चोरलाई चिठी

- अमर न्यौपाने

श्रावण १५, २०७३

 

मानहानीय चोरज्यू,                                                               नमस्कार ।                                                              मसँग तपाईंको ठेगाना भएको भए यो चिठी खामबन्दी गरेर हुलाकबाट पठाउने थिएँ । इमेल भएको भए पनि तपाईंको इमेल ठेगानामा पठाउने थिएँ । तपाईंलाई चिन्ने कोही मान्छे मेरो सम्पर्कमा भएको भए पनि उनैका माध्यमबाट पठाउने थिएँ, तर यी सबै माध्यम मेरा लागि सम्भव भएनन् । सकेसम्म सार्वजनिक रूपमा तपाईंलाई यो चिठी नपठाऊँ भन्ने सोचेको थिएँ तर मसँग यही नै अन्तिम विकल्प भैदियो । त्यसैले तपाईंको व्यक्तिगत चिठी सार्वजनिक गरेकोमा क्षमा माग्छु । 

तपाईं ठूलो चोर भएको भए र मेरो सर्वस्व नै लुटिएको भए पनि यो चिठी सार्वजनिक गर्ने हिम्मत ममा हुने थिएन । सरकारलाई त प्राय: यस्तो आँट गर्न गाह्रो हुन्छ भने म बबुरोले कसरी आँट्न गर्न सक्नु ?

यो चिठी हजारौं असम्बन्धित मानिसकहाँ पुग्छ । तपाईंसम्म पुग्छ कि पुग्दैन, म यसै भन्न सक्दिनँ । जे होस्, तपाईंको व्यक्तिगत चिठी सार्वजनिक गर्नुपरेकोमा तपाईंसँग क्षमा माग्छु ।

वैशाख १६ गते बिहीबार । बिहान १० बजेको हुँदो हो । बालुवाटार जान पुतलीसडकबाट नेपाल यातायात चढें । असाध्यै भीड थियो । जति भीड भए पनि बाध्यताले कोचिएर चढें । पछाडिबाट मानिसहरूले ठेलिरहेका थिए । मेरो अगाडिको मानिसलाई ठेल्न म पनि अभिशप्त थिएँ । मलाई पछाडिबाट कसले यसरी ठेलेको छ भनेर हेर्न पनि नमिल्ने गरी भीड थियो । हेरेर पनि के हुने हो र भनेर हेरिनँ । सायद सबैभन्दा नजिकबाट ठेल्ने तपाईं नै हुनुहुन्थ्यो । मलाई ठेलिरहने तपाईंको अनुहार मैले एकपटक पनि हेरिनँ । त्यही बेला तपाईंले बडो कलात्मक तरिकाले मैले थाहै नपाउने गरी मेरो पाकेट मार्नुभएछ । म हुस्सूले थाहै पाइनँ ।

झर्ने बेलामा भाडा दिन यसो पाइन्टको पछाडिको गोजी छाम्छु त पर्स छैन । मलाई भाउन्न भयो । मलाई जति भाउन्न भयो त्यसको ठीक विपरीत तपाईं आनन्दित हुनुभएको थियो होला आफ्नो काममा सफल हुनुभएकोमा । तपाईं अरूको पाकेट मार्न मात्र होइन, खुसी मार्न पनि खप्पिस हुनुहुन्छ । मैले आफ्नो पकेट मारिएको कुरा सहचालकलाई भनें । उनले नसुनेझैं गरे । बारबार भनें । उनलाई झर्को लागेछ कि क्या हो, अलि कडा आवाजमा भने, ‘भाडा तिर्नु पर्दैन, ओर्लिनुस् ।’

म ओर्लिएँ । बस कुदिहाल्यो । अक्क न बक्क भएँ । पछि प्रहरीलाई खबर गरें । प्रहरी अधिकारीले भने, ‘हाम्रो च्यानलका सबै ठाउँमा खबर गर्नेछु । पाउने सम्भावना कम हुन्छ । पैसा लिएर कतै देखिने ठाउँमा पर्स फ्याँकिएको रहेछ भने हामी तपाईंलाई खबर गर्नेछौं ।’

मानहानीय चोरज्यू,

मलाई थाहा छ, तपाईं असाध्यै निम्न तहको चोर हुनुहुन्छ । तपाईंजस्ता साना चोरलाई ठूला चोरले साह्रै हेप्छन् । नजिक देखे भने खेद्छन् । उस्तै पर्‍यो भने प्रहरी लगाइदिन बेर लगाउँदैनन् । किनभने ठूलाठूला चोरहरूलाई सुरक्षा पनि ठूलै हुन्छ । मानिसहरूले उनीहरूलाई चोर देख्दैनन् । आफ्नो चोर प्रवृत्ति छोप्ने बाक्लो र चम्किलो आवरण लगाएका हुन्छन् ।

