अझै ४ हजार डाक्टर नक्कली निस्कन सक्छन्

- अश्विनी/विदुर

असार १०, २०७३

  नारायणप्रसाद कोइराला, सदस्य सचिव उच्च माध्यमिक शिक्षा परिषद् 

गएको साता शिक्षा क्षेत्र तीन कारणले चर्चामा आयो । प्रथम, एसएलसी परीक्षाको नयाँ खालको परिणाम । दोस्रो, आउँदो वर्षदेखि एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद परीक्षा बोर्ड हटेर राष्ट्रिय परीक्षा बोर्ड गठन हुने भएको छ । तेस्रो, गएको साता बिरामी जाँचिरहेका दर्जनौं डाक्टर नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ परे । रमाइलो कुरा, यी तीनवटै काममा उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायणप्रसाद कोइरालाले प्रमुख भूमिका खेलेका थिए । सधैं शक्तिकेन्द्रमा रहेका कोइरालासँग साप्ताहिकले यिनै तीन विषयलाई केन्द्रमा राखेर लामो कुराकानी गरेको थियो ।     

एसएलसी परीक्षामा ग्रेडिङ प्रणाली प्रारम्भ भएको छ । नयाँ भएका कारण अन्यौलको अवस्था आएको हो कि ग्रेडिङ प्रणालीको जटिलताका कारण ?

सुरुमै के स्पष्ट पारौं भने नयाँ कुरा भएकाले विद्यार्थी, शिक्षक र अभिभावकलाई केही अन्यौल हुन सक्छ । हामी आफैं पनि पहिलो पटक ग्रेडिङ प्रणालीमा गएकाले केही कमी–कमजोरी भए होलान्, तर संसारका विकसित देशमा भएको प्राक्टिस र ग्रेडिङले दिएको परिणामका आधारमा के दाबी गर्न सकिन्छ भने यो परीक्षा प्रणाली निकै राम्रो छ । हामीले निकै सरल तरिकाले यसको व्याख्या गरेका छौं र यसमा धेरै चिन्तित हुने कुनै कारण छैन । अलिकति बुझ्ने प्रयास गरियो भने यसमा जटिलता छैन । 

खासमा यो परीक्षा प्रणालीले गर्न खोजेको चाहिँ के हो ?

संसारमा कोही पनि फेल हुँदैनन् । हरेक विद्यार्थीमा आ–आफ्नै किसिमको क्षमता–प्रतिभा हुन्छ । जुन व्यक्ति जुन प्रतिभा लिएर जन्मिएको छ उसले त्यही विषय लिएर उच्च शिक्षा अध्ययन गर्नुपर्छ । स्कुले जीवनमै उसलाई फेल र पास भनियो भने उसको भविष्य कस्तो हुन्छ ? यो विचारणीय प्रश्न हो । यो परीक्षा प्रणालीले स्पष्ट रूपमा तिमीभित्र यो प्रतिभा छ, तिमी यो विषय पढ अनि जुन विषयमा कमजोर छौ त्यो विषय छाड भनेर संकेत गरेको हो । 

अब कोही अनुतीर्ण हुँदैनन् ?

हुँदैनन् । यो परीक्षाले कुन विद्यार्थीको के राम्रो छ भन्ने कुरा जाँच गर्छ । यसले विद्यार्थीलाई उसको राम्रो पक्ष देखाइदिएको छ । नराम्रो पक्ष विद्यार्थीले थाहा नपाउन् भन्ने नै यसको अभिप्राय हो । अब पहिलेको जस्तो म एसएलसी फेल भएँ, मेरो भविष्य खत्तम भयो भन्ने सोच्नु पर्दैन । 

त्यसो भए ‘डी’ र ‘इ’ ग्रेडिङ आउने विद्यार्थीलाई के भन्ने ?

उनीहरू प्रतिभा नभएका विद्यार्थी हुन् भन्ने अर्थ लगाउन मिल्दैन । ‘डी’ र ‘इ’ ल्याएका विद्यार्थीहरूलाई के संकेत गर्न खोजिएको हो भने उनीहरू फेल भएका होइनन्, उनीहरू केवल स्कुले पढाइमा रमाउन सकेनन् । उनीहरू सैद्धान्तिकभन्दा पनि प्राविधिक शिक्षाका लागि उपयुक्त पात्र हुन् भन्ने बुझ्नुपर्छ ।  यस्ता विद्यार्थी सिटिइभिटीका कलेजहरूमा भर्ना हुन पाउँछन् । यो परीक्षा प्रणालीले कसैलाई पनि कलेज भर्ना हुनबाट रोकेको छैन । 

त्यसो भए मौका परीक्षाको व्यवस्थाचाहिँ किन गर्नुभएको ?

