मलाई पागल भन्दा खुसी लाग्छ

- गोविन्द नारायण

असार १८, २०७३-

म २०–२१ वर्षको थिए, बारी खन्दा एक दिन आमाले भन्नुभो– ‘आजबाट तँ यो बारी नखन, मै खन्छु,।’ आमा किन रिसाउनु भयो भनेर मैले बुझिन । आमा मभन्दा २५ वर्ष पाको हुनुहुन्थ्यो तर पनि अड्डी लिनुभो तर आखिर मैले खनी छोडें । त्यसको भोलिपल्ट बिहान भन्नुभो ‘बाबु, तेरो बाउले र मैले तँलाई यसरी नै बारी खन्न बीए पास गराको होइन । अबदेखि यो बारी नखन । पढेको मान्छेले बारी खन्नु  हुन्न । यो बारी खनेको देखेर हाम्रा गाउँलेहरूले तँलाई पागल भन्न थालिसके ।’

त्यतिखेर मैले भर्खरै व्यवस्थापनमा स्नातक पास गरेको थिएँ । परीक्षा सकिएपछि मैले पत्रिका बेच्ने काम गरेँ । मेरो यो कामको घरमा चर्चा भएछ । सायद नकारात्मक कुरा भयो होला । मेरी बहिनीले भाषा मिलाएर भनिन्– पत्रिका बेच्ने काम त पढेलेखेको मान्छेको होइन नि दाजु । तपाईंले पत्रिकामा लेख्ने काम गर्दा पो राम्रो हुन्छ होला ।’ मलाई लेख्नभन्दा शारीरिक श्रम गर्न मन लाग्थ्यो । यहि कारण मैले हकरको काम गर्न छाडिन । समाजको नजरमा पढेलेखेका मानिसले पत्रिका बेच्ने र बारी खन्ने काम गर्नु हुन्न भन्ने थियो । यो बेला मलाई धेरैले पागलको उपाधि पनि दिए, जसलाई मैले सहर्ष स्वीकारें  ।

मलाई आफ्नो विकास जत्तिकै देशको विकासमा चासो थियो । त्यसपछि त्यही पत्रिका बेचेको पैसाले राजनीति शास्त्र विषय लिएर स्नातकमा नाम लेखाएँ । त्यसका पाठ्यपुस्तक किनेँ । दुई वर्षमा मैले राम्रो अंक ल्याएर पास पनि गरेँ ।  अब एमए गर्नु थियो । मैले बेच्ने पत्रिकामा त्यतिखेर तीर्थबहादुर श्रेष्ठ र महेन्द्र पी लामाले लेख्नुहुन्थ्यो । मलाई घत पर्‍यो पछि म लामाले प्राध्यापन गर्ने भारतको एक विश्वविद्यालय जवाहरलाल नेहरूमा प्रवेश परीक्षामा उत्तीर्ण भए । तर, घरमा बुवा आमाको औपचारिक शिक्षा थिएन, उहाहरूलाई मैले जागिर नखाएर राजनीति पढ्न थालेको नै मन परेन । छोरो बिग्रने भो भनेर सोच्नुभो । कारण स्वाभाविक थियो, उहाँहरूका साथीहरू र मेरा साथीहरू, १–२ जनाबाहेक, सबैले भने ‘बैंकमा जागिर नखाएर केको राजनीति पढ्न लाग्या ? खुस्क्यो कि क्या हो’ ?

अन्तमा बुबा आमालाई रिझाएर म भारत लागेँ । मलाई भारत स्वयममा के हो बुझ्नु थियो । म त्यहीँ छँदा नेपालमा दोस्रो जनआन्दोलन २०६२–६३ भो । मेरो तर्क थियो दिल्लीमा होइन १२ बुँदे नेपालमा हुनुपर्छ, तर त्यहाँ राजनीतिक परनिर्भरता अन्त्यका कुरासम्म पनि भएन । नेपाली राजनीति संस्कार बदल्ने होइन सत्ता वा सरकार बदल्ने कुरामा नै तल्लिन थियो  । जेएनयुमा म एसडी मुनिलाई प्रमुख अतिथिको रूपमा बोलाइएका कार्यक्रमका निष्कर्षको पक्षमा थिइनँ, मलाई उहाँको वृद्ध आँखाले गरेको नेपाल विश्लेषण सान्दर्भिक नै लाग्दैन थियो, भारत मै पनि उहाँको विचार लागू हुँदैन कारण उहाँ आज पनि सन् १९६०–७० को चस्माले राजनीतिलाई हेर्नुहुन्छ । तपाईं पुरानो पावर नमिल्ने चस्मा लगाएर तीव्र गतिमा गाडी हाक्नु हुन्छ भने दुर्घटना हुन्छ नै, आज नेपाल–भारत सम्बन्ध त्यही दुर्घटनाको सिकार छ । मैले २०६२–६३ मा नेपालको भविष्य नेपाली आँखाले हेर्ने हो भन्ने तर्क राखेँ तर म एक अपवाद भएँ ।

