लहानका कान्छा–कान्छी

- किशोर नेपाल

श्रावण १८, २०७३- 

गायक–गायिका, अभिनेत्री र अभिनेताहरूसँगको वार्ताबाट पर हटेर एक सामान्य अध्यव्यसायी जोडीको कथा प्रस्तुत हुँदैछ यसपटक । यो कथामा खासै कुनै ग्ल्यामर छैन, किनभने यो कथा आफैंमा एउटा ग्ल्यामर हो । कथाका पात्रहरूलाई स्थानीय व्यापार–व्यवसायका सेलिब्रेटी भन्न सकिन्छ । ती सेलिब्रेटी नै हुन् । आफ्नो मेहनतका बलमा बनेका सेलिब्रेटी । 

यो कथा हो लहान बजारका कान्छा–कान्छीको । यस्ता कथाहरू प्राय: हराउँछन् । राजमार्गको छेउमा सामान्य रेस्टुराँ चलाउने एक जोडी मानिसको लगनशीलता र मेहनतको कथा । एक जोडी मानिस चरम विपन्नताको अवस्थाबाट मुक्त भएर सम्पन्नताको उकालो चढ्दै गरेको कथा । अत्यन्त साधारण मानिसले हासिल गरेको असाधारण सफलताको कथा । 

कान्छाले आफ्नो जीवनको प्रारम्भ २०५४ सालमा लहान बजारमा पान–पसल खोलेर सुरु गरेका थिए । त्यसमा उनको मन रमेन । कान्छाको जन्म ‘पानका लागि पपुलर’ मानिएको लहानमै भए पनि पान–संस्कृतिसँग उनी त्यति परिचित थिएनन् । कसैलाई चुना नचाहिने, कसैलाई कत्था मन नपर्ने । आफंैले नजानेको व्यापार कसरी चल्थ्यो र ? त्यतिबेलाको लहान बजार अहिलेको जस्तो विकसित पनि थिएन । होटलवालाहरू आफ्ना केटा लगाएर यात्रुलाई जबर्जस्ती होटलतिर तान्थे । राजमार्गको दुवैतिर बनेका झोपडीहरूमा बसका यात्रुहरूलाई ‘खाना र नास्ता’ ख्वाउने दर्जनौं रेस्टुराँ थिए । ती रेस्टुराँले दिने सेवाको कुनै स्तर थिएन । कान्छा एउटा रेस्टुराँ खोल्ने विचारमा थिए जहाँ बसका यात्रु र स्थानीय ग्राहकहरूलाई समेत राम्रो खाना ख्वाउन सकियोस् । 

त्यही बेला, साथीभाइहरूसँग घुमफिरका क्रममा, उनको भेट भयो कान्छीसँग । एकै नजरमा उनीहरू एक–अर्काप्रति आकर्षित भए । उनीहरूबीचको मायाँ–प्रीति गहिरिँदै गयो । भेट भएको दुई वर्षपछि उनीहरूले विवाह गरे । त्यसपछि खुल्यो राजमार्गको दायाँपट्टि उनीहरूको रेस्टुराँ, ‘कान्छा होटल ।’ कान्छा होटल सञ्चालन गर्न थालिन् कान्छीले । होटल स्थानीय तहमा सुपरहिट भयो । लाहानका बुद्धिजीवी, राजनैतिक कार्यकर्ता, व्यापारी एवं व्यवसायी सबैका लागि मिटिङ प्वाइन्ट बन्यो कान्छा होटल । होटल बस रोकिने ठाउँमा थिएन । त्यसैले बसका यात्रुहरू आउने कुरै थिएन । स्थानीय मानिसहरूले नै रुचाए कान्छा होटल । यसले राम्रो बिजनेस गर्न थाल्यो । कान्छा–कान्छी यत्तिकैमा सन्तुष्ट थिएनन् । उनीहरू होटलको विकास चाहन्थे । राम्रो घर । राम्रा टेबल कुर्सी । राम्रो खाना । उनीहरूको सपना यही थियो । अन्तत: त्यो सपना पनि पूरा भयो ।

कान्छा–कान्छी उनीहरूको लोकप्रिय नाम हो । ग्राहकहरूले अपनत्व देखाउँदै बोलाउने नाम । २०२९ मा जन्मिएका कान्छाको खास नाम हो— धनवहादुर भुजेल । उनका बा–आमा रामेछापबाट सप्तरी हुँदै लहान आएका थिए । कान्छी कति सालमा जन्मिएकी थिइन् ? थाहा भएन । कान्छी माइती गएकी थिइन् केही दिनका लागि आराम गर्न । कान्छीको उमेरको सम्झना छैन कान्छालाई । ‘मायामा उमेर कसले हेर्छ र ?’ कान्छा भन्छन् । कान्छीको वास्तविक नाम अन्जु न्यौपाने भुजेल हो ।

