दि कफी ब्वाइ

- किशोर नेपाल

श्रावण ३२, २०७३- 

दि कफी ब्वाइ । कसरी कफी ब्वाइ बने दुर्गा श्रेष्ठ ? रामेछापको फुलासी गाउँबाट ‘पैसा कमाउने’ मुख्य लक्ष बनाएर काठमाडौं छिरेका यी सामान्य युवकको जीवन यात्रा निकै रोचक छ । १० वर्षअघि एसएलसी पास गरेपछि उनी पहिलोपल्ट काठमाडौं आएका थिए । त्योभन्दा अघि पनि भाँचिएको हातको उपचार गर्न उनी दुई पटक काठमाडौं नआएका होइनन्, तर त्यो बेलाको काठमाडौं आगमनको महत्व थिएन । त्यतिबेला उनी बच्चै थिए । 

दुर्गा भन्छन्, ‘एसएलसी परीक्षा पास गर्नुलाई सबैले आइरन गेट पार गरेको भन्छन् । मेरा लागि भने यो नै गोल्डेन गेट सावित भयो । काठमाडौं आएर मैले ‘प्लस टु’ को पढाइ जारी राखें । गाउँको स्कुलमा चार क्लासदेखि मात्र अंग्रेजी पढाइने हुँदा मेरो अंग्रेजी कमजोर थियो । गाउँमा पढ्ने केटाकेटीको ‘भिजन’ पनि खासै डेभलप नहुने । एघारमा म अंग्रेजीमा फेल पनि भएँ ।’

त्यतिबेला उनी दिदीहरूसँग बस्थे । सुरक्षाकर्मीको पृष्ठभूमि थियो परिवारको । दिदीहरू प्रहरी सेवामा थिए । उनीमाथि पनि धेरै दबाब थियो प्रहरीमा जागिर खान । उनी भने जाँच दिन जान्थे र जानी–बुझी फेल भएर फर्कन्थे । एक दिन उनी परिवारसँग चिडियाखाना गएका थिए घुम्न । उनले त्यहाँ बाघ देखे । बाघको अगाडि मासुको थुप्रो राखिएको थियो । बाघ भने त्यो मासुतिर हेर्दै नहेरी सुतिरहेको थियो । एकपटक फुलासीमा एउटा बाघले आक्रमण गरेको थियो उनकी दिदीलाई । उनले त्यो जंगली बाघ र यो चिडियाखानाको बाघका बीच तुलना गरे । जंगली बाघ स्वतन्त्र थियो । आफैं सिकार गरेर आफ्नो आहारा जुटाउँथ्यो । चिडियाघरको बाघ अर्काले खटाएर दिएको आहारा खान बाध्य थियो ।

 

यो घटनाले दुर्गाको दिमागमा एउटा कुरा क्लिक गर्‍यो, स्वतन्त्रता । स्वतन्त्र नभएसम्म मानिसले उन्नति गर्न सक्दैन । उनी परनिर्भर थिए । सबै कुरामा घर–परिवारको मुख ताक्नुपर्ने । उनलाई सरकारी जागिर पनि खान मन लागेन । त्यो पनि परनिर्भर पेसा हो । उनलाई प्राइभेट सेक्टर मन पथ्र्यो । त्यता काम गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । उनी काम खोज्न थाले । आलिशान रेस्टुराँमा काम पाए उनले । त्यहाँ वर्करका रूपमा काम सिक्न लागे । वेटर ट्रेनिङका लागि १५ हजार फी बुझाउनुपथ्र्यो । उनीसँग त्यति पैसा थिएन । त्यसैले त्यो ट्रेनिङ लिएनन् । भाँडा माझेर काम सिके । जुठो र फोहोर भाँडा उठाउन घीन लाग्थ्यो । मेहनत गरे । उनी वर्करबाट वेटर भए । ग्राहकहरूलाई मेनु दिने, अर्डर लिने । एकपटक फ्लोरमा क्याप्टेन थिएन । उनले ग्राहकलाई आफैं विरियानी सर्भ गर्ने विचार गरेर खानाको प्लेट उठाए, तर कता–कताबाट क्याप्टेन आएर उनको हातको प्लेट खोसेर लग्यो । उनले खानाको अरोमेटिक सुवास लिन पाएनन् ।

 

