आठ हरफमा टुच्च दिने कवि

- किशोर नेपाल

असार १७, २०७३

उनलाई भगवान्ले भोलि नै बोलाएर कुनै वर दिने प्रस्ताव गरे भने उनले के माग्लान् ? प्रश्नको जवाफ उनी जिस्किँदै दिन्छन्, ‘म त प्रभुसँग वर नमाग्ने । वधू माग्ने । संसारमा खुसी भएर पनि बाँच्न सकिँदो रहेछ भने किन दु:खी हुने ?’ 

यी हुन् विप्लव प्रतीक । कवि हुन् । गीतकार हुन् । यात्री हुन् । पाठक हुन् । पत्रकार हुन् । सबैभन्दा माथि उनी हुन् लो–प्रोफाइल सेलिब्रेटी । त्यसो भए पनि हाई प्रोफाइल कवि र गीतकारको समाजमा उनको निकै प्रतिष्ठा छ । मान्छे रमाइला छन् । पुखला । वस्ताद छन् आँखाको अभिनयमा । उनी जे देखिन्छन् त्यो हुँदै होइनन् । प्रेमिल छन् । आफूलाई निठुरी देखाउन उत्तिकै माहिर छन् । उनी आकाशको बादलसरि बहकिएर कविता लेख्दैनन् । उनी अरूले बोलेको भन्दा भिन्न पाराले शब्दहरू ‘टुच्च’ दिन्छन् र लेख्छन् कविता । कविता लेख्न कि उनी आफैं कसैसँग प्रेममा फसेको हुनुपर्छ, कि उनको ह्दय रेटिएकै हुनुपर्छ । त्यत्तिकै त गीत पनि फुर्दैन र कविता पनि लेखिँदैन । 

उनका लागि कविता औषधि हो, वनस्पतिजस्तै । मानिसका वेदना र खुसीको औषधि । उनी चाहन्छन्, यो औषधिको प्रयोग व्यापक होस् । उनका लागि कविता आनन्द हो, रमाइलो हो, आवश्यकता हो र बाध्यता हो । ‘आनन्द मात्र कसरी भनौं म कवितालाई ?’ उनी अलिकति गम्भीर हुन्छन् र भन्छन्, ‘कविता मेरा लागि चुनौती हो । मनमा कविताको थिम तयार हुन्छ । ल अब यो कविताका कारण मलाई दुनियाँले चिन्ने भयो भन्ने लाग्छ । त्यसपछि फ्यास्स हुन्छ । भएन त अब सर्वनाश ?’ 

फत्तेमान, दीप श्रेष्ठ, किरण प्रधान, अभया एन्ड दि स्टिम इन्जन्स, सुचेता रोय, मनिला सोताङ, नीलम श्रेष्ठ, सत्यराज आचार्य, बबिन प्रधान, दिपेश किशोर भट्टराई.... धेरै लोकप्रिय गायकहरूले विप्लवका गीत गाएका छन् । मूलधारका तर अलिकति मौलिक पहिचान बोकेका गायक तथा संगीतकारहरूले उनका शब्द खोज्ने गरेका छन् । 

विप्लवको भनाइ छ, ‘कविता लेख्न जान्नु मात्र कवि हुनु होइन । आफ्ना स्वभावहरूलाई ‘ट्रान्सफर्म’ नगरेसम्म, शब्दहरू जतिसुकै राम्रा र मीठा भए पनि ती कविता हुँदैनन् । कविले आफ्नो स्वभाव ट्रान्सफर्म गर्न सक्यो भने जीवनमा सबै कुरा कविता बन्छ । हाम्रोमा जो लोभी छ उसैले कविता लेख्छ, ‘लोभ गर्न हुँदैन ।’ जीवनसँग जसको गुनासा नै गुनासा छन्, त्यसले कसरी गाउन सक्छ जीवनको गीत ?

उनी अर्थात् विप्लव कक्षा दससम्म विप्लवकुमार प्रतीक थिए । त्यसपछि आफ्नो नामबाट कुमार शब्द सुविधाजनक हिसाबले निकालेर फ्याँकिदिए । प्रतीक भन्ने कुनै थर होइन, थर उनी लेख्दैनन् । उनका बा कृष्णप्रसाद सर्वहाराले पनि कहिल्यै थर लेखेनन् । यो एउटै कुरामा उनी र उनका बामा समानता छ । अरू कुनै कुरामा पनि उनी बाभन्दा फरक छन् । बा कट्टर कम्युनिस्ट भन्थे आफूलाई । डा. रायमाझीको नेतृत्व र उनको पार्टीप्रति समर्पित भए उनी । सधैं विश्वास र भरोसा राखे रायमाझीप्रति । जीवनको उत्तराद्र्धमा उनको विश्वास पनि टुट्यो । उनले रायमाझीको झन्डा बिसाए । नेपाल कम्युनिस्ट पार्टी (तुलसीलाल) मा लागे । त्यतिबेला स्वयं तुलसीलाल एमालेमा पसिसकेका थिए । विप्लव आफ्नो बाको वेतुकको राजनीति सम्झेर मरी–मरी हाँस्छन् र भन्छन्– बूढाले मलाई बीपी कोइरालाको सर्वाधिक पपुलर साहित्यिक कृतिहरूसमेत पढ्न प्रतिबन्ध लगाएका थिए । यही कुरामा झगडा पथ्र्यो बाबुसँग । यस्तैमा एक रात बाबुसँग झगडा गरेर घरबाट निस्किएका विप्लव फेरि त्यो घर पसेनन् । 

