नयाँ पुस्ताका जीवा

- किशोर नेपाल

श्रावण १०, २०७३

 

सोभियत संघको विघटन नहुँदै इन्जिनियरिङ पढ्न पुगेका थिए उनी । विघटनपछि एक सफल र समृद्ध औद्योगिक र व्यवसायिक व्यक्तिका रूपमा स्थापित भएर सोभियत संघबाट बाहिरिए उनी । त्यहाँ पढेर फर्किएपछि स्वदेशको कुनै प्राविधिक मन्त्रालयको घुम्ने मेचमा बसेर चिफ इन्जिनियर वा त्यस्तै कुनै ठूलो पदमा पुग्ने उनको आकांक्षा थियो भने पनि त्यो रूपान्तरित भयो । सोभियत कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्वाच्योभले कम्युनिस्ट आर्थिक तथा राजनीतिक पद्धतिको चीरहरण गरेर आर्थिक–राजनीतिक सुधार प्रारम्भ गरेपछि सोभियत बजार व्यवस्थामा सकारात्मक तथा नकारात्मक परिणामहरू एकसाथ देखा परे ।

सोभियत बजार खुला र प्रतिस्पर्धी बनेपछि सोभियत संघको सहर, बजार र बस्तीहरूमा अभूतपूर्व जागरण आयो । त्यहाँका जनता देख्दै लोभलाग्दा, सुविधाजनक र फेसनेबल विदेशी उत्पादनप्रति आकर्षित हुन थाले । उपभोग्य वस्तुको माग बढ्यो । परम्परागत सोभियत बजारले त्यो मागको आपूर्ति गर्न सकेन । उनी अर्थात् यो संवादका जीवन्त पात्र जीवा लामिछाने यी सबै घटनाक्रम अध्ययन गर्दै थिए । एकाएक उनको दिमागमा फुर्‍यो— स्वदेश फर्किएर जागिर खाने भन्ने कुरा त्यस्तै उस्तै थियो । जागिर पाउनु एक प्रकारले झमेला नै थियो । पाउनु नै कठिन, पाएपछि धान्न कठिन, धानेर पनि पदोन्नति पाउनु कठिन । जीवाले सोचे, अन्तत: मानिसको खोजी भनेको समृद्धि र आत्म–सन्तोष नै हो । कुनै नेपाली समृद्ध हुनु भनेको देश समृद्ध हुनु हो । अहिले समयले साथ दिएको छ । यस्तो बेला सोभियत बजारमा हात हालेर समृद्धिको बाटो किन नसमाउने ?

जीवाले अध्ययनलाई स्थगित गरे र व्यापारको बाटोमा लागे । व्यापार उनको पुख्र्यौली पेसा थिएन । उनी थिए चितवनको खाँट्टी किसानको छोरो । व्यापारमा खासै अनुभव पनि थिएन । तैपनि केही समयमै उनी व्यापारमा पोख्त भए । रूसी भाषाको ज्ञान थियो, विनम्र र मृदुभाषी थिए, व्यापारिक सम्बन्ध सूत्र विकसित गर्न पोख्त थिए । व्यापारमा लागेपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुुपरेन । दु:ख जति पनि खप्न सक्ने, ध्येयमा पक्का र लगनशील । हेर्दाहेर्दै उनी सोभियत संघ र परिवेशमा सम्मानित नेपाली व्यवसायीका रूपमा स्थापित भए । उनका लागि यति सफलता पर्याप्त थिएन । कुनै पनि व्यवसायी त्यतिबेला मात्र सफल हुन्छ जब उसमा समृद्धिको नमेटिने प्यास लाग्दैन । जीवालाई यो प्यासले सधैं एक प्रकारको मानसिक दबाब दिइरह्यो । उद्योग र व्यवसायको मूल उद्देश्य नै हो पैसा कमाउनु र कमाएको पैसाको सदुपयोग गर्दै थप पैसा कमाउनु । लगानीकर्ता र मजदुरका बीच अहिले विभिन्न युनियन छन् । लगानी गर्नु र त्यसको जगेर्ना पनि गर्नु, यो यस्तो चक्र बनेको छ जुन कहिल्यै रोकिँदैन, निरन्तर चलिरहन्छ । जीवाले श्रमको मूल्य बुझेका छन् ।

जीवासँग एक प्रकारको घनिष्ठता विकसित भएको छ मेरो । उनीसँग पटक–पटक लामो कुरा गरेको छु मैले । उनीसँग भएको कुराकानीका थोरै टिपोट लिएको छु मैले, अरू धेरै कुराकानी आफ्नै स्मृतिमा सुरक्षित राखेको छु । मेरो र जीवाको सम्बन्धको एउटा र एक मात्र कडी साहित्य नै हो । उनी लेखकहरूलाई प्रोत्साहित गर्ने एक मात्र ‘क्रेडिवल’ व्यक्तित्व हुन । आफू पनि लेख्छन् र निरन्तर नयाँ साहित्यकारलाई लेख्न प्रोत्साहित गर्छन् । नेपाली साहित्य र संस्कृतिको दुनियाँको चार्मिङ फेस बनेका छन् जीवा । पछिल्लो साता कान्तिपुर टेलिभिजनको वार्षिकोत्सव समारोहमा सहभागी हुन आएका जीवासँगको भेटमा मैले सोधें, ‘अब कति बस्नुहुन्छ बाहिर ?’

