हत्या, २६ बलात्कार: नेपाली सिरियल किलरको कथा

- केपी ढुंगाना

असार २२, २०७३

५० वर्षका मानवबहादुर बुढाथोकी २० वर्षअघि उनले गरेको अपराधमा अहिले जलेश्वर कारागारमा छन् । २०५३ देखि २०६२ सम्मको उनको जीवन जेलमै बित्यो । जेलमुक्त भएलगत्तै भारत पसेका बुढाथोकी नोएडामा कान्छी श्रीमतीका साथ जीवन बिताइरहेकै बेला असार ६ मा पक्राउ गरी नेपाल ल्याइए । अनुसन्धानका क्रममा १८ वर्षीया युवतीको हत्याको आरोपमा पक्राउ परेका मानबहादुर ६ जना महिलाको हत्या गर्ने सिरियल किलर भएको रहस्योद्घाटन भयो । उनीमाथी ६ जनाको हत्या तथा बलात्कारको अभियोग त छ नै, अन्य २६ जनाको बलात्कार गरेको घटनाका सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान समेत गरिरहेको छ । आखिर २५ वर्षकै उमेरमा उनी कसरी गम्भीर अपराधी बने ? 

‘सरलाई एक जना केटी भेट्न आएकी छिन् ।’

‘पठाइदेऊ ।’

इलाका प्रहरी बर्दिवासका डिएसपी शालिकराम शर्माको अनुमतिलगत्तै ती प्रहरी कोठाबाट बाहिरिए, अन्दाजी २० वर्षजतिकी एक युवती उनको कोठामा छिरिन् ।

‘नमस्कार सर !’

शर्माले नमस्कार फर्काउँदै इसाराले कुर्सीतिर देखाएर बस्न अर्‍हाए ।

‘के काम थियो ।’

‘सर, तपाईंहरूले मेरो बुबालाई पक्रेर ल्याउनुभएको छ रे, उहाँलाई भेट्न आएको ।’

‘के हो नाम ?’

युवतीले सुस्तरी नाम लिइन्– ‘मानबहादुर बुढाथोकी ।’

मानबहादुर । उही सिरियल किलर जो १९ वर्षपछि पक्राउ परेका थिए । 

६ जना महिलाको बलात्कारपछि हत्या गरिएको खुलिसकेका बुढाथोकी संलग्न अन्य ३० वटा घटना केलाउन प्रहरी केन्द्रित थियो । 

डिएसपी शर्माले बल्ल उनीतिर हेरे, ‘मानबहादुरकी छोरी हौ तिमी ?’

उनले मुन्टो मात्र हल्लाइन् । 

‘तिम्रो बुबा अहिले यहाँ छैनन्, जलेश्वर कारागारमा छन्, त्यतै जाऊ ।’

सामान्य कुराकानीपछि उनी प्रहरी कार्यालयबाट निस्किइन् । 

‘अहिलेसम्म बाबुलाई देखेकै रै’नछिन्,’ दुई दिनअघिको भेटघाट संझँदै शर्माले भने– ‘प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको छ भन्ने सुनेपछि भेट्न आएकी रै’छिन्, जलेश्वरको जेलमा जाउँ भनेर पठाए ।’ शर्माले भने ।

...................................

२०५३ असार ९ 

धागोले बुनेको पच्छ्यौराले घाँटी बाँधेको अवस्थामा १८ वर्षीय लीला स्याङताङको शव फेला पर्‍यो । शारीरिक रूपमा अशक्त लीला घरका वस्तुभाउ चराउन नजिकैको जंगल गएकी थिइन् । बेलुकासम्म लीला घर नफर्किएपछि परिवारका सदस्यहरूले उनको खोजबिन गरे तर फेला पार्न सकेनन् । भोलिपल्ट जंगल गएका एक स्थानीय बासिन्दाले शव देखेर खबर गरेपछि लीलाको शव फेला पर्‍यो ।

