अशान्त व्यक्ति

- सुबिन भट्टराई

श्रावण ९, २०७३

 

हामी ऋषिकेशको बसपार्कमा ओर्लियौँ । गंगाको किनारामै रोकिएका थिए केही गाडी । हामी अलिकति माथि उक्लिएर पारिपट्टि रहेको ऋषिकेश बजार हेर्न खोजिरहेका थियौँ । हामी अर्थात् म र मेरा दुई जना भाइ । 

हामी आफ्नै किसिमको गफगाफमा मग्न थियौँ । दायाँबायाँ केही परवाह थिएन । आँखाले अगाडि देखिरहेको थियो— गंगा र पारिपट्टिको ऋषिकेश बजार । त्यत्तिकैमा खै के भयो के, करिब ३० सेकेन्ड जतिसम्म त मैले केही ठम्याउन सकिनँ । हावामा उडेजस्तो महसुस भयो । पछाडि केहीले समातेको जस्तो लाग्यो । के भैरहेछ ? संसार तल देखिरहेको छु, म माथिमाथि उडिरहेको छु । यो के भएको हो ? 

केही बेरमै मलाई ठ्याक्कै के भएको थियो ? पत्तो लाग्यो । आखिर भोग्ने म आफैँ थिएँ, पत्तो नलागोस् पनि किन ? हावामा उडिरहेको मान्छे भुइँमा पछारिएँ । हावामा उडिरहुन्जेल मेरा भाइहरूले समेत मलाई देखेका थिएनन् । देखेको भए तिनीहरू पक्कै मप्रति संवेदनशील हुन्थे । तुरुन्तै आएर मलाई घेर्थे, चिच्याउँथे, कराउँथे तर त्यस्तो केही भएन । 

म भुइँमा पछारिएपछि पत्तो लाग्यो, मलाई एउटा जीपले ठक्कर दिएको रहेछ । कमसेकम मलाई के भैरहेछ, म आफैँलाई त पत्तो हुनुपर्ने हो तर त्यस्तो केही भएन । घुँडातिर चोट लागेको महसुस भयो । गाडी घ्याच्च रोकिइसकेको थियो । म फर्केर हेरिरहेको छु । कालो अनुहार भएको मुस्तन्डे चालक हेर्दाहेर्दै गाडी साइड लगाउन भ्याएर मेरो आँखाबाट एकैछिनमा लापत्ता भयो । 

कसैले पनि चालकको खोजी गर्नतिर लागेनन् । सबै मेरै चिन्ता गर्न लागे । जिपले मलाई ठक्कर दियो र म माथि हावामा पुगेर भुइँमा पछारिएँ भन्ने कुराको ज्ञान भएपछि म पनि आत्तिन थालेँ । शरीरमा अन्त कहाँ–कहाँ चोट लाग्यो भनेर गम्न थालेँ । लामो–लामो सास फेर्न लागेँ । घर सम्झिएँ । भर्खरै पाइला टेकेको ठाउँमा कहाँ जाने ? के गर्ने ? चिन्ताले सताउन थाल्यो । 

वरपर भेला भएका मानिसहरूले मलाई जुरुक्क उठ्न भने । मलाई उठ्न सकौँलाजस्तो पटक्कै लागिरहेको थिएन, तर कनी–कनी उठेँ । हिँड्न खोजेँ, खुट्टा खोच्चियो । एउटा मान्छेले मूभ ल्याइदियो, दलेँ । खोच्याउँदै–खोच्याउँदै रामझुलाको पुल तरेर हामी पारि गयौँ । एउटा होटल खोजेर भारी बिसायौँ । ठूलो चोटपटक केही लागेको थिएन । हिँड्न समस्या भने भैरहेको थियो । अर्को दिन कम भएन भनेचाहिँ कतै क्लिनिकमा देखाउने सल्लाह गरियो । 

खुट्टा खोच्याउँदै ऋषिकेश बजार घुम्न निस्कियौँ । त्यो कालो मुस्तन्डे चालक भेटियो । मलाई देख्नेबित्तिकै त्यो अर्को साइडतिर लागेर छिटोछिटो लम्कन थाल्यो । हामी लक्ष्मणझुला गयौँ । खोच्याएरै भए पनि ममा हिँड्ने तागतचाहिँ थियो । फर्केर फेरि ऋषिकेश आयौँ । त्यो चालक पटक–पटक बजारमा भेटिइरह्यो । दुई दिनसम्मै पटक–पटक । कहिले चिया खाने ठाउँमा त कहिले गंगाको किनारमा । कहिले पुलमा त कहिले कुनै पसलमा । बजार यति सानो थियो कि एकपटक भेटिएको अनुहार एकपटकमै सीमित रहँदैनथ्यो । ऊ पटक–पटक भेटिइरहन्थयो ।

दुर्घटना हुनेबित्तिकै आएर मेरो हालचाल सोधेर अस्पतालसम्म लगिदिन्छु मात्र भनेको भए उसले मलाई देख्नासाथ पुलिसलाई देखेर भाग्ने अपराधीझैँ किन भाग्नुपथ्र्यो ? एउटा माफी नमागेका कारण ऊ दुई दिनसम्म पटक–पटक मसित तर्सिरह्यो । मसित आँखा जुध्नेबित्तिकै उसले किन डराउनुपथ्र्यो ? म बुझिरहेको थिएँ, उसको दुई दिनको ऋषिकेश बसाइ मेरो भन्दा कैयौँ गुना खराब भएको थियो ।

पीडित म थिएँ, खोच्याएर म हिँडिरहेको थिएँ, उसको गाडीले मलाई ठक्कर दिएको थियो, तर कठै ! अशान्त त्यो मानिस भएको थियो । थाहा छैन कहाँबाट आएको थियो उ ? सम्भवत: शान्ति नै खोज्न आएको थियो, तर पनि त्यो ठाउँमा सबैभन्दा अशान्त व्यक्ति त्यही हो झैँ लागिरहेथ्यो । केवल एउटा माफीको दूरी पार गर्न नसकेको एक अशान्त व्यक्ति । 

प्रकाशित :श्रावण ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्