लर्ड्ससँग नेपालको साइनो

- साप्ताहिक संवाददाता

श्रावण ८, २०७३

 

यो खेलको महत्त्व को जित्यो र को हार्‍यो पक्कै थिएन । यो नतिजाभन्दा पनि माथिको खेल थियो र नेपाली क्रिकेट अन्तत: लर्ड्ससँग साइनो जोड्न सफल पनि भयो । लन्डनस्थित लर्ड्स मैदान, विश्व क्रिकेटको पर्याय मानिन्छ । यत्तिको प्रख्यात क्रिकेट मैदान विश्वमा कतै पनि छैन । लर्डस् मैदानका सम्बन्धमा व्याख्या गर्दा धेरै विशेषता गनाइन्छ । जस्तो— यो क्रिकेटको घर हो । यो क्रिकेटको मक्का हो । यो विश्व क्रिकेट इतिहासको साक्षी हो । धेरै लामो इतिहास बोकेको लर्डस्मा धेरै प्रख्यात र महत्त्वपूर्ण खेल भएका छन् । 

लडर््सले अहिलेसम्म पनि पुरातन क्रिकेटका नियम र परम्परालाई छाडेको छैन । यहाँ यस्तो गर्नु हुन्छ र यस्तो गर्नु हुँदैन भन्ने आफ्नै खालका नियम छन् । त्यसैले लडर््स वास्तवमै विशिष्ट छ । प्रत्येक क्रिकेट खेलाडीले सपना पालेका हुन्छन्, लडर््समा गएर क्रिकेट खेल्ने । धेरैको इच्छा भने पूरा हुँदैन, किनभने यहाँ धेरै माथिल्लो दर्जाको क्रिकेट मात्र चल्छ । 

नेपाली खेलाडी भने भाग्यमानी रहे । नेपाली क्रिकेटको एउटा पुस्ताले यही लडर््स मैदानमा क्रिकेट खेल्ने अवसर आत्मसात् गरेका छन् र उनीहरूले यहाँ खेलेर बटुलेको अनुभव कहिल्यै बिर्सनेछैनन् । त्यसैले त नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पनि लडर््समा खेल्न पाएकोमा उत्तिकै उत्साहित छन् । उनकै शब्दमा, ‘लडर््समा खेल्नु भनेको हामीले विश्व क्रिकेटमा अवसर देखाउनु हो ।’

लडर््समा भएको उक्त खेलमा नेपालको प्रतिद्वन्द्वी थियो, एमसीसी । एमसीसी अर्थात् मेरिलेबोन क्रिकेट क्लब । मेरिलेबोन त्यही क्रिकेट क्लब हो, जसले सयौं वर्षदेखि यो खेलको प्रचार–प्रसारका लागि आफूलाई क्रियाशील राखेको छ । त्यति मात्र होइन, क्रिकेट इतिहासमा यो खेलको नियम बनाउने संस्था पनि लामो समयसम्म यही क्लब थियो । 

नेपाल यो ऐतिहासिक मैत्रीपूर्ण खेलमा ४१ रनले विजयी रह्यो । टस जितेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय १७ रन बनायो । जवाफमा एमसीसी ४७ दशमलव २ ओभरमा १ सय ७६ रनमा अलआउट भयो । यो खेलको साक्षी बन्न लन्डनमा बसोबास गर्ने झन्डै १० हजार नेपाली मैदानमा उपस्थित थिए । 

नेपाल इंग्ल्यान्डमा खेलेका पाँच खेलमध्ये सबैमा विजयी भयो । टिमको यो इंग्ल्यान्ड भ्रमणको अवसर जुटाइएको थियो, नेपाल र बेलायतबीच सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा । नेपाल अर्को महिना नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि पनि इंग्ल्यान्ड पुगेको हो ।

प्रकाशित :श्रावण ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्