सागरनाथ वन विकास परियोजनाको जंगलमा फेला परेको शवको घाँटीमा पच्छ्यौरा दुई पटक घुमाएर कस्सिएको थियो, पहिरन असरल्ल थियो । बलात्कारपछि हत्याको आशंका गर्दै घटनास्थलको मुचुल्का सकेर प्रहरीले शव पोस्टमार्टमका लागि पठायो । पोस्टमार्टमको रिपोर्ट तथा प्रहरीको आशंका मिल्यो, ‘घाँटी अँठ्याएका कारण निसास्सिएर मृत्यु । घाँटीमा हातको डाम देखिएकाले घाँटी अँठ्याएर हत्या गरिएको ।’ तर बलात्कार देखिएन ।

पोस्टमार्टमको रिपोर्टपछि प्रहरीले अनुसन्धान अघि बढायो । जंगलमा लीलासँगै अरू कसैलाई कुनै स्थानीय बासिन्दाले देखेका थिए कि ? उनको परिवारको कसैसँग रिसइवी थियो कि ? प्रहरी सोधपुछमा लाग्यो, तर केही नखुलेपछि फाइल बन्द भयो ।

...................................

प्रहरी प्रशिक्षण प्रतिष्ठानको अपराध अनुसन्धान विद्यालयमा काम गरेका डिएसपी शालिकराम शर्मा गत फागुनमा इलाका प्रहरी कार्यालयको प्रमुख भएर गए । कार्यक्षेत्र र त्यहाँ हुने अपराधको प्रकृतिका आधारमा कामको त्यति धेरै चाप थिएन । मुद्दा शाखामा मिसिलहरू भने टन्नै थिए । 

अनुसन्धान हुन नसकेका कुनै घटना छन् कि भन्दै उनले कार्यालयका पुराना कर्मचारीसँग सोधपुछ गरेपछि झन्डै २० वर्ष छुन लागेको एक हत्या घटनाको फाइल उनको टेबलमा आइपुग्यो ।

घटनाको मुचुल्का, शवको अवस्था, हत्याको प्रकार । मिसिलमा संलग्न सबै कागजपत्रको अध्ययनपछि उनले जिल्लामा यस्ता अन्य घटना भएका छन् कि भनेर सोधखोज सुरु गरे । भेट्न आउने स्थानीय बासिन्दा तथा पुराना प्रहरी जो भेटिन्थे उनी नसुल्झिएका घटनाहरूका सम्बन्धमा सोधखोज गरिहाल्थे । यसबीच २०५३ तिरै यस्तै प्रकृतिको घटनामा एक जना व्यक्ति पक्राउ परेको सूचना पाए उनले ।

‘बलात्कारपछि हत्या गरेको घटनामा स्थानीय एक युवक पक्राउ परेर जेल गएको भन्ने सुनेपछि सोधखोज गर्दा मानबहादुर बुढाथोकीको नाम आयो,’ शर्माले भने– ‘कस्तो घटनामा पक्राउ परेका रहेछन् भनेर जिल्ला अदालतबाट पुरानो घटनाको मिसिल मगाएर पढ्दा उक्त घटनामा पनि बुढाथोकी नै संलग्न छन् भन्ने लाग्यो ।’

२०५३ मा बलात्कार र हत्या अभियोगमा पक्राउ पर्दा अदालतमा दिएको बयानमा उनले पक्राउ परेको घटनाको मात्र होइन, अन्य घटनामा समेत आफ्नो संलग्नता खुलाएका थिए, जसमध्येको एक घटना लीलासँग मेल खान्थ्यो ।

‘बर्दिबासको जंगलमा वस्तुभाउ चराउन आएकी एउटी लाटी–लाटी प्रकृतिकी केटीलाई पनि मारेको थिएँ,’ उनले बयानमा खुलाएको विवरण र लीलाको हत्याको प्रकृति मेल खान्थ्यो ।

यति निष्कर्षसम्म पुग्दा चैत महिना लागिसकेको थियो । घटनामा मानबहादुर संलग्न हुन सक्ने आधारहरू देखिए पनि उनी कहाँ छन् पत्तो थिएन । बलात्कार र हत्या अभियोगमा अदालतले २० वर्ष कैद सुनाएको सूचनाका आधारमा खोजी गर्दा मानबहादुर ०५३ सालदेखि ०५५ सम्म जलेश्वर कारागारमा रहेको खुल्यो । 