म बुवाले ऋण काढेर पढाए पनि उहाले सोचेको जस्तो जेएनयु पढेको ‘ठूलो मान्छे’ म भइन् पदको लाइन लागिन, टीका पनि थापिन, नीला प्लेटका गाडी पनि चढिन कारण मेरो गन्तव्य त्यो थिएन ।

मैले अन्तराष्ट्रिय सम्बन्धमा अध्यन गरेकोले बिबाह पनि अन्तराष्ट्रिय नै गरे, कम्युनिस्ट राजनीतिकर्मी साथीहरूले यता पहिचान भनेर जातीय घृणाको राजनीति गरिरहँदा मैले सात समुन्द्र पारिकी महिलालाई प्रेमको माला पहिराएँ  र आफूले पनि पहिरिएँ । घरमा २ शिक्षित बेरोजगार भयौं कुनै पार्टीको झन्डा पनि नसमात्ने एनजीओको झोला पनि नबोक्ने भए पछि जागिर पाइने कुरै भएन । त्यसपछि बुवा–आमाको पसिनाको ऋण तिर्न मैले केही वर्ष देश छोड्ने निधो गरें । त्यसमा दुई लाभ थिए एक भाडा नै माझे पनि इमान्दारिताको कमाई हुन्थ्यो अर्को केही हदसम्म बाहिरी विश्व बुझिन्थ्यो मैले त्यही बाटो लिएँ ।

जसरी आफ्नो आत्मसम्मानलाई समर्पण नगरी एक नेपाली खाडीमा मजदुर भएर खटिन्छ म पनि त्यही लाइनमा ३ वर्ष उभिए । सप्ताह अन्तका ३ दिन बेलुका ४ बजेदेखि बिहान ७ बजेसम्म रातको १५ घण्टा टोक्योको एक नामी भट्टी ‘वातामी’ मा काम गरेँ । घरमा पैसा पठाएँ । मैले पैसा पठाएपछि  बुवाले सोध्नु भयो, ‘तँ विदेशमा के काम गर्छस् ?’ मैले ढाँट्न कहिल्यै सिकिन । जे थियो त्यही भनिदिएँ ।’ म भाडा माझ्छु भन्ने कुरा सुनेपछि उहाँको मन कँुडियो । पछिसम्म चित्त दुखाउनु भयो । राजनीति शास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा स्नातक गरेको छोरो भाँडा मोल्छ भन्दा उहाँलाई छोरोको मानसिक अवस्था खराब भयो भन्ने लागेछ । 

मेरो पढाई सकियो । टोकियोकै एक कलेजमा पढाउने काम पाँए । नयाँ काम पाएपछि पनि मैले भाडा मोल्ने काम छाडिन । किनभने मसँग समय थियो । लेक्चर भएँ भन्दैमा समय हुँदा हुँदै त्यसै किन बस्ने ? मैले दुवै काम ३ वर्षसम्म गरिरहेँ । बिदामा आउँदा बुवाले भन्नुभो, ‘गाउँघरमा कलेजमा पढाएको कुरा भन्नु तर भाडा माझेको नभन्नु– तेरो स्वाभिमान उचो होला तर यहाँ त्यसको कुनै मुल्य छैन ।’

म भित्र तीर्थबहादुर श्रेष्ठका कृषि वनस्पतिसम्बन्धी लेखले जरो गाडेका थिए । मैले रेस्टुरामा कमाएको पैसाले टोकियो कृषि तथा प्रबिधि विश्व विद्यालय गएर ग्रामीण विकासमा आधारित कृषिमा स्नातकोत्तर गरे, पीएचडी गरिन मलाई डा. झुन्डाउने रहर थिएन । दुई दुई वटा विषयमा एमए गरेको मान्छेले पिएच डी गर्न छाडेर किन एम ए नै गरेको भन्ने प्रश्नका बाढी पनि झेल्दै गए । मेरो तर्क थियो— यदि राजनीतिका शांस्त्रिय अध्ययन मात्रै गर्ने हो भने त्यसले राज्य र व्यक्तिको सम्बन्धको व्याख्या र पुन: व्याख्या मात्र गर्छ दुवैको आवश्यकता अनुरूपको विकास र व्यवस्थापनको आधुनिक पाटोलाई छँुदैन त्यही तर्कको आधारमा मैले कृषि पढें । त्यही एक तर्कले मलाई जापानबाट थप अध्ययन अनुभवका लागि संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया पुरायो । पूर्ण कृषिमा आधारित आमिश समुदायसँग मिलायो, जो गाडी चड्दैन थिए, ट्राक्टर होइन घोडाले खेत जोथ्ते परिवार नियोजन गर्दैन थे, ८–१० बच्चा–बच्ची पाउँथे, अत्यन्त प्रकृति प्रेमी थिए खुसी थिए । मैले त्यही थलोमा बाख्रा गोठमा व्यावहारिक कृषिको काम गरे, दूध दोए, भकारो सोरें, चीज बनाए– मैले टेबुलको काम होइन भकारो सोर्ने काम अँगाले ताकी भोलि नेपालमा त्यहाँको व्यावहारिक कृषिको प्रयोग गर्न सकियोस् । मैले गाउँले अमेरिकन र तिनका घोडा, गाई, बाख्रासँग आफ्नो अमेरिकी जीवन बिताएर अमेरिका छोडें । साथीहरूले पहिला पनि लेखेका थिए अमेरिका छोड्ने बेलामा पनि सोधे ‘ह्याभ नट अपलाइड फर ग्रीन कार्ड, आर यु ओके ?’

