आफूलाई हिरो सावित गर्न काम गरेकी होइन

  •  इन्दिरा अर्याल, कार्यवाहक राजदूत, रूस

- अश्विनी कोइराला

असार २०, २०७३

जसले मेहनत गर्छ भाग्यले पनि उसैलाई साथ दिन्छ भन्ने उदाहरण हुन्— इन्दिरा अर्याल । एकैपटक ३ कक्षामा भर्ना भएर इन्दिराले १४ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेकी थिइन् । २४ वर्षको उमेरमा लोकसेवाको परराष्ट्रमा नाम निकाल्दा उनले जम्माजम्मी ५ महिना मात्र परीक्षाको तयारी गरेकी थिइन् । इन्दिरा अहिले महाशक्ति राष्ट्रमध्ये एक रूसको कार्यवाहक राजदूत छिन् । शिक्षाशास्त्रमा स्नातकोत्तर अर्यालले समाजका लागि उदाहरणीय हुने अरू पनि काम गरेको थाहा पाएपछि साप्ताहिक प्रतिनिधिले उनीसँग लामै कुराकानी गरेका थिए । 

तपाईंले पहिलो पटकमै परराष्ट्रमा नाम निकाल्नुभयो, यसको कारण के होला ? 

पहिलो कुरा त अहिले सरकारी विद्यालयमा पनि अंग्रेजी भाषालाई ठूलो महत्व दिन थालिएको छ । अंग्रेजी भाषाकै कारण विद्यार्थीहरू बोर्डिङ स्कुल जान थालेपछि शिक्षकहरूले अंग्रेजी विषयलाई निकै महत्व दिन थालेका हुन् । म आफैं पनि शिक्षाशास्त्रको विद्यार्थी र शिक्षक भएर काम गरेका आधारमा के भन्न सक्छु भने शिक्षकलाई विद्यार्थीको माया हुन्छ । शिक्षकहरूले आफूले पठाएका विद्यार्थी उच्च तहमा पुगून् भन्ने चाहना राखेका हुन्छन् । अर्कातर्फ सरकारी विद्यालयमा पढ्ने विद्यार्थीमा आफैं मेहनत गर्ने संस्कार हुन्छ । यही संस्कारलाई विकसित गर्ने हो भने जुनसुकै सफलता पनि प्राप्त गर्न सकिन्छ । मैले परराष्ट्रमा नाम निकाल्नुको कारण पनि कडा मेहनत नै हो । 

कसरी तयारी गर्नुभयो, तपाईंको अनुभव हाम्रा पाठकहरूलाई काम लाग्न सक्छ कि ।

परराष्ट्रमा विज्ञापन खुलेको देखेपछि मात्र मैले अंग्रेजीमा पढ्न थालेकी हुँ । पराराष्ट्रका लागि जम्मा ५ महिना तयारी गरेँ हुँला । खासमा कुरा के भयो भने महिलाहरूले पनि लोकसेवा पास गरुन् भनेर ‘ओरेक’ भन्ने संस्थाले तयारीको कक्षा दिन्थ्यो । उक्त तालिम मसँगै डेरा बस्ने साथीले लिएकी थिइन् । उनले पढेका कुरा साँझ डिस्कस गर्दा त्यो कुरा मेरो मस्तिष्कले राम्रोसँग टिप्यो । केही पछि मेरो विवाह भयो । श्रीमान् बोर्डिङ स्कुलको शिक्षक, उहाँले पनि मलाई बुझ्ने गरी पढाउनुहुन्थ्यो । यी सबै कुराले लोकसेवाको बेस बन्यो । जब मैले फर्म भरेँ, म त्यसमा पूर्ण रूपमा होमिए । मेरो विचारमा तपाईंले कुनै पनि उद्देश्य राखेर शतप्रतिशत मेहनत गर्नुभयो भने असफल हुने अवस्था रहँदैन । हामी हाम्रो क्षमतालाई पूर्ण रूपमा प्रयोग गर्दैनौँ । मेरो अनुभवले भन्छ– मेहनत गर्ने हो भने केही पनि असम्भव छैन । 

तपाईंको विवाह आफंैमा उदाहरणीय छ । सानैदेखि फरक काम गर्न चाहना भएर हो ?

