अमेरिकाले फेरी रेड कार्ड देखायो

- अधिकारी रबिन्द्र

असार २५, २०७३- 

म एक आम शिक्षित नवजवान नेपालीको यहाँ प्रतिनिधी पात्र मात्र हुँ । यो भोगाइ मेरो हैन तिनै बर्सेनी अमेरिकाका विश्वबिद्यालयबाट रिजेक्ट खेपिरहने ‘फ्रस्ट्रेटेड’ युवाहरुको  हो । 

नेपाल दिनानुदिन युवापुस्ताको लागि निराशाको कथा बोकेको भूमि बन्न पुगेको छ । नेपालका धेरै विशेषता छन् । ती मध्ये आफ्ना साना नानीले नेपाली राम्रोसँग नआउँदै बिदेशी भाषा, बिशेषगरी अंग्रेजी बोल्दा गर्वले शीर ठड्याउने अविभावकहरु छन् । स्कुल देखी नेपालका कलेज विश्वबिद्यालयसम्म बिदेश जान योग्य युवायुवती तयार गर्ने कारखाना बनेको छ । उच्च शिक्षा पढ्ने अवसर नेपालमा नभएको होइन । तै पनि जीवनमा एकपटक बिदेश गएर पढ्नु पर्छ वा विदेश गएर कमाउनु पर्छ भन्ने सोच छ । कोही विदेश गएन भने ऊ अयोग्य व्यक्ति हो भनेर समाजले ठहर्‍याउँछ ।  

यस्ता धेरै युवा मध्ये अमेरिका जान प्रयासरत युवाहरुको प्रतिनिधि पात्रको कथा हो यो । 

जुलाई महिनाको पहिलो सातातिर आइपुग्दा ‘फल’ सेसनका लागि अमेरिकाका विश्वबिद्यालयले आमन्त्रित गरेका नवजवानहरु निकै हर्सित छन् । भिसा हातहातमा आइसकेको छ । मनमा छुट्टै उल्लास छ । अगस्ट महिनाको दोस्रो हप्ता भित्रमा मिल्ने गरी प्लेन टिकेट पनि बुकिङ छ । बस्नको लागि उता गएका वा भएका पूर्व साथी वा दाई–दिदीहरुसँग कुरा हुन थालेको होला । 

कोहीकोही साथीहरु संगै जाने सल्लाह पनि गरिरहेका छन् । सम्बन्धित विश्वबिद्यालयका नेपाली विद्यार्थी युनियनहरु पनि योबेला बस्न फ्ल्याट वा अन्य चाजोपाजो मिलाइदिने काममा व्यस्त हुन्छन । सपिङको चटारो त छँदैछ, आफन्तजन भेट्घाट तीब्र पनि भैरहेको होला । कोइ फिजिकल फिट्नेस् का लागि जिममा गएर त कोइ एरोबिक्समा ‘वोर्काउट’ गरेर बिहानी ब्यथित गर्दै होलान । ड्राइभिङ सिक्ने र यथासम्भव यही महिना भित्र लाइसेन्स निकाल्ने ‘महाअभियान’मा पनि थुप्रै साथीहरु जुट्नु भएको होला । बधाई र शुभकामना उहाँहरुलाई । 

आफ्नो चाँही यसपाली अमेरिकाले रिजेक्ट लेटर थमाइदियो । र, यि सबै काम गर्नबाट म बञ्चित रहेँ । अमेरिका जान नपाएको भन्दै ममाथि म कमजोर, नालायक व्यक्ति हुँ भनेर समाज र परिवारले लाञ्छना लगाउन थाल्छ भन्ने कुरा मलाई थाहा छ । 

मसँग त्रिभुवन विश्वविद्यालमा फिजिक्समा प्रथम श्रेणीको सक्कली प्रमाणपत्र छ । आफूले सक्नेसम्म पढियो तर आफुले चाहेको बिषयमा पि.एच.डि. गर्ने अवसर देशमा नभएपछि र समाजको चाहाना बुझेपछि वाध्य भएर बिदेशिनु पर्ने अवस्था सिर्जना भयो । नेपालमा प्राय जुन सुकै गैरप्राविधिक बिषयमा पनि मास्टर सकेपछी पढाउने बाहेक अरुमा अवसर पनि देखिदैन । शिक्षा संकाय पढेकाहरुको विषय नै पढाउने हो तर यहाँ माइक्रोबायोलोजी वा इन्फर्मेसन टेक्नोलोजी पढेका विद्यार्थीहरुले टेक्निकल काम नपाएर बढाउनु पर्ने ‘बाध्यता’ बनेको छ । विदेशमा भए शिक्षकलाई निकै सम्मानजनक पेसा मानिन्छ । नेपालमा भने पढाउने काम जस्तो जस नपाउने काम अरु छैन ।

