सुन्दरावतीमा विद्यालय बनाउँदा

- साप्ताहिक संवाददाता

श्रावण १२, २०७३

प्रमोद खरेल, गायक  

अमेरिकामा कन्सर्ट सकेर राति १२ बजे सुतेको एक घण्टा पनि भएको थिएन, नेपालमा भूकम्प गएको समाचारले बेहाल बनायो । रातभरि रुवाबासीमै बित्यो । कन्टर्स रद्द गरेर हामी नेपाल फर्कियौं । नुवाकोट र काभ्रेमा राहत वितरण गर्न जाँदा मन थप कुँडियो । ई–प्लानेट भन्ने संस्थासँग मिलेर हामीले त्यहाँ ५१ वटा घर निर्माण गर्‍यौं ।

यो अभियानमा विदेशमा रहने शुभचिन्तकहरूले पनि साथ दिनुभयो ।

५१ वटा घर निर्माणको समाचार पत्रिकामा देखेर गीतकार मित्र सुदीप रेग्मीको फोन आयो । उहाँले दोलखाको सुन्दरावतीमा एउटा विद्यालय बनाउन प्रस्ताव गर्नुभयो । केही दिनमा रेग्मीसँगै म चरिकोट हुँदै सुन्दरावती पुगेँ । सडकबाट २० मिनेटको ठाडो उकालो हिँडेपछि विद्यालय पुगियो । त्यहाँ भूकम्पले भत्किएको भग्नावशेष मात्र थियो । एउटा जस्तापाताले बारेको अस्थायी टहरोमा ९० जना विद्यार्थी थिए । चर्किएको पर्खालका कारण बचेको कार्यालय विरूप थियो ।

विद्यार्थीहरू पानीले भिज्दा रै’छन् । काटेको घाउमा पानी परेर ज्वरोले थलिएको सानो बाबु देख्दा मन रोयो । प्रधानाध्यापकले ठूलो आशा राखे हामीबाट । दुई–चार जना अभिभावकसँग कुरा भयो । भूकम्पले छोराछोरीको विद्यालयमात्र होइन, तिनीहरूको भविष्य डुब्ने भयले मन पनि भत्किएको रहेछ । त्यसपछि मैले जसरी भए पनि विद्यालय बनाएरै छाड्ने अठोट गरी केही पैसा राखेर बैंकमा खाता खोलें ।

केही दिनमा प्रधानमन्त्रीविरुद्ध कलाकार फुटबल भयो । त्यसक्रममा युवा नेता विश्वप्रकाश शर्मासँग भेट भयो । मैले उहाँलाई दोलखामा विद्यालय बनाउने योजना सुनाएँ । उहाँले मेची अभियान झापाले एउटा कार्यक्रम आयोजित गर्छ, तपाईं आउनु होस् भन्नुभयो । मसँगै हास्यकलाकार जितु नेपाल पनि हुुनुहुन्थ्यो । जितु कार्यक्रममा सहभागी हुन तयार हुनु भयो । धुलावारी, झापामा भव्य कार्यक्रम भयो, जसबाट हामीले ३ लाख रुपैयाँ संकलन गर्‍यो । त्यसक्रममा गीतकार रेग्मी र म पटकपटक दोलखा गयौं । मेची अभियानका साथीहरूसहितको हाम्रो समूहले विद्यालयको शिलान्यास गर्‍यो । लगत्तै पासा पुच: बेल्जियमको निमन्त्रणामा म बेल्जियम पुगेँ ।

कार्यक्रमका क्रममा उक्त संस्थाका चीजकुमार श्रेष्ठ, रजनी प्रधान आदिसँग विद्यालयलाई सहयोग गर्न आग्रह गरें । भूकम्पपीडितकै लागि रकम जम्मा भएको रहेछ । उहाँहरूले १० लाख रुपैयाँ दिने आश्वासन दिनुभयो । रकम जम्मा हुँदै गए पनि अघोषित नाकाबन्दीले सामानहरू भनेको समयमा नआउँदा दिक्क पनि भइयो । यद्यपि विद्यालयको निर्माण कार्य अघि बढिरह्यो । त्यसक्रममा रकमको अभाव पनि भयो भने अमेरिका, बेलायत आदिमा रहेका नेपालीहरूलेसहयोग पनि गर्नुभयो । काठमाडौंबाट पाँच–छ घण्टाको दुरी हरेक पटक आउन–जान समय मिलाउन कठिन हुन्थ्यो । ती कलिला विद्याथीृहरूको भविष्य सुन्दर बन्छ भने हामीले दु:ख गरौं जस्तो लाग्यो । सबैको साथ र सहयोगले अन्तत: गत असारको तेस्रो साता उक्त विद्यालय भवनको उद्घाटन भयो ।

बहुसंख्यक थामी समुदायका छोराछोरीले अध्ययन गर्ने उक्त विद्यालयका ५ जना विद्यार्थीलाई बेल्जियमका चिजकुमार श्रेष्ठले छात्रवृत्ति प्रदान गर्ने वचन दिनुभएको छ । यो मेरो सानो पहल हो । यसरी नै हामी सबै मिलेर देशका थुप्रै भत्किएका घर तथा विद्यालयहरू बनाउन, फाटेका मनहरू सिलाउन, घाउहरूमा मल्हम लगाउन सके धेरैको कल्याण हुने थियो । 

 

प्रकाशित :श्रावण १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्