कस्ता छन् प्लस टुका पाठ्यक्रम

- शिव मुखिया

असार १६, २०७३-
नेपाली शिक्षाको सन्दर्भमा कुरा गर्दा धेरैले तीतो टिप्पणी गर्छन्– हाम्रो शिक्षाले दक्षता र सीप होइन प्रमाणपत्र मात्र दिन्छ । पुरातन ढर्राको पाठ्यक्रम एवं अव्यवहारिक शिक्षा प्रणालीले काँचुली फेर्न नसकेको कुरा बेलाबखत बहसको विषय बन्ने गरेको छ । 

‘करियरको प्रवेश बिन्दु’ भनिने प्लस टु शिक्षासमेत वैज्ञानिक र व्यवहारिक हुन नसकेको विज्ञहरूको ठहर छ । जबकि यसअन्तर्गत ऐच्छिक विषयसमेत गरेर १ सय ६९ विषय पठनपाठन हुन्छन् । कक्षा ११ र १२ मात्र यति धेरै विषय समेटिए पनि त्यसले अपेक्षित नतिजा दिन सकेको छैन । यसका पछाडि पाठ्यक्रम कमजोर हो कि हाम्रो शिक्षा प्रणाली ? यसमा हामी अझै बहसकै चरणमा छौं । ‘त्यो हाम्रो सरोकारको विषय होइन,’ उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत पाठ्यक्रम तथा प्रशिक्षण विभागका प्रमुख जंगबहादुर अर्याल भन्छन्– ‘किनभने हाम्रो काम भनेको पाठ्यक्रम बनाउनु र परिमार्जन गर्नु मात्र हो ।’ उनको दाबी छ– हामीले समयसापेक्ष पाठ्यक्रम ल्याइरहेका छौं र त्यो व्यवहारिक पनि छ । 

हरेक वर्ष नयाँ पाठ्यक्रम थपिने र परिमार्जन हुने क्रम यथावत् रहेको अर्यालले बताए । अर्याल भन्छन्– हामीले बजारको मागअनुसार पाठ्यक्रम अपडेट गरिरहेका छौं । खासगरी विश्व रोजगार बजारको माग र मुलुकको अवस्थालाई आधार बनाएर प्लस टुको पाठ्यक्रम विकास गरिएको अर्यालको तर्क छ । 
अधिकांश पाठ्यक्रम बर्सेनि अपडेट गरिरहेको र थप नयाँ पाठ्यक्रम विकास गरिएको बताउँदै अर्याल भन्छन्— हामी नयाँ पाठ्यक्रम विकास गरेर मन्त्रालयमा पठाइरहेका छौं । त्यहाँबाट स्वीकृत भएर आएपछि त्यो कक्षाकोठामा पुग्छ । 

त्यसो त प्लस टुमा विषय छनौटका लागि खुम्चनुपर्ने अवस्था छैन । आफ्नो इच्छाअनुसार कुनै पनि विषय छानी–छानी पढ्न पाइन्छ । मार्केटिङ, सोसल स्टडिज, प्राक्टिस टिचिङ, जेन्डर स्टडिज, फुड एन्ड न्युट्रिसन, रुरल डेभलपमेन्ट, जनरल ल, केमेस्ट्री एजुकेसन, इन्भाइरोमेन्ट एजुकेसन, चाइल्ड डेभलोपमेन्ट एन्ड लर्निङजस्ता डेढ सयजति ऐच्छिक विषय प्लस टुमा समावेश छन् । यद्यपि वर्षौं अघि विकास गरिएको कतिपय विषय अहिले पनि प्लस टुबाट हटेको वा परिमार्जित नभएको विज्ञहरूको गुनासो छ । 

