भाँडाकुटीदेखि पोकेमनसम्म

  • कथा

- अधिकारी रवीन्द्र

भाद्र ४, २०७३

 

दिउँसो तीन बजेको हुँदो हो । चियापसलको बबिन भाइ छाता ओढेर उसकी ममीलाई ‘म खोजेर आइहाल्छु है ?’ भनेर निस्कियो । साउन मास पानी झमझम परिरहेको छ । मैले झट्ट सोधिहाले ‘के ? के खोज्न जान लागेको यस्तो पानीमा ?’ उसकी ममीले भन्नुभयो— ‘खै के हो कुन्नि उसैलाई सोध्नु, पागलजस्तो के खोज्ने हो ।’ चार पाइला अघि बढिसकेको बबिन पछाडि फर्केर भन्दै हिडँ्यो— ‘पोकेमन खोज्न जान लागेको ।’

 

 बर्खे झरी, चिप्लो बाटो, बादलले डम्म ढाकेको आकाश । हो, यतिखेर ठ्याक्कै एउटा कुटो बोकी ठाँटिगैरातिर कालिन्द्रे च्याउ खोज्न जाने बेला भएको थियो मेरो बाको, त्यही समयमा एउटा ठेट्नो पोकेमन खोज्दै हिँड्दै छ । म एकछिन त अक्क न बक्क परें । पोकेमन के खाने चिज हो ? वन–कुरिलोजस्तै झाडीमा पाइने हो कि, च्याउजस्तै कुहिन लागेको पातपतिंगर वा काठमा पाइने हो ? कि यो सिङल्टो जस्तै ओसिलो काँडे लतिकामा पाइने हो ?

हे भगवान्, फेरि नयाँ जीव पोकेमनको उत्पत्ति भएछ ? मलाई थाहै भएन । हामी जमानामा पाखा–पाखामा चुत्रा, झाल–झालमा एेंसेलु अनि खाल्ट्या भीरमा काफल खोज्न हिँड्थ्यौ, दस वर्षपछि अहिलेका भुराहरू हातमा स्मार्टफोन समाई पार्कमा पोकेमनका फूलहरू, गल्लीहरूमा पोकेमन जिम अनि ब्लक ब्लकमा पोकेमन प्रिजन बलहरू जियो–क्याचिङ गर्न हिँड्दैछन्— जय पोकेमोन । 

 हाम्रा लागि ऐसेलु र काफल जति वास्तविक थिए, बालबालिहरूका लागि आज स्क्रिनमा मात्र देखिने पोकेमनका टार्गेटहरू त्यति नै वास्तविक लाग्दै छन् । बर्खामासमा पौडी खेल्न नजा, बाढीले बगाउँछ भनेर बाआमाले जति नै गाली गरे पनि जसरी हामी भागी–भागी खोला पस्थ्यौं, ठीक त्यसैगरी आजका टिनएजरहरू नटेरी–नटेरी फोन बोकेर पोकेमनजस्ता परिकल्पित वास्तविकताका पछि दौडिरहेका छन् । हामी काली–एेंसेलु र हाडेबयर चुसेर अघाउँथ्यौं, अहिले उनीहरू पोकेमन समातेर अघाउँछन् । सम्भवत: यो मानवीय सभ्यताको विकासको सुचक होला, जमानाअनुसार मान्छेको डाइट पनि फरक हुँदो रहेछ । 

हिजोसम्म संसार इन्टरनेटको सहाराले स्क्रिनमा देखिन्थ्यो, अब ‘पोकेमन गो’ले त्यही स्क्रिनलाई ढोका बनाएर संसार जिउने अभिशप्त सपना पूरा गर्ने प्रथम खुड्किलोको काम गर्न थालिसकेको छ । पहिले हामी नाङ्गै खुट्टाले चिप्लेढुङामा चिप्लेटी खेल्थ्यौं, भोटो लगाई आलेडाँडामा फिरफिरे उडाउँथ्यौं । हो, हामी निर्वस्त्र र निरस्त्र प्रकृतिसँग बिना हिचकिचाहट लुकामारी खेल्थ्यौं । पोकेमनले सोफामा बसेर आँखा एक टकसँग स्क्रिनमा हेरेरै दिन बिताउन सक्ने बालबालिकालाई घरबाहिर त ल्याउन सक्ला, तर प्रकृतिसँगको उसको कनेक्सनमा हाम्रो जत्तिको तादात्म्यता हुनेछैन । उनीहरू निर्वस्त्र हुनेछैनन, घामदेखि सूक्ष्म जीवाणुसम्ममा शत्रु मान्ने यो पुस्ता बहिर निस्कँदा टोपी, चस्मा, मास्क, सन्स्क्रिनदेखि जुत्तासम्म लगाएर घरको पूर्ण पहिरनमा ढोकाबाट बाहिरिनेछ । उनीहरू निरस्त्र छैनन्, वाइफाइ वा पकेट डाटा तथा जिपियस भएको स्मार्टफोनको सहायताबाट उनीहरूले वातावरणसँग इन्ट्य्राक्ट गर्नेछन् । 

