कसले मार्ला बाजी ?

- अश्विनी कोइराला

श्रावण ८, २०७३

 

२०७२ सालमा प्रकाशित कृतिहरूमध्ये ७ वटा कृतिलाई मदन पुरस्कार गुठीले उत्कृष्ट सूचीमा राखेपछि साहित्य वृत्तमा तरंग उत्पन्न भएको छ । सूचीमा आएको कुन पुस्तकले मदन पुरस्कार पाउनुपर्छ भनेर आ–आफ्नो तर्फबाट लबिङ पनि सुरु भएको छ । कतिपयले सूचीमा राखिएका ७ वटामध्ये केही पुस्तक सूचीमै पर्न अयोग्य भएको टिप्पणीसमेत गरेका छन् । यता मदन पुरस्कारको सूचीमा परेपछि चर्चाबाहिर रहेका कतिपय पुस्तकको बिक्री ह्वात्तै बढेको छ । 

साहित्य बजारमा मदन पुरस्कार पाउने कृति तथा त्यसका सर्जकलाई विशेष नजरले हेरिन्छ । त्यसैले पनि यो पुरस्कारको आफ्नै गरिमा छ । २०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीले गरेका निर्णय केही अपवादबाहेक धेरैले आलोचना खेप्नुपरेको छैन । गोप्य तर स्वतन्त्र निर्णायक मण्डल तथा साहित्य सेवामा लामो समय बिताएका कमलमणि दीक्षितको नेतृत्वका कारण पनि यो पुरस्कारको ओज कायमै रहेको मानिन्छ । नेपालको सबैभन्दा ठूलो धनराशि भएका कारण पनि लेखक–अनुसन्धानकर्ताहरूमा यो पुरस्कारप्रति विशेष आशक्ति देखिन्छ । कतिसम्म भने राम्रा भनिएका लेखकले मदन पुरस्कार पाएनन् भने लेखक होइन, मदन पुरस्कारको असफलता मानिन्छ । 

यसपटक साप्ताहिकले मदन पुरस्कारमा नामाङ्कित भएका पुस्तकका राम्रा तथा कमजोर पक्षका विषयमा सानो सर्वेक्षण गरेको थियो, जसमा सातवटै पुस्तक पढेका व्यक्तिहरू खोजिएको थियो । यसमा केही कहलिएका समालोचकलाई पनि समावेश गरिएको छ । पाठक तथा समाचोलकहरूको दृष्टिमा मदन पुरस्कारका उत्कृष्ट सात कृतिका राम्रा तथा नराम्रा पक्ष : 

ऐना

सुदूरपश्चिमाञ्चलको यो कथा राजधानीमा त्यति बेला चर्चित भयो, जब मदन पुरस्कारमा ‘ऐना’ सूचीकृत हुन पुग्यो । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीको यो पहिलो कथा–संग्रह हो । यसअघि गजलकारका रूपमा परिचय बनाएका जोशीले कथामा पश्चिम तराई तथा पहाडको मार्मिक चित्र उतारेका छन् । साहित्य समाजको ऐना हो भनेर कलेजमा पठाउने जोशीको यही सोचले नै ‘ऐना’ कथा संग्रहलाई उत्कृष्ट बनाएको छ । समीक्षकहरूको विचारमा ऐनालाई मदन पुरस्कारमा सूचीकृत गरेर मदन पुरस्कार गुठी नै पुरस्कृत भएको छ । 

चीरचरण

प्रकाशन भएको केही महिनाभित्रै यो कृतिले राम्रो चर्चा कमाएको थियो । अमेरिकामा बसोबास गर्ने लेखिका नीलम कार्की निहारिकाले सात वर्ष लामो अनुसन्धान गरेर यो कृति बजारमा ल्याएकी हुन् । यसमा महाभारतको कथालाई पुनर्कथन गरिएको छ । 

यो पुस्तक पढ्दा सरल भाषामा महाभारत पढेजस्तो अनुभूति हुन्छ । नारीको दृष्टिबाट महाभारतलाई हेरिएका कारण परम्परागत महाभारतमा रमाउनेहरूलाई यो पुस्तकले नयाँ शैलीमा सोच्न बाध्य बनाउँछ । धेरै उपकथा समावेश भएका कारण यो उपन्यासको मूल कथा भने राम्रोसँग फोकस हुन सकेको छैन । 

