Teej banner

अभया—एक गीत, एक अनुभूति

- किशोर नेपाल

श्रावण ४, २०७३

 

के पिउनुहुन्छ तपाईं ? चिया पिउनुहुन्छ ? दार्जीलिङ टी । अभयाको इम्फ्यासिस दार्जीलिङ टीमा थियो । यो स्वभाविक पनि थियो र भावनात्मक पनि । राजनीतिक सीमाले भारतमा परे पनि सानो पहाडी सहर दार्जीलिङ नेपालीहरूको बस्ती हो । उनी यही सहरमा हुर्किएकी थिइन, बढेकी थिइन् र पढेकी थिइन । यहीं उनले आफ्नो पहिलो ब्यान्ड पनि बनाएकी थिइन । संगीतको नशामा उनी यही सहरमा डुबेकी थिइन् । यहींबाट लागेको थियो रक म्युजिकको चस्का । 

अभया : दि स्टिम इन्जन्सकोक्रिएसन यहींबाट प्रारम्भ भएको थियो । त्यसको इन्स्पिरेसन पनि पहाडलाई बीसौं पटक फन्को मार्दै माथि डाँडामा आइपुग्ने त्यही ‘छुकछुक’ रेल थियो, तर त्यति मात्र होइन । ‘स्टिम इन्जन्स’ अर्थको गहिराइ छ । यो देशले परिभाषित गर्न सक्ने कुरा होइन, यो त आफैंमा पहिचान हो, आइडेन्टिटी । लोकोमोटिभको आविष्कारपछि नै युरोपमा इन्डस्ट्रियल रेभोल्युसन सुरु भएको थियो । 

अभया भन्दै थिइन्, ‘त्यतिबेला जब म जवानीमै थिएँ, मैले आफ्नै रकब्यान्ड सुरु गरेकी हुँ । मेल डोमिनेटेड म्युजिकलाई यो मेरो चुनौती थियो । रकब्यान्डमा सबै केटा, म एउटी केटी । मप्रति उनीहरूको व्यवहार हेपाहा हुन्थ्यो । उनीहरूको बेहोरा नै ‘ठिस’ हुने । मेल डोमिनेसनकै कारण मैले थुप्रै रकब्यान्डमा गाउन छाडें ।’ 

‘म फेमिनिस्ट हुँ । अरू कसैको विचारमा व्यक्तिगत वा अरू कुनै प्रकारले हस्तक्षेप नगर्ने फेमिनिस्ट । म अभया फेमिनिस्टको धार अलग छ,’ अभया भन्छिन्, ‘केटाहरू केटीलाई छुच्ची भन्छन्, एटिच्युड देखाउँछे भन्छन्, हातपातसम्म गर्न सक्छन् । मैले आफूलाई त्यसको प्रतिरोध गर्न सक्ने साहसी बनाएको छु । केटाहरू बुझनै चाहँदैनन् । उनीहरूले बुझे पो केटीहरू अघि बढ्न सक्छन् ।’

‘केटीहरू कसैलाई रकब्यान्डमा भेटनुभएको छ ? देख्नुभएको छ ? यो पूरै दक्षिण एसियामा म एक्ली केटी रक गायक हुनुपर्छ,’ गर्वका साथ भन्छिन् अभया । उनलाई त्यति गर्व गर्ने हक छ, अधिकार पनि छ । उनी मौलिक छिन् । अभया गीतहरू सिर्जना गर्छिन्, सिर्जनाको सम्मान गर्छिन् । ‘घामलाग्दा फूल फुल्छ’, ‘सधैं–सधंै’ र अहिलेसम्म रिलिज नभएको ‘बादलले छेकेको अँध्यारो आकाश’ उनको सिर्जनाका केही गीत हुन् ।

‘गाउनु भनेको सबैभन्दा पहिले मेरो अहम्को तुष्टि हो । पाँच जनाको सानो ब्यान्ड मलाई सजिलो लाग्छ । 

इन्स्ट्रुमेन्टमा साथदिने भाइहरू भएकाले मलाई सजिलो फिल हुन्छ । उनी आफैं गितार बजाउँछिन्, कि–बोर्डसँग खेल्छिन् । कसैले रकस्टार भनेर सम्बोधन गर्दा रमाउँछिन् । अभया नेपालकी रकस्टार हुन् । उनी भजन पनि गाउँछिन् । दोहोरीमा पनि रमाउँछिन् । पुराना नेपाली गीतहरू मन पराउँछिन् । हिन्दी गीत पनि गुनगुनाउँछिन् ।

 

