एसएलसीमा फेल भएको केटो हुँ

- अश्विनी कोइराला

असार २७, २०७३

 

आमनेपालीले चन्द्र ढकाललाई नचिन्न सक्छन् तर उनी अध्यक्ष रहेको ‘आईएमई’ लाई नचिन्ने नेपाली कमै छन् । विदेशमा बस्ने अधिकांशले आफूले कमाएको पैसा यही आईएमईमार्फत पठाउँछन् । छोटो समयमै राम्रो प्रगति गर्ने, धेरैलाई रोजगारी दिने र रेमिट्यान्स भित्र्याउने कम्पनीका मालिक चन्द्र कुनै कथाका नायकझैँ लाग्छन् ।

एकपटक एसएलसी फेल भएका, आईकमको परीक्षामा अर्काले चोरेको चिटमा चासो राख्दा पूरै परीक्षा रद्द गरिएका चन्द्र ढकाल वाणिज्य बैंकका सहायक थिए । अहिले उनी देशकै ठूलो बैंकमध्येको एक ग्लोबल आईएमईका अध्यक्ष हुन् । उनको जलविद्युत्, आयात–निर्यात, कार्गो, पर्यटनजस्ता क्षेत्रमा धेरै उद्योग–व्यवसाय छन् । अहिले उनी चन्द्रगिरी हिल्स कम्पनीमार्फत काठमाडौंको पश्चिम–दक्षिण पहाडमा केवल कार कुदाउने तयारी गरिरहेका छन् । 

तपाईंको सफलताको सूत्र के हो ? पैसा कमाउने सूत्र बताउनुपर्दा के सुझाव दिनुहुन्छ ?

सबैको उद्देश्य भनेको सफल हुनु नै हो । मेरो पनि त्यही उद्देश्य थियो । मेरो अनुभवका आधारमा भन्नुपर्दा मेहनत र इमान्दारीता नै सफलताको सूत्र हो । म अरूलाई महत्व दिन्छु । मानिसहरूलाई लाग्न सक्छ, अरूलाई महत्व दिनु भनेको अरूलाई ठूलो बनाउनु हो । मलाई भने त्यो उल्टो कुरा लाग्छ ।

अरूको सुविधाका लागि केही गर्नु आफू पनि ठूलो हुनु हो । विदेशमा काम गरिरेहेका नेपालीको पैसा सुरक्षित रूपमा उनीहरूको घरसम्म पुर्‍याउने ग्यारेन्टी गर्नुपर्छ भन्दा आईएमई सफल भयो । अहिले हामीले काठमाडौंमा छुट्टी मनाउने एउटा राम्रो गन्तब्य बनाउनुपर्छ भनेर केबुलकार खोलेका छौं ।

मानिसहरूलाई लाग्छ, केवलकार मेरो व्यवसाय हो, तर होइन, काठमाडौंमा केटाकेटी, युवा–युवती तथा पाका व्यक्तिहरूले रमाइलो गर्ने, घुम्ने र स्वच्छ अक्सिजन लिने कुनै ठाउँ छैन । उहाँहरूको सेवाका लागि सुरु गर्न लागिएको काम व्यवसाय पनि हुन्छ भने त्यो राम्रो कुरा हो । 

तपाईंले पहिलो सूत्र मेहनत भन्नुभयो । त्यसको कुनै उदाहरण दिन सक्नुहुन्छ ?

म बागलुङ जिल्लाको अत्यन्तै दुर्गम गाउँमा जन्मिएको हुँ । खेती–किसानी हाम्रो मुख्य पेसा थियो । म विद्यालय पढ्न गए पनि घरको सबै काम पनि गर्थें । दाम्लो बाट्नेदेखि दूध दुहुनेसम्म, डोको बुन्नेदेखि लिएर खाना पकाउनेसम्म मलाई सबै काम आउँथ्यो । आज पनि म आफ्नो व्यवसायका सबै कुरामा चासो राख्छु । बिहान ९ बजे नै अफिस पुग्छु । मलाई काम गर्न र मानिसका लागि केही गर्न रमाइलो लाग्छ । 

पढाइमा कस्तो हुनुहुन्थ्यो ?