यसवर्ष मात्र उच्च माध्यमिक शिक्षा परिषद्ले तीनवटा ऐच्छिक विषयको पाठ्यक्रम विकास गरेको छ, जसमा बौद्ध शिक्षा, नेपाल स्टडिज र केयर गिभर छन् । नेपालका सम्बन्धमा अध्ययन गर्न चाहनेका निम्ति नेपाल स्टडिज र विश्व रोजगार बजारको मागलाई मध्यनजर गरेर केयर गिभर पाठ्यक्रम विकास गरिएको बताइन्छ । अब खेलकुदमा लाग्न चाहनेका लागि पनि प्लस टु शिक्षा उपयोगी सावित हुनेछन् । खेलकुदमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्न छुट्टै स्पोर्ट्स साइन्सको पाठ्यक्रम विकास गरिएको छ । 

गत वर्ष कक्षा ११ र १२ का लागि आमसञ्चार र पत्रकारिता, स्वास्थ्य र शारीरिक शिक्षा, जनसंख्या, अर्थशास्त्रजस्ता विषय परिमार्जन गरिएको थियो । पछिल्लो समय प्लस टुको पाठ्यक्रम विकास गर्दा व्यवहारिक एवं प्रयोगात्मकलाई जोड दिइएको अर्याल बताउँछन् । अर्याल भन्छन्– प्लस टु उत्तीर्ण भएसँगै विद्यार्थीमा कुनै न कुनै दक्षता हासिल होस् भन्ने हाम्रो उदेश्य हो । त्यही अनुसार पाठ्यक्रमहरू तयार गरिएका छन् । प्लस टुले पाठ्यक्रममा समयसापेक्ष परिवर्तन गर्दै लगेको नोबेल एकेडेमीका प्लस टु संयोजक उत्तम भौकाजी बताउँछन् । प्लस टुले अन्तर्राष्ट्रिय शिक्षासँग जोड्ने पाठ्यक्रम विकास गरिहेको बताउँदै भौकाजीले साप्ताहिकसँग भने– त्यसैले हाम्रो प्लस टुको पाठ्यक्रम चुस्त र व्यवहारिक छ । त्यसले प्रविणता प्रमाणपत्र तहमा जस्तो वर्षांैैदेखि एकै ढर्राको विषय पढ्नुपर्ने बाध्यताबाट हामीलाई मुक्ति दिएको छ । 

प्लस टुमा विद्यार्थीले सिटिइभिटीमा जस्तै प्राविधिक विषयहरू पनि पढ्न पाउनेछन् । परिषद्ले २४ वटा प्राविधिक विषयको विकास गरेको छ । यसमा सिभिल इन्जिनियर, वनस्पति विज्ञान, जीव विज्ञानजस्ता विषयहरू समावेश छन् । यसबाट कक्षा ९ र १० मा प्राविधिक विषय लिएर अध्ययन गरेकाहरूले प्लस टुमा आफूलाई थप निखार्ने अवसर पाउनेछन् । प्लस टु पछि सोझै रोजगार बजारमा जान चाहनेका लागि यी विषयहरू उपयोगी हुन सक्छन् । यसरी प्लस टुमा प्राविधिक विषय लिएर अध्ययन गरेकाहरूले घरजग्गा नाप्ने, विद्युतीय काम गर्न सक्ने जस्ता दक्षता हासिल गर्छन् । 

अहिले प्लस टुलाई पनि विद्यालय शिक्षामा समायोजन गर्ने चर्चा छ । यस्तो अवस्थामा ९ देखि १२ सम्मका लागि माध्यमिक शिक्षाको एकीकृत पाठ्यक्रम विकास गरिनेछ, तर त्यो प्रक्रियाले कार्यान्वयनको चरणमै प्रवेश गरेको छैन । अर्याल भन्छन्– पहिले विधेयक आउनुपर्छ, नीति नियम बन्नुपर्छ त्यसैबाट निर्देशित भएर पाठ्यक्रम तयार गरिने हो । यद्यपि अहिलेकै पाठ्यक्रममा पनि प्लस टु र विद्यालयबीच खासै ठूलो खाडल छैन ।

प्रकाशित :असार १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्