स्पोट्र्स साइन्समा करियर

- युवराज गौतम

असार २७, २०७३

 

विश्वका थुप्रै देशमा समग्र खेल क्षेत्रको अध्ययन–अध्यापन गर्ने कलेजहरू सक्रिय छन् । स्पोर्ट्स साइन्सलाई विश्वका थुप्रै विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेका छन् । खेलकुदको सैद्धान्तिक तथा व्यवहारिक पक्ष अध्ययन गर्न आजभोलि स्पोर्ट्स साइन्सलाई विश्वविद्यालय स्तरमा विस्तार गरिएको छ । विशेष गरी युरोप तथा अमेरिकी मुलुकहरूमा स्पोर्ट्स साइन्सको अध्ययनप्रति ठूलो क्रेज देखिन्छ । 

 

यता नेपालमा पनि यही वर्षदेखि स्पोर्ट्स साइन्सलाई कक्षा ११ र १२ को पाठ्यक्रममा समावेश गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले तयार पारेको पाठ्यक्रमलाई उच्च माध्यमिक शिक्षा परिषद्ले कलेजहरूमा लागू गराउन आह्वानसमेत गरिसकेको छ । नेपालका लागि नयाँ विषय भएकाले प्लस टुहरूलाई यो विषय पढाउन परिषद्ले सार्वजनिक रूपमै सूचना जारी गरेको छ । प्लस टुहरूले रुचि देखाए यो विषय यही शैक्षिक सत्रदेखि पढ्न पाइनेछ । प्लस टुपछि थप अध्ययनका लागि विश्वविद्यालयहरूले पनि पाठ्यक्रम तयार पारेर अध्ययन अध्यापन गराउने तयारी भैरहेको छ ।

 

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल भन्छन्– विश्वविद्यालयहरूले पनि आफ्नै तरिकाले तयारी गरिरहेका छन् । विज्ञहरूले लामो अध्ययनपछि यो विषयलाई कक्षा ११ र १२ मा लागू गराएकाले अब विश्वविद्यालयहरू पनि ‘लिंक–अप’ गराउने योजनामा छन् । 

विद्यालय स्तरमा पढाइ हुने शारीरिक शिक्षा विषयको बृहत रूप मानिएको स्पोटर््स साइन्सको भविष्य उज्वल रहेको खेलकुद परिषद्अन्तर्गतको स्पोर्ट्स साइन्स एकेडेमी अफ नेपालकी प्रशासकिय प्रमुख अनन्तदेवी खनाल बताउँछिन् । खेल क्षेत्रमा आवश्यक पर्ने जनशक्तिदेखि खेलाडीकै रूपमा पनि विद्यार्थीहरूले भविष्य बनाउन सक्छन् । पाठ्यक्रमअनुसार अधिकांश पाठ्यवस्तु प्रयोगात्मक भएकाले आफूले इच्छाएको खेलमा विद्यार्थी अभ्यस्त हुन पाउँछन् । 

के छ पाठ्यक्रममा ?

पहिलो पटक पढाइ हुन लागेको यो विषयको पाठ्यक्रम स्पोर्ट्स साइन्ससम्बन्धी प्रारम्भिक जानकारीमा केन्द्रित छ । यो विषय कक्षा ११ र १२ मा २ सय पूर्णाङ्कको हुनेछ, जसमध्ये ४० प्रतिशत सैद्धान्तिक तथा ६० प्रतिशत प्रयोगात्मक छ । कक्षा ११ मा सामान्य खेल विज्ञानको जानकारी र यसको उपयोगिता समेटिएको छ । त्यस्तै यसमा खेलको समाजशास्त्र र प्रशिक्षकसम्बन्धी जानकारी पनि समावेश छ । स्वस्थ नागरिक उत्पादनमा खेलकुद प्रतियोगिता, खेलको आर्थिक पक्ष, लैङ्गिक विभेद, बजारीकरण, अर्थतन्त्र एवं व्यवस्थापनजस्ता पक्ष यो विषयअन्तर्गत समेटिएको छ । खेलकुद र सञ्चारका साथै विभिन्न खेलसम्बन्धी जानकारी यसको पाठ्यक्रममा पढ्न पाइन्छ । कक्षा १२ मा पनि १ सय पूर्णाङ्कको खेल विज्ञान पढ्नुपर्छ ।