म पहिलोपल्ट एसएलसी फेल भएको केटो हुँ । गाउँको स्कुलमा ४ कक्षादेखि मात्र अंग्रेजी पढाइ हुन्थ्यो । मैले अंग्रेजी भाषा राम्रोसँग टिप्न सकिनँ, त्यसैले फेल भएँ । आईकम ज्वाइन गरेपछि मैले पढाइमा राम्रो मेहनत गरेको थिएँ, तर अगाडि बस्ने एउटा साथी चिट चोरिरहेको थियो । किशोर उमेरमा त्यस्तो हुन्छ नै ।

म उसले लेखेको चियाउँदै थिएँ । हामी दुवै समातियौं । रिजल्ट आउँदा सबै विषयमा शून्य नम्बर आएको रहेछ । त्यही दिनदेखि अरूको कुरामा विश्वास गर्नुहुँदो रहेनछ भन्ने लाग्यो । पढाइमा म मध्यम विद्यार्थी थिएँ । यही मेहनत गर्ने बानीकै कारण वाणिज्य बैंकमा सहायकमा नाम निकाले, जवकी मेरो पढाइ उति राम्रो होइन । 

पहिलोपल्ट काठमाडौं आउँदा कस्तो लागेको थियो ?

मलाई एसएलसी फेल हुन्छु जस्तो लागेको थिएन । फेल भएपछि २०४० सालमा रिटोटलिङ गर्न काठमाडौं आएको थिएँ । यहाँ आफ्नै गाडी चढ्ने मानिसहरू देख्दा अचम्म लाग्थ्यो । काठमाडौंमा घर हुने मानिस निकै धनी हुँदा हुन् भन्ने लाग्थ्यो । त्यति बेलाको अर्को घटना पनि सम्झना आउँछ । दोस्रो पल्टमा एसएलसी उत्तीर्ण गरेपछि एउटा निर्माणाधीन घरमा मामाहरूसँग डेरा लिएर बसेको थिएँ ।

त्यो घरमा वाइरिङ भैसकेको थिएन । एक दिन चोर घरभित्र पसेर मैले कलेज जान किनेको लुगा, ब्याग, पैसा सबै चोरिदिएछ । किताबचाहिँ पर लगेर फालेछ । भोलिपल्ट त लगाउने लुगासमेत भएन । त्यति बेला मलाई जीवनको सर्वस्व नै गयो भनेझैँ लागेको थियो । अहिले सम्भँmदा हाँसो उठ्छ । 

जीवनको लक्ष्य के थियो ?

एउटा राम्रो जागीर खाने र परिवार पाल्ने मात्र थियो । जीवनको न्युनतम आवश्यकता पुरा होस् भन्ने थियो । 

तर वाणिज्य बैंकबाट केही वर्षमै राजीनामा दिनुभयो, किन ?

म वाणिज्य बैंकको विशालबजारस्थित शाखामा काम गर्थें । त्यहाँ व्यवसायीहरू व्यवसायिक कारोवार गर्न आउनुहुन्थ्यो । त्यहाँ व्यापारीहरूको संगतबाट के थाहा भयो भने व्यवसाय गर्ने हो भने राम्रो कमाइ हुन्छ ।

म अरूजस्तो १०–५ को जागिर सकेर घर जाने प्रवृत्तिको थिइनँ । थप काम पनि गर्थे । त्यो बेला नेपाली माल सामान विदेश पठाउँन राम्रो कार्गोको सुविधा छैन भन्ने कुरा आयो, त्यसैले त्यही खोलेँ । त्यसले राम्रो प्रगति गर्दै जाँदा मलाई पैसाको आवश्यकता पनि पर्दै गयो । मैले आफंैले काम गर्ने बैंकमा ऋण पाउँ भनी आवेदन दिएँ । हाकीमले ऋण लिएर ब्यापार गर्ने हो भने जागिर छाड्ने सुझाव दिनुभयो । मैले उहाँको कुरा स्वीकार गरेँ । 

भएको जागिर छाड्दा डर लागेन ?

मजस्तो सामान्य मान्छेको आड त्यही नै जागिर थियो । त्यो जागिर छाड्नुपर्दा केही दिन त असाध्यै पीडा भयो । मैले जीवनमा रिस्क लिन सक्नुपर्छ भन्ने सुनेको थिएँ । त्यसलाई आफ्नै जीवनमा उतार्न मन लाग्यो । संयोगवश म सफल भएँ । प्रगति गर्न रिस्क लिनुपर्छ । यद्यपि रिस्क लिनेबित्तैकै सबै सफल नै हुन्छन् भन्नेचाहिँ होइन । 

अहिले देशका सबैभन्दा ठूला बैंकहरूमध्ये एकको प्रमुख हुुनुहुन्छ । त्यही ईखले बैंक खोल्नुभएको हो ?

