मनसुनमा सुहाउने रंगीन छाता

- युवराज गौतम

असार २५, २०७३

 

कान्छीको छाता, ढल्काइदेऊ यता, घाम पर्‍यो निधारैमा’, बर्खायामको सिमसिमे पानी होस् वा हड्डी नै सुकाउने घाम लागिरहेका बेला गायक तुलसी पराजुलीको गीत कतै गुन्जियो भने छाताको सम्झना आउँछ । त्यसैले बर्खायाम लागेपछि एनआइसी कलेज, डिल्लीबजारमा स्नातक तेस्रो वर्ष सिध्याएकी सबु तिमिल्सिनाको झोलामा छाता कहिल्यै छुट्दैन ।

रातो र नीलो रंगको बुट्टा भएको फोल्डिङ छाता सबु झरी पर्दा मात्र होइन टन्टलापुर घाममा पनि साथै राख्छिन् । ‘पोहोर साल नै किनेको छाता बोकिरहेकी छु, यो वर्ष बजारमा आएको नयाँ छाता किन्छु,’ सबु भन्छिन् : ‘वर्षायाममा घाम र पानीबाट शरीर जोगाउन मात्र होइन, मलाई चल्तीमा आएका रंगीन छाताहबोक्न खुब रहर लाग्छ ।’ 

घरबाट निस्कँदा छाता बोक्ने सबु एक्ली होइनन् । यतिबेला धेरैको हात वा झोलामा छाता अनिवार्य हुन्छ । हुन पनि झरी परिरहेको समयमा सहरका सडक किनाराहरू मानिसको टाउकोले होइन, रङ्गीविरङ्गी छाताले भरिभराउ हुन्छ । छाता पनि पुराना पाराका होइनन् चल्तीका फेसनेवल छाता धेरै तन्नेरीको हातमा देख्न पाइन्छ । त्यसमा पनि युवतीहरू छाताका विशेष सौखिन हुन्छन् । आरआर क्याम्पसमा स्नातक गरिरहेकी एलिजा ढकाल यो वर्ष ३ सय रुपैयाँमा नयाँ छाता किनिसकेकी छिन् । ‘स्काई कलरको फोल्डिङ छाता किनिसकेकी छु,’ उनले सुनाइन ।

पहिले–पहिले ग्राहकको रोजाइमा लामो डन्डी भएका छाता पर्थे, तर अहिले बुट्टे, रङ्गीन तथा विभिन्न डिजाइनका छाता धेरैको रोजाइमा पर्छन् । वर्षायाम सुरु भैसकेकाले बजारमा पनि नयाँ–नयाँ छाता आइसकेका छन् । 

जोकोही तन्नेरी मौसमअनुसार फेसन गर्न रुचाउँछन् । छाता पनि मौसम अनुसार फेसनेवल नै रोज्छन् । धेरैजसो युवती आफ्नो पहिरनसँग छाताको कलर मिलाउन चाहन्छन् । छाताअनुसार ड्रेसअप मिलाउन सक्यो भने थप आकर्षक देखिन सकिन्छ । छाता ब्रान्डेडभन्दा पनि फुटपाथे नै धेरै बिक्री हुन्छ । चीन, हङकङ तथा थाइल्यान्डबाट भित्रिएका छाता त्यति महँगा पनि छैनन् । २ सयदेखि १ हजार रुपैयाँसम्मका छाता धेरै बिक्री भैरहेको न्युरोडमा छाताको फुटपाथे व्यापार गर्दै आएकी सुमित्रा तामाङ बताउँछिन् । ‘होलसेलबाट आकर्षक र रंगीन छाता रोजेर ल्याउन सक्नुपर्छ, दैनिक ५० वटासम्म बिक्री हुन्छ,’ उनले भनिन् ।

छाताको इतिहास निकै पुरानो छ । प्राचीन कालदेखि नै छाताको प्रयोग भएको पाइन्छ । छाता स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक छ । छाताले मानव शरीरलाई असर पार्ने विकिरण छेक्ने पनि मद्दत गर्छ । छालाको हेरचाह गर्न वा घामबाट जोगिन छाता अनिवार्य ओढ्नुपर्छ । हिन्दू शास्त्रअनुसार छाता शुभ कार्यमा प्रयोग हुन्छ । विवाह, व्रतबन्ध, पास्नी, कुमारीको पूजा आदि जस्ता शुभ कार्यमा छाता ओढाइन्छ ।

विवाहमा दुलाहालाई स्वागतस्वरूप छाता ओढाइदिने चलन छ । छाताको नाता मायाप्रेमदेखि धार्मिक विधिहरूसँग समेत जोडिएको पाइन्छ ।

नेपालमा छाताको व्यापार मनसुन सुरु भएपछि चरममा पुग्छ । ठूला र ब्रान्डेड पसलहरूमा भन्दा पनि फुटपाथमा यसको व्यापार चम्कन्छ । सस्ता र आकर्षक डिजाइनका छाता धेरैको रोजाइमा पर्छन् । वृद्धवृद्धाले लामा छाता ओढ्न मात्र नभई टेक्ने लौरोका रूपमा समेत प्रयोग गर्छन् । बेतबाँस वा फलामको डन्डी भएका पुराना स्टाइलका छाता हिजोआज गाउँतिर मात्र प्रयोग गरिन्छ । अहिले फलामको डन्डी भएको सप्तरङ्गी छाता चल्तीमा छ ।

यस्ता ठूला छातामा दुई जना मज्जाले ओत लाग्न सकिन्छ । फोल्डिङ हुने साना रङ्गीन छातामा एक जना मात्र ओत लाग्न सकिन्छ बालबालिकाहरूका लागि साना आकारका छाता उपलब्ध हुन्छन् । बालबालिकाका छातामा कार्टुन क्यारेक्टरका चित्र वा फुर्का झुन्डयाइएको पाइन्छ । नेपालमा सर्वप्रथम सन् १९३६ मा काठमाडौंको चोखाछें गल्लीमा बृहत् स्तरको छाता भण्डार सञ्चालनमा आएको थियो । 

प्रकाशित :असार २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्