कलेजका ब्यवस्थापकको चाप्लुसी गर्नु पर्ने त छदैछ, थप रिजल्ट आएपिच्छे ‘विद्यार्थीको भविष्य बर्बाद गर्ने शिक्षक’ भनेर आरोपित हुन जुनसुकै बेला तयार हुनु पर्छ । अनी कुनै विद्यार्थीले डिस्टिङ्सन ल्यायो भने उस्ले आफ्नै बनी बुताले ल्याएको हुन्छ, फेल हुने विद्यार्थी त सधैं शिक्षककै लापर्बाहीले भएको मानिन्छ । मेरो हकमा यो रुटिनमा बाँचेको पाँच बर्ष भयो । यो पेसाले न त राम्ररी खान पुग्छ, न सन्तुष्टि नै दिन सक्छ । त्यसमाथि केही वर्ष यत्तिकै बस्दा समाजले शिक्षक भएर समाजका लागि केही गरेको भन्दैन, नालायक भएर नेपालमै अड्किएको लन्छना लगाइरहन्छ । 

फिजिक्स बिषय मेरो चासोको बिषय भएर मैले पढेको थिए । ब्याचलर गर्दैगर्दा थाहा भयो यो पढेपछी त नेपालमा शिक्षक हुने रहेछ । शिक्षक नै बन्नु थियो भने त म मास्टर लेबलसम्म यसरी राजधानी आइ दु:ख गरेर फिजिक्स पढ्दैन थिए, गाउकै कलेजमा शिक्षा संकायमा बिज्ञान बिषय लिएर भर्ना हुन्थेँ । आखिर अर्को बाटो हिँड्दा पनि आएर उही शिक्षक हुनुपरे पछि कुरा उही त रहेछ: । शिक्षा संकाय पढ्दा शिक्षक सेवा लड्न लाइसेन्स समेत नचाहिने रहेछ । 

आफुसरहका साथीभाइ करोडपती भइसके । सरस्वतिको अन्धभक्त भएर शिक्षालाई आत्मासाथ गरेर हिंड्ने म आज समाजका नजरमा झन्डै झन्डै नकामको भईसके । दुई आना घडेरी जोड्न समेत सोच भन्दा परको कुरो बनेको छ । सबैभन्दा राम्रो पढ्ने भनेर स्कुलै देखी पटक पटक पुरस्कृत हुँदै आएको म परिवारको पनि आशाको राम्रै केन्द्र थिए । छिट्टै कुनै भरपर्दो बाटो नसमाते म अब कुनै अन्नपानीको आश गर्न नसकिने निरझर मरुभुमी तुल्य हुने वाला थिए ।  अब मेरो जिन्दगीमा ठुलै ‘मिराकल’ चाहिएको थियो । हो, त्यो मिराकल बनेर आयो अमेरिकाको पि.एच.डि. ।

मैले पनि शिक्षण पेसा छाडेर अमेरिकामा गएर पिएचडी गर्ने योजना बनाएँ । आखिर को को गए त पि.एच.डि गर्न भनेर एक रात घोत्लिएर लिस्ट निकालेँ । डिग्री सकेको पाँच बर्षमा थुप्रै बिदेसिएछन । खान लाउनैको चपेटामा रुमल्लिएको म पि.एच.डि. तिर त पहिले सोच्नै पो कहाँ भ्यांए र ? तसर्थ, पढाउने सर्वसुलभ काम बाहेक अरु धेरै अवसरहरुका बारेमा म बेखबर नै   थिएँ । अब्बल त अब्बल भैगए, शैक्षिक रुपले म जस्तै वा म भन्दा धेरै कम्जोर साथी भाई पनि करीब डेढसयको हाराहारीमा अमेरिकामा भौतिक शास्त्र सम्बन्धी बिषयमा टिचिङ वा रिसर्च असिस्ट्यान्ट भै, स्टेट र युनिभर्सिटी हेरी, वार्षिक ९ देखी ४४ हजार सम्मको डलर कमाउदै रहेछन् । 

