सत्यको बाटो

- सुविन भट्टराई

श्रावण १६, २०७३

 

एउटा रसियन उखान छ— झूटको चुम्बनभन्दा सत्यको झापड खानु उचित हुन्छ । सत्य कहिलेकाहीं डेट एक्सपायर पनि हुन सक्छ भने कहिलेकाहीं समयभन्दा धेरै अघि पनि हुन सक्छ ।महात्मा गान्धीले भनेका छन्, धेरै अज्ञानी मानिसहरू छन् जो तिमीलाई सत्य बोलेको आरोपमा दण्ड दिन चाहन्छन् । आफू सत्य भएकोमा उनीहरूसित क्षमा माग्नु पर्दैन । आफू समयभन्दा अगाडि पुगेकोमा क्षमा मागिरहनु पर्दैन । सत्यको मार्गमा एक्लै छौ भने पनि कत्ति विचलित नहोऊ, चाहे एक्लो नै किन हुनु नपरोस् । वास्तवमा सत्य भनेको सत्यमात्र होइन, शक्ति पनि हो । 

 

कसैसित जुध्नलाई सत्यले नै ऊर्जा दिन्छ । मान्छेको देह जतिसुकै कमजोर होस् उसलाई सत्यले उभ्याउँछ । सत्य एसिडभन्दा पनि कडा हुन्छ, त्यसले एक न एक दिन जोसुकैलाई पनि गलाउन सक्छ । अहिले सत्यमार्गी, सत्याग्रही डा. गोविन्द केसीको सत्यले पनि सरकारलाई गलायो । डा. गोविन्द केसीले जुन आन्दोलनको सुरुवात गरे, पहिले उनी एक्लै थिए । उनीसित अनसन बस्नेहरूको समूह थिएन तर उनको सत्य र निष्ठा यति फैलँदै गयो कि साथ र समर्थन दिनेहरू बिस्तारै बढ्दै गए र उनको कदममा प्रत्यक्ष अनसनै नबसे पनि साथ दिनेहरू हरेक पटक थपिँदै गए । यसपटकको उनको अनसनमा उनलाई सहयोग र समर्थन गर्नेहरूको भीड हेर्दा जनआन्दोलनको लहरैजस्तो लागेको थियो र जित उनको पक्षमा गयो । सम्पूर्ण नेपाली जनताको झोलीमा पर्न गयो ।

 

सत्यको मार्ग सजिलो कहाँ रै’छ त ? आठ पटकको अनसनमा समेत जनताको हितमा हुने निर्णय र कार्यान्वयनप्रति प्रतिबद्ध हुन सरकारले यसरी खुट्टा कपाउनुपर्‍यो, तर खुसीको कुरा के हो भने, अन्त्यमा सत्यले शिर उठायो । डा. गोविन्द केसीको सत्याग्रहले रंग ल्यायो । करोडौँ जनताको विश्वास र भरोसा मजबुत भएर आयो । यद्यपि यसको कार्यान्वयन पक्ष अझै हेर्दै र भोग्दै जान बाँकी छ ।

 

हरेक मान्छेसित बिरामी हुनुको कथा छ र त्यो कथाभित्र धेरै व्यथा छ । अस्पतालका लापरवाहीका ज्वलन्त उदाहरणहरू होलान् । नक्कली डाक्टरको सक्कली भ्रष्टाचारले पुरानो घाउ निको पारूँ भन्दा नयाँ घाउ थपिएका तीता यथार्थ होलान् । इतिहासले सधैँ सम्झनेछ, सात साल, छयालीस साल, बैसट्ठी–त्रिसठ्ठी साल र डा. गोविन्द केसीको अनसनकाल । गोविन्द केसी हरेक नेपालीका लागि प्रेरणाका स्रोत हुन् । सत्यको जित निश्चित हुन्छ भन्ने कुराको चोटिलो उदाहरण हुन् । अस्पतालमा मात्र होइन, यस्तो अनियमितता हरेक क्षेत्रमा छ । शिक्षा, स्वास्थ्य, प्रशासन, खेलकुद चारैतिर फैलिएको छ । जहाँ–जहाँ अनियमितता देख्छौँ, चुप लागेर नबसौँ । केही त बोलौँ । कमसेकम सामाजिक सञ्जालमा भए पनि लेखौँ । 

हामीले देखिसकेका छौँ, सत्यवादी एउटै व्यक्तिको आवाज घन्किँदै–घन्किँदै कहाँ–कहाँसम्म पुग्दो रहेछ ? सत्यको एउटा झिल्को नै पर्याप्त छ डढेलो लगाउन । कहाँ के गलत देख्नुहुन्छ ? कहाँ के–कस्तो भ्रष्टाचार हुन्छ ? कहाँ के अनियमितता देखिन्छ ? मोबाइल उठाएर एउटा फोटो खिच्न नहिचकिचाउनुहोस् । भ्वाइस रेकर्ड गर्न नडराउनुहोस् र निर्धक्क फेसबुक, ट्विटर, इन्स्टाग्राम वा कहीँ–कतै पनि पोस्ट गर्न नधकाउनुहोस् ।

तपाईंको सानो आवाज तपाईंको साथीले सुन्छ । साथीको साथीले सुन्छ र फैलँदै–फैलँदै देशभर गुन्जन्छ । सोसल मिडियाको उपयोग यसरी पनि गर्न सक्छौँ हामी । सरकारले गरेन वा गर्दैन भनेर मात्र नबसौँ । कतिपय भ्रष्ट सरकारको पालनपोषणमै हुर्किरहेका हुन सक्छन् । अब भ्रष्टलाई नङ्ग्याएर सडकमा उतार्न जनता खप्पिस भैसकेका छन् । सत्यको समर्थनमा स्वत:स्फूर्त उत्रन जनताले जानिसकेका छन् ।

प्रकाशित :श्रावण १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्