चोर्न धेरै गाह्रो छ । सानो चोर हुन अझ धेरै गाह्रो छ । यस्तो गाह्रो काम गर्नु तपाईंको बाध्यता हो । तपाईंलाई प्रहरी, परिवार, समाज सबैले हेंला गर्छन् । कसैले सम्मान गर्दैनन् । सम्भवत: तपाईंलाई पनि यति अपमानित हुनुपर्ने काम गर्न मन छैन । क्षमा गर्नुहोला, त्यसैले तपाईंलाई मानहानीय भनेर सम्बोधन गरेको हुँ ।

तपाईंलाई सरकारले रोजगारी दिन सक्दैन, जसरी तपाईं आफ्ना छोराछोरीलाई नाना र खाना दिन सक्नुहुन्न । तपाईंसँग मजदुरीका लागि खाडी देशमा जाने हैसियत र क्षमता पनि छैन सायद । तपाईं सार्वजनिक बसमा चढ्ने सामान्य मानिसहरूको पाकेट मार्न सक्ने होइन, देशकै पाकेट मार्न सक्ने चोर भएको भए तपाईंलाई मैले मात्र होइन, प्रहरी, परिवार, समाज सबैले माननीय भनेर सम्बोधन गर्ने थिए । खासमा तपाईं पिछडा वर्गमा पर्नुहुन्छ । शोषित, पीडित चोरमा नै पर्नुहुन्छ । आशा छ, तपाईंले प्रगति गर्दै जानुभयो भने एक दिन अवश्य ठूलो चोर बन्नुहुनेछ । थाहा छैन, तपाईंको लक्ष्य देशको पाकेट मार्नेछ कि छैन ?

हुन त तपाईंलाई झोक पनि चलिसक्यो होला, पर्समा पैसासैसा धेरै रै’छ कति ठूल्ठूला कुरा गरिरा’को होला भनेर । मेरो पर्समा धेरै पैसा त थिएन, ३–४ हजार हुँदो हो, तर त्यो मेरा लागि ठूलै हो । सानो चोर भएकाले सम्भवत: तपाईंका लागि पनि ठूलै हो ।

आशा छ, तपाईंले त्यो पैसा आफ्ना छोराछोरीका लागि नाना वा खानाको व्यवस्था गर्नुहुनेछ । चोरेको पैसाले छोराछोरीको भोको पेट भर्नुहोला तर उनीहरूको भोको दिमागलाई चोर्ने तरिका नसिकाउनुहोला । मेरो पर्समा भएका कुरा जेजे तपाईंलाई काम लाग्छन् ती सबै तपाईंलाई नै भयो । तपाईंलाई काम नलाग्ने कुरा नफ्याँक्नुहोला । त्यहाँ लाइसेन्स, प्यान कार्ड आदि केही महत्त्वपूर्ण कागजात छन् । ती तपाईंका लागि मूल्यहीन छन् तर मेरा लागि मूल्यवान् छन् । प्यान कार्डमा मेरो फोन नम्बर पनि छ । मलाई फोन गरेर खबर दिनुहोला । आफैंलाई फोन गर्न अप्ठ्यारो लाग्छ भने कुनै हितैषीलाई फोन गर्न लगाउनुहोला । म तपाईंलाई सम्मान गर्नेछु । 

यदि तपाईं त्यसो गर्न सक्नुहुन्न भने नजिकको प्रहरी कार्यालयमा लगेर बुझाइदिनुहोला । प्रहरीले तपाईंजस्ता साना चोरलाई शंका गर्ला भन्ने लाग्छ भने अरू कसैलाई प्रहरीमा लगेर बुझाइदिन भन्नुहोला वा प्रहरीले देख्ने ठाउँमा पैसारहित पर्स फयाँकिदिनुहोला ताकि प्रहरीले राखिदिऊन् र मलाई फिर्ता गरून् ।

काम गर्नभन्दा चोर्न धेरै गाह्रो हुन्छ । त्यसैले यति गाह्रो कामबाट तपाईंलाई छिट्टै मुक्ति मिलोस् । हो, संविधानले तपाईंलाई यो कामबाट मुक्ति दिँदैन, रोजगारीले भने अवश्य दिनेछ । तपाईं छिट्टै रोजगारी पाउन सफल हुनुहोस् ।

शुभकामना 

तपाईंको भलो चाहने अपरिचित शुभचिन्तक 

अमर न्यौपाने

प्रकाशित :श्रावण १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्