त्यसपछि काठमाडौंको केन्द्रीय कारागार पठाइएका मानबहादुर असल चालचलन देखिएको भन्दै कैद सजाय छुट पाएर २०६२ मै कारागारमुक्त भैसकेका रहेछन् । उनी घरतिर हुन सक्ने आशंकामा प्रहरीले बारा, डुमरवाना गाविस खोरगाउँमा उनको खोजी गर्‍यो । घरमा उनका बाबु र श्रीमती फेला परे, उनी जेलबाट छुटेलगत्तै भारततर्फ लागेको खुल्यो । हत्या अनुसन्धानको हदम्याद हुने भएकाले समयमै अनुसन्धान अघि नबढाउँदा पहिचान भए पनि मानबहादुर छुट्न सक्ने भएपछि डिएसपी शर्माले पीडित लीलाका दाजुलाई बोलाएर वैशाख १ गते मानबहादुरको नाम खुलाएर किटानी जाहेरी दिन लगाए ।

भारतमा लुकेर बसेकाले बर्दिबास प्रहरीले अनुसन्धानको यथास्थिति खुलाउँदै अपराध अनुसन्धान विभागमा पत्राचार गर्‍यो । विभागपछि केस प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्यो । ब्युरोले मिसिल मगाएर अध्ययनसँगै मानबहादुरको खोजीमा खटाएको टोलीले भारतीय प्रहरीसँगको समन्वयमा मानबहादुरलाई असार ६ गते नेपाल ल्याउन सफलता प्राप्त गर्‍यो । प्रहरीले मानबहादुरलाई एउटा हत्याको अनुसन्धानका लागि पक्राउ गरेको थियो । उनी नियन्त्रणमा आएपछि घटनाका सम्बन्धमा सोधपुछ गर्ने क्रममा उनले लीलाको हत्यामा आफ्नो संलग्नता सहजै स्वीकार गरे नै, थप ६ हत्यासहितका ३२ वटा अपराधको सूची बताउँदा प्रहरी स्वयं वाल्ल पर्‍यो ।

बुढाथोकीले स्वीकार गरेकामध्ये ६ वटा बलात्कारसँगै हत्याका घटना थिए भने अन्य सबै बलात्कारका । अनुसन्धानको हदम्यादका कारण प्रहरीले उनले खुलाएका थप घटनाको अनुसन्धान गर्नुभन्दा स्पष्ट भैसकेको घटना अदालतमा बुझाउन जोड दियो । लगत्तै मिसिल तयार पारेर अदालतमा बुझाइयो । अदालतले गत बिहीबार उनलाई लीलाको हत्याको अभियोगमा पूर्पक्षका लागी जलेश्वर कारागार पठाइ सकेको छ । 

‘अनुसन्धानका क्रममा मानबहादुर दिल्लीको नोडयामा बस्दै आएको कुरा खुलेपछि पक्राउका लागि भारतीय प्रहरीलाई आग्रह गरेका थियौं,’ ब्युरोका प्रवक्ता एसपी दिवस लोहनीले भने, ‘एउटा हत्या घटनाको अनुसन्धानका लागि ल्याइएका मर्डरर त दर्जनौं अन्य अपराधमा समेत संलग्न सिरियल किलर देखियो ।’

महिला देख्यो कि छटपटी

‘जति मारिए ती कसैसँग मेरो कुनै दुस्मनी थिएन,’ मानबहादुरको बयान उद्धृत गर्दै एक अधिकारीले भने, ‘एकान्तमा आइमाई देखेपछि छटपटी हुन्छ, के गरौं, के गरौं भएर थाम्नै सक्दिनँ, मनमा कुरा खेल्छ, यौनसम्बन्ध राखौं भनेर गरिएको प्रस्ताव अस्वीकार गर्दा झोक चल्छ र घटना हुन्छ ।’

२०५१ तिर मानबहादुरले बर्दिवासमा सवारी चालकहरूलाई खाना ख्वाउन संगम होटल खोलेका थिए । उनी रातभर होटलमा काम गर्थे । दिनभर फुर्सद हुने भएपछि उनी बर्दिवास वरिपरिका खुल्ला ठाउँमा घुम्न निस्कन्थे । 

