रोबोट प्रतियोगिता सम्पन्न

- एकराज सुवेदी

असार १७, २०७३-

‘मुस्ताङ सम्मको यात्रा’, विषयक राष्ट्रिय रोबोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भाग लिने रोबोटहरूले तराईबाट आफ्नो यात्रा सुरु गरेर ‘भण्डार’ पुगेर त्यहाँ भएको एउटा सञ्चार उपकरण तथा नुनको प्याकेट बोके । रोबोट ती दुवै वस्तु लिएर उकालो लाग्दै र त्यसपछि उकालो उक्लेर पुन तल झरेर ‘पोखरा’ भनिएको उपत्यकामा पुगे । त्यहाँ सञ्चार उपकरण राखेर रोबोट हिमालको बाटो लाग्दै ‘टार’मा पुगेका थिए । टारबाट रोबोटले तुइनको माध्यमले मुस्ताङ पुगेर नुनको भारी बिसाउनुपर्ने चुनौती दिइएको थियो । 

प्रतियोगितामा पोखरासम्म प्रतियोगिहरूले रोबोटसँग तारले जोडिएको नियन्त्रण वाकको माध्यमले सञ्चालन गर्न पाए पनि हिमालको बाटो हिँड्दा सञ्चालन गर्ने वाकस रोवोटमै राखेर स्वचालित रूपमा मुस्ताङसम्म पुग्नुपर्ने थियो ।

नेपाली सेना, खेलकुद तथा शारिरीक तालिम केन्द्र, राजदल गण लगनखेलमा सम्पन्न उक्त प्रतियोगितामा ख्वप इन्जिनियरिङ कलेजले पहिलो स्थान प्राप्त गरी रोवोकन एवार्ड प्राप्त गर्‍यो । यस्तै त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल कलेज धरानले दोस्रो स्थानसँगै बेस्ट आइडिया एवार्ड तथा एडभान्स कलेज अफ इन्जिनियरिङले तेस्रो स्थानसँगै बेस्ट इन्जिनियरिङ एवार्ड प्राप्त गरे ।

आयोजकहरूका अनुसार प्रतियोगितामा पहिलो हुने टिमका दुई जना, दोस्रो र तेस्रो हुने टिमका एक/एक जनालाई बैंककमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता ‘एसिया प्यासफिक ब्रोडकास्टिङ युनियन रोबोकन–२०१६’ अवलोकनका लागि आउने–जाने हवाई टिकट प्रदान गरिनेछ ।

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकअन्तर्गत व्यवहारिक अनुसन्धान तथा विकास केन्द्र र रोबोटिक्स क्लबको संयुक्त आयोजनामा सञ्चालित यो प्रतियोगितामा मुलुकभरका विभिन्न इन्जिनियरिङ कलेजका ९ वटा समूहले भाग लिएका थिए ।

 

प्रकाशित :असार १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्