 पहिले बालबच्चाहरू खल्याङखुट्टी खेल्थे, गट्टा र ग्याम्बल खेल्थे । फेरि गुच्चादेखि बाघचाल सबै खेल वास्तविक मैदानमा वास्तविक व्यक्ति र वस्तुचिजहरूबीच वास्तविक वातावरणमा खेलिन्थ्यो । अहिलेका कुनै पनि बालकको बाल्यकाल देखेर मन भयभीत हुन्छ । उनीहरू जे खेल्छन् त्यही मोबाइल वा ट्याबमै खेल्छन्, मोबाइलसँगै खेल्छन्, यदि मानिससँग खेले भने पनि ब्लुटुथबाट खेल्छन् । अब एक–अर्काबीचको अन्तक्र्रियाको आवश्यकता रहेन । पोकेमन खोज्न बीसांै बालबालिका एउटै पार्कमा हिंडे पनि त्यहाँ सामाजिकीकरणका लागि कुनै ठाउँ छैन । उनीहरू आवाजबिना भावनाबिना र मुस्कानबिना दत्तचित्त भै रोबोटिक चालले पोकेमन खोज्न हिँड्छन् ।

 

पर्खाल र तारबार नाघ्नेहरू पहिले चोर हुन्थे, अहिले अक्सर तिनै जम्बीजस्ता देखिने पोकेमनका सिकारी हुन्छन् । हामी चौरेडाँडामा कबड्डी खेल्दा जीउ थिचाथिच गरी घुलिपल्टी खेल्दै शनिबार बिताउँथ्यौ, अहिले क्ल्यास अफ क्ल्यान नै सबै प्रकारका घम्साघम्सीको प्रतिनिधि हो । बालबालिकालाई गलहत्याएरै घरबाहिर निकाल्ने यो पोकेमन कस्तो खेल रहेछ त, हेर्ने चेष्टा गरें । घट्ट घुमेझैं ब्याट्री सक्ने खेल रहेछ, अनि गतिलो ताररहित इन्टरनेट चाहिने रहेछ । त्यो सिकाइमा एउटा बिहान सकियो तर जसरी यो खेल बालबालिकाहरू रमाई–रमाई खेलिरहेका देखिन्छन्, त्यति मजा भने लागेन । यसो सोचें, हाम्रो पुस्ताचाहिँ क्यान्डी क्रसभन्दा माथि जान नसक्ने पुस्ता रहेछ कि ?

बाल्यकालमा घुर्रा घुमाउने, केत्तुकेको पातमा बसी घाँसमै घस्रेर डाँडो ओर्लने अनि भाँडाकुटी खेल्ने भनेको सुन्दा अब आगामी जेनरेसनले रामायण कालको कुरा मान्नेछ । प्रविधिले कति छिट्टै हामीलाई पुरातात्विक जीव बनाइदियो । हामीले मोजाको वा भोगटेको बल नाङ्गै खुट्टाले खेल्दा ढुङ्गाले दर्फर्‍याएर खुट्टा सुनिन्थ्यो, अहिले पावरसट च्यालेन्ज चियरमै बसेर खेलिन्छ । पुराना हरेक खेलका डुब्लिकेट आएका छन् । पहिले चौरमै दौडिने हो, अहिले टेम्पल रनले दौडिदिन्छ । पहिले घामपानी र प्रकृतिसँगै बसेर खेलिने खेल अहिले सब रिड्युस्ड भर्सनमा मोबाइल, ट्याब र कम्प्युटरका स्क्रिनमा आएका छन् ।

 

ती सबै बसेरै अथवा निष्क्रियताका साथ अथवा असामाजिक ढंगले घरभित्रै कुनै कुनामा बसेर खेलिन्छ । भन्ने नै हो भने पहिलेका बालबालिका वास्तविक खेलाडी थिए, अहिले स्क्रिनमा संसार खेल्ने बालबालिका खेलाडी नभै दर्शक मात्र हुन्, जसले खेलको आनन्द त लिन्छ तर तदअनुरूप क्यालोरी बर्न गर्दैन ।

प्रकाशित :भाद्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्