साह्रै भौतिक विपन्नतामा बित्यो उनको बाल्यकाल । स्कुलसमेत नियमित पढ्न पाएनन् । एउटा स्कुलबाट अर्को, यताबाट उता र उताबाट अर्कैतिर । २०३१ मा एसएलसी पास गरेका विप्लवले वल्लतल्ल २०३८ सालमा कलेज लेभल पार गरे । उनी सोह्र वर्षको हुँदा उनका बा र आमा अलग भए । सोह्र वर्षको केटाले त्यो कुरा मन पराएन । उसले बुझ्यो, अब परिवारमा विखण्डन सुरु भयो । उनी पढ्न छाडेर कमाउन लागे । टोल छिमेकमा ‘आमाले छाडेको केटो’ सहानुभूति चारैतिरबाट बर्सिन्थ्यो । तीखो काँढाले घोचेजस्ता शब्दहरू । ती क्षणहरूमा विप्लवको मनमा उम्लिएको क्षोभले उनको दिमागमा कविताको भावनात्मक जग बसाल्यो । यही जगमा टेकेर उनी बिस्तारै कविका रूपमा रूपान्तरित हुँदै गए । उनको विपन्नता अहिले अनेक सोखमा बदलिएको छ, गुच्ची र भर्साजेका पफ्र्युम लगाउने चस्का लागेको छ । टिपटप भएर हिँड्छन् उनी । झोला काँधमा नबोकी कवि हुन सकिँदैन भन्नेमा उनको विश्वास छैन । उनी सबै कविका बारेमा त होइन, त्यस्ता कविका वारेमा टिप्पणी गर्छन् जो– ‘तिम्रो आँखाको त्यो गाजल’आज बजाउँछु म मादल’ जस्ता कविता लेख्छन् । ‘तपाईं नै भन्नु होस्, यो पनि कविता हुन्छ र ?’

काम अनेक गरे उनले । ‘हिमाल’ मा लामै समयसम्म अर्थात् झन्डै पन्ध्र वर्ष काम गरे । तेस्रोलिंगीहरूको संस्था ब्लु डायमन्ड सोसाइटीको पत्रिका पनि चलाइदिए । विज्ञापन एजेन्सीमा पनि काम गरे । विभिन्न समूहसँग जोडिए । काम गर्न थालेपछि भने धेरै दु:ख पाएनन । एक हिसाबले उनी ‘अन्जान अभिनेता’ को भूमिकामा अहिले पनि सांस्कृतिक–सामाजिक कार्यक्रमहरूको पृष्ठभूमिमा देखा पर्ने गरेका छन् ।

मानिस गम्भीर देखिन्छन्, तर मुक्त हिसाबले रमाइला छन् । प्रेम पनि गरे, प्रेमको अभिनय पनि गरे । उनले प्रेम गरेका र प्रेमको अभिनय गरेका कसैले पनि उनलाई दु:ख दिएनन् । विप्लव भन्छन्– ‘चराचरमा जम्मा दुई जाति छन् : भाले र पोथी । पोथी जहिल्यै पनि सृष्टिकर्ता हो । भाले जाबो त के हो र ? फुत्त–फुत्त चल्छ र हिंडिदिन्छ । उनीहरूसँगको संगतले मैले धेरै प्रेरणा पाएको छु । धेरै प्रेम र धेरै विषयलाई अभ्वाइड गरेका छन् उनले जीवनमा । तीन जनासँग एकै पटक प्रेम गर्दा सन्तुलन बिग्रन्छ भन्छन् । 

हो त, उनी अमेरिका पनि भासिए । पाँच वर्ष उतै हराए । ‘मरेर लागेको भए त ग्रिनकार्ड पाइन्थ्यो होला । धरोधर्म म त्यतातिर लागिन । मैले त अमेरिका त्यति विशाल होला भन्ने सोचेको पनि थिइनँ । आकाश त एउटै हो तर हाम्रो आकाश र तिनको आकाशमा जमिन–आकाशकै फरक छ । यो आकाश, हाम्रो आकाश, टुपुक्क मिलेको छ । यहाँ तीन पेग ह्विस्की खाएर पन्ध्र पेगको दु:ख बेहोर्नु पर्दैन । 

विप्लवका लागि जीवन एक लाख शब्दको उपन्यास पनि हो र आठ हरफको कविता पनि ।

प्रकाशित :असार १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्