जसको जीवनमा स्पिड लिमिटको संकेत छैन

- किशोर नेपाल

असार २२, २०७३

सरस्वतीलाई कसैले जिस्क्याउँदा न खुसी लाग्छ, न दु:ख नै । कसैले जिस्क्याउनु पनि एकछिनको रमाइलो नै हो । उनी यस्ता कुरालाई यसै इग्नोर गरिदिन्छिन् । विशेष गरी काठमाडौंका डाउन टाउन र छेउकुनामा कसैले ‘नन्भेज’ जिस्क्याउँदा चाहिं उनको पारो र कन्पारो तात्छ । त्यो जति चाँडो तात्छ, त्यति नै चाँडो सेलाउँछ ।

कविहरू स्वच्छन्दताका विम्ब हुन्, स्वतन्त्रताभन्दा पनि पर, त्योभन्दा माथि र सम्पूर्ण बन्धनहरूबाट मुक्त । उनीहरू समाजका ट्राफिक नियमहरू लगातार मिच्छन् र मिचिरहन्छन् । सरस्वती प्रतीक्षाले अनेकांै पटक ट्राफिक नियम मिचेकी छिन् । जरिवाना तिरेकी छैनन् अहिलेसम्म । उनी सधैंजसो सडकमा सवारी दौडाउँदा लिमिट गरिएको स्पिड क्रस गर्छिन् । उनलाई स्पिड लिमिटको रेखा क्रस गरेर ड्राइभिङ गर्न मन पर्छ । पोहोर साल २० मार्चका दिन उनी प्याराग्लाइडिङ गएकी थिइन् । त्यहाँ पनि उनले स्पिड क्रस गर्न खोजेकी थिइन् । आकाशको स्पिड क्रस गर्नु त अझ रमाइलो हुन्छ भने खतरा पनि उत्तिकै हुन्छ, तर पानी पर्‍यो र उनको इच्छा त्यत्तिकै सेलायो । 

सरस्वती प्रतीक्षा एक प्रकारको दुस्साहस नै हो । संसारका सुन्दरीहरू प्राय: दुस्साहसी हुन्छन् । हाम्रो पारम्परिक समाजमा भनाइ नै छ— जो सुन्दर हुन्छ, त्यो मूर्ख हुन्छ । सरस्वतीलाई मुर्ख त भन्नै मिल्दैन । उनका कविता श्रवणका लागि मात्र होइन, मननका लागि सिर्जना गरिएका हुन्छन् । उनी आफैं पनि भन्छिन्, राम्रा युवती जति पनि पाइन्छन्, राम्रा कवयित्री थोरै हुन्छन् । कविताको क्षितिज साँघुरो हुँदैन, त्यसैले कविता लेख्छिन् । ‘कमजोर मुटु हुनेहरू साहित्यमा टिक्दैनन्,’ यो उनको मान्यता हो । उनलाई ‘महिला साहित्यकार’को परिचय स्वीकार्य छैन । उनी साहित्यकार मात्र हुन् । उनी अहिले उपन्यास लेख्न लागेकी छिन् । यो अर्को पाटो हो साहित्यकार सरस्वतीको जीवनको, जसको श्रृंखला लामो छ ।

सरस्वती सीमारहित हिसाबले दुस्साहसी हुन् । उनका लागि विवाह आफैंमा दुस्साहस थियो । प्रेम गर्छु भन्नेसँग प्रेम नगर्दा–नगर्दै उनले विवाह गरिन् । पुत्र लाभ गरिन् । आमा हुनुको गौरव हासिल गरिन् । यो एक प्रकारको प्रयोग थियो– एन एक्सपेरिमेन्ट विथ लाइफ । त्यो पनि परम्पराको कालो बुर्का ओढेर इज्जत जोगिएको भ्रममा बाँचेको समाजमा । बिहे भन्ने संस्थामा उनको विश्वास थिएन । त्यो विवाह टुट्यो । उनमा त्यसको पश्चाताप छैन । 

उनी आफूलाई हाई प्रोफाइल मान्दिनन्, तर पोखराभित्रै र पोखरा बाहिर पनि जब उनीसँग सेलिब्रेटीसँग गर्नेजस्तो व्यवहार गरिन्छ, स्वाभाविक हो, उनी मख्ख पर्छिन् । ‘म तपाईको फ्यान’ भन्दै प्रत्येक बिहान प्रत्यक्ष र सामाजिक सन्जालमार्फत विस गर्ने पाठकदेखि कविता वा निबन्धहरूको पंक्ति–पंक्ति नै कण्ठस्थ पार्ने प्रियजन भेटेकी छिन् उनले । ‘लेखकहरू अब बिचरा रहेनन्’, उनको उदघोष छ, ‘बिचरा लेखकको विम्ब भत्कँदै गएको छ । यो लेखक भनिने सबै प्राणीका लागि खुसीको विषय हुनुपर्छ ।’ 

सरस्वतीका प्रिय गायकगायिका थुप्रै छन् । उनी यदाकदा योगेश्वर अमात्यका गीत सुन्छिन् । उनको गीत कतिलाई मन पर्ला, कतिलाई मन नपर्ला, तर गीतमा डुब्ने योगेश्वरको शैलीचाहिँ गज्जब लाग्छ उनलाई । एकपटक उनलाई सुनेको मान्छेले सायदै भुल्न सक्ला ।

