किन सुखी छैन ?

- सुबिन भट्टराई

असार २६, २०७३

 

किन सुखी छैन ?

अथवा म किन दु:खी छु ?

हामीमध्ये धेरै यो कुरामा अल्मलिन्छौं । कतिपय अवस्थामा आफैंलाई थाहा हुन्न । यद्यपि भित्र केही तत्व छ जसले कुटुकुटु खाइरहेको हुन्छ । उदास–उदास छु । जीवनमा त्यस्तो बज्रपात हुने गरी केही आइलागेको पनि होइन तर पनि दु:खी छु म । किन ? दु:ख जीवनमा केही नराम्रो घटना थपिँदैमा हुने हुँदो रहेनछ । दु:ख जीवनमा खुसीको अभावले मात्र पनि हुने होइन रहेछ ।

एक दिन यही कुरा पुष्टि भए झैँलाग्यो । कुरा के भने त्यसदिन म आफ्ना एक जना मित्रको घर पुगेँ । मेरा प्रिय मित्र स्याण्डो लगाएर घरको बगैँचामा तल्लीन भएर काम गरिरहेका रहेछन् । कामलाई भगवान जत्तिकै मान्ने मेरा मित्रले मलाई एक कप चिया खाउञ्जेल प्रतीक्षा गर्न अनुरोध गरे । मनसुन लागिसकेको थियो । आकाशमा कालोमैलो बादल छाएको थियो । सबैतिर हरियाली बढेको थियो । मित्रको बगैँचामा पनि हरियाली मज्जैले बढेको देखियो । 

चिया पिउँदै म मित्रले काम गरिरहेको ठाउँ नजिकै गएँ । मित्रले बगैँचा आधाउधी सफा गरिसकेका थिए । आधा अझै बाँकी थियो । बर्खा याम भएकाले घाँस हलक्क बढेका थिए । ती घाँसले गर्दा फुलेका फूल पनि सुन्दर देखिन पाएका थिएनन् । यो कुरा मैले उनको बगैँचाको दुई भाग हेरेर तुलना गरेँ ।

आधा भाग जो उनले सफाइ गरिसकेका थिए, र आधा भाग जो उनी सफा गर्दै थिए— दुवैको तुलना गरेँ । आँखा बगैँचामा एकतृत भए पनि दिमाग व्यस्त थियो, केही कुरा खेलाउन । 

जुनभाग पूरै सफा गरिएको थियो, त्यो निक्कै सफा, चिटिक्क एवं मोहक देखिन्थ्यो । त्यहाँ फुलेका फूलहरू पनि मोहक थिए । दुबो भरखरै सेभ गरिएको गालाजस्तै सफा र सुन्दर देखिन्थ्यो । एउटा पनि छेस्काछेस्की वा झरेकापात वा अन्य कुनै पनि किसिमको फोहोर थिएन । अनि बाँकी आधा भाग, कैयौँ दिनदेखि ननुहाएको, दाह्रीपालेको, उपेक्षित झाँडी जस्तो भैसकेको थियो जो लामखुट्टे र अनेकन कीरा फट्याङ्ग्राको आश्रय स्थल बनेको थियो । सर्लक्क छुटिन्थ्यो दुईभाग । 

केही बेरमा मित्रले सप्पै काम सके । म उनले काम गरुञ्जेल ध्यान दिएर हेरिरहेको थिएँ । 

उनी आएर मसँगै बसे । अर्को लटको चिया फेरि बन्यो । बगैँचाअब साँच्चै नै बगैँचाजस्तो मोहक देखिएको थियो, आकर्षक भएको थियो । फूलहरू अग्ला देखिए । झारहरू बेपत्ता भैसकेका थिए । 

के भयो त यतिञ्जेल ? मित्रले नयाँ–नयाँ फूलहरू ल्याएर रोपेका होइनन् । मित्रले बगैँचामा केही थपेका थिएनन् । मित्रले गरे त केवल त्यहाँ भएका झारपात, ठूटा, छेस्काछेस्की आदिलाई टिपेर फाल्ने काम । 

उनको यो सबै काम अवलोकन गरिसकेपश्चात् दिमागमा झिलिक्क केही बलेजस्तै भयो । 

हामी किन दु:खी हुन्छौँ भने केही दु:खले केही सुखलाई झाँडीले फूल छेकेजस्तो छेकेको हुँदोरहेछ । जीवनमा नभएको, नपाइने सुख रोप्न खोजेर मात्र हुँदैन । केही झारपात जस्ता समस्या उम्रेर कहिलेकाहीँ ठूल्ठूला खुसी छोपिएको हुनसक्छ । त्यसलाई काटेर फाल्न सके पनि त खुसी त्यही बगैँचाको फूलजस्तै लोभलाग्दो भएर फूलेको देखिन्छ ।

वास्तवमा दु:ख, उदासी भनेको झारपात जस्तै हो जो लुसुक्क बगैँचामा कहाँ–कहाँबाट घुसेर मौलाउँदै जान्छ र फूलहरूले खाने खानेकुरा खाइदिँदै जान्छ । सुख भन्ने कुरा पनि हामीसँगै छ दु:ख भन्ने कुरा पनि हामीसँगै छ । बस्, बेला–बेलामा दु:खलाई सिनितै पार्दै जाउँ, मन, मुुटुमा प्रवेश गर्नै नदिउँ, भएको सुखले नै हामीलाई खुसी बनाइदिन्छ । 

 

प्रकाशित :असार २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्