कैदी भावना र ज्यालादारी भाषणले सकेको परिवर्तन

- किशोर नेपाल

श्रावण २४, २०७३-  

मोमिलाको अर्थ के हुन्छ ? थाहा छैन ? थाहा छैन भने सुन्नुहोस् । मोमिलाको अर्थ हुन्छ— उत्सव, तर यो शब्दार्थ पुष्टि गर्न शब्दकोश नपल्टाउनुहोला । मोमिला आफैंमा विशेष शब्द हो, जसको उल्लेख शब्दकोशमा हुन बाँकी नै छ । ‘म आफ्नै उत्सव मनाउँछु,’ अमेरिकी कवि वाल्ट ह्विटम्यानले लेखेका थिए । मोमिला त्यसैको विशिष्ट नेपाली रूपान्तरण हो । 

डा. दुर्गा भण्डारीको शब्दमा : मोमिलाको व्यक्तित्व संरचना नाटकीय छ, त्यसमा अभिनय छ, आवश्यक मात्रामा कृत्रिमता पनि छ । कुनै पनि सभ्यताग्रस्त नर–नारी कृत्रिमताबाट पूर्णत: मुक्त हुुन सक्दैनन् । मोमिलाका आत्मसंवादहरू ध्वन्यात्मक र कथ्यात्मक रूपले गर्जनकारी छन...यी हुन् मोमिला । कवयित्री एवं निबन्धकार । मोमिलासँगको संवाद आफैंमा विलक्षण अनुभव हो । मोमिला प्राय: पद्यमा बोल्छिन् । उनमा अभिव्यक्तिको आफ्नै कला छ, किनभने जीवनको घोर निराशाले दिएको पीडाप्रेम उनको लत बनिसकेको छ । उनी कठिन व्यक्तित्व हुन् । केस्रा–केस्रा नछोडाई बुझ्न नसकिने । उनको भावसँगको सान्निध्यताले मात्र चिन्न सकिने । उनका रचनाहरू सुँघेर बुझ्नुपर्ने । 


मोमिलासँग मेरो पहिलो प्रश्न थियो, ‘कत्तिको रिसाउनुहुन्छ ?’ उनको उत्तर स्वभाविक थियो, ‘रिस उठ्छ नि । झूट बोल्दा रिस उठ्छ । अर्कालाई घात नगर्ने झूट बोल्नु त ठीकै पनि होला । कहिलेकाहीं त्यस्तो हुन्छ, उच्च मानवीय संवेदनाको क्षणमा । जिन्दगी बाँच्दै जाँदा योसँग गाँसिएका धेरै भ्रम टुट्छन् । त्यस्तो भ्रम टुट्दा सार्‍है आनन्द आउँछ ।’ ‘बाँकी जिन्दगी त फेरि पनि भ्रममै बाँच्नुुपर्ला, होइन र ?’ भन्छिन् मोमिला, ‘भ्रमको पार्सलजस्तै हो जीवन । युटोपिया । हेर्नुहोस् न, कुनै प्रोग्राम गर्‍यो । आफू घाँटीभरि खादा भिरेर मन्चमा गजक्क बस्यो । तल श्रोताहरू टन्न बसेका छन् । ताली पिट्छन् । कस्तो–कस्तो लाग्छ आफैंलाई ।’

 

म मोमिला भन्ने पात्र मात्रचाहिँ अरूको आँसु देख्न नसक्ने एउटा पात्र हुन्छु होला । अहिले म एघारौं कक्षाको  एउटा विद्यार्थीलाई पढाउँदैछु । कक्षामा एक जना छात्र छ विनय । उसको जीवन अँध्यारो छ । आठौं कक्षामा पढ्दासम्म उसका आँखा खुला थिए । त्यसपछि बन्द भए । नांगो आँखाले संसारलाई एकपटक चारैतिर हेरेपछि मानिस अचानक दृष्टिविहीन हुन्छ । यस्तो अवस्था कति दु:खद हुन्छ, यो त अनुभूतिको मात्र कुरा हो । 


मोमिला यस्ता घटनाक्रमसँग जोडिइरहन्छिन् । भनौं, यो उनको नियति नै हो । भावुक त छिन् नै उनी । भावना आफैंमा चक्रव्यूह हो । नियतिसँग घुमिरहने चक्रव्यूह । मोमिलाको पेसा प्राध्यापन हो । उनी असफल शिक्षक होइनन् । मोमिलाको प्यासन साहित्य हो– कवि र निबन्धकार । उनी असफल साहित्यकार होइनन्, तर पनि उनी आफूलाई असफल मान्छिन् । सोच्छिन् एउटा कुरा । त्यो लक्षमा आधा मात्र पुग्छिन् । आधा सोचाइका त्यस्ता लक्षहरू अनगिन्ती भैसके होलान् । मोमिलाले सायद गन्न भ्याएकी छैनन् अथवा गन्ने आवश्यकता सोचेकी पनि छैनन् । जथाभावी जीवन घिसार्दै हिंडिएका असामयिक यात्राहरू छन् । यात्राका अनुभूतिहरू छन्, संवेदनाहरू छन्, जो सदा प्रश्नरत भैदिन्छन् । पुग्नका लागि हाम्रा अभीष्टहरू कहाँ गुज्रिएका छन् । कहाँ पुग्छ मान्छे ? वा कतै पुग्दैन ?