सरस्वतीलाई कसैले जिस्क्याउँदा न खुसी लाग्छ, न दु:ख नै । कसैले जिस्क्याउनु पनि एकछिनको रमाइलो नै हो । उनी यस्ता कुरालाई यसै इग्नोर गरिदिन्छिन् । विशेष गरी काठमाडौंका डाउन टाउन र छेउकुनामा कसैले ‘नन्भेज’ जिस्क्याउँदा चाहिं उनको पारो र कन्पारो तात्छ । त्यो जति चाँडो तात्छ, त्यति नै चाँडो सेलाउँछ ।

सरस्वतीले हुक्का आजसम्म ट्राई गरेकी छैनन । हार्ड ड्रिंक्सको स्वाद थाहा पाएपछि त्यता फर्किनन् । वाइन उनलाइ मन पर्छ । स्थान र समयअनुसार फेसन गर्छिन् । फर्मल कार्यक्रमहरूका लागि साडी वा कुर्ता र अन्य अवस्थामा जिन्स वा वान पिसमा सजिन्छिन् । साडी लगाउने सोख भए पनि उनमा साडी पहिरिने कला छैन । बढीमा रुमभित्र पारदर्शी नाइट गाउनसम्म लगाएकी छु, तर सार्वजनिक रूपमा मिनिस्कट टाइपको ड्रेस भने लगाएकी छैनन्, ‘सिम्पली वानपिस लगाउँदा त कवि हो कि मोडल हो भन्ने रिमार्क आउँछ । त्योभन्दा अघि त बढ्नै भएन नि !’

सरस्वतीलाई चलचित्र लुट मन पर्‍यो । उध्रेको चोली साँच्चै रमाइलो गीत थियो, अलिकति भड्किलो पनि । सिनेमा पनि मनोरन्जक थियो, नेपाली निर्माताको व्यवसायिक सिनेमा बनाउने प्रयत्न । सफल रह्यो । अफ द बिट सिनेमाहरू मन पराउँछिन् सरस्वती । कलात्मक सिनेमाहरूको सौखिन छिन् । नजिकका साथीहरूसँग हप्ता–पन्ध्र दिनमा हलमा गएरै सिनेमा हेर्छिन् । भूतको कथा, आगोका सत्यहरू–यथार्थको नजिक पुगेका सिनेमाहरू ।

११–१२ वर्षको उमेरमा कसैले उनलाई प्रेमपत्र पठाएको थियो । त्यो बेलादेखि अहिले ३० नाघिसकेको उमेर र छोराको आमा भैसक्दा पनि प्रेमका प्रस्तावहरू आइ नै रहेका छन् । यति नै भनेर ठ्याक्कै गनेकी छैनन् सरस्वतीले । दर्जनौं आएका छन् प्रेमप्रस्ताव ।

सरस्वतीका लागि इन्टिमेट रिलेसनसिप बेपर्दाको रिलेसन हो । पारदर्शी । यसलाई स्वीकार गर्छिन उनी । यस्तो सम्बन्धको सौन्दर्य भनेको यसमा कुनै पनि सत्य लुक्दैन । आफ्नो सक्कली अनुहारसहित उभिन सक्छ मान्छे । नचाही–नचाही सम्झौता गर्नैपर्ने बाध्यता पनि हुँदैन यसमा । यो खालको सम्बन्ध प्रेमी–प्रेमिका वा साथी–साथी जसको बीचमा पनि हुनसक्छ । यसलाई उनी स्वभाविक रूपमा लिन्छिन् । 

सरस्वतीले आफ्नो वैवाहिक जीवनलाई टुंग्याएपछि खास गरी डिभोर्सलाई लिएर कतिले प्रश्नको लर्को लगाए, कति आश्चर्यको भुमरीमा रुमल्लिए भने कतिले उनको साहसको प्रशंसा गर्दै धाप मारे । कुनै–कुनै पत्रिकाले हुँदै नभएको कथा बनाएर अनुमानको ठूलै खेती पनि गरे । उनलाई नजिकबाट चिन्नेहरूले उनको साहस र दुस्साहसको सराहना गरे । जिन्दगीका कतिपय निर्णय लिइहाल्न गाह्रो हुन्छ । त्योभन्दा गाह्रो परिस्थितिको निर्माण निर्णयहीनताले गर्छ, तर निर्णय लिइसकेपछि परिस्थिति त्यति गाह्रो पनि हुँदैन : सरस्वतीको अनुभव छ ।

केही समयअघि सरस्वतीले एउटा स्टाटस लेखेकी थिइन् फेसबुकमा, ‘विवाहको कथामा ढोका नभै हुँदैन । प्रेमको कथामा झ्याल नै काफी हुन्छ ।’ त्यतिबेलादेखि नै उनी त्यही झ्यालबाट प्रेमलाई चियाइरहेकी छिन् । ‘ओशोले भनेजस्तो ह्वाइट क्लाउडवाला नि:शर्त प्रेम कतै हुन्छ भने त्यो प्रेमको विराट रूपसँग मेरो साक्षात्कार भएको बताउँदा मभित्र गौरवको अनुभूति हुन्छ ।’

प्रकाशित :असार २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्