खुल्यो ढोका कोरियाको

- शिव मुखिया

श्रावण १९, २०७३-  

निरहनु पर्दैन, नेपाली तन्नेरीको आकर्षक रोजगार गन्तव्य हो–दक्षिण कोरिया । तुलनात्मक रूपमा राम्रो पारिश्रमिक पाइने कोरिया रोजगारी गर्न लालयित युवाहरूको संख्या कति छ भने, यसपालिको इपिएस परीक्षामा सहभागी हुन ५७ हजार १ सय २९ जना युवाको ताँती लाग्यो । जबकी कोरियाले यो वर्ष ३१ सय जनालाई मात्र उत्तीर्ण गराउने जनाउ दिइसकेको थियो । परिणामत: यसै साता प्रकाशित नतिजामा तीन हजार पाँच सयको नाम निस्किएको छ । उनीहरू गत असार ४ र ५ गते काठमाडौं तथा पोखरामा सञ्चालित परीक्षामा सामेल भएका थिए । 

विदेशी कामदार भित्र्याउने नीतिअनुरूप कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा सञ्चालन गर्छ । यसअघि उसले ६ पटक यस्तो परीक्षा सञ्चालन गरिसकेको छ । कोरियाप्रति यस्तो क्रेज किन पनि छ भने, कोरिया नेपाल सरकार आफैंले श्रम सम्झौता गरी रोजगारीका लागि विदेश पठाउने एकमात्र मुलुक हो । अन्य मुलुकमा चाहिँ सरकारले श्रम सम्झौता गर्ने र व्यवसायीले कामदार पठाउने गरेका छन् । 

 

अबको प्रक्रिया 
परीक्षामा उत्तीर्ण हुनुको अर्थ रोजगारी पक्का हुनु भने होइन । सबै उत्तीर्णले त्यहाँ रोजगारीको अवसर पाउँछन् भन्ने कुनै टुंगो हुँदैन । किनभने कोरियाले माग गरिएको कामदारभन्दा तीन गुणा बढी परीक्षार्थी उत्तीर्ण गराइन्छ । यसरी उत्तीर्ण गरिएका परीक्षार्थीको विवरण इपिएस शाखाले कोरिया पठाउँछ । यसै आधारमा कोरियाले छानीछानी कामदार माग गर्छ । उनीहरूले विभिन्न चरणमा कोरिया पुग्छन् । यसरी कोरिया जानुअघि नेपाल सरकारले सीप विकासको तालिमसमेत प्रदान गर्ने गरेको छ । 
त्यहाँ विदेशी कामदारले उद्योग तथा कृषि क्षेत्रमा काम पाउँछन् । यसपालि २ हजार १ सयले उत्पादनमूलक क्षेत्रमा र बाँकीले कृषि तथा पशुपालनमा काम पाउनेछन् । उनीहरूको मासिक पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि हुने व्यवस्था छ । 

 

जान्नैपर्ने कुरा 
इपिएस परीक्षा उत्तीर्ण भैसकेपछि आफूले गरिरहेको काम वा पढाइ छाड्नुहुँदैन किनभने परीक्षा उत्तीर्ण भएपछि पनि आफूले कोरियामा रोजगारीको अवसर पाइन्छ भन्ने छैन । त्यहाँ जानुअघि कोरियन भाषामा आफूलाई पोख्त बनाउनैपर्छ । परीक्षा उत्तीर्ण गर्न मात्र होइन, त्यहाँ पुगेपछि दैनिक व्यवहार चलाउन पनि कोरियन भाषामा आफूलाई निखार्नुपर्छ । किनभने कोरियनहरूले मातृभाषा छाडेर अन्य भाषालाई प्राथमिकता दिँदैनन् । कोरियनहरू कामप्रति एकदमै सजग र बफदार हुने भएकाले विदेशी कामदारले पनि आफूलाई त्यही अनुरूप प्रस्तुत गर्नुपर्छ । 


कोरियामा १८ वर्ष पूरा भएको तथा ३५ वर्ष नपुगेको युवाले एक पटकका लागि ४ वर्ष १० महिनासम्म काम गर्न सक्ने व्यवस्था छ । कोरियामा शारीरिक रूपमा बलियो कामदार खोजिन्छ । सामान्यत: कामदारहरू काममा अनुपस्थित हुनुहुँदैन । विशेष कारण बिना नियमित पाँच दिनभन्दा बढी अनुपस्थित भए उक्त कामदारलाई गैरकानुनी बसाइँ प्रमाणित गर्न सकिने जोखिम हुन्छ । 


कोरिया पुगेपछि कुनै समस्या भए वा आवश्यक सल्लाह, सुझाव लिनुपरे फरेन वर्कर काउन्सिलिङ सेन्टरमा सम्पर्क राख्न सकिन्छ । त्यहाँ नेपाली भाषामै पनि कुराकानी गर्न मिल्छ । त्यसका लागि उक्त सेन्टरको टोल फ्रि नम्बर १५७७–००७१ मा फोन गरी १४ नम्बर दबाएर नेपाली भाषा छनौट गर्न सकिन्छ । 
 