नयाँ जमानासँग मोमिलाको कुनै कटाक्ष छैन । आडम्बरयुक्त लागे पनि साजसज्जा चाहिन्छ नै । जमाना विज्ञापनको हो । यसलाई नराम्रो भावमा लिनुपर्ने कुनै आवश्यकता छैन । हो, हरेक विषयमा एउटा लेभल हुन्छ । ब्रान्ड त बन्नैपर्छ । ब्रान्डले एक प्रकारको स्तर धान्छ । ब्रान्ड बिग्रियो भने पोल खुल्छ । यी यस्ता कुरा हुन्, जुुन आँखा खुला राखेर देखिँदैन, न त कान खुला राखेर नै सुनिन्छ ।


मोमिला टाइम बाउन्ड छिन् । बिहान ६:१५ देखि १०:४५ सम्म लगातार पढाउँछिन् उनी । बिहानको क्लास भ्याउन उनले ५:३० बजे नै घरबाट निस्किइसक्नुपर्छ । यसरी लगातार पढाउने उनी मोमिला नै हुन । 
मोमिला सौखिन छिन् । विशुद्ध यसनिम्ति छिन् कि उनलाई दूध–भात मन पर्छ । आहार मानिसको स्टाइल पनि हो । मोमिला स्टाइलमा बाँच्छिन् जिन्दगी । जसरी बाँच्छिन, कलात्मक बाँच्छिन् । आफ्नै हातले खाना बनाएर पाहुनालाई ख्वाउन पाउँदा रमाउँछिन् । जीवनप्रतिको उनको मोह टड्कारो देखिन्छ । उनीसँगको भेट कालो रंगमा भयो । गलामा टलक्क टल्किएका चम्किलो मोतीको माला । उनी कालो परिधानमा सजिएर आइन् । हुरीजस्तै । हो, उनलाई हुरी मन पर्छ । 


मोमिला सर्जकले वाणी र कर्मका बीचमा भेद हुने कुरा गर्नु हुँदैन भन्ने मान्यता राख्छिन् । ‘शब्द बोल्नु र जीवन जिउनुमा फरक छ भने सम्पूर्णतामा ऊ स्रष्टा होइन । कविताजस्तै बाँचिएको जीवन कलात्मक हो । सार्थक र सफल । 
आगो शब्द बोल्दैमा, 
बोल्ने ओठहरू डढ्नेवाला छैनन् ।
पानी शब्द बोल्दैमा,
बोल्ने ओठहरू भिज्नेवाला छैनन् ।

मोमिलाको कुनै अर्को नाम राख्ने हो भने त्यो नाम हो— निर्भीकता । उनी भन्छिन्, ‘यो राम्रो होइन, तर अहिलेको साहित्यमा चलेको छ गुटबन्दी । साहित्य गुटबन्दीमा फसेपछि राम्रा सिर्जनाहरू अँध्यारोतिर धकेलिन्छन् । गुटबन्दीले राजनीतिमा आबद्ध वा संलग्न नभएको कुनै पनि स्रष्टालाई पछाडि पारिदिन्छ । जो राजनीतिमा लागेर लेख्छ ऊ स्रष्टा हुँदैन । अन्तत: सबै साहित्यकारको गन्तव्य एउटै हुन्छ । त्यसलाई राजनीतिले प्रयोग गर्न थालेपछि गन्तव्य हराउँछ । सिर्जना सकिन्छ ।


पाँचवटा कविता–संग्रह र एउटा निबन्ध–संग्रह प्रकाशित भैसकेका छन् मोमिलाका । उनी अहिले २५ वटा निबन्धको संग्रह प्रकाशन गर्ने तयारीमा छिन् । रमाइलो कुरा, तीनवटा निबन्ध लेख्न बाँकी नै छ । ती निबन्धको थिम विकसित भैसकेको छ । नाट्य संवादमा निबन्ध लेख्नु उनको विशिष्ट शैली हो । मोमिला विम्बप्रधान कविता मन पराउँछिन् । गोपालप्रसाद रिमालका कविताहरू उनका अलटाइम फेभोरिट हुन, ‘ऊ हुरी भएर आउनेछ तिमी पात बनेर पछ्याउनु ।’


भन्छिन्, ‘कविले भनेजस्तो हुरी त आयो । हुरीले बढारेर लानुपर्ने पुराना कुरा बढारेर लगेन । पातले हुरीलाई पछ्याएकै हो । हुरी बलियो पनि थियो । तर, पुराना विचार खोतलेर बढार्न सकेन । नभमा घुमिरहेको आगो शब्द बोल्न सजिलो हुन्छ तर, आगोको पोलाइ खप्न गाह्रो हुन्छ । गरिब मानिसको भोक र पुगीसरी आउनेहरूको स्वार्थ– यस्ता विषय हुन् जसले परिवर्तनलाई स्थापित हुन दिँदैनन् । हाम्रो परिवर्तनलाई कैदी भावना र ज्यालादारी भाषणले सक्यो ।’ मोमिला अहिले आइसोलेसनमा छिन्, किनभने आनन्द त्यसैमा छ ।

 

प्रकाशित :श्रावण २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्