प्रेम अस्वीकार हुँदा आत्महत्या

- अनिल श्रेष्ठ

असार २०, २०७३

सँगै मर्ने सँगै बाँच्ने भनेर मायाप्रेममा परेका मोरङ केराबारीका एक युगल जोडीले आफ्नो प्रेमसम्बन्धलाई परिवारले अस्वीकार गरेपछि आत्महत्या गरेका छन् ।

शुक्रबार केरावारी–२ स्थित मच्छिन्द्र उच्च माविको छेउमा घर भएकी १७ वर्षीय रक्षा भण्डारीले आत्महत्या गरेको केही समयपछि उनका प्रेमी केराबारी–४ का १९ वर्षीया खेमप्रसाद बरालले पनि आत्महत्या गरेका हुन् ।

रक्षाले मामाघरमा सिलिङको बलोमा झुुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको आत्महत्याका सम्बन्धमा विभिन्न अड्कलबाजी भैरहेका बेला बरालले पनि आत्महत्या गरेका हुन् । रक्षाको शव पोस्टमार्टम गरी दाहसंस्कारको तयारी गरिरहेका बेला बरालले घरमै पासो लगाई आत्महत्या गरेका थिए । शुक्रबार मध्यान्ह रक्षाको शवमा दागवती दिने तयारी भैरहेका बेला बरालको आत्महत्याको खबर आएको थियो । रक्षाको अन्तिम संस्कारमा आएका मलामीहरू घटनास्थलतर्फ जाँदा बरालको प्राणपखेरु उडिसकेको थियो । चोखो मायामा परिवार बाधक भएपछि आत्महत्या गरेको बरालको सुसाइड नोटबाट खुलेको प्रहरीले जनाएको छ ।

आफ्नी प्रेमिकाले आत्महत्या गरेको खबर पाएपछि निराश भएका बरालले लेखेको सुसाइट नोटमा अभिभावकलाई सम्बोधन गर्दै आफूहरूको प्रेमलाई अमर बनाउन आत्महत्या गरेको कुरा उल्लेख छ । रक्षा र खेमले यसै वर्ष एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । उनीहरूबीच एक वर्षअघिदेखि प्रेमसम्बन्ध थियो । खेमप्रसादले आफ्नी प्रेमिका रक्षालाई घरमा ल्याउन हरसम्भव प्रयास गरे पनि परिवारको असहमति रहेको सुसाइट नोटबाट थाहा हुन्छ, तर रक्षाले किन आत्महत्या गरिन् भन्ने कुरा खुल्न सकेको छैन । 

प्रेमिकाको आत्महत्यापछि बरालले एक्लै बाँच्न नसक्ने भएकाले प्रेम सफल बनाउन आत्महत्या गरेको दाबी गरेका छन् । उनले सुसाइट नोटमा लेखेका छन्– ‘रक्षा, तीन महिनाअघि बिरामी पर्दा पनि तिमीले मलाई बचायौ । आज तिमी यो संसारबाट टाढा भएपछि यो संसार मेरा लागि एक्लो छ । तिमीबिना म कसरी बाँच्न सक्छु र रु त्यसैले म तिमीलाई १२:१० बजे भेट्नेछु ।’ 

सुसाइट नोटमा उनले आफ्नो जीवनको सर्वस्व रक्षा नै भएको र उनीबिना यो संसारमा बाँच्नुको अर्थ नरहेको भन्दै आत्महत्या गरेको बताएका छन् । उनले मृत्युपछि आफ्नो लासको पोस्टमार्टम नगर्नु र रक्षासँगै एउटै चितामा जलाउनु समेत भनेका छन् । यो घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय केराबारीका प्रमुख सूर्य प्रसार्इंले जानकारी दिए । 

 

प्रकाशित :असार २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्