ब्रेकअप नीता र आमेशको

- कृष्ण भट्टराई

श्रावण १२, २०७३-

दुई महिना अघिसम्म एक–अर्काबिनाको जीवन कल्पनासमेत गर्न नसक्ने एउटा जोडी यतिबेला एक–अर्काको अनुहार नै हेर्न नसक्ने अवस्थामा पुगेको छ । केही घण्टा भेट नहुँदा पानीबिनाको माछाझैँ हुने यो जोडी विगत दुई महिनादेखि न त कुनै सामाजिक सञ्जालमा जोडिएको छ, न त एक–अर्काले एसएमएसबाट एक–अर्काको जानकारी लिने प्रयास गरेको छ ।

यो कुनै चलचित्रको पटकथा होइन, नेपाली चलचित्रका दुई युवा अनुहारको वास्तविक प्रेमकथा हो । केही समयअघिसम्म उदाहरणीय प्रेमी–प्रेमिकाका रूपमा चिनिने यो जोडीबीच आज ‘मित्रता’ को सम्बन्धसमेत बाँकी छैन भन्ने कुरा झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर वास्तविक यही हो, अभिनेत्री नीता ढुंगाना तथा अभिनेता आमेश भण्डारी पछिल्ला दुई महिनायता औपचारिक सम्बन्धमा समेत छैनन् ।

आमेश भण्डारी तथा नीता ढुंगाना करिब चार वर्ष लामो गहिरो प्रेम सम्बन्धबाट पछि हटेका छन् । चलचित्र क्षेत्रमा मात्र होइन, सार्वजनिक जीवनमा समेत प्रेमी–प्रेमिकाको आदर्श जोडीका रूपमा स्थापित यो जोडी विगत दुई महिनादेखि एक–अर्कासँग सम्पर्कविहीनको अवस्थामा छ । न त नीताले आमेशसँग सम्पर्क गरेर हालचाल सोधेकी छिन्, न त आमेशले नै नीताका कुनै गतिविधि नियालेका छन् ।

कतिसम्म भने, लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा समेत नीता र आमेश ‘फ्रेन्ड’ छैनन् । ब्रेकअप नहुँदै सामान्य भनाभनका क्रममा नीताले आमेशलाई फेसबुकमा अनफ्रेन्ड गरेकी थिइन् । आमेशले पनि उनलाई 'अनफ्रेन्ड' गरिदिए । लगत्तै दुवैले एक–अर्कालाई ‘ब्लक’ गरेपछि प्रेम सम्बन्धमै रहेका बेला पुन: फ्रेन्डसिप गर्न खोज्दा फेसबुकले त्यसो गर्न नमिल्ने बताइदियो ।

चलचित्रका कलाकारहरू प्रेमसम्बन्धमा पर्नु तथा केही वर्षपछि उनीहरूको विछोड हुनु नेपालमा मात्र होइन बलिउड तथा हलिउडमा समेत सामान्य मानिन्छ । पछिल्लो समय नेपाली समाजमै सामान्य व्यक्तिको डिभोर्स हुने क्रम बढिरहेको अवस्थामा चलचित्रका अभिनेता–अभिनेत्रीको प्रेम सम्बन्ध टुक्रिनु सामान्य हो, तर नीता र आमेशको प्रेमसम्बन्धले छोटो समयमै यति गहिरो रूप लिएको थियो, आमदर्शकसमेत उनीहरूले घरजम गरेको समाचार पढ्न व्यग्र थिए ।

प्रेमसम्बन्धलाई विवाहको स्वरूप दिने तरखर गरिरहेको यो जोडीको प्रेम सम्बन्धले अचानक ‘ब्रेकअप’ को रूप लिँदा उनीहरूलाई नजिकबाट चिन्नेहरूसमेत आश्चर्यमा छन् । ब्रेकअपपछि आमेशका अभिभावकहरूले उनलाई उच्च शिक्षाका निम्ति विदेश पठाउने तयारी गर्न थालेका छन् भने नीता आमेशलाई बिर्सन दिन–रात काममा व्यस्त हुन थालेकी छिन् । पछिल्ला दुई महिनायता नीता यति व्यस्त भइन् कि उक्त अवधिमा उनले १५ वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन्, सांस्कृतिक कार्यक्रमका क्रममा विदेशसम्म पुगिन् भने एउटा नेपाली चलचित्रमा अभिनयसमेत गरिन् ।