जापानमा आफ्नो पढाइ सकेँ । प्रोफेसरहरुबाट पाएका असाइनमेन्ट पूरा गरेँ । घर फर्किंदा एरपोर्टमा मेरो स्थानीय बसाईको कार्ड अध्यागमनमा बुझाए, उनले सोधे जापानिजमा  ‘दाइजोव देशका’ अर्थात् यो बुझाएर तपाईं ठीकै गर्दै हुनुहुन्छ त् ? फेरि फर्कनु होला, कार्ड राख्नुस्– मैले भने सायद अबका कैयन वर्ष फर्किन्न । मेरो लक्ष्य पूरा भयो अब मलाई जानु छ त्यही जहाँबाट म आएको थिए, यहाँ मैले जुन आथित्यता पाए त्यसको लागि धन्यवाद ।

त्यसको भोलिपल्ट नेपाल आइपुगे यहाँको अध्यागमनमा प्रश्न सोधियो– ‘कहिले फर्कनु हुन्छ’ ? प्रश्नमा भान हुन्त्यो मानौ यो मेरो देश नै होइन, स्वदेश फर्केको ५ वर्ष लाग्यो अझै पनि मानिसहरू सोध्छन्, जापान नजाने ? चारै तिर बर्बाद छ, देश बिग्रेको छ, यहाँ के नै छ र बस्नलाई  ?

म प्रति प्रश्न गर्छु देशबाट केही पाउन हामीले देशलाई के दिएको नै छ र जसरी अमेरिकन र जापानिजले आफ्नो देशका लागि दिएका छन्, गरेका छन् । अनि देश कसरी बिग्रन्छ ? बिग्रने त देशका मान्छे हुन्– देशका ढुंगा, माटो, खोला खहरा हिमाल तराई त बिग्रँदैनन् आफू बिग्रने देश बिगार्ने अनि देश बिग्रेको छ भन्ने ? यहाँ केही हुन्न भन्ने ?, यहाँ केही नगर्ने अनि विदेशमा गएर विदेशीले हासिल गरेको उपलब्धिको तर मार्ने नैतिकता हामीसँग कसरी हुन्छ ?

एक दिन जुन देशबाट म फर्केको थिएँ नेपाल स्थित त्यहीका एक अधिकृतले सोधे– तपाईं किन फर्किनु भो ?

मैले भनेँ ‘जुन रेलमा म चढ्थें, त्यो तिम्रो पूर्खाले तिनको सन्ततिको लागि भनेर बनाएको थिए । मेरो लागि होइन,  तिम्रो देश । तिम्रो पूर्खाले तिम्रो लागि बनाएको थियो । म हरेक पटक रेल चढ्दा तिम्रो पूर्खा र मबीच तुलना गर्थे । अनि तिम्रो भूमिमा म गैरआमन्त्रित पात्र थिए । त्यो मैले अमेरिकामा पनि आत्मसाथ गरेँ । त्यो कारणभन्दा पनि मैले जे सिकेको छु, अनि जति पसिना र ज्ञान ममा बाँकी छ त्यो आगामी पुस्ताको लागि हस्तान्तरण गर्न म स्वदेश फर्किएँ ।

मलाई थाहा छ मेरा सोच र निर्णय सही र सान्दर्भिक नहुन पनि सक्छन् तर म यो समाजको निश्चित विचार र व्यवहारको विपरीत दिशामा हिँडेर पागल कहलिन्छु भने म पागल हुन् स्वीकार छु तर सामाजिक लोकलाज छोप्न आफ्नो स्वाभिमान, विश्वास र निष्ठालाई तिलान्जली दिन सक्दिन । तपाईं पनि मलाई पागल नै भन्नुस, आजभोलि मलाई त्यो शब्द प्यारो लाग्छ । हो, म एक पागल हुँ ।

 

प्रकाशित :असार १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्