मानबहादुर प्रायजसो बिहान ११ बजे होटलमा खान खाएर टहलिन हिँड्थे । उनी जंगल, खोलाकिनार र एकान्त चौरमा गएर बस्थे । रातु खोला तथा ढल्केवर वरिपरि जंगलको १० किलोमिटर क्षेत्र नै उनको अपराध थलो हो । 

लीला मारिएको दिन पनि उनी त्यसैगरी ११ बजे खाना खाएर होटलबाट टहलिन हिँडेका थिए । बजारमा टहलिँदा टहलिंदै फिल्म हेर्ने योजना बनाएर उनी बर्दिवास पुगे । हिँड्दाहिँड्दै उनको मन फेरियो र लागे जंगलतिर । 

प्रहरी बयानमा खुलेअनुसार जंगलमा पुग्दा उनले गाई चराइरहेकी लीलालाई देखे, जो बोल्न सक्दिनथिन् । उनले लीलालाई जंगल जाऊँ भने तर उनले मानिनन्, कराइन् । मानबहादुरले त्यहीं लीलालाई पल्टाएर मुख थुनी बलात्कारको असफल प्रयास गरे ।

त्यहाँ आफ्नो उद्देश्य सफल नभएपछि उनले लीलालाई घिसार्दै भित्री जंगलमा पुर्‍याए । बलात्कारका लागि उनले लीलाको फ्रक पल्टाए, उनले पेन्टी समेत लगाएकी थिइन् । पेन्टी खोल्न खोज्दा जोडले कराउन थालेपछि अरूले चाल पाउने डरले मानबहादुरले लीलाको घाँटी अठ्याए । केही बेरमा लीलाले हलचल नगरेपछि उनकै पछ्यौराले घाँटी कसी होटलतिर लागे । 

प्रहरी कार्यालय आफ्नो होटलनजिकै भएकाले घटनाका सम्बन्धमा प्रहरीले के–के गरिरहेको छ, कोमाथि शंका गरेको छ मानबहादुरले सहजै चाल पाउँथे । घटनापछि पनि उनको दैनिकी सामान्य नै हुँदा मानबहादुर शंकाको घेरामा समेत परेनन् । 

२०५३ ताकाको एक घटनामा बलात्कारको प्रयास असफल हुँदा मानबहादुर फन्दामा परेका थिए । उनको अपराध अदालतबाट प्रमाणित भएर २० वर्ष जेल सजायसमेत नपाएका होइनन्, तर जेल प्रशासनको बदमासीका कारण उनी आधा सजाय काटेर सहजै जेलमुक्त भए ।

सल बेर्ने शैलीका कारण फन्दामा

सिआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार अपराध स्थल एवं पीडित चयनको समानता र अपराध शैलीको एकरूपता सिरियल मर्डरर पहिल्याउने मुख्य आधार हुन् । डिआइजी सिलवालको विश्लेषण मानबहादुरको अपराध शैलीसँग मेल खान्छ ।

उनले स्वीकार गरेका घटनाको स्थान, घटनाको प्रकृति, पीडित एवं अपराधको प्रकृति समान छन् । मानबहादुरले अधिकांश घटनामा बलात्कार गरेका छन् अनि त्यसपछि हत्या । उनी संलग्न देखिएका प्राय: सबै घटनाको प्रकृति एकनासको छ । अधिकांश समय प्राय: ११ बजे होटलबाट निस्कने ।

एकान्तस्थान खोज्दै जाने र त्यहाँ महिला भेटिए झम्टने, बलात्कार गर्ने र हत्या गरेर होटल फर्कने । हत्यापछि अधिकांश महिलाको घाँटी सल वा पछ्यौरा दुई पटक घुमाएर कस्थे ।

एक्लै जंगलमा भएकी युवती, शारीरिक रूपमा कमजोर, अशक्त वा वृद्ध महिला उनको यौन वासनाको सिकार भएका छन् । प्राय: सबै घटनामा उनले सुरुमा बलात्कारको प्रयास गरेका छन् । बलात्कार सफल भएपछि केहीको हत्या गरेका छन् । प्रतिकार गरेर बलात्कार प्रयास असफल बनाउनेहरूको तत्काल हत्या गरेका छन् । 

