उदितनारायण झा रोमान्टिक गायक

  • ब्याक बाइट्स आनन्द कार्की (गायक) बाट उदितनारायण झा (गायक)

- साप्ताहिक संवाददाता

भाद्र २, २०७३

 

आनन्द कार्की र उदितनारायण झा समकालीन गायक हुन् । गायक झासँग कुनै बेला कार्की पनि रेडियो नेपाल धाउँथे । २५ वर्षभन्दा बढी समयदेखि निकट रहेका यी दुई गायकद्वय गायन कलाबाटै चर्चामा छन् । दुई दशकअघि चलचित्र कसमका लागि यी दुईले एउटै गीत गाए ‘वनमा फुल्यो फूल’, जुन अहिलेसम्म पनि चर्चित छ ।

मुम्बई गैरहने आनन्द कार्की उता पुग्दा एकपटक भए पनि उदितको निवास पुगेकै हुन्छन् । हालै यी दुईको भेट लन्डनमा भएको थियो । अहिले पनि बेलाबखत फोनमार्फत कुराकानी भैरहने आफ्ना समकालीन गायक मित्र उदितनारायण झाका बारेमा गायक आनन्द कार्कीले यसरी कुरा काटे :

 

राम्रो व्यक्तित्व : व्यक्तिगत रूपमा असल 

मित्र मात्र होइन, उदितजीको व्यक्तित्व नै प्रभावशाली छ । 

रोमान्टिक गायक : उहाँलाई म रोमान्टिक गायकका रूपमा लिन्छु । उहाँले श्रोताको मनलाई नै रोमान्टिक बनाउने अनेकौं गीत गाउनुभएको छ । 

रसिलो कुरा गर्ने : गफ गर्दा हँसाइ–हँसाइ कुरा गर्ने उहाँको बानी रसिलो छ । 

गुड पर्फमर : स्टेज पर्फमेन्सका क्रममा उहाँ दर्शकलाई आफ्नो स्वरको जादुले लठ्ठ त पार्नुहुन्छ नै साथै राम्रो पर्फमेन्स पनि दिनुहुन्छ । 

पारिवारिक : उहाँका लागि परिवार पहिलो प्राथमिकतामा पर्छ, जुन निकै राम्रो कुरा हो ।

 

कुरा नबुझी बोल्ने : कुनै पनि कुरा गर्दा बुझेर गर्नुपर्छ, तर उदितजी कहिलेकाहीँ कुरै नबुझी बोल्नुहुन्छ । 

पहिरनमा नो अपडेट : गायकहरू अहिले पहिरनको मामिलामा पनि स्टाइलिस् हुनुपर्ने हो, तर उदितजीलाई यो विषयमा कुनै मतलब छैन । लगाए पनि झिल्के टाइपको लगाउनुहुन्छ ।

झट्टै रिसाउने : एकैछिनमा टेम्परमा आउने बानी छ, जुन कम गर्नु उपयुक्त हुन्छ ।

जोक बनाइदिने : यदाकदा सिरियस भएर गरेको कुरालाई पनि मजाकका रुपमा लिने र त्यसलाई जोक बनाइदिने स्वभाव छ । 

अर्कोलाई बोल्न नदिन : उदितजीको मुड चल्यो भने यति बोल्नु हुन्छ कि सामुन्नेको व्यक्तिले केही बोल्नै पाउँदैन ।

 

प्रकाशित :भाद्र २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्