यसमा सैद्धान्तिक ४० तथा प्रयोगात्मक ६० अंकको छ । यसअन्तर्गत खेल विज्ञानको परिचय देखि महत्व र उपलब्धिहरूलाई पाठ्यक्रममा समावेश गरिएको छ । कक्षा १२ मा विभिन्न खेलसम्बन्धी विस्तृत अध्ययन गराइनेछ । विभिन्न खेलको इतिहासदेखि तिनका नियमहरूका बारेमा कक्षा १२ मा अध्ययन गर्नुपर्नेछ । 

अध्ययनपछिको उपलब्धि

स्पोटर््स साइन्सको अध्ययन–अध्यापन नेपालमा पहिलो पटक प्रारम्भ भएकाले प्लस टुपछि अन्य विश्वविद्यालयले पनि स्नातक तहमा यो विषय समावेश गर्ने सम्भावना छ । प्लस टुपछि विदेशमा समेत यो विषयको उच्च अध्ययन गर्न पाइन्छ ।

यो विषयको अध्ययन सकेपछि विद्यार्थीहरूले स्वदेशमै खेल शिक्षकका रूपमा काम गर्न पाउँछन् । फिटनेस सेन्टर म्यानेजर, खेल प्रशासक, खेल विकास अधिकृत, स्पोटर््स थेरापिष्टका रूपमा पनि काम गर्ने अवसर मिल्छ । यो विषयको अध्ययनबाट विद्यार्थीहरूले आफूलाई खेल प्रशिक्षक वा व्यवसायिक खेलाडीका रूपमा तयार पार्न सक्छन् । सैद्धान्तिक ज्ञान बुझेका खेलाडी वा खेल प्रशिक्षकहरू नेपालमा न्यून भएकाले यो विषयमा पर्याप्त सम्भावना छ ।

उच्च अंक ल्याउने विद्यार्थीहरूले विदेशमा थप अध्ययन गर्ने अवसर पनि प्राप्त गर्न सक्छन् । स्वदेशकै स्पोर्ट्स एकेडेमी तथा खेलकुद पढाइ हुने स्कुल तथा कलेजका साथै निजामती वा जंगी सेवामा पनि रोजगारी पाइने सम्भावना हुन्छ ।

 

नेपालमा सुरुवात

नेपालमा स्पोर्ट्स साइन्सको अध्ययन–अध्यापन हुनुपर्छ भनेर करिब डेढ दशकअघिदेखि नै चर्चा चलेको हो । वि.स. २०६० तिर राष्ट्रिय खेलकुद परिषद्ले स्पोर्ट्स साइन्स एकेडेमी अफ नेपालमार्फत विभिन्न कोर्स सञ्चालन गरेको थियो ।

यो विषयमा विदेशमा पढेर आएका नेपालीहरूलाई शिक्षकका रुपमा निम्त्याएर विभिन्न खेल प्रशिक्षक तथा खेल शिक्षकहरूको उत्पादन थालिएको थियो । उक्त एकेडेमीले हाल एक हप्तादेखि तीन महिनाका कक्षा सञ्चालन गरिरहेको छ । 

हामी त स्पोर्ट्स साइन्स युनिभर्सिटी नै स्थापना गर्ने योजनामा छौं, एकेडेमीकी प्रशासकीय प्रमुख अनन्तदेवी खनाल भन्छिन्– प्लस टुमा पढाइ सुरु भएपछि विश्वविद्यालयस्तरमा पनि पाठ्यक्रम तयार गरेर थप अध्ययनको बाटो खुल्ने अपेक्षा गरेका छौं । 

प्रकाशित :असार २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्