डिएसपी शर्मा लीलाको घाँटीमा उनले बेरेको सलको प्रकृतिका कारण मानबहादुरमाथि शंका लागेको बताउँछन् । ‘सल कस्दा त्यसैले निसास्सिएर मरेको भन्ठान्छन् भनेर उनले त्यसरी सल वा पछ्यौरा बेर्ने गरेका रहेछन्,’ डिएसपी शर्माले भने, ‘सल बेर्ने प्रकृति प्राय: एउटै खालको देखिएपछि उनी शंकामा परे ।’

मानबहादुरका ६ कर्तुत

१. २०५२ फागुन २४ मा धनुषा, बेगाडाबर गाविस बडहरी बजारबाट जमुना गाउँ जाने चौरमा साँझ ७ बजेतिर एक महिलाको बलात्कारपछि घाँटी थिचेर हत्या । 

२. चैत २३ मा धनुषाको ढल्केवरदेखि उत्तरको दमार जंगलको गोरेटोमा कुर्ता र कलेजी रंगको सल लगाए बाख्रा चराउन आएकी १७ वर्षीया किशोरीको हत्या । 

३. २०५३ जेठ ६ मा धनुषाको ढल्केवरदेखि पूर्वको जंगलमा बाख्रा चराएर फर्किरहेकी, कालो रंगको हाफ ब्लाउज, गुलाबी पहेंलो रङको साडी तथा दुवै हातमा चाँदीको बाला, नाकमा फुली लगाएकी, ६१ वर्षकी महिलालाई घिसार्दै घाँटी थिची हत्या ।

४. २०५३ असारमा महोत्तरी बर्दिबासबाट पश्चिमतर्फ वनपाले अफिस नजिकको जंगलमा पात टिप्न लागेकी २५ वर्षकी महिलालाई जबरजस्ती समातेर जंगल लगेको । बलात्कार गर्न खोज्दा कराएपछि ढुंगामा टाउको ठोक्काउँदा कन्चटबाट रगत बगेर हलचल गर्न छाडेपछि भागेको । 

५. २०५३ साउनमा धनुषाको लालगढ बजारतिरको जंगल हुँदै च्यान डाँडा तल रहेको सयपत्री खोलामा एक्लै बाख्रा चराइरहेकी महिलालाई खोलाको ढिस्को पछाडि लगेर बलात्कारपछि हत्या ।

६. २०५३ असार ९ मा महोत्तरीे बर्दिबासभन्दा पश्चिमतर्फको जंगलमा गुलाबी रंगको फ्रक तथा नीलो ब्लाउज लगाएकी, अन्दाजी २० वर्षकी शारीरिक रूपमा असक्त महिलालाई बलात्कार गर्न लाग्दा कराएपछि मान्छे आउने डरले घाँटी थिची मारेको । 

यसबाहेकका बलात्कारका २६ वटा घटनासमेत सतहमा आएपछि केन्द्रीय अनुसन्धान ब्युरो अहिले त्यसको अनुसन्धानमा केन्द्रित छ ।

विश्वका पाँच सिरियल किलर

१. हत्या गरेको संख्याका आधारमा कोलम्बियाका अल्फ्रेडो सिरियल मर्डररमध्ये सबैभन्दा भयानक मानिन्छन् । पाँच वर्षको बीचमा उनले ३ सय जनाको हत्या गरेका थिए, जसमध्ये १ सय ३८ जनाको हत्याको पुष्टि भयो । अल्फ्रेडोको सिकारमा पर्नेहरूमा अधिकांश सडक बालबालिका छन् । बालबालिकाको बलात्कार गर्ने, यातना दिने र हत्या गर्ने अल्फ्रेडोमा घोर अपराध प्रवृत्ति देखिन्छ ।

२. कोलम्बियाका पेड्रो लोपेज हत्या संख्याका आधारमा दोस्रो नम्बरमा छन् । ३ सयभन्दा बढी बालिकाको बलात्कार र हत्यामा संलग्न रहेको मानिने पेड्रोले ९ देखि १२ वर्षबीचका ८० जना बालिकाको बलात्कार र हत्या गरेको पुष्टि भएको थियो । 