नीता र आमेशको जोडीलाई ‘ढुकुरको जस्तै जोडी’ भनेर प्रशंसा गरिन्थ्यो । उनीहरूबीचको प्रेम यति घनिष्ठ थियो कि उनीहरूको केमेस्ट्री विवाहित जोडीको भन्दा कम देखिंदैनथ्यो । प्रेम उत्कर्षमा पुग्न थालेपछि उनीहरू दुवैले चाँडै विवाह गर्ने घोषणा मात्र गरेका थिएनन्, आफ्नो जोडी सबैभन्दा अब्बल हुने दाबीसमेत गरेका थिए । पर्दाबाहिर जमेको उनीहरूको जोडीलाई निर्देशक दिनेश डिसीले चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा उतारे । बिडम्बना के रह्यो भने यही चलचित्रको छायांकनदेखि नै नीता र आमेशबीचको प्रेम सम्बन्धमा बिस्तारै छायाँ पर्न थाल्यो । 

आमेश र नीताले आफ्नो प्रेम सम्बन्ध टुक्रिएको खबरलाई सकेसम्म गोप्य नै राख्ने प्रयास गरेका थिए । ब्रेकअप हुनुअघि सामाजिक सञ्जालमा आलिंगन, चुम्बनदेखि बेडरुमकै तस्बिरसम्म सेयर गर्न नहिचकिचाउने यो जोडीले पछिल्लो दुई महिनायता फेसबुकमा आफ्नो जोडीका कुनै पनि तस्बिर सार्वजनिक गरेन । उल्टो आमेशले केही समयअघि फेसबुकमा ‘एक्लो हुनु उपहार हो कि श्राप ?’ भन्ने शैलीको स्टाटस लेखेर आफू अहिले प्रेममा नरहेको जानकारी घुमाउरो पाराले दिइसकेका थिए । आमेशले आफ्ना अन्य स्टाटसमा समेत एक्लो हुनुको फाइदाका बारेमा उल्लेख गरेका छन् । 

आमेशका निराशाजनक स्टाटसभन्दा ठीक विपरीत नीताले भने आफूलाई खुसी देखाउने शैलीका तस्बिर मात्र पोस्ट गरिरहिन् । म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिरहेका तस्बिरबाहेक नजिकका साथीहरूसँग घुमघाम गरेका रमाइला तस्बिर ‘फिलिङ ह्याप्पी’ शैलीमा पोस्ट गरिन् । भित्री रूपमा भने उनी पनि आमेशसँगको सम्बन्ध टुक्रिएकोमा खुसी थिइनन् । 

नीता र आमेशले आफ्नो प्रेम सम्बन्धका बारेमा पहिलो पटक साप्ताहिकमार्फत नै जानकारी गराएका थिए । दुई वर्षअघिको भ्यालेन्टाइन विशेष साप्ताहिकमा उनीहरूको प्रेममय अन्तर्वार्ता प्रकाशित भएको थियो जसमा दुवैले आफ्नो जोडी जुनी–जुनीका लागि भएको दाबी गरेका थिए । 

यस्तो छ आमेशको भनाइ 

चलचित्र बजारमा नीता र आमेशको सम्बन्ध बिग्रनुमा आमेशले नीतामाथि अनावश्यक नियन्त्रण गर्नुलाई मुख्य कारण बताइएको छ । आमेश भने उक्त आरोप सरासर गलत भएको दाबी गर्दै भन्छन्— ‘मैले नीतालाई कहिल्यै कुनै पनि कुरामा नियन्त्रण गरेको छैन । योसँग बोल, ऊसँग नबोल । यहाँ जाऊ, त्यहाँ नजाऊ जस्ता कुनै पनि कुरा मैले नीतासँग कहिल्यै गरेको छैन ।’ साप्ताहिकसँगको भेटमा नीताले पनि आफूलाई आमेशले कहिल्यै नियन्त्रण नगरेको दाबी गरिन् । 