खासमा म आफ्नो व्यक्तिगत कुरा बाहिर आओस् भन्ने चाहन्नँ । मेरो कुरा गोप्य नै छ भन्ने लागेको थियो, तर सार्वजनिक पदमा पुगेपछि मानिसहरूलाई उसको व्यक्तिगत जीवन थाहा भैहाल्दो रहेछ । पश्चिमा समाजमा व्यक्तिगत कुरालाई त्यति महत्व दिइँदैन, तर नेपाली समाजमा यस्ता कुरा गोप्य राख्न गाह्रो (हाँसो) ।

 तपाईंहरूको विवाह कसरी भयो ? विवाहको परिस्थिति कस्तो थियो ?

हामी दुवै कीर्तिपुरमा अंग्रेजी विषयका विद्यार्थी थियौं । सँगै कक्षा लिन्थ्यौं । दुई वर्ष पढ्दा–नपढ्दै हाम्रो गहिरो दोस्ती हुन पुग्यो । पढाइ सकिने दिन अचानक उहाँले प्रेमप्रस्ताव राख्नुभयो । त्यो प्रस्ताव अस्वीकार गर्नुपर्ने कारण मैले देखिनँ । मान्छेले उहाँको अपाङ्गता देखिरहेका थिए । मैले भने उहाँको प्रेमपूर्ण भवना, बौद्धिक क्षमता एवं मेहनत देखिरहेकी थिएँ । हि इज माइ हिरो । 

हरेक महिला आफ्नो प्रेमी/पति आफूभन्दा सम्पन्न होस्, बलवान् होस् र उत्तिकै सुन्दर पनि देखिस् भन्ने चाहन्छन् । यो महिलाका विषयमा गरिएको विश्वव्यापी सर्वेक्षणको नतिजा हो । आफू उदाहरणीय बन्ने प्रयास गर्नुभएको हो ?

आफूलाई हिरो सावित गर्ने प्रयास बिल्कुलै होइन । म पनि महिला भएका नाताले मेरो राय आममहिलाभन्दा फरक थिएन । म पनि सर्वगुणसम्पन्न युवक चाहन्थें, तर उहाँलाई देखेपछि मेरो धारणा परिवर्तन भएको हो । हामी धेरैजसो मान्छेको बाहिरी आवरण हेरेर धारणा बनाउँछौं । मान्छेलाई भित्रदेखि हेर्न जान्दैनौं । उहाँसँग विवाहको औपचारिक प्रस्ताव ल्याएको भए म पनि सबैभन्दा पहिले उहाँको अपाङ्ता नै देख्थेँ हुँला । संगत गर्दै गएपछि मान्छेको भित्री कुरा बुभिँmदो रहेछ । मनोज गोहिवार मेरो श्रीमान् भनेर चिनाउनेबित्तिकै मानिसहरू यो महिलामा के कमजोरी थियो र यस्तो व्यक्तिसँग किन विवाह गरी भनेर सोच्छन् । मेरो अघि उनीहरू केही भन्दैनन् तर उनीहरूको अनुहारमा मलाई ‘कठै’ भनिरहेको भाव तैरिरहेको देख्छु । (उनका आँखा भरिएर आउँछन् ।) 

आखिर मानिसहरू किन यस्तो सोच्छन् ?

हामी कुनै न कुनै रूपमा अपाङ्गता भएका व्यक्ति हौं । चरा उड्न सक्छ, हामी उड्न सक्दैनौ । चराको अघि हामी कमजोर छौं । कुनै मान्छे अग्लो छ भने उसले अग्लो स्थानमा राखिएको सामान सजिलै भेट्न सक्छ । होचो मान्छेले भेट्न सक्दैन । अग्लो मान्छेको तुलनामा होचो मान्छे एक प्रकारले अपाड्ग हो । अपाङ्गताको खास अर्थ हो, एउटाको तुलनामा अर्को केही कमजोर । हामी प्रत्येक व्यक्ति अर्कोको तुलनामा कुनै न कुनै कुरामा कमजोर हुन्छौं । यस अर्थमा हामी सबै अपाङ्ग हौं । यद्यपि हामी यो कुरा बुझ्न असमर्थ छौं । यही सोच्ने शैलीका कारण मानिसले बाहिरी अपाङ्गलाई अपाङ्ग देख्छ र आफूलाई सपाङ्ग मान्छ । 

तपाईंले यो कुरा कहिले महसुस गर्नुभयो ?

