छ्या, अराजनीति

- मनोज गजुरेल

श्रावण १४, २०७३

तपाईंहरूले अहिले ओली समर्थकका नारा सुन्नुभएको छ ? प्रचण्ड पक्षधरहरूका कुरा सुन्नुभएको छ ? छैन भने सुन्नोस् । ओली पक्षधरहरू सडकमा भन्दैछन्- ‘प्रचण्ड दलाल हुन्’, ‘भारतका पिठ्ठु हुन्’, ‘कांग्रेसका पुच्छर हुन्’, ‘सत्ताका लोभी हुन्’, ‘शक्तिका भोगी हुन्’ आदि–इत्यादि । अचम्म लाग्छ, हप्ता दिनअघिसम्म ‘मित्रशक्ति’को सम्मानित नेता रहेका प्रचण्ड रातारात कसरी त्यस्ता बने, यस्ता नारा लगाउने कमरेडहरूले बताइदिन्थे कि ?

उता, प्रचण्ड पक्षधरहरू सञ्जालमा छरपस्ट हुँदै भन्दैछन्, ‘केपी कप्टी हुन्’, ‘ओली आलु हुन्’, 

‘तिनी बिरामी हुन्’, ‘उनी हरामी हुन्’, ‘तिम्रा ओली नै प्रतिगामी’, ‘तिनको बोली नै प्रतिक्रियावादी’ आदि–इत्यादि । नौ महिनासम्म सबैभन्दा नजिकको मित्र भएका ओली एकै रातमा कसरी उस्ता बनेछन् ? कुनै क्रान्तिकारी कमरेडले कन्भिन्स गराइदिन्थे कि ?

गजुरियल विश्लेषण भन्छ, सत्ता परिवर्तन राजनीतिको सामान्य प्रक्रिया हो । पार्टीहरू फुट्नु र जुट्नु पनि सामान्य नै हो । राजनीतिमा कोही सधैं टाढा र कोही सधैं नजिक हुँदैन भन्ने कुरा पनि ती गालीबाजहरूलाई थाहा छ । आज फुटेका केपी र पिके भोलि जुट्न सक्छन् । आज लडेका भोलि उठ्न सक्छन्, यो पनि सबै क्याडरहरूलाई थाहा छ, तर राजनीतिमा भिन्न विचार हुँदैमा यति तल्लो स्तरमा ओर्लिएर गाली–गलौज गर्नु हुँदैन भन्नेचाहिं किन थाहा नभएको होला ? गजुरियल विश्लेषक अन्योलमा छ ।

निवर्तमान सत्ता समीकरणलाई नै हेरौं न । केपी कमरेडसँग होउन्जेल प्रचण्ड कमरेड भयङ्कर राष्ट्रवादी थिए । महान् र त्यागी प्रचण्ड भनेर फूलबुट्टा भर्ने पनि तपाईं–हामी नै हौं, तर प्रचण्ड सत्ताबाहिर जानासाथ कसरी एक नम्बरका राष्ट्रघाती भए ? यसको चित्तबुझ्दो जवाफ मसँग चाहिं छैन † सँगै बसुन्जेल अन्तरंग मित्र हुने, अलिकति अलग हुनासाथ एक नम्बरका शत्रु बन्ने ! यो कस्तो बौद्धिक विश्लेषण हो ?  हिजोसम्म सहयोद्धा कमरेड, आज मित्रघाती फटाहा † छ्या, यस्तो पनि राजनीति हुन्छ !!

केपी ओलीले ‘राष्ट्रवादी प्रधानमन्त्री’का रूपमा आफ्नो नाम लेखाएको कुरा सत्य हो, तर केपी ओली राष्ट्रवादी हुन् भन्नुको अर्थ प्रचण्डचाहिं राष्ट्रघाती हुन् भन्ने लगाउनु भएन नि मित्र । राजनीति गर्नेका आ–आफ्ना बाध्यता होलान्, त्यसको मूल्यांकन जनताले गर्लान् तर एकै रातमा प्रचण्ड भारतको पिठ्ठु भए भन्नु राजनीतिमा लाग्नेहरूको सबैभन्दा घिनलाग्दो ठम्याइ हो भन्ने गजुरियल बुझाइ छ ।

सामाजिक सञ्जालमा ओलीविरोधी गालीहरू सुन्दा यस्तो लाग्छ, प्रचण्ड समर्थकले ओलीलाई भेटे भने काँचै खान्छन् ! सडकमा ओली समर्थकको नारा सुन्दा लाग्छ, प्रचण्डलाई भेटे भने तिनले नुनचुक नै दल्छन् ! बिचरा, तिनीहरूलाई थाहा छैन, ओली–प्रचण्ड फेरि मिल्न सक्छन्, नमिले मिलाउने काम जनता तथा कार्यकर्ताको हो भन्ने कुरा नबुझेर गालीगलौजमा उत्रिएकाहरूलाई भन्नै पर्छ, छि: तिम्रो घिनलाग्दो अराजनीति ! प्रसंग ओली–प्रचण्ड सम्बन्धको मात्र होइन, नेपालको समग्र राजनीतिको पनि हो । जुनसुकै पार्टीमा हेर्नोस्, आफ्नोमा छउन्जेल चोरलाई पनि टाठो भनिन्छ । डाकालाई पनि लडाकु मानिन्छ, तस्करलाई पनि व्यवसायी भनिन्छ । गुन्डालाई संगठनको योद्धा, भ्रष्टलाई पार्टीको शुभ चिन्तक, दलाललाई नेताका सहयोगीको उपमाले चोख्याउने काम गरिन्छ ।

कुनै इमान्दार, निष्कलंक, कर्म र मनले सफा मान्छेले बाध्यतावश पार्टी छोड्यो भने ऊ पूर्वपार्टीको नजरमा धोकेवाज ठहरिन्छ । हिजोसम्म असल, इमानदार र प्रतिबद्ध मान्छेलाई रातारात  सुराकी, षड्यन्त्रकारी र अपराधी मान्ने प्रवृत्ति छ । हाम्रो कमी–कमजोरीको कारणले पार्टी छोडेको हो कि ? उसका कुनै बाध्यता थिए कि ? यस्ता कुरातिर खोज–अनुसन्धान नगरी गद्धार घोषित गर्ने पनि कहीं राजनीति हुन्छ ? छ्या, अराजनीति !

प्रकाशित :श्रावण १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्