गुरु र विश्वप्रसिद्ध कथा

- अश्विनी कोइराला

श्रावण ४, २०७३- 

यो कथा विश्वप्रसिद्ध हो–होइन थाहा छैन, तर मेरो साहित्यका गुरुले यो कथालाई विश्वप्रसिद्ध  हो भनेर सुनाउनुभयो । त्यसैले मानिदिएँ । 

गुरुपूर्णिमाका दिन गुरुले भनेको कुरा असत्य पनि कसरी होला र ? 

कथा यस्तो छ : एउटा युवक घर छाडेर कतै टाढाको यात्रामा निस्किएको थियो, अपरिचित सहरमा करियर बनाउन । युरोपको कुनै चिसो तर भर्खरै विकसित सहरमा ऊ रेलबाट उत्रियो । ऊसँग खासै सामान थिएनन् । रेलको प्लेटफर्मबाट बाहिर निस्कँदा बिहानको ७ बजेको थियो । चिसो प्लेटफर्ममा एउटा कफी सपबाहेक अरू केही खुलेका थिएनन् । चहलपहल पनि खासै थिएन । उसले नयाँ स्थानलाई आङ तन्काउँदै हेर्‍यो र बाहिर निस्कने ठाउँ खोज्न थाल्यो । आँखा डुलाउँदै जाँदा एउटी युवती दुईवटा गह्रौं झोला सकिनसकी बोक्दै प्लेटफर्मबाट निस्कँदै थिइन् । 

‘म सहयोग गरौं कि ?’ युवतीप्रति उसले सहानुभूति देखायो । 

‘होइन, ठीकै छ । कुल्ली भेटिहालिन्छ नि ।’ युवतीले अरुचि देखाई ।

उसलाई युवतीको माया लाग्यो ।

कतै कुल्ली देखिन्छ कि भनेर उसले यताउति हेर्‍यो । पर कुल्ली बस्ने छाप्रोमा एउटा मान्छे गुडुल्किएर सुतिरहेको थियो । कुदेर त्यहाँ पुग्यो । ऊ कुल्ली नै थियो तर उठ्न मानेन । आफ्नो ब्लाङ्केट अझै च्यापेर ऊ अर्कातिर कोल्टियो ।  अर्को कुल्ली भेटिएन । युवती निराश हुँदै फेरि दुईवटै गर्‍हुँगो झोला घिसार्न थाली । 

‘हत्तेरि के गर्नुभएको ? एउटा बोकिदिन्छु । मान्छे हेर्दा नै यसको चोर्ने योजना छैन भन्ने कुरा बुझ्नु पर्ने ।’

युवकले एउटा झोला खोस्दै भन्यो, ‘के म चोरजस्तो देखिन्छु र ?’ 

‘मैले त्यसो भनेँ त ।’ 

‘भन्नुपर्दैन, तपाईंले मलाई देख्नेबित्तिकै जसरी यो झोला च्याप्नुभयो, मलाई चोर ठान्नुहुन्छ भन्ने कुरा बुझ्न गाह्रै भएन ।’ 

‘ल लिनुस्, तर पैसा लिनुपर्छ । मलाई अरूको सहयोगमा रुचि छैन ।’

युवक हाँस्यो । ‘तपाईंलाई धन्यवाद । खासमा म कामको खोजीमा घर छाडेर हिँडेको हुँ । कति पैसा दिनुहुन्छ ?’ 

युवती एकछिन चुप लागी । ‘खासमा म पनि कामकै खोजीमा घर छाडेर हिँडेकी हुँ । यो झोला कहाँसम्म जान्छ मलाई नै थाहा  छैन । बरु यसो गरौं, बाहिर ट्याक्सीसम्म पुर्‍याइदिनु, म त्यतिको मात्र शुल्क तिर्छु ।’ 

