थानेश्वरका भिडियोमा दुईको संयोग

- साप्ताहिक संवाददाता

असार १०, २०७३

गजल शैलीका गीत गाएर चर्चामा आएका संगीतकर्मी थानेश्वर गौतमका दुई नयाँ गीतका म्युजिक भिडियोहरु एकै साथ सार्वजनिक भएका छन् । नायिका रेखा थापाको पछिल्लो चलचित्र ‘रामप्यारी’मा संगीत दिएपछि चर्चामा आएका यी गायक तथा संगीतकार गजल तथा शास्त्रिय मिश्रण गरिएका आधुनिक गीतहरुको सिर्जना गर्नुका साथै गायनमा पनि स्थापित भैसकेका छन् ।

यतिबेला थानेश्वरले आफ्ना दुई म्युजिक भिडियो एकैसाथ सार्वजनिक गरेका छन् । संयोग के छ भने ती दुवै गीतमा नायिका नीता ढुंगानाले अभिनय गरेकी छिन् । सुव्रत आचार्यद्वारा निर्देशित ती दुवै म्युजिक भिडियोका छायांकार अर्जुन तिवारी हुन् भने दुबै भिडियोलाई भरत रेग्मीले नै सम्पादन गरेका छन् ।

थानेश्वर गौतमकै स्वर तथा संगीतमा तयार पारिएका यी दुई मध्ये ‘सिन्दुर लाउने हौली...’ गीतका रचनाकार छवी चालिसे हुन् । गीतकार चालिसे आफैंले यो गीतको म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । उपकार घमालले उनलाई अभिनयमा साथ दिएका छन् ।

‘मोल हो कि अनमोल हो...’ गीतमा रचनाकार हस्त गौतम ‘मृदुल’ हुन् । यो गीतमा गायक तथा संगीतकार गौतमलाई गायिका सरु गौतमले गायनमा साथ दिएकी छिन् । उक्त गीतको म्युजिक भिडियोमा नायिका नीता ढुंगानाले मोडल सविन लामासंग रोमान्स गरेकी छिन् । दुबै गीतलाई रञ्जना म्युजिकले रिलिज गरेको हो ।

दुवै म्युजिक भिडियोका लिंकहरु

सिन्दुर लाउने हौली माया

मोल हो कि अनमोल हो

प्रकाशित :असार १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्