रोमान्टिक झरी

- शिव मुखिया

असार २८, २०७३

 

साँच्चै मोहक हुन्छ, वर्षायाम । आकाशमा बत्तिइरहेका बादलका टुक्रा, अविरल झमझम बर्सिरहेको झरी र त्यसले पैदा गर्ने संगीतमय आवाज । यस्तो बेला झ्यालको छेउमा बसेर तात्तातो कफी सुक्र्याउँदै, झरीको दृश्यमा टोलाउन कति मज्जा हुन्छ ? रूखका पातमा ठोक्किएर भुइँमा तप्किने पानीको संगीतमय आवाजमा लोलाउन कति मज्जा हुन्छ ? निथ्रुक्क भिज्ने गरी वेपर्वाह हिँड्न कति मज्जा हुन्छ ? 

जसै झरीका यस्ता सुन्दर कल्पनाले मन उद्वेलित हुन्छ, युवा साहित्यकार बुद्धिसागरलाई आफ्नो बाल्यकालमा फर्कन मन लाग्छ । घरको पिंढीमा बसेर मकै र भटमास चपाउँदै बलेसीमा उठ्ने र क्षणमै फुट्ने पानीका फोकाहरूमा ध्यानमग्न हुन मन लाग्छ । गायक अल्मोडा राना उप्रेतीलाई भक्तपुरस्थित मामाघर पुगेर हिलाम्मे खेतमा बुकुर्सी मार्न मन लाग्छ । सम्पदा बानियाँलाई झरीमा भिज्दै नाच्न मन लाग्छ । 

असारे झरीको महिमा अपरम्पार छ । ‘असारे महिनामा, पानी पर्‍यो रुझाउने’ भाका सुसेल्दै खेतमा बाउसे खेल्नेदेखि ‘यो पानी कस्तो बेइमानी’ घन्काउदै उन्मुक्त नाच्नेहरूका निम्ति प्रिय छ, झरी । कतै यो प्रेमका रूपमा पग्लिएको छ, कतै आँसुका रूपमा तप्किएको छ । गीत, कथा, कविता अनि गजलहरूमा अनेकन विम्ब र प्रतीक बनेर छाएको छ– झरी । 

नेपाली संगीत पनि झरीमय छ । झरी, वर्षा, पानी जे–जस्तो नामबाट पुकारिए पनि यसले संगीतसँग आफ्नै किसिमको नाता गाँसेको छ । सिमसिमे पानीमा, असारे महिनामा, पानीको रिमझिम, ए झरी नझरिदेउ यसरी, वर्षातमा तिमी रुझ्दाजस्ता गीत जनजिब्रोमा 

झुन्डिएका छन् ।

यो मौसमी चक्रले हाम्रो ह्दयलाई समेत स्पर्श गर्छ । त्यसैले त जब आकाशबाट झमझम पानी बर्सन थाल्छ, त्यसको सुन्दर दृश्यमा मन एकाग्र हुन पुग्छ । यसले कसैलाई नाचौँ–नाचौँ बनाउँछ भने कसैलाई भावुक तुल्याउँछ । झमझम पानी परिरहेका बेला अल्मोडा राना उप्रेतीको मन सुदूर अतितमा डुब्छ । सानो छँदा मामाघरको हिलाम्मे खेतमा लडीबुडी खेलेका क्षणहरू सम्झेर उनी रोमाञ्चित हुन्छन् । झ्यालको छेउमा बसेर हरियो खुसार्नी र काँक्राको स्वाद लिँदै एकोहोरिन मन लाग्छ, उनलाई । ‘झमझम परेको पानीले केही क्षण भए पनि मेरो मनको दु:ख–पीडा सबै पखालिदिन्छ,’ अल्मोडा भन्छन्–‘म आफंैलाई बिर्सिएर त्यो दृश्यमा रमाइरहेको हुन्छु ।’ पानीले जसरी वातावरणको धूलो–मैलो पखालेर कञ्चन, सफा बनाउँछ, त्यसरी नै मनको विकार पनि पखाल्ने उनले अनुभव छ । 

‘पानी पर्‍यो, असिना झर्‍यो’ गीतका रचनाकार तथा गायक अल्मोडा साप्ताहिकसँगको साक्षात्कारमा पनि झरीकै दृश्यमा रमाइरहेका थिए । ‘त्रिपुरेश्वरबाट दशरथ रंगशालातर्फ फर्केर पानी परेको हेरिरहेको छु । कोही सटरमा ओत लागिरहेका छन्, कोही छाता ओडेर हिँडिरहेका छन् । सडकमा जमेको पानी छ्याप्दै गाडी कुदिरहेका छन् । यी सबै दृश्य आफैंमा सुन्दर लाग्छन्,’ अल्मोडाले काव्यिक शैलीमा सुनाए । त्यसो त झरीलाई उनी सेक्सिनेसको सिम्बोल पनि मान्छन् । 

