Teej banner

बाबु-छोरा

- सुबिन भट्टराई

असार १२, २०७३

 

बुवा, म पनि भोलि स्कुलमा दौड प्रतियोगितामा भाग लिन्छु ।’

छोराको कुरा सुनेर बाबु सोचमग्न भए— धूलो, धूवाँ र गर्मीको वातावरण छ । छोरा भर्खरै क्यान्सरको उपचारबाट ठीक हुँदैछ । स्वास्थ्य सबल बनाउन स–साना कुरामा ध्यान पुर्‍याउनु छ । 

छोरा फेरि भन्छ, ‘म दौडन्छु र जित्छु ।’ ‘हुन्छ छोरा,’ बाबुले छोरालाई बोक्दै भने, ‘तिमी भोलि कुद्नेछौ ।’

भोलिपल्ट उसका बाबु दर्शकदीर्घाको पहिलो पंक्तिमा बसेका छन् । स्पोर्ट्स डेको वातावरण । धेरै अभिभावकहरू उपस्थित छन् । यता ति बालकका बुबा छोराले जित्ला कि हार्ला भनेर चिन्तित छैनन् । उनी चिन्तित छन्, छोराले कतिसम्म कुद्ला ? अचानक केही भैदियो भने ? भन्ने भय उनमा छ । 

छोरा अरू प्रतिस्पर्धीहरूको लाइनमा छ । एकदमै हँसिलो छ । साथीहरूसित बोलिरहेको छ । ताली पनि पड्काइरहेको छ । 

एकातिर छोराले त्यस्तो अवस्थामा दौडमा भाग लिन्छु भनेर हिम्मत देखायो, उनको छाती गर्वले फुलेको छ । अर्कातिर मनस्थिति चिन्तित छ । उनलाई लागेको छ– छोराले दौड पूरा सक्नेछैन । प्रतिस्पर्धीहरूलाई एउटा सेतो लाइननजिकै मिलाएर राखियो । एकपल्ट बाबु–आमातिर हेर्‍यो । बाबु–आमा दुवैले हात हल्लाए । उसले पनि हात हल्लायो । 

सिट्ठी बज्यो । अरू केटाहरू दौडन थाले आ–आफ्नो रफ्तारमा । ऊ बिस्तारै दौडियो र तीन कदममै लड्यो । 

बाबु–आमा दुवै बसिरहेको सिटबाट जुरुक्क उठे । आत्तिएर मैदानमै जान आँट्दै थिए उनीहरू, तर उनीहरूले देखे— छोरो फेरि उभिन खोजिरहेथ्यो । ऊ उभियो पनि र दगुर्न थाल्यो ।

अरू बालकहरू ऊभन्दा धेरै अगाडि पुगिसकेका थिए । ऊ बल लगाएर दौडन खोजिरहेथ्यो तर यसपालि ऊ अझ नराम्रोसँग पछारियो, तर यसपालि उसले अघिजस्तो समय लगाएन तत्काल उठी हाल्यो । उसका बुवाले आमाको अनुहारमा हेरे । उनका आँखाबाट आँसु बगिरहेका थिए । सनग्लास झिकेर उनले आँसु पुछिन् । 

ऊ दौडिरहेको थियो । सबैले दौड पूरा गरिसकेका थिए । ऊ आधामा थियो । रफ्तार एकदमै कम भैसकेको थियो, तर उसले दौडन छाडेन । सबै जना उसलाई ध्यानपूर्वक हेरिरहेका थिए । सबैलाई थाहा थियो उसको स्वास्थ्यका बारेमा । जसै उसले दौड पूरा गर्ने लाइन क्रस गर्‍यो, सबै उसको समर्थनमा चिच्याए । उसका साथीहरू, अभिभावकहरू, शिक्षकहरू, प्रिन्सिपल र अरु प्रतिस्पर्धीहरू पनि ।  उसका बाबु छोराको अवस्था जान्न छिटोछिटो अगाडि बढिरहेका थिए । छोराले दौड जितेन, ऊ दु:खी भएको हुँदो हो, यस्तै सोचिरहेथे उनी, तर छोराले बाबुका आँखामा आँखा जुधाउँदै आँखा झिम्क्याइदियो र बूढी औँला देखायो ।

त्यस दिन बाबुले आफूलाई छोरासित तुलना गरे । उनले छोराका अगाडि आफूलाई सानो कदको महसुस गरे । क्यान्सरले ग्रस्त, केमो दिँदादिँदा गलिसकेको बालक, जो कमजोर थियो, ऊ एउटा प्रतियोगितामा भाग लिई दुईपल्ट लडेर पनि दौड पूरा गर्छ र बाबुका आँखामा आँखा जुधाएर आँखा झिम्क्याउँछ । बाबुले ठूलो कुरा सिके । जिन्दगी भनेको अन्तिमसम्म अडिइरहनु, टिकिरहनु रै’छ । हारेर मैदान छोडेर भाग्नु जीवन होइन । तिम्रा गोडाहरू जति काँपून्, तिमी जति घाइते होऊ, तिमीले घिस्रिनुपर्छ र जुरुक्क उठेर पाइला चाल्नुपर्छ । 

घर पुगेपछि छोराले बाबुलाई अंकमाल गरे । बाबु भावुक भएर चिसा आँखा लिएर बसिरहेका थिए । ‘तिमीले राम्रो खेल्यौ छोरा,’ बाबुले भने, ‘यसरी लडेर पनि उठेर दौड पूरा गर्ने मान्छे मैले देखेकै थिइँन ।’

‘बुवा,’ छोराले भन्यो, ‘दौड पूरा भएपछि मेरा साथीहरू रोइरहेका थिए, म प्रथम हुन सकिनँ भन्दै, तर मैले उनीहरूलाई भनेँ— ठीक छ यार ! कम्तीमा हामीले भाग त लियौँ । मजा त भयो । साथीहरू भन्दै थिए, म दुईचोटी लडेर लास्ट भएँ । मैले के भनेँ थाहा छ ? मैले दौड पूरा त गरेँ । के यो राम्रो कुरा होइन ?’

ऊ एक वर्षअघि, स्वस्थ्य भएका बेला फस्ट भइनँ भनेर रुने केटो । रोग लागेर उपचारका दौरान आफ्नो बाबुभन्दा परिपक्व भएको थियो । यो बलिउड अभिनेता इमरान हासमी र उनको छोराको एउटा सानो प्रसङ्ग हो, ‘द किस अफलाइफ’ शीर्षकको पुस्तकमा लेखिएको अंश । 

हामी सिक्न सक्छौँ, अन्तिम अवस्थासम्म पनि हामीले हिम्मत हार्नु हुँदैन । चाहे फस्ट होऊँ, चाहे लास्ट होऊँ, मैदानबाट भाग्नु हुँदैन । हिम्मत हार्नु चैँ साँच्चै हार्नु हो ।

प्रकाशित :असार १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्