निर्वाण

पहिलो उपन्यासबाटै चर्चा कमाएका पत्रकार घनश्याम खड्काको ‘निर्वाण’ ले सामान्य प्रेमकथा कसरी मोक्ष प्राप्तिको लक्ष्यसम्म पुग्छ भनेर व्याख्या गर्छ । पठनीय र सस्पेन्स दृश्यहरूका कारण यो उपन्यासको कथा पाठकहरूलाई तान्न सफल छ । प्रेमको लड्डुभित्र निमको पातजस्तै मानसिक स्वास्थ्यका खुराक दिइएकाले पनि यो पुस्तक मदन पुरस्कारको सूचीमा परेको हो । तैपनि सुरुका ५० पृष्ठले कथालाई विश्वसनीय बनाउन बाधा खडा गर्छन् । 

सिमानाका तरंग

यो नियात्रा–संग्रह हो । लेखक दामोदर पुडासैनी ‘किशोर’ ले विभिन्न देश गएका बेला त्यहाँका कला, संस्कृति र भूगोललाई आफ्नो अनुभूतिमा ढालेर यो कृति लेखेका हुन् । यो पुस्तकको सुन्दर पक्ष भाषा हो । सिमानाले मान्छेलाई मान्छे हुन नदिएको, संसारका मानिस एक भए पनि सिमानाहरूले एक–अर्कालाई छुट्याएको प्रसङ्ग यो पुस्तकमा समाविष्ट छ । तैपनि यही भाषा नै यो पुस्तकको कमजोर पक्ष पनि हो । भाषालाई राम्रोसँग खेलाउने प्रयास गर्दा कतिपय ठाउँमा अर्थको अनर्थ लाग्ने भएकाले ठाउँ–ठाउँमा पाठकहरू रोकिन बाध्य हुन्छन् । 

प्रश्नहरूको कारखाना 

यो वर्ष दुईवटा कविता कृतिको राम्रो चर्चा भएको थियो । एउटा प्रश्नहरूको कारखाना र अर्को सुप्लाको हवाईजहाज । यी दुईमध्ये प्रश्नहरूको काराखानाले मदन पुरस्कारमा सूचीकृत हुने अवसर प्राप्त गर्‍यो । सरिता तिवारीद्धारा लिखित यो कृतिको संरचना नै यसको बलियो पक्ष हो । बेथितिहरू पक्रेर दरिलो प्रहार गरेका कारण प्रश्नहरूको कारखाना मदन पुरस्कारका लागि सूचीकृत भएको हो । महिलाले लेखेका कारण नै होला, यो कृति कतिपय ठाउँमा निकै संवेदनशील छ । यद्यपि केही कवितामा राजनैतिक रंगले खल्लो महसुस गराउँछ भने कतिपय कविता कोरा नाराजस्ता पनि छन् । 

फिरेफिरे

गएको वर्ष बहुप्रतीक्षित मानिएको युवा साहित्यकार बुद्धिसागरको ‘फिरफिरे’ आमपाठकले मन पराएको कृति हो । कर्नाली ब्लुजबाट पाठकको ह्दयमा डेरा जमाएका कारण बुद्धिसागरको दोस्रो कृतिले प्रकाशित हुनुअघि नै राम्रो ख्याति कमाएको थियो । मीठो भाषा र शैली यसको राम्रो पक्ष हो । फुर्सदमा पढ्ने खालको अन्तर्राष्ट्रिय स्तरको पुस्तक भएका कारण यसले धेरै पाठकलाई खुसी पनि बनायो । यद्यपि कतिपयले यसलाई कर्नाली ब्लुजको अर्को संस्करण मानेका छन् भने कतिपयले उपन्यास आवश्यकता भन्दा बढी तन्क्याइएको भनेर आलोचना गरेका छन् । 

आमोइ

बालविधवाको कथा बोकेको ‘आमोई’ अर्को मर्मस्पर्शी कृति हो । बालबिधवाका रूपमा मुख्य पात्रले जीवनमा पाएका हन्डर–ठक्करका बीचमा पनि उनले खेलेको सकारात्मक भूमिकाले धेरै पाठकको मन छुन्छ । भुवनहरी सिग्देलद्धारा लिखित यो कृतिको सुरुवात कमजोर हुनु र ठाउँ–ठाउँमा कथामा पकड गुमाउनु यसका आलोच्य पक्ष हुन् । सकारात्मक सन्देश नै यो पुस्तकको सबल पक्ष हो ।

 

प्रकाशित :श्रावण ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्