उनी हुर्किइन् नै सांगीतिक वातावरणमा । अभयालाई उनका बाबाले सधंै गीत–संगीतमा प्रोत्साहित गर्नुभयो । बचपनमै नारायणगोपाल, अरुणा लामा, शान्ति ठटालजस्ता हस्तीहरूसँग भेट्ने मौका मिल्यो । पहिलो पटक काठमाडांै कलेज अफ म्यानेजमेन्टमा भएको कन्सर्टमा उनी ‘नोटिस्ड’ भइन् । त्यसपछि उनी कहिल्यै पछाडि फर्किएकी छैनन । अहिलेसम्म उनले ६ सयभन्दा बढी पर्फमेन्स दिइसकेकी छिन् । गर्न अझै धेरै बाँकी छ । उनले आफ्नो अविजित स्वरलाई अन्तरिक्षको उचाइमा पुर्‍याउन बाँकी छ ।

निकै समय भयो, अभया कन्सर्टमा देखिएकी छैनन् । उनी ‘चुजी’ भएकी छैनन् । आफ्ना विचारहरूलाई कुकुनमा राख्छिन्, त्यसलाई पकाउँछिन् र निकाल्छिन् । भन्छिन्, ‘गीत मलाई नै छानेर आउँछ । त्यसले मनको अन्तरकुन्तर सबैतिर छोएको हुन्छ । नयाँ विचारको स्वागत गर्नका लागि म प्राय: सोसल ग्यादरिङहरूमा पनि जान्नँ । रोलिङ स्टोन भएर केही जितिन्न । मैले आफूलाई ‘इन्टर्नलाइज’ गरेकी छु । एक–दुई हप्ता म घरमै लुकिदिन्छु । आफैंलाई भन्छु— ‘केटी, नबोल्, नकरा, खुम्चिएर बस् । गायनमा शक्ति चाहिन्छ । इनर्जीको पोजिटिभ भाइव । तैंले त्यो शक्ति सञ्चय गर्नुपर्छ ।’ 

अभया जब स्टेजमा हुन्छिन् उनको ध्यान गाउनुबाहेक अरू कुनै विषयमा जाँदैन । दुई घण्टा निरन्तर र अनवरत गाएर स्टेजबाट उत्रँदा उनी शारीरिक रूपले थाकेर लखतरान हुन्छिन् । मानसिक र आत्मिक हिसाबले भने आनन्दको महासागरमा पौडी रहेको महसुस गर्छिन् । उनी स्वयंलाई पनि आश्चर्य लाग्छ, ‘कहाँबाट आउँछ त्यत्रो शक्ति ?’

अभया लेख्ने–पढ्ने कुरामा सचेत छिन् । पुरानोमा पर्ल एस वक र नयाँमा झुम्पा लाहिरी भनिसकेपछि त्यति कोट्याउन नपर्ला । हो, उनले नेपाली उपन्यासहरू पढेकी छैनन्, ‘त्यो अपराधका लागि मलाई जेल हालिदिए हुन्छ । म त्यहीं बसेर पढ्ने थिएँ ।’

खानपिनमा त्यति ठूलो सौखिन होइनन् अभया । आफू शाकाहारी हुन् र आफ्नो हब्बीलाई पनि बनाएकी छिन् ‘फोस्र्ड’ शाकाहारी । डार्क चकलेटमा मन बस्छ कहिलेकाहीं । छुर्पी, मसरुम र अरू तरकारीहरूलाई मायाले मिचेर बनाइएको भेज ममभन्दा मीठो अरू केही लाग्दैन उनलाई । जीवन रमाइलो छ अभयाको । विवाह गरेकै उन्नाइस वर्ष भैसकेको छ । छोरो नै पन्ध्र वर्षको छ । ‘त्यसैले होला, मलाई कसैले पनि स्क्यान्डलमा तान्न सकेका छैनन् ।’

भ्रमणको पनि त्यति ठूलो शौख राख्दिनन् अभया । ‘विदाउट गितार, विदाउट वर्क’ ट्राभलमा जाने मन हुँदैन उनको । स्टेज पर्फमेन्सका लागि भने जति पनि कुद्न तयार छिन् उनी । अभयाको रमाइलो गुनासो छ– परिवारमा उनको संगीतको बिंडो थामिदिने कोही छैनन् । हब्बी आर्किटेक्ट, छोरोको स्वर मीठो छ तर ऊ कम्प्युटरमा रमाउँछ । यो स्थितिमा उनको बिंडो नयाँ पुस्ताका गायकहरूबाहेक अरू कसले थाम्लान् र ?

 

प्रकाशित :श्रावण ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्