मेहन्दीको बहार

  • सुष्मा रावल, श्रृंगार घर ब्युटिपार्लर,पुरानो बानेश्वर

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७३-
मेहन्दीप्रतिको रुचि फेसन ट्रेण्डकै रूपमा हावी भएको छ । कुनै समय विशेष समुदायका महिलाहरूले मात्र लगाउने मेहन्दी अहिले सम्पूर्ण नेपाली नारीको श्रृंगारको महत्वपूर्ण पक्ष बन्न पुगेको छ । साउन महिना मात्र नभै विवाह, पूजाआजा तथा चाडपर्वमा समेत विवाहित हुन् वा अविवाहित सबै नेपाली महिलामा मेहन्दीप्रति विशेष आकर्षण देखिन्छ । 

मेहन्दीको प्रयोग र मेहन्दी एसेसरिजको बजार साउन महिनामा उत्कर्षमा पुग्छ । तीज, साउन, विवाह वा अन्य कुनै पनि समारोहका लागि सजिँदा मेहन्दीलाई शुभ साइतका रूपमा समेत लिइन्छ । आजभोलि साउन महिनालाई मेहन्दी लगाउने महिनाकै रूपमा पनि हेर्न थालिएको छ । हत्केलामा मेहन्दीको रंग जति गाढा बस्यो उति नै श्रीमान् अर्थात् प्रेमीको माया पाइन्छ भन्ने विश्वास छ । हातमा सुन्दर मेहन्दी रचना गर्नु परम्पराको एक हिस्सा पनि हो । 

स्वास्थ्यका दृष्टिकोणले पनि मेहन्दीको प्रयोग प्रभावकारी हुने भएकाले यो महिना मेहन्दी लगाउनुपर्छ । नेपालमा राजस्थानी प्याटर्नको मेहन्दी बढी लोकप्रिय छ । त्यसबाहेक अरेबियन तथा हिना ट्याटु पनि प्रचलनमा छ । यसरी मेहन्दी लगाउँदा सांकेतिक रूपमा मयूर, शंख आदिका चित्रसमेत बनाइन्छ ।

बजारमा उपलब्ध रसायनयुक्त मेहन्दी प्रयोग गर्नुभन्दा आफंैले बनाएको कुपी मेहन्दी लगाउनु स्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनुका साथै लामो समय टिकाउ हुन्छ । मेहन्दी किन्दा त्यसको गुणस्तर, उत्पादन मिति आदिमा विशेष ध्यान पुर्‍याउनुपर्छ अन्यथा मेहन्दीले हानि पुर्‍याउने सम्भावना पनि त्यत्तिकै हुन्छ ।
मेहेन्दी विभिन्न डिजाइनमा लगाउन सकिन्छ । यसका विभिन्न प्याटर्न हुन्छन् । जस्तो— रिसर्व, कोहिनूर, मारवाडी, राजस्थानी आदि । त्यसबाहेक मेटालिक, फेब्रिक, गोल्डेनका साथै फेन्सी डिजाइनका मेहन्दीहरू पनि उपलब्ध छन् । 

प्रकाशित: श्रावण ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्