आपसी सहयोग चाहिन्छ 
तालिम केन्द्रबाट कम्पनीमा पुगेपछि थाहा भयो, कोरिया मैले सोचेभन्दा फरक रहेछ । पहिले त मलाई लागेको थियो, कोरिया जस्तो विकसित देशमा कामहरू पनि सजिलो होला, तर यहाँ काम गर्न निकै गाह्रो रहेछ, एकदमै खट्नु पर्छ । नेपालमा इपीएस परीक्षा पास गरे पनि यहाँ व्यवहारिक रूपमा कोरियन भाषा बोल्न निकै कठिन हुन्छ । भाषाकै कारण धेरै नेपालीहरूले दुख पाउने गरेका छन् । त्यसैले मैले बिदाको समयमा कोरियन भाषालाई राम्रोसँग बुझ्ने प्रशिक्षण लिएको थिएँ । यही क्रममा मैले कोरियन जनजीविकालाई अझ नजिकबाट बुझ्ने मौका पाएँ । कोरिया आएपछि धेरै नेपाली कामदार डिप्रेसनको सिकार बन्ने गरेका छन् । यहाँ आत्महत्या गर्नेको दर पनि उदेकलाग्दो छ । सुरुवाती दिनहरूमा घरपरिवारको यादले सताउँछ । त्यसमाथि आफूले कल्पना गरेजस्तो काम सहज हुँदैन । यावत् कारणले कतिपय नेपाली कामदारमा मानसिक विचलन आएको देखिन्छ । त्यसैले हामी नेपाली कामदारहरूले एकअर्काको नजिक भएर, आत्मीय सम्बन्ध गाँसेर बस्नुपर्छ । एउटाको समस्यामा अर्कोले काँध थाप्नुपर्छ । बिदाको समय साथीहरूसँग घुम्नुपर्छ, रमाइलो गर्नुपर्छ । 

सन्तोष मादेन, तेह्रथुम (हाल: कोरिया) 

 

औद्योगिक क्षेत्रमा दुर्घटना  
कोरिया आएपछि सोचेभन्दा फरक जीवनशैलीमा भिज्न समय लाग्यो । यहाँ म दिनको १२ घण्टा काम गर्छु । २ घण्टा आराम गर्न पाइन्छ । काम अरूले भने जस्तो जोखिमपूर्ण भने छैन । तैपनि कतिपय अवस्थामा सावधानी अपनाउँदा अपनाउँदै पनि दुर्घटनामा परिन्छ । काम थालेको तीन महिना नबित्दै म पनि दुर्घटनामा परेको थिएँ । ड्रिलिङ मेसिनमा फलामको झुसले दाहिने हातको २ औंला तानेको थियो । केही चोटपटक नलागे पनि औंलाको जोर्निमा असर गरेको थियो । त्यही कारणले ३ महिना जति विदामा बसें । यहाँको चिकित्सा प्रणाली अत्यन्तै सशक्त र राम्रो छ । जबसम्म कुनै पनि रोग पूर्ण रूपमा निको हुँदैन, तबसम्म काम गर्न दिइँदैन । दुर्घटनाका कारण अस्पताल 
बसेको क्षतिपूर्ति पनि पाइने रहेछ । 
उत्तम खजुम, सुनसरी (हाल: कोरिया)


महिला कामदारलाई विभेद छैन 
कोरियामा विदेशी महिला कामदारको संख्या निकै कम छ । यहाँको कृषि क्षेत्रमा प्रायजसो विदेशी महिला कामदार खटाइएका छन् । यहाँको राम्रो पक्ष के हो भने यहाँ कोरियाली र विदेशी कामदारबीच कुनै विभेद छैन । म ख्यगी प्रदेशको आन्सान औद्योगिक क्षेत्रमा रहेको गाडीको पार्टपुर्जा बनाउने एउटा कम्पनीमा काम गर्छु । हाम्रो कम्पनीमा विशेष गरेर एलजी कम्पनीका उत्पादनहरूमा प्रयोग हुने औद्योगिक पार्टपूर्जाहरू बनाइन्छ । यो कम्पनीमा दिवा/रात्रि दुवै सिफ्टमा काम हुन्छ । दिवा सिफ्ट १० घण्टाको र रात्रि सिफ्ट १२ घण्टाको हुन्छ । निर्धारित समयभन्दा बढी काम गरे ओभरटाइम सुविधा पाइन्छ । म दैनिक १२ घण्टा र हप्तामा ६ दिन काम गर्छु । 
शान्ति लामा, काभ्रे (हाल: कोरिया)

 

ठूलो महत्वकांक्षा नलिनुहोला  
कोरिया आएको चार वर्ष पुग्यो । यहाँ ह्वासङ सी नजिकै फारनस्थित एक कम्पनीमा काम गर्छु । म दैनिक १२ देखि १४ घण्टासम्म खटेर काम गर्छु । कम्पनीको उत्पादन विभाग हामी नेपालीकै जिम्मामा छ । इपीएसमार्फत आएका कामदारमाथि कम्पनीको जे–जस्तो उत्तरदायित्व हुन्छ, त्यो सबै पूरा गरिएको छ । यद्यपि कहिलेकाहीं बिदाको दिनमा काम गर्दिन भन्दा पनि गर्नैपर्ने बाध्यता आइपर्छ । यहाँ मैले कोरियन सरकारले तोकेबमोजिमको तलब सुविधा पाएको छु । मेरो मासिक कमाइ २०–२२ लाख कोरियन वन (करिब २ लाख रुपैयाँ) हुन्छ । उक्त आम्दानीले मैले घरखर्च टारेको छु । नेपालमै दुई जना सहयोगी राखेर सानोतिनो व्यवसाय पनि गरेको छु । अब नेपाल फर्केपछि सामूहिक लगानीमा केही व्यवसाय गर्ने सोच छ । कोरिया आउन चाहने नेपालीहरूले कडा परिश्रम गर्छु भन्ने मानसिक तयारीका साथ आउनुपर्छ भने भाषामा राम्रो दख्खल पनि चाहिन्छ । 
गोबिन्द गौतम, भक्तपुर (हाल: कोरिया)

 

(कोरियाबाट देवेन्द्र सम्बाहाम्फेको सहयोगमा)

प्रकाशित :श्रावण १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्