आमेश तथा नीता दुवै जनाले उनीहरू सम्पर्कविहीन भएको दुई महिनाभन्दा बढी भएको स्विकारेका छन् । ‘हामीबीच कुराकानी नभएको दुई महिनाभन्दा बढी भयो,’ आमेशका अनुसार त्यो भन्दा अघि पनि करिब एक महिनाजति फोनमा मात्र कुराकानी भएको थियो । 

‘कलाक्षेत्रमा सम्बन्ध जोगाउन जस्तो गाह्रो काम अरू केही नहुने रहेछ,’ आमेशले साप्ताहिकसँग भने— ‘पछिल्लो समय हामी दुई जनाको विचार तथा सोच मिल्न सकिरहेको थिएन, हाम्रो सधैं झगडा मात्र परिरहन्थ्यो । ग्रह नै नमिलेको हो कि जस्तो लाग्छ ।’ ‘हामी एक घण्टाका लागि भेट्यौं भने ५ मिनेटजति राम्रो कुरा हुन्थ्यो, बाँकी ५५ मिनेट झगडामै बित्थ्यो, आमेशका अनुसार विवाह नहुँदै त्यस्तो तिक्ततामा पुगेको सम्बन्ध विवाहपछि अझ कति बिग्रने हो भन्ने लागेर धेरै कुरा बिग्रनुअघि नै उनी आफैं नीताको जीवनबाट टाढा गएका हुन् । ‘दुई महिनाअघि मैले नै उनका फोन कलहरू उठाउन छाडेको हुँ, एसएमएसको जवाफ दिन छाडेको हुँ, आमेश भन्छन्— ‘मैले रेस्पोन्स गर्न छाडेको कुरा बुझेपछि उनले पनि सम्पर्क गर्न छाडिन् । आखिर म पनि त्यही चाहन्थें, म उनको जीवनबाट धेरै टाढा जान चाहन्थें, यो तीन महिनाको अवधिमा म निकै टाढा गैसकेको महसुस गर्दैछु ।’ 

आमेशका अनुसार उनीहरूको प्रेम सम्बन्ध प्रारम्भको एक वर्षमात्र अत्यन्त सुमधुर रह्यो । त्यसपछिका तीन वर्ष उनीहरूको प्रेमले ‘सम्झौता’ को रूप लिएको थियो । ‘बीच–बीचमा हाम्रो सम्बन्ध दुई–तीन पटक टुक्रिँदै, जोडिँदै अघि बढिरहेको थियो, जुन कुरालाई हामीले गोप्य नै राखेका थियौं, आमेशका अनुसार पछिल्लो पटक भने जोडिनै नसकिने गरी छुट्टिएकाले सञ्चारमाध्यममा आएका समाचारहरूको समेत उनले खण्डन गर्न चाहेनन् । आमेश त सञ्चार माध्यमले उनीहरूको जोडीका बारेमा प्रसंसा मात्र गरेकाले समेत नीता र उनी छुट्टिन समय लागेको बताउँछन् । ‘केटा र केटीको जीवन फरक–फरक हुन्छ, आमेश भन्छन्— ‘छुट्टिँदा मलाई भन्दा उनलाई गाह्रो हुन्छ भनेर पनि लामो समय सम्बन्धमै बसियो तर कतिपय कुरा अपच हुन थालेपछि एउटै सम्बन्धमा बस्न गाह्रो हुँदो रहेछ ।’ 

‘मैले जीवनमा नीताजस्तो मलाई माया गर्ने, केयर गर्ने, मेरा लागि सबै थोक गरिदिने अर्की युवती पाउँछु जस्तो लाग्दैन, आमेश भन्छन्— ‘उनको नराम्रो पक्ष यो नै हो भनेर भन्न सक्दिनँ तर पछिल्लो समयमा उनका कतिपय व्यवहार मैले पचाउन सकिनँ ।’ आमेशले आफूले पनि कुनै गल्ती गरेको छैन भन्न चाहेनन् । 

चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ को छायांकनको क्रमदेखि आफूहरूबीचको सम्बन्धमा तिक्तता बढ्न थालेको आमेशको बुझाइ छ । ‘नीता कसैसँग बोलेर, कसैको कुरा सुनेर यो समस्या उत्पन्न भएको होइन, आमेश भन्छन्— ‘हाम्रो विचार मिल्न सकेन ।’ तपाईं नीतासँग पनि सोध्न सक्नुहुन्छ, आमेशले भने— ‘हाम्रो सम्बन्ध तोड्ने पहल मैले नै गरेको हुँ ।’ ‘फोनमा बोलिरहँदा समेत उनको माया लाग्थ्यो, त्यही भएर पछिल्लो समय उनको फोन उठाउन छाडें, आमेशका अनुसार उनलाई अहिले पनि नीतालाई भुल्न गाह्रो परिरहेको छ । कलाकार भएपछि सबै कुरा सहज रूपमा लिनुपर्नेमा आफूले त्यसो गर्न नसकेको आमेशको तर्क छ । ‘हरेक कुराको एउटा सीमा हुन्छ, आमेश भन्छन्— ‘सीमा नाघेपछि शंका उत्पन्न हुन थाल्छ, त्यही शंकाले हाम्रो सम्बन्ध पनि सिध्यायो ।’

‘मलाई उनका कतिपय बानी मन पर्न छाडेका थिए, आमेशका अनुसार उनी नीताको चरित्रमा औंला उठाउन चाहँदैनन् तर कतिपय अवस्थामा नीताले उनको चित्त दुखाएको बताउँछन् । ‘राति अबेर घर पुग्नु समस्या होइन, चलचित्र क्षेत्रमा रात–दिन नभनी काम गर्नु पर्छ, आमेश भन्छन्— ‘तर दुई जनाको विचार नै मिल्दैन भने त्यो सम्बन्धलाई धेरै तन्काउनु पनि हुँदैन । हाम्रो सम्बन्ध पनि त्यस्तै रह्यो ।’ आमेशका अनुसार उनीहरू भविष्यमा पुन: एक हुने सम्भावना करिब–करिब शून्य छ । ‘हामी जोडिने सम्भावना छैन, कम्तीमा मबाट त छँदै छैन, आमेश भन्छन्— ‘म कुनै पनि हालतमा पुन: त्यो सम्बन्धमा फर्कन सक्दिन, जहाँ म टर्चर फिल गर्छु ।’ आमेश र नीताको सम्बन्धका बारेमा दुवैको परिवारलाई समेत जानकारी थियो । आमेशका बुवा–आमाले त नीतालाई बुहारीकै नजरले हेर्थे ।

आमेशकी बहिनीले पनि नीतालाई भाउजू नै मानेकी थिइन् । ‘अहिले हाम्रो सम्बन्ध बिग्रिएको थाहा पाएपछि आमा–बुवा पनि खुसी हुनुहुन्न, आमेश भन्छन्— ‘अहिले आएर छोरा जुन कुरामा खुसी हुन्छ, त्यही गरोस् भन्न थाल्नुभएको छ । उहाँहरूले न त हाम्रो प्रेममा हस्तक्षेप गर्नुभएको थियो, न त अहिले विछोडमै कुनै प्रतिक्रिया जनाउनुभएको छ ।’ आमेशले नीता र उनी दुवै आगो–आगो भएकाले सम्बन्ध अघि बढ्न नसकेको पनि बताए । ‘मेरो कुनै पनि कुरा उनलाई चित्त बुझ्दैनथ्यो, आमेश भन्छन्— ‘मैले उनलाई कुनै पनि कुरामा इन्टरफेयर गरेको मन पर्दैनथ्यो, कुनै कुरामा विरोध गरेको मन पर्दैनथ्यो ।’ 

आमेशले उनी र नीता दुई भिन्न पेसामा भएको भए पनि अहिलेजस्तो सम्बन्ध नब्रिगने दावी गरे । ‘हाम्रो सम्बन्ध बिग्रनुमा चलचित्र क्षेत्रको ठूलो हात छ, आमेश भन्छन्— ‘नेपाली चलचित्र क्षेत्रमा ८० प्रतिशत मानिस नराम्रो सोचका छन् । अरूलाई प्रयोग गर्ने, अरूका बारेमा नराम्रो सोच्ने । नायिकासँग मात्र सम्बन्ध गाँस्न खोज्ने जस्ता कुराले चलचित्र क्षेत्रलाई बदनाम गराइरहेको छ ।’ 

