रोनाल्डोको बढी चर्चा

- राजु घिसिङ

श्रावण ५, २०७३

 

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड हुन्–भरत खवास । आठ वर्षयता राष्ट्रिय टिमबाट खेल्दै आएका खवास त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन् । युरो–२०१६ का सम्बन्धमा खवाससँग साप्ताहिकको ५ प्रश्न :

पोर्चुगलको उपाधि यात्रालाई कस्तो मान्नुहुन्छ ?

समूह चरणको खेल हेर्दा पोर्चुगल च्याम्पियन हुन्छ भन्ने लागेको थिएन । पछि उसको खेलमा निरन्तर सुधार आउँदै गयो । पोर्चुगलले फाइनलमा पनि राम्रो खेल्यो । क्रिस्टियानो रोनाल्डोको बढी चर्चा भए पनि पोर्चुगलका सबै खेलाडीले स्तरीय प्रदर्शन गरे ।

फ्रान्स, जर्मनीजस्ता ठूला टिमको प्रदर्शन कस्तो लाग्यो ?

फ्रान्सलाई घरेलु मैदानको फाइदा थियो । उसले सेमिफाइनलमा विश्वकप विजेता जर्मनीलाई हरायो । फ्रान्सका खेलाडी पनि उच्चस्तरका थिए । त्यसैले फ्रान्स च्याम्पियन बन्ने अनुमान गरिएको थियो तर दुर्भाग्य, फ्रान्सले फाइनलमा राम्रै खेलेर पनि उपाधि जित्न सकेन । जर्मनी, फ्रान्स, स्पेन, इटालीजस्ता ठूला टिम एउटै ‘पोल’ मा पर्नुले पनि पोर्चुगललाई फाइदा भयो ।

विश्वकप विजेता जर्मनी हार्नुको कारण के हो ?

विश्वकपमा देखिएजस्तो आक्रामक काउन्टर अट्याकमा यसपालि जर्मन टिम चुक्यो । फिनिसिङमा युरोमा जर्मनी कमजोर देखियो । त्यसैले सेमिफाइनलभन्दा माथि उक्लन सकेन ।

युरो कपमा स्टार खेलाडीहरूको प्रदर्शनलाई कसरी लिनुहुन्छ ?

बेल्सका गारेथ बेल, फ्रान्सका पउल पोग्बले राम्रै प्रदर्शन गरे । इंग्ल्यान्डका वायनी रोनी र ह्यारी केन, स्वीडेनका जाल्टन इब्राहिमोभिच, पोल्यान्डका रोबर्ट लेवन्डोव्स्की, जर्मनीका थोमस मुलरले भने क्लबबाट खेलेजस्तो राम्रो खेल देखाउन सकेनन् ।

प्रतियोगितामा कुन टिमले उत्कृष्ट प्रदर्शन गर्‍यो ?

बेल्सले अपेक्षा गरेभन्दा पनि राम्रो प्रदर्शन गर्‍यो । उसले सेमिफाइनल त के अन्तिम आठको यात्रा तय गर्ने पनि कसैले सोचेका थिएनन् । गारेथ बेल, आरोन राम्सी आदिले उत्कृष्ट खेल प्रदर्शन गरेपछि बेल्सले राम्रो नतिजा निकाल्यो ।

 

 

प्रकाशित :श्रावण ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्