण्य पुनप्र्राप्तिको शक्ति भएकी माधवी अनुष्ठान गरेर आफ्ना ती गुण फिर्ता लिन चाहन्नन् । उनी गालवको प्रेमको परीक्षा लिन्छिन् । तीन चक्रवर्ती राजकुमारको जन्मदातृ तथा विश्वमित्रद्वारा भोगिएकी माधवीलाई यथावत् स्वीकार गर्दैन गालव । अर्चना त्यसैले गालवलाई स्वार्थी चरित्र भन्छिन् । माधवी अर्चना पन्थीको जीवनको ‘टर्निङ प्वाइन्ट’ बनेको छ । उनको आफ्नो नाम अर्चना त छँदैछ, त्यसमा माधवी नाम इम्पोज्ड भएको छ । अर्चना र माधवी जोडिएका छन् ।

 

प्रकाशित: भाद्र ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्