जब मनोजजीलाई भेटेँ, मैले उहाँको क्षमता बुझेँ । उहाँ आठ वर्षको हुँदा पोलियो रोगीको सिकार हुनुभयो । तराईको सामान्य परिवारको मान्छे भएका कारण उपचारमा उचित ध्यान दिन सकिएन, तर उहाँले हिम्मत हार्नुभएन । आफैं कमाउँदै पढ्न थाल्नुभयो । केही समय राजनीति पनि गर्नुभयो । कलेजमा टप गर्नुभयो । विद्यालय पढाउँदा सधैं अब्बल शिक्षक रहनुभयो । मान्छेसँग गर्ने उहाँको व्यवहार असाध्यै राम्रो थियो । यी सबै कुरा महसुस गरेपछि मैले उहाँको अपाङ्गताको कमजोर पक्ष बिर्सिएँ । त्यो बेला मैले बुझेँ ममा पनि नदेखिने धेरै अपाङ्गता छ । 

तैपनि तपाईं पहाडिया बाहुन, उहाँ मधेसी... परिवारले अवरोध गर्ने प्रयास गर्‍यो होला नि ?

कसको कुन जाति, कसको के पृष्ठभूमि भन्ने कुरा बाहिरी पाटो हो । त्यसले मान्छेलाई गलत दिशातर्फ लान्छ, त्यो हामी सबैले देखिरहेको कुरा हो । मैले नेपाली समाजको यो गलत सोच बुझेकी थिएँ । त्यसैले सुटुक्क विवाह गरेँ । विवाह गरेपछि सबैले स्वीकार गर्नुभयो । 

अहिले मनोजजी कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ ?

उहाँ नेपालमै एउटा गैरसरकारी संस्थामा काम गर्नुहुन्छ । उहाँको आत्मविश्वास एवं काम गर्ने शैली गज्जबको छ । मलाई गौरव लाग्छ र यतिका वर्षपछि पनि मेरो निर्णय सही थियो भन्ने अनुभव गर्छु । 

अहिले रूसजस्तो शक्तिशाली देशमा नेपालको प्रतिनिधित्व गरिरहनुभएको छ, देशका लागि के गर्न चाहनुहुन्छ ?

म सिक्दै छु । सुरुमै विशेष तालिम लिएर यहाँ आएकी पनि थिइनँ । यसरी राजदूतकै भार बहन गर्नुपर्ला भन्ने कल्पना पनि थिएन । सरकारले नयाँ महामहिम नियुक्त नगरी सकेका कारण मैले निरन्तरता दिएकी मात्र हो । तैपनि पर्यटन क्षेत्रमा केही गर्न सकिने अवस्था रहेछ । भारतीय तथा श्रीलंकन दूतावासहरूले विभिन्न कार्यक्रम गरेर रूसी नागरिकलाई आफ्नो देश घुम्न प्रेरित गर्न विभिन्न आकर्षक प्रस्ताव दिइरहेका छन् । दैनिकजसो कुनै न कुनै कार्यक्रम भैरहन्छन् । हाम्रो दूतावास भने सामान्य परम्परागत काममै अल्झिरहेको छ । यो दु:खलाग्दो कुरा हो । यसमा म चिन्तित छु । 

भविष्यको योजना के छ ?

परराष्ट्र मन्त्रालयमा आउनुको अर्थ राजदूत हुने लक्ष्य नै हो । एकपल्ट पाएको जीवन र अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । नयाँ भएका कारण धेरै जान्ने–बुझ्ने छु भनेर अघि बढदा राम्रो नहुन सक्छ । सिक्दै, बुझ्दै अघि बढ्न चाहन्छु, ताकि गरेको काम दिगो होस् र समाजलाई कुनै न कुनै योगदान दिन सकियोस् । 

 

प्रकाशित :असार २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्