त्यसो त होइन । म कुन काम गर्दा बढीभन्दा बढी मानिसले सुविधा पाउँछन्, मानिसलाई के कुराको आवश्यकता छ भन्ने कुरा सोचिरहन्छु । त्यतिबेला विदेशमा बस्ने नेपालीहरूका लागि पैसा पठाउने भरपर्दो माध्यम थिएन । यही कुरा बुझेर मैले रेमिट्यान्स कम्पनी खोलेको थिएँ । यो ठाडै पैसाको कारोबार थियो ।

यसका लागि अरू बैंकको सहारा लिनुपथ्र्यो । वित्तिय क्षेत्र फराकिलो भएपछि ‘क’ वर्गको बैंक खोल्नुपरेको हो । पछि राष्ट्र बैंकले एउटै प्रकृतिको दुई संस्था खोल्न नपाइने नियम ल्याएपछि आइएमई र ग्लोबल बैंकलाई गाभेको हुँ । म पुरानो कुरा सम्झेर बस्ने मान्छे होइन । जस्तो अवस्था आउँछ, त्यसैलाई अवसर बनाउनुपर्छ र मेहनत गर्नुपर्छ भनेर हरेक घटनालाई सकारात्मक रूपमा हेर्ने मान्छे हुँ । 

अब कुन योजनामा हात हाल्ने सुर छ ? 

अहिले त केवलकारलाई नै महत्व दिइरहेको छु । चन्द्रगिरी हिल्समार्फत केवलकार मात्र चलाउने योजना छैन । उक्त स्थानमा फोर डी सिनेमा भवन, रेस्टुराँ, रिसोर्ट, युवाहरूका लागि घुम्ने ठाउँ, बालबालिकाका लागि खेल्ने ठाउँ, पाका र आस्तिकहरूका लागि मन्दिर निर्माण आदि सबै काम एकसाथ भैरहेको छ । अब केही महिनामै यो पूर्ण रूपमा सञ्चालनमा आउँछ । त्यसपछि अरू कुरा सोच्नुपर्छ । जीवनमा केही न केही काम गरिरहनुपर्छ भन्ने मान्यता भएकाले केही त अवश्य नै गर्छु । 

त्यसका लागि कुन क्षेत्र रोज्नुहुन्छ ?

नेपालमा जलविद्युत् र पूर्वाधारको विकास अहिलेको आवश्यकता हो । हामीले गैरआवासीय नेपालीहरूको साथ लिएर जलविद्युत् निर्माण गरिरहेका छौं । यसबाट हामीले जलविद्युत्को भित्री पाटो पनि बुझ्ने मौका पाएका छौं । यो प्रोजेक्ट सफल भयो भने हामी अरू बृहत् आयोजनामा हात हाल्न सक्छौं ।

विदेशमा बस्ने हजारौं नेपालीले नेपालमा उहाँहरूको पैसालाई विश्वसनीय तरिकाले लगानी गरिदिने संस्था खोजिरहनुभएको छ र तीमध्ये हामी पनि एक हौं भन्ने लाग्छ, तर कसैले प्रतिफलको आशा राखेर लगानी गरेको हुन्छ भने त्यसको ग्यारेन्टी हामीले गरिदिनुपर्छ । 

कहाँ पुगेर अन्त्य हुन्छ तपाईंको स्पिड ?

जीवनभर काम गर्ने हो । काम गर्दै जाँदा समयले जहाँ पुर्‍याउँछ, खुसीले त्यही पुग्नुपर्छ । म काम नगरी बस्न सक्दिनँ । यो बानीले कतै न कतै त अवश्य लाग्ला । (हाँसो) ।

तपाईंको यो प्रगतिमा कस्लाई बढि सम्झनु हुन्छ ?

मेरो भाइ हेमराज (रामु) र मेरो सोचलाई व्यवहारमा उतार्ने सहकर्मीहरूलाई बढि सम्झन्छु । 

 

प्रकाशित :असार २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्