३. डेनिलय बारबोसा पनि कोलम्बियाकै हुन् । उनले कोलम्बिया र इक्वेडरमा ७२ देखि १ सय ५० जना जवान युवतीको हत्या गरेका थिए । पेड्रो र लुइसझैं उनी पनि युवतीको बलात्कारपछि हत्या गर्थे, तर यिनको अधिकांश सिकार युवती हुन्थे ।

४. ब्राजिलका पेड्रो रोड्रिज पीडितको संख्याका आधारमा चौथो नम्बरमा छन् । आफ्नो बाबुको जागिर खोस्नेविरुद्ध बदला लिन १४ वर्षको उमेरदेखि हत्यामा संलग्न रहेका रोड्रिजले अन्तमा आफ्नै बाबुको समेत हत्या गरे । रोड्रिजले १ सय जनाको हत्या गरेको अनुमान छ, जसमा ७१ जनाको हत्याको पुष्टिसँगै सन् २००३ मा उनलाई १ सय २८ वर्ष जेल सजाय भयो ।

५. ह्याम्बरले हानेर ७० जनाको हत्या गरेका भारतीय नागरिक कम्पतिमार शंकराया मनोरञ्जनका लागि हत्या गर्थे । जयपुरका शंकराया हत्याको अभियोग पुष्टि भएसँगै फाँसीमा चढाइए ।

कोही किन हुन्छ सिरियल किलर 

सिरियल किलरसम्बन्धी अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) को सन् २०१२ को प्रतिवेदनमा सिरियल किलरका उत्प्रेरणाका ५ कारण उल्लेख छ ।

प्रतिवेदनअनुसार यौन, आक्रोश, जोखिम मोल्ने सौख, आर्थिक फाइदा एवं अरूलाई आफूतिर आकर्षित गर्ने चाहनाले व्यक्ति यस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्न हुन्छ । 

डिआइजी सिलवाल यस्तो प्रकृतिको अपराधमा संलग्नहरू एक प्रकारको मनोरोगी हुने कुरा बताउँछन् । व्यक्ति हुर्किको परिवार, समाज, संगत आदिले विकास हुँदै जाने नकारात्मक मनोभावले आपराधिक मनोवृत्ति बढाउने र समयमै त्यसमा नियन्त्रण गर्न नसक्दा व्यक्ति सिरियल किलर बन्न सक्ने सिलवालको विश्लेषण छ ।

नियन्त्रणको उपाय ? 

एफबिआईका अनुसार घटेका घटनाहरूको एकीकृत विश्लेषण, नेतृत्व, टास्क फोर्स संगठन, साधनस्रोत, सम्पर्क सञ्जाल, तथ्यांकको व्यवस्थापन एवं विश्लेषण, मेडिकल परीक्षणका साधन एवं तालिमले सम्भावित सिरियल किलरको समयमै पहिचान गर्न सकिन्छ ।

डिआइजी सिलवाल कुनै व्यक्ति पहिलो अपराधमै पक्राउ परे ऊ सिरियल किलर बन्ने सम्भावना रोकिने विश्लेषण गर्दै नियन्त्रणका लागि अनुसन्धान गर्ने निकायको सक्रियता तथा समाजको सहयोगको प्रमुख भूमिका हुने कुरा बताउँछन् । ‘अपराधमा संलग्न हुनेबित्तिकै पक्राउ पर्‍यो भने उसको मनोदशा बदलिन सक्छ,’ सिलवालले भने– ‘अपराधमा जोगिएको जोगियै भयो भने उसको मनोबल बढ्छ र अपराध गर्ने शैलीमा पनि निखार आउँछ, यस्ता घटना नियन्त्रणका लागि समयमै पहिचान नै प्रभावकारी उपाय हो ।’

कोही जेलमा, कोही कतार

नेपालमा फेला परेका पहिलो सिरियल किलर होइनन्– मानबहादुर । उनी अघि नै अन्य दुई नेपाली साइको किलरको पहिचान भैसकेको छ । एक सिरियल किलर जेलमा छन्, अर्को कतारमा । 

दुई वर्षअघि पक्राउ परेका अभिषेकराज सिंह त्यस्ता अपराधी हुन् जो बाबुको हत्याको बदला लिँदालिँदै सिरियल किलर बन्न पुगे । उनले हत्या गरेका चार जनाको प्रहरीले पहिचान गरेको छ, तर अझै दुई जनाको पहिचान हुन सकेको छैन ।