आलिसान रेस्टुराँमा उनी वर्करबाट वेटर हुँदै क्याप्टेन र म्यानेजरसम्म भए । बार टेन्डरलाई रिझाएर ककटेल र मकटेल बनाउन सिके । फ्लेमिङ र फ्लेरिङ जाने । बोतल नचाउन सिके । उनी रेस्टुराँ एन्ड बारको म्यानेजमेन्टमा पोख्त भए । गाउँमा दुर्गाले आलुको सीमित उपयोगिता देखेका थिए : कि उसिनेर नुन खुर्सानीसँग चोपेर खायो, कि तरकारीमा मिसायो । सहर पसेपछि उनले आलुका भेराइटीको जानकारी पाए । भोक लाग्दा पखेराका घँगारु, ऐंसेलु र चुत्रो टिपेर खाने दुर्गा अब फ्रेन्च फ्राइज, क्रिष्पी पोटेटो, चिल्ली पोटेटो आदिको स्वादमा रमाउन थाले । काठमाडौं सहरमा यो उनको पहिलो इनिङ थियो । तीन वर्षअघि सहपाठी अर्जुन चौहानको प्रेरणाले उनले आफ्नो जीवनलाई नयाँ मोडमा उभ्याए– कफी मोड । यो मोडमा भने दुर्गा एक्लै छैनन् । उनका मित्र कुशल गिरी र अर्जुन चौहानसँगै छन् । तीनै जना एउटै उद्देश्यमा बाँधिएका छन् । 

निकै वर्षअघि काठमाडौंमा अग्र्यानिक कफीको स्वाद लिने व्यक्तित्वहरूको संख्या नगण्य थियो । विद्वान् लेखक तथा अनुवादक स्व. चैतन्यकृष्ण उपाध्यायका लागि बेंगलुर कफी हाउसले दक्षिण भारतबाट कफी बिन्स मगाइदिन्थ्यो । सम्भवत: काठमाडौंमा त्यही एउटा कफी हाउस थियो बिन्स कफी सर्व गर्ने । दुई–चार वर्षयता काठमाडौंमा कफी संस्कृतिको चमत्कारिक हिसाबले विकास हुँदैछ । अग्र्यानिक कफी अर्थात् कफीको रियल टेस्ट । पहिले काठमाडौंमा एउटा जाभा थियो । अहिले अग्र्यानिक कफीका आउटलेट गनेर साध्य छैन । बजारमा लाभाज्जा, इल्लीलगायतका कफीका थरी–थरी ब्रान्ड भित्रिएका छन् । जे–जसो भए पनि अग्र्यानिक कफीको विकासमा जाभाको ठूलो योगदान छ । 

सहपाठी अर्जुनको स्टाइल र कफी ज्ञानले पुलकित भएका दुर्गालाई अर्जुनले जाभाको कफी स्कुलमा दसदिने तालिम लिने मेसो मिलाइदिए । दुर्गाले २५ हजार बुझाएर तालिम लिए । तालिम सकिएपछि ट्रेनीका रूपमा दुर्गा अर्जुन कार्यरत रहेको कफी स्टोरमा पुगे । काम गर्दागर्दै उनले थाहा पाए । आफूले सिकेका र जाने–बुझेका कुरालाई बिजनेसमा रूपान्तर गर्नेबित्तिकै त्यो ठूलो लगानी बन्छ । यसरी नै कफी उनको क्रेज बन्यो । दुर्गा वरिष्ठा बने । उनको जबरजस्त प्यासन बन्यो कफी । मानिसको जीवनमा क्याफिनको के महत्व छ ? कफी के हो ? किन एक्सप्रेसोको महत्व छ ? दुर्गाले यी प्रश्नहरूको उत्तर फेला पारे । कफीमा उनको रुचि र चाख बढ्दै गयो । ‘क्रप टु कप’ कफीको यो उद्घोषले उनलाई छोयो । 

प्यासन मात्र होइन, दुर्गाको जब बन्यो कफी । उनी जाभामा काम गर्न थाले । जाभाको राइजिङ मल आउटलेटमा केही समय काम गरेपछि उनी अन्तर्राष्ट्रिय विमानस्थल आउटलेटमा पुगे । अहिले उनी सिटी सेन्टर र लविमको जाभा आउटलेटमा कार्यरत छन् । यो नियमित कामबाहेक, उनले आफ्ना साथीहरू– अर्जुन चौहान र कुशल गिरीसँग मिलेर भक्तपुरमा पहिलो आउटलेट खोले हाइल्यान्ड विन्ज कफी । भुइँचालोले उक्त आउटलेट ध्वस्त भएपछि अहिले बत्तीसपुतलीको होटल टेम्पल इन र सानेपामा हाइल्यान्ड विन्ज सञ्चालन गर्दैछन् । उनको लक्ष्य छ, आफ्नै कफी सप बनाउने । कफीको नेपाली टेस्ट विकसित गर्ने । किनभने, नेपाली कफीको गुणात्मक मूल्य एकदमै बढी छ । त्यसमाथि, नेपालमा बसेर पनि राम्रो काम गर्न र पैसा कमाउन सकिन्छ भन्ने विश्वास जगाउनु छ समाजमा ।

 

प्रकाशित :श्रावण ३२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्