दुवै प्लेटफर्म बाहिर निस्किए, तर कहाँ जाने ? दुवै एकछिन अलमल्ल परे ।

ट्याक्सीवालाले उनीहरूको कुरा बुझ्यो र भन्यो, ‘यहाँबाट दुई घण्टाको दूरीमा अर्को सहर निर्माण हुँदैछ । सरकारले त्यसलाई राजधानी बनाउने निर्णय गरेको छ । त्यहाँ जागिरको फालाफाल छ । विशेष गरी तपाईंहरूजस्ता युवाहरूका लागि ।’

दुवैलाई कुरा जच्यो । नयाँ ठाउँमा काम पाइन्छ भने किन नजाने ? दुवैले त्यहीँ जाने निर्णय गरे । युवकले एउटा ट्याक्सी खोज्यो, युवती भने जागिरको सूचना दिने ड्राइभरसँगै भाडाको मोलमोलाइ गर्न थाली, तर दुई घण्टा लामो दूरीको ट्याक्सी भाडा महँगो नै थियो । अन्त्यमा उसले युवकलाई बोलाएर भनी, ‘तिमी पनि आखिर त्यही सहरमा जान्छौ भने किन दुइटा ट्याक्सी लिने ? बरु ब्याग बोकिदिएबापतको केही पैसा म थपिदिन्छु । तिमीलाई सस्तो पर्छ, सँगै जाऊँ ।’ युवक सहमत भयो । दुई घण्टाको दूरीमा उनीहरू नजिक हुँदै गए । एक–अर्काको परिवारका कुरा सोधे । पढाइ सोधे । रुचि–अरुचिका कुरा भए । बीच बाटोमा उनीहरूलाई भोक लाग्यो । दुवैले खानेकुरा अर्डर गरे । हेर्दाहेर्दै दुईको गहिरो दोस्ती भयो । नयाँ सहर पुग्दा उनीहरूमा एक–अर्काका अनुवाद भैसकेका थिए । दिनभरि उनीहरूले काम खोजे । नयाँ सहर, रात त बिताउनै पर्‍यो । उनीहरूले सोचे, दुईवटा कोठा लिएर किन धेरै खर्च गर्ने ? काम नपाउन्जेल पैसाको बचत गर्नुपर्छ । दुवैले एउटै कोठा लिए । यसरी उनीहरूसँगै बस्न थाले । काम पाएपछि पनि उनीहरूको डेरा पनि एउटै भयो । पछि उनीहरूले सल्लाह गरे । एउटै डेरा लिएपछि र मन मिलिसकेपछि किन विवाह नगर्ने ? हो नि । भेट भएको दोस्रो वर्ष उनीहरूको बिहे भयो । उनीहरूका दुई जना सन्तान भए । त्यसमध्ये एउटा म हुँ । प्लेटफर्ममा एउटा कुल्ली नभेटिँदा यस्तो घटना हुन पुग्यो । र, यो संसारमा म जन्मन पुगेँ । त्यहाँ भेटिने गरेको कुल्ली समयमै आइदिएको भए यो संसारमा म हुने थिएँ कि थिइनँ, मलाई नै थाहा छैन । कथा सुनाइसकेपछि मेरो बुवाले भन्नुभएको थियो, ‘ल मैले कथा सुनाएँ । तैंले ठूलो भएर यो कथा कसले लेखेको हो, पत्ता लगाउनू ।’

जब–जब मलाई कक्षाका पुस्तक पढ्न दिक्क लाग्थ्यो, बुवालाई यही कथा सुनाउन आग्रह गर्थें । यही कथाले मलाई यस्ता अनौठा कथा पढ्न उक्सायो । उनै मेरा पिताजी साहित्यका प्रथम गुरु बन्न पुगे । आज उहाँ बित्नुभएको पनि वर्षौं भयो, तर यो कथा जस्ताको तस्तै याद आइरहन्छ । तर यो कथा कसले लेखेको हो, अहिलेसम्म पत्ता लगाउन सकेको छैन । सक्नुहुन्छ भने पत्ता लगाइदिनुहोला, धर्म हुन्छ । किनभने मैले मेरो गुरुदक्षिणा दिन बाँकी नै छ ।

प्रकाशित :श्रावण ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्