बुझ्दै जाने क्रममा केही साथीहरु फेला परे, उनिहरु पनि अमेरिका जाने ध्यमवन्तीमा रहेछन । ग्राजुएट रेकर्ड एक्जामिनेसन नामको एउटा अंग्रेजी स्ट्यान्डर्डाइज्ड परीक्षाको तयारी कक्षामा भर्ना भैसकेपछी पो थाहा भयो, मेरा जस्ता इच्छा बोकेका युवा युवती कमिलाका भन्दा बढी ताँती बनाएर बर्सौ बर्ष देखी बसिरहेका रहेछन् । सबैको मिसन अमेरिका ।    

बिसौ हजार खर्च गरेर जी.आर.इ. परिक्षा दिइयो । अब फेरी टोफेल गर्नु पर्ने भयो, त्यो पनि गरियो । नोभेम्बर देखी जोडतोड सँग आवश्यक कागजात पुर्‍याउन दौडधुप पनि गरियो । यता अनलाइन फर्म पनि सब्मिट गरियो अनी सिफारिस, अभिप्राय पत्र र ट्रान्स्कि्रप्ट एवं युनिवर्सिटीको ठेगानामा एक्स्प्रेस मेल पनि गरियो । जनवरी सम्म सब टन्टा सकेर मन को लड्डु घिउ सित खाने बाहेक अरु केही भएन ।  

सिमित हजारको साख्यामा यसपाली विद्यार्थी छनोट भएपनि दसौ हजार विद्यार्थी ‘रिजेक्टेड’ भएका छन् । त्यसमध्ये म पनि एक बन्न पुगेँ । धेरै रिजेक्टहरुले आगामी बर्षहरुमा पनि कोही उच्च शिक्षाको भित्री इच्छालाई सत्यतामा बदल्न, कोही देखासेखी र व्हिममा वा कोही पारिवारिक सामाजिक दबाबमा एप्लाई गरिरहने छन् । कोहिले तेत्तिकै गर्लान, कोहिले कागजात अझ दरिलो बनाएर वा कोहिले टेस्ट रिपिट गरेर । लक्ष्य राखेपछि उनीहरु किन चुप लाग्थे र ?

अमेरिकन ड्रिम जिउन चाहने उहाहरुलाई शुभकामना । तर म फेरि अमेरिका लैजाने प्रकृतिका कुनै पनि आवेदन नभर्ने निर्णयमा पुगेको छु । यसो भनी रहदा म आज अफु भित्र आएको गजबको परीपक्वताको महशुस पनि गर्न सफल भईरहेछु ।  

आखिर यो बिदेश मोह किन त ? १२ कक्षा सकेर फ्याट्ट अमेरिका एप्लाई गर्ने पनि अहिले उत्तिकै छन् । शैक्षिक गन्तब्यको हिसाबमा जापान र अस्ट्रेलिया पछी अमेरिका तेस्रो मुख्य देश रहेछ । आम युवा पढाई भन्दा ज्यादा त्यहाँको जीवनगुणस्तरका हिसाबले अमेरिका छुट्ने प्लेन चड्न बढी लालायित भएको पाईन्छ । त्यहाँ बिद्यावारीधी सकिसकेपछी स्वदेशमा स्कोप हुने बिषय बिरलै छन् । यती बुझ्दा बुझ्दै पनि म जस्ता युवा अमेरिका अवसरको भुमी हो भन्ने सोचका साथ चान्स मिले उतै ‘सेटल’ हुने मनसायका साथ आवेदन गर्दैछन् । जसरी गएनी अमेरिका नै हो भनेर डिभि भर्न पनि कतै बाट कुनै कसुर नराख्ने शिक्षित युवा जमातमा हिजोसम्म मै पनि थिए । आज म एकजना छुटेर के भो, अरु त लाइनमा छँदैछन् ।  

अमेरिका अप्लाई गर्ने क्रममा प्लस टु देखि पिएचडी गर्नेसम्मको सोच र लक्ष्य देखेपछि मलाई लाग्यो, यो देश चाँडै बृद्दाश्रम तिर जाँदैछ । योग्यता, अनुभव र शिप अनुसारको काम र दाम दिलाउने सामाजिक परीपाटीको यथासक्य चाडो बिकास गर्न नसकिए त्यो दिन आउन अब धेरै टाढा छैन पनि । 

ravinems@iom.edu.np

 

प्रकाशित :असार २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्