‘मलाई संसारमा सबैभन्दा बढी माया लाग्ने मान्छे नै नीता हुन्, आमेशले भने— ‘अहिले सबैभन्दा बढी बिर्सन खोजेको मान्छे पनि नीता नै हुन् ।’ आमेश यतिबेला नीतालाई भुल्ने सक्दो प्रयास गरिरहेका छन् । सकेसम्म नीताको आँखा नपर्ने उनको योजना छ । नीता सहभागी हुने कुनै पनि कार्यक्रममा आफू उपस्थित नहुने उनको योजना छ । नीताको सम्झना आएका बेला गिटार बजाउँदै ठूलो स्वरमा गीत गाउने अनौठो बानीको विकास आफूमा भएको आमेश सुनाउँछन् । 

के भन्छिन् नीता ?

 

‘आमेश र मेरा केही विचार, सोचाइ मिलेनन्, साप्ताहिकको पहिलो जिज्ञासामै नीताले भनिन्— ‘मैले आफ्नो जीवनमा आमेशजस्तो राम्रो मान्छे कदापि पाउन सक्दिनँ, तर सँगै बस्ने अवस्था पनि रहेन ।’ नीताले आफू केही वर्ष सक्रिय भएर अभिनय क्षेत्रमा काम गर्न चाहेकाले पनि एक्लो जीवन रोज्न बाध्य भएको दाबी गरेकी छिन् । ‘म धेरै मेहनत गर्न चाहन्छु, कतिपय कामलाई निरन्तरता दिइरहन सकेकी थिइनँ,’ नीता भन्छिन्— ‘आमेशको प्रेमले मलाई बिगारेको थियो । मलाई अल्छी बनाएको थियो, केयरलेस बनाएको थियो । ऊ भएपछि सबै थोक पाएकी छु भन्ने सोच्न बाध्य बनाएको थियो । म वास्तविकताभन्दा कल्पनाको संसारमा रमाउन थालेकी थिएँ । जिन्दगी त्यसरी चल्दैन भन्ने लागेपछि हामी सल्लाहअनुसार नै अलग भएका हौं ।’ 

‘आमेशको अँगालोमा रहुन्जेलसम्म म मनैबाट सन्तुष्ट थिएँ, नीताले विगतको स्मरण गर्दै भनिन्— ‘मेरी आमाको निधनपछि परिवारको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो । मैले बालकुमारीमा किनेको घरको ऋण, भाइको पढाइ, बुवाको जिम्मेवारी सबै कुरा सम्हाल्नुपर्ने बाध्यता आइलागेपछि मलाई प्रेममा मात्र रमाउन गाह्रो भयो ।’ नीताका अनुसार आमेशलाई उनको परिवारको सबै कुरा थाहा थियो तर उनी सधैं आमेशप्रति निर्भर हुन पनि सक्दिनथिन् । ‘आमेश भएपछि मलाई अरू केही पनि नचाहिनेसम्म भएको थियो, म बिन्दास भएकी थिएँ, नीताका अनुसार उनी आमेशलाई जति माया गर्थिन्, त्योभन्दा सय गुणा बढी माया आमेशले उनलाई गरेका थिए ।

‘तर यो फिल्मलाइन हो, म सानैदेखि यो क्षेत्रमा भएकाले यहाँका राम्रा–नराम्रा सबै कुरा बुझेकी छु, आमेश राम्रो परिवारबाट आएको मान्छे भएकाले उसलाई यहाँका कतिपय वास्तविकता मन परेको थिएन,’ नीता भन्छिन्— ‘भित्रभित्रै रोएर बाहिर हाँस्नुपर्ने क्षेत्र हो यो भन्ने कुरा मैले आमेशलाई बुझाउन सकिन कि जस्तो लाग्छ ।’ नीताका अनुसार आमेश चलचित्र क्षेत्रमा भिज्न सकेनन्, दु:ख तथा संघर्ष के हो भन्ने कुरा पनि बुझ्न सकेनन् । ‘मैले आमेशलाई चलचित्रमा भिजाइसकेकी छु भन्ने सोचेकी थिएँ, तर सकेकी रहेनछु, नीताका अनुसार उनी आमेशसँग छुट्टिनुमा उनी स्वयं दोषी छिन् । 