पानीमा लपक्कै भिजेकी युवती देख्दाचाहिँ उनलाई कस्तो लाग्दो हो ? ‘ओहो !’ अल्मोडा हौसिए– ‘कुनै रोमान्टिक गीतको दृश्य झलझली आँखामा आउँछ ।’ जब पानीका थोपा आफ्नो शरीरभरि तप्कन थाल्छन्, नायिका सम्पदा बानियाँलाई बेग्लै रोमाञ्चकता अनुभूति हुन्छ । यस्तो बेला उनमा निथ्रुक्क भिजेर उन्मुक्त नाच्ने मुड चल्छ । ‘धेरै पटक त्यसरी नाचेकी छु,’ सम्पदाले सुनाइन्– ‘रिलमा पनि र रियल लाइफमा पनि ।’ यसपालि पनि उनी मन अघाउन्जेल पानीमा रुझिन् । यद्यपि वर्षाको पानी सम्पदाको ज्यानलाई फाप्दैन । ‘एलर्जी भैहाल्छ,’ सम्पदाले भनिन्– ‘अस्ति भिजेकाले अहिले शरीरभरि एलर्जी आएको छ ।’ यदि प्रेम रोमान्समा हराइरहेकी हुँदी हुन् त गायिका आस्था राउतका निम्ति पनि झरी प्रिय हुने थियो । किनभने चलचित्रका दृश्यमा, उपन्यासका पानाहरूमा प्रेमजोडी उन्मुक्त पानीमा रुझ्दै माया साटेको उनले देखेकी छिन्, पढेकी छिन् ।

‘तर म सिंगल छु,’ आस्थाले अलि ठट्यौली शैलीमा भनिन्– ‘त्यसैले झरीसँगै भावनामा बहकिन सकेकी छैन ।’ आस्था झरीसँग बेखुस छिन् । यसपटक उनलाई झरीले चुट्नसम्म चुटेको छ । स्कुटर चढेर कतै गैरहेका बेला एक्कासि बर्सिएको झरीले आस्थालाई निथ्रुक्क भिजाइदिएको छ । ‘म थुप्रै पटक रोएकी छु,’ आस्था भन्छिन्– ‘झरीले मलाई बिजोग बनाएको छ ।’ आस्थाको बुझाइमा झरी केवल झरी मात्र होइन । यो कुनै शकुन–अपशकुनको संकेत पनि हो । 

केही समय अघिको कुरा हो । उनी आफ्नो पहिलो एल्बमको गीत रेकर्ड गर्ने तयारीमा थिइन् । रेकर्डिङको समय तय भैसकेको थियो । सबै कुरा ठीकठाक थियो । ‘मेरो एल्बमको पहिलो गीत भएकाले एकदमै एक्साइटेड थिएँ’ आस्थाले भनिन् । यद्यपि रेकर्डिङका लागि घरबाट निस्कनुअघि नै आकाशमा कालो बादल मडारियो र क्षणभरमै दर्के पानी पर्‍यो । ‘ममीले त भन्नुभयो, यो पानीको चाल हेर्दा कुनै अपशकुनको संकेत जस्तो छ, आज गीत गाउन नजानू,’ आस्थाले सम्झिइन्– ‘मैले रेकर्डिस्ट, संगीतकार सबैलाई पानीका कारण गीत रेकर्ड नगर्ने जानकारी दिएँ ।’ यसरी निर्णय बदल्नासाथ पानी थामियो । पछि उनले खबर सुनिन्– ‘हजुरबा बित्नुभयो ।’ ‘पानीले शुभ–अशुभ संकेत पनि गर्दो रहेछ,’ आस्थाको बुझाइ यस्तै छ ।

कर्नाली ब्लुज र फिरफिरेका लेखक बुद्धिसागरलाई वर्षायाम असाध्यै रोमाञ्चक लाग्छ । 

आकाशमा बादल लाग्ने, गड्याङगुडुङ मेघ गर्जने, बिजुली चम्कने र झर्रर पानी पर्ने चक्रले उनको ह्दयमा चञ्चलता ल्याउँछ । ‘यस्तो बेला किनकिन मन रौसिन्छ,’ बुद्धिसागर भन्छन्– ‘त्यो पानी तप्किएको आवाज तथा त्यति बेला आउने माटोको बास्ना एकदमै प्रिय लाग्छ ।’ गाउँमा छँदा मकैको पातमा ठोक्किँदै झर्ने पानी हेरेर खुब रमाउँथे उनी अनि पानीले गलेको माटोबाट फैलने बास्ना सुँघेर आनन्दित हुन्थे । 