२०७० असोजमा पक्राउ परेका ३५ वर्षका सिंह अहिले कारागारमा ३५ वर्षको जेलसजाय काटिरहेका छन् । २०६२ भदौ ८ मा राजावादी भन्दै माओवादीमा संलग्न दुई जनाले उनको बाबु अजयराज सिंहको हत्या गरे । बाबुको हत्यापछि आमाको वियोग थाम्न नसकेकाले उनले बदला लिन बाबुको हत्यामा संलग्न दुई जनाको हत्या गरे र आफैं निस्कनै नसकिने अपराधको दलदलमा फसेर सिरियल किलर बन्न पुगे ।

प्रारम्भमा बदलाको भावनाले उत्प्रेरित भएर अपराधमा होमिएका अभिषेकराज पछि आर्थिक प्रलोभनमा परे र सिरियल किलर बने । आर्थिक लोभमा उनले २०६७ देखि २०७० को बीचमा लोमस औषधी कम्पनीका नीरनजंग पाण्डे, जग्गा कारोबारी नरबहादुर गोतामे, स्विट्जरल्यान्डमा काम गरी फर्किएका जगतसिंह तामाङ तथा आफ्नै घरमा काम गर्ने सार्की तामाङको हत्या गरेको अभियोग छ ।

माओवादी कार्यकर्तालाई उनले गोली हानेर मारेका थिए । अन्य चारवटा घटनामा उनले नशालु औषधी प्रयोग गरेका थिए । अभिषेकराजले विभिन्न बहानामा होटलमा बोलाएर नशालु औषधी मिसाइएको खाना ख्वाएर बेहोस बनाएपछि विशालु इन्जेक्सन दिएर हत्या गर्दै आएका थिए । प्रहरीले सुरुमा ती घटना बढी रक्सी खाएर मृत्यु भएको भन्दै अनुसन्धानमा बेवास्ता गरेको थियो । पटक–पटक एउटै प्रकृतिको घटना देखिएपछि अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाले पाण्डे मृत्युको अनुसन्धानका क्रममा सिंहलाई पक्राउ गरी उनको अपराधको बहिखाता खोलेको थियो । 

अर्का सिरियल किलर हुन्— सप्तरीका मोहम्मद सकिल हुसेन, जसमाथि ६ वर्षमा आठ जनाको हत्याको अभियोग छ । प्रहरी अनुसन्धानमा उनले २०६४ देखि ०७० को बीचमा, सहबुद मियाँ, सगिरा खातुन, डम्बर भट्टराई र कौशल्या भट्टराई, दुलारी देवी, सेरुन खातुन, इद्रिस खालिफा एवं जैतुन खातुनको हत्या गरेको अभियोग छ । सकिलद्वारा मारिएकाहरूको सूचीमा रहेका इद्रिस अभियुक्त सकिलका ससुरा हुन् भने जैतुन सासू र सेरुन श्रीमती ।

सकिलले विभिन्न प्रलोभन दिएर पैसा लिने र पैसा लिएको व्यक्तिको हत्या गरी नदि किनार, चुरे आदि क्षेत्रमा खाल्डो खनेर गाड्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । प्रहरीले हुसेनको आर्थिक लोभमा ज्यान गुमाएका अधिकांशको कंकाल फेला पारिसकेको छ, तर उनलाई पक्राउ गर्न सकेको छैन । २०७१ मा वैदेशिक रोजगारीका क्रममा कतार पुगेका सकिल अहिले पनि उतै भएको बताइन्छ ।

आर्थिक प्रलोभनका कारण उनले ८ जनाको हत्या गरेको रहस्योद्घाटन भएको कुरा बताउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख भीमप्रसाद ढकाल भन्छन्– ‘अहिलेसम्म हत्याको कारण आर्थिक प्रलोभन भन्ने कुरा खुलेको छ, ऊ कतारतिरै भएकाले पक्राउ परेको छैन, पक्राउ गर्ने प्रयास जारी छ ।’

प्रकाशित :असार २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्