मैले पहिलो पटक सोधेको प्रश्न थिएन यो । उनले स्वभाविक जवाफ दिए, ‘केटाकेटीको पढाइले नै रोकेको छ अहिले त । तीन वर्षपछि मेरो धेरै समय नेपालमा र थोरै समय विदेशमा बित्नेछ ।’ नेपालमा जीवाको लगानी विस्तारको क्रममा छ । सामाजिक सञ्जालमा सक्रिय रहेका हजारौं व्यक्तिले जीवासँग राजनीतिमा सक्रिय हुने चर्को माग राख्न थालेको सन्दर्भमा उनले बताए, ‘राजनीतिमा लाग्ने कुरामा र जित्ने कुरामा मेरो विश्वास छैन । कसलाई जित्नु र किन जित्नु ? राजनीति त मलाई सपनाको खेलजस्तो लाग्छ । म राजनीतिका लागि ‘कम्प्याटिवल’ प्राणी होइन ।’

जीवाको यो कुरामा सहमति जनाउनैपर्छ । देशका महत्त्वपूर्ण मानिसहरू आफ्ना सन्तानका लागि अमेरिका, अस्ट्रेलिया र क्यानडाको पर्मानेन्ट रेजिडेन्ट वा ग्रिनकार्ड होल्डरको स्ट्याटस खोजिरहेको अवस्थामा जीवा भने नेपालबाहेक अरू कुनै देशको पीआर लिने, ग्रिनकार्ड पाउने र नागरिकता परिवर्तन गर्ने विचार नै गर्न चाहँदैनन् । भन्छन, ‘किशोर दाइ, लगानीकर्ताका रूपमा म यतिबेर जुनसुकै राष्ट्रको नागरिक बन्ने क्षमता राख्छु, तर म अहिलेसम्म बिजनेस भिसाकै आधारमा दुनियाँ घुमिरहेको छु । मेरो देशको हरियो पासपोर्ट मेरा लागि सबैभन्दा बलियो पोसेसन हो । जुन दिन यो हरियो पासपोर्ट छाड्नेछु त्यो दिन म र मेरो अस्तित्वको समाप्ति हुनेछ ।’जीवा सधैं हजुरबाको सन्दर्भमा प्रयोग हुने शब्द होइन । जितबहादुरको संक्षिप्तीकरण हो— जीवा, तर यो मान्छे साहित्य र संस्कृतिका क्षेत्रमा जीवा बन्न सकेको छ भन्नु अत्युक्ति नमानिएला । 

गोर्वाच्योभको सोभियत विनाश भइसके पनि एउटा नयाँ शक्तिका रूपमा रूस बिस्तारै उठ्दैछ । मस्कोको ऐतिहासिक महत्व अलिकति पनि घटेको छैन । रूसको साहित्य, संस्कृति र कलाको एकात्मक स्वरूप बनेको छ मस्को । पोहोर साल भुइँचालोपछि रूस भ्रमणमा गएका बेला जीवा र म अर्मेनियाका ख्यातिप्राप्त कलाकार जों फ्रिडनका कलाकृतिहरूको अवलोकनका लागि मस्कोस्थित उनको घर पुगेका थियौं । अर्मेनियामा गएको भुइँचालोको विनाशलाई आफ्नै आँखाले देखेका फ्रिडेन आफ्ना कलाकृतिहरूको प्रदर्शनबाट अर्थ संकलन गरी नेपालका भुइँचालो पीडितलाई सघाउन चाहन्थे । उनी जीवित साक्षी थिए विनाशको । विनाश भोगेका थिए । फ्रिडेन नेपालका भुइँचालो पीडितप्रति अत्यन्त संवेदनशील थिए । नेपाललाई सहयोग गर्ने उनको चाहना के भो होला जीवा ?

जीवा एक्लैले पनि फ्रिडेनको इच्छा पूरा गर्न नसक्ने पक्कै होइन । यस्ता कुरामा व्यक्तिको चासोभन्दा संस्थागत चासो महत्वपूर्ण हुन्छ । जीवाले आफ्ना तर्फबाट सघाए, तर हाम्रा आफ्नै प्रतिष्ठानहरूले अनुगमन गर्न सकेनन् । जीवा कार्मिक उत्साहका नमुना हुन् । उनी एक ठाउँमा जमेर बसेको मैले थाहा पाएको छैन । ‘वल्र्ड क्लास टुरिस्ट’ हुन उनी, उनको एउटा पाइलो सधैं घरको दैलोबाहिर रहन्छ । कहिले त भन्दिउँ जस्तो लाग्यो, ‘जीवा शब्द हजुरबा शब्दको खाँटी नेपाली पर्याय हो । अब जीवा पनि हजुरबाका रूपमा देखिन तयार हुनुपर्‍यो । नेपाली नयाँ पुस्ताको जीवा । अध्यव्यसायीको गुरु, कि अझै बेला भएको छैन जीवा ?

 

प्रकाशित :श्रावण १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्