‘पानी परेको आवाज छानामा ठोक्किएको र बलेसीमा झरेको सुनेपछि मलाई झमझम निद्रा लाग्छ,’ बुद्धिसागर भन्छन्– ‘सायद त्यस्तो ध्वनिले मनलाई एकाग्र बनाउँदो हो ।’ उनले आफ्नो ल्यापटपमा समेत पानी बर्सिरहेको ध्वनि युट्युबबाट डाउनलोड गरेर राखेका छन् । जब निद्रा पर्दैन, त्यही ध्वनि सुनेपछि उनको आँखा लोलाउन थाल्छ ।

झरी ट्वीट

झरी आइज, मलाई रुझा । मभित्रको पाप, कुण्ठा र द्वेष पखालिदे । मेरो आत्माको ठूटोमा पानी हाल, जहाँ नयाँ पालुवा पलाओस् । 

बुद्धिसागर

जब दर्के झरी पथ्र्यो, उनको छाताभित्र कसले लिफ्ट लिने भन्ने कम्पिडिसन नै चल्थ्यो ।

सिकारु दाइ भन्नुस् अब 

झरी पर्दा गाउँमा,

बजेका मकैका पात हेर्दै आमाका आँखा खुसीले नाच्थे ।

झरी पर्दा सहरमा, 

छाताको बिल हेरेर, छोरीका आँखा लोलाउँछन् । 

नारायण अमृत

 

रेन फ्याक्ट

वायुमण्डलमा संकलित जलवाष्प अत्यधिक गह्रांै भएर पृथ्वीको गुरुत्वाकर्षणका कारण अकाशबाट पानीको थोपाका रूपमा जमिनमा खस्ने प्रक्रिया हो— वर्षा । जल चक्रमा वर्षाको प्रमुख भूमिका हुन्छ । वर्षाको परिमाण नाप्न वर्षामापक प्रयोग गरिन्छ । यसलाई समथल सतहमा जम्मा भएको पानीको गहिराइका आधारमा नापिन्छ । आकाशबाट झरेको पानीको थोपा लगभग पूर्ण गोलाकार हुन्छ । ठूलो थोपा चेप्टो बन्दै जान्छ । सालाखाला वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ । पृथ्वीकै सबैभन्दा ठूलो थोपा ब्राजिल र मार्सल टापुमा अभिलेख गरिएको छ, जसमध्ये केही त १ सय मिलिमिटरसम्म ठूला थिए । 

 

फेसन डिजाइनरको सुझाव

समा बानु 

मनसुनमा छोटो र चाँडै सुक्ने खालका पहिरन लगाउनुपर्छ । यतिबेला कलरमा विशेष ध्यान दिनुपर्छ । वर्षामा कलरफुल पहिरन उपयुक्त हुन्छन् किनभने यतिबेला वातावरणमा हरियाली छाउँछ, फूलहरू फुल्छन् । यही पृष्ठभूमिसँग कम्बिनेसन मिलाउन कलरफुल पहिरन लगाउनुपर्छ । 

 

मनसुनमा के खाने ?

- यो सिजनमा भिटामिन, मिनरल तथा पानी भएका खानेकुरा उपयुक्त हुन्छ । 

- खानामा दही, काँक्रा, फलफूल तथा सलाद सामेल गर्नुपर्छ । 

- लसुनको टुक्रा हालेर बनाइएको तात्तातो सुप स्वस्थ्यमैत्री हुन्छ । यसले चिसो, फ्लु तथा थकानबाट जोगाउँछ । 

- आँपलगायत अन्य मौसमी फलफूल सेवन गरौं ।

    

मनसुन फुट केयर

झरीमा जुत्ता जोगाउन सकिएन भने छिट्टै फाट्ने तथा गन्हाउने समस्या हुन्छ । – झरीमा प्लास्टिकको जुत्ता उपयोगी हुन्छ । 

- प्लास्टिकको जुत्ता प्रयोग गरिएको छ भने घर पुगेपछि सफा गरेर सुकाउनुपर्छ । 

- कपडा वा छालाको जुत्ता भिज्यो भने घर पुग्नासाथ लेस निकालेर राम्रोसँग सुक्ने गरी राख्नुपर्छ ।

झरी गीत

- झमझम पानी पर्‍यो असारको रात...

- असारे महिनामा, पानी पर्‍यो रुझाउने ...

- पानीको रिमझिम वर्षाको बेला ...

- सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ ...

- ए झरी, नझरिदेऊ त्यसरी...

- झरी परेको साँझ, आकाश हेरिरहें...

- यो पानी कस्तो बेइमानी ...

-  पानी पर्‍यो, असिना झर्‍यो ।

प्रकाशित :असार २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्