भुजेल निवास । राजमार्गको दायाँपट्टि एक कट्ठा क्षेत्रफलमा बनेको यो ठूलो घर कान्छा होटल हो— कान्छा–कान्छीको मेहनतको प्रतिफल । १५ वर्षको अनवरत संघर्षपछि कान्छा होटल अहिले आफ्नै भवनमा सरेको छ । होटलभित्र छिर्नेबित्तिकै एउटा स्टिकरले सबैको ध्यान तान्छ । स्टिकरमा लेखिएको छ, ‘अरूको सम्मान गरौं । आफ्नो मान बढाऔं।’ होटलको अगाडि दर्जनौं बाइक, पजेरो, प्राडोलगायतका गाडीहरू उभिएका छन् । कान्छा होटलमा सधैं भीड लाग्छ । स्थानीय तहमा काम गर्ने आईएनजीओका हाकिम र कर्मचारीहरू, स्थानीय सरकारी अधिकारीहरू र विभिन्न व्यवसायमा लागेका व्यक्तिहरूका लागि खाना र खाजा खाने सजिलो बिन्दु बनेको छ— कान्छा होटल । होटलको बढ्दो रौनक देखेर दंग परेका छन् कान्छा–कान्छी । स्वभाविक नै हो यो । यो रौनक र यो सफलता त्यत्तिकै आएको होइन । १५ वर्षको यो समयमा कान्छा–कान्छीले कठोर मेहनत गरे । अनेकौं समस्या भोगे । राजमार्गमा होटल लाइनमा जम्नु त्यति सजिलो कुरा होइन ।

 

अनेकथरी मानिसलाई भोग्नु–बेहोर्नुपर्छ । कहिले गुन्डा, कहिले पुलिस । सशस्त्र द्वन्द्वका बेला त रेस्टुराँ चलाउनु अझ सजिलो थिएन । त्यतिबेला लहान सरकार र माओवादी दुवैको चेपुवामा थियो । त्यसपछि ०६२–६३ को आन्दोलन । त्यसपछिको मधेस आन्दोलन । आन्दोलनको लहर थामिएकै होइन । ‘हामी होटल चलाउनेहरूका लागि यस्ता बन्द र हड्तालले कति अप्ठेरो अवस्थामा पार्छ, तपाईं आफैं सोच्नोस् न सर,’ कान्छा भन्छन् । पछिल्लो मधेस आन्दोलनका क्रममा कान्छाले झन्डै चार महिना बन्द गर्नुपर्‍यो होटल । चार महिना बन्द गर्दा पनि केही फरक परेन । ग्राहकहरूले कान्छा होटलको स्वाद बिर्सिएका थिएनन् । हिजोआज मापसेले गर्दा ग्राहक केही घटेका छन् । त्यसलाई घटेकै पनि भन्न मिल्दैन ।

‘ग्राहक घटे पनि कान्छा होटलको क्वालिटी घटेको छैन’, कान्छा भन्छन्— ‘भान्साको रेखदेख म आफैं गर्छु । अहिलेका कुक पनि सिपालु छन् । कान्छा होटलको विशेषता नै सफा र मीठो खाना हो । त्यो एउटा कुरामा हामी चुकेका छैनौं ।’ कान्छाको होटलले दैनिक औसत ५ हजारदेखि ७ हजार रुपैयाँसम्म कमाइ गर्छ । यो कमाइ खानाबाट भन्दा पनि साँझको नास्ताबाट हुने गरेको छ । प्याज, लसुन र गोलभेंडा मिसाएर बनाइएको भटमास–चिउरा, खसी र कुखुराका विभिन्न परिकार बिक्री हुन्छ नास्तामा । नास्ता दुई–तीन घण्टा चल्यो भने राम्रै कमाइ हुन्छ । 

‘नयाँ घरमा सरेपछि धेरै कुरा बदलिएको छ । ग्राहकको स्वभाव पनि बदलिएको छ । झोपडपट्टीमा छँदा आउने ग्राहक यता आएपछि सुध्रिएका छन् । घर र वातावरण नयाँ र राम्रो भएपछि मानिसको आदत पनि परिवर्तन हुँदो रहेछ,’ कान्छा भन्छन् । कान्छाका दुई सन्तान छन् । छोराले यसै वर्ष एसएलसी पास गरेको छ । छोरी सानै छ । दुवै केटाकेटी मामाघरमा बस्छन् । 

 

प्रकाशित :श्रावण १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्