‘मैले आफ्नो परिवारलाई स्थापित गर्नुपर्नेछ । त्यसका लागि म ऊसँग सल्लाह गरेरै छुट्टिएकी हुँ ।’ नीताका अनुसार पछिल्लो दुई महिनायता उनले आमेशसँग कुरा गर्न पाएकी छैनन् । ‘मलाई अहिले पनि उसको सम्झना आउँछ, आँखाभरी छचल्किएका आँसु पुछ्दै नीताले भनिन्— ‘उसलाई बिर्सना म अहिले काममा असाध्यै व्यस्त भएकी छु । यो दुई महिनाको अवधिमा मैले १५ वटाभन्दा बढि म्युजिक भिडियोमा काम गरिसकें ।’ 

‘आमेशसँग रहँदा मैले थुप्रै काम छाडेकी थिएँ, कामका लागि आएका धेरै फोन म रिसिभ नै गर्दिनथेँ, किनभने मलाई आमेश भएपछि केही पनि चाहिएको थिएन,’ नीता भन्छिन्— ‘तर म गलत रहेछु, अहिले आएर मैले ती काम छाड्नु हुँदैनथ्यो भन्ने लागिरहेको छ ।’ नीताले आफ्नो पारिवारिक जिम्मेवारी बढेको कुरा दोहोर्‍याउँदै काममा अति नै व्यस्त भएर पैसा कमाउनुपर्ने बाध्यता रहेको उल्लेख गरिन् । त्यसका लागि आमेशसँगको सम्बन्ध नै तोड्नैपथ्र्यो त ? भन्ने जिज्ञासामा नीता भन्छिन्— ‘दिनरात झगडा मात्र परिरहन्थ्यो, उसले मलाई नबुझेको हो कि, मैले उसलाई नबुझेकी हुँ भन्ने कुरा स्पष्ट नहुँदै हामीले अलग बाटो रोज्ने निर्णय गरेका हौं ।’

आफ्नो जीवनबाट आमेश टाढा भएपछि नीताको जीवनमा कस्तो परिवर्तन आएको छ त ? नीता भन्छिन्— ‘आमेश हुँदा म रुन्थें पनि हाँस्थे पनि, खुसी पनि हुन्थें, झगडा पनि गर्थें तर उ नहुँदा अहिले म कम खुसी छु तर रुनुपरेको छैन ।’ कम खुसीचाहिँ किन नि ? नीताको जवाफ छ— ‘ऊ छैन नि त । ऊ नभएपछि माया पनि छैन, म खुसी पनि छैन ।’ ‘गल्ती मबाट पनि भयो होला, म दूधले नुहाएकी छु भन्दिनँ, नीताका अनुसार गल्ती दुवैबाट भएको छ ।’ नीताले धेरै राम्रा–राम्रा मान्छेबीचको सम्बन्ध भने नराम्रो हुने निष्कर्ष आफ्नै सम्बन्धबाट निकालेकी छिन् । कुराकानीका क्रममा नीताले आमेशको प्रशंसासमेत गरिन् । ‘आमेश असाध्यै स्वाभिमानी मान्छे हो,’ नीता सम्झन्छिन्— ‘मैले कतिपटक उसको नाम सिफारिस नगरेकी होइन, तर मैले सिफारिस गरेको एउटा पनि काम उसले स्विकारेन ।’ 

‘हामी झगडा गरेर छुट्टिएका होइनौं, हामीबीच छुट्टिनकै लागि भनाभनसमेत भएको छैन,’ नीता भन्छिन्— ‘उसले फेसबुकमार्फत घुमाउरो पाराले ब्रेकअप भएको भनेको छ तर मैले त अहिले सम्म हाम्रो ब्रेकअप भयो पनि भनेकी छैन ।’ नीताले भविष्यमा आमेशका लागि आफ्नो जीवनको ढोका सधैं खुला रहेको समेत बताएकी छिन् । ‘मैले केही वर्षको ब्रेकअप चाहेकी हुँ,’ नीता भन्छिन्— ‘दुई–चार वर्षपछि आमेश मेरो जीवनमा पुन: आयो भने अचम्म नमाने हुन्छ ।’

 

प्रकाशित :श्रावण १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्