कसैलाई आफ्नो ग्रेडिङ चित्त नबुझ्न सक्छ । आफ्नो रुचिको विषयमा अझै राम्रो गरौं भन्ने लाग्न सक्छ, त्यस्ता व्यक्तिका लागि दुई विषयसम्म मौका परीक्षा दिन सक्ने अवसर प्रदान गरिएको हो । हरेक विद्यार्थीले आफ्नो प्रतिभा केमा छ भनेर बुझ्न पनि मौका परीक्षा दिनुपर्ने हुन सक्छ । हामीले कसैलाई फेल भनेका छैनौं तर कुनै विद्यार्थी धेरै विषयमा कमजोर छ तर फेरि पनि प्राविधिक विषय पढ्न चाहँदैन भने अर्को वर्ष परीक्षाको मौका दिनुपर्छ भनेर हामीले परीक्षामा धेरै फेरबदल गरेका छैनौं । कुनै पनि व्यक्तिलाई म यो स्तरको व्यक्ति हुँ, मेरा लागि यो विषय ठीक छ भन्ने कुरा भित्री मनदेखि नै महसुस गराएर उच्च शिक्षामा लानुपर्छ भन्ने यसको उद्देश्य हो । 

राष्ट्रिय परीक्षा बोर्ड गठन गर्ने निर्णय गरेको छ । एसएलसीमा ग्रेडिङ सुरु हुनु र नयाँ परीक्षा बोर्ड गठन हुनुले निजी विद्यालयहरू आत्तिएका छन्, के भन्नुहुन्छ ?

नेपाली प्लस टु शिक्षालाई निजी क्षेत्रले राम्रो उचाइमा पुर्‍याएको हो । सरकारले उहाँहरूको उच्च कदर गर्छ । ग्रेडिङ सिस्टमले निजी प्लस टुहरूलाई केही फरक पार्दैन, किनभने उहाँहरूले हिजो पनि राम्रो विद्यार्थी लिने प्रयास गर्नुहुन्थ्यो, अहिले पनि त्यो गर्नुहुन्छ । परीक्षामा कोही पनि फेल नभएका कारण सिटिइभिटीले पनि विद्यार्थी पाउँछ, निजी क्षेत्रका कलेजहरूलाई पनि विद्यार्थीको अभाव हुँदैन । यसमा कुनै समस्यै भएन । समस्या नयाँ परीक्षा बोर्डको स्थापना भएपछि सुरु हुन सक्छ भन्ने उहाँहरूको बुझाइ हो भने त्यो गलत पनि होइन, तर नयाँ परीक्षा बोर्डअनुसार काम गर्न सरकारले उहाँहरूलाई पर्याप्त समय दिन्छ । कति वर्ष भन्ने प्रश्नै छैन, दुई–चार–पाँच वर्षको समय दिन्छ । अब उहाँहरूले पनि नयाँ नियममा जान आफूलाई तयार गर्दै जानुपर्छ । 

राष्ट्रिय परीक्षा बोर्डको स्थापनापछि विद्यालय शिक्षामा कसरी परिवर्तन आउँछ ? त्यो बेला निजी विद्यालयहरूले कस्तो उपाय अपनाउने ?

अब एसएलसी परीक्षा क्षेत्रीय परीक्षामा मात्र सीमित हुन्छ । आजको दिनसम्म हामीले एसएलसीलाई महत्वपूर्ण परीक्षा मान्दै आएका थियौं । अब त्यो कम हुन्छ । स्कुले परीक्षा भनेको १२ कक्षा नै हो । १२ मा पुगेपछि मात्र विद्यालय शिक्षा पूरा हुन्छ । यसका लागि सानो उदाहरण दिएर बुझाउने प्रयास गर्छु । एउटा सानो क्षेत्रमा प्राथमिक विद्यालय हुन्छ । अलि ठूलो क्षेत्रका लागि निम्न माध्यमिक विद्यालय तोकिन्छ । यो कक्षा ८ सम्म हुन्छ । ९ देखि १२ सम्म माध्यमिक विद्यालय हुन्छ । यसलाई अलि फराकिलो क्षेत्रमा राखिन्छ । यसको बोर्ड परीक्षा भएपछि बल्ल विद्यालय शिक्षा पूरा हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा, अब सबै तहमा अहिलेको एसएलसीजस्तै ग्रेडिङ सिस्टममा रिजल्ट हुन्छ । यसपालि प्लस टु दिनेहरू पनि ग्रेडिङ सिस्टममा आउँछन् । 

राष्ट्रिय परीक्षा बोर्ड गठन भएपछि पुराना प्रमाणपत्रको अवस्था के हुन्छ ? मानौं कसैको पुरानो सर्टिफिकेट हरायो रे । उसले नयाँ पाउने सर्टिफिकेट कस्तो हुन्छ ?

पुरानो सर्टिफिकेट हराए पनि उसको रेकर्ड हामीसँग छ । उसले पुरानै सर्टिफिकेटको प्रतिलिपि पाउँछ । पुरानो कुरामा धेरै परिवर्तन हुँदैन । केवल नयाँ सर्टिफिकेट नयाँ तरिकाले लागू हुन्छन् । हामी कतिसम्म तयारी अवस्थामा छौं भने नयाँ परीक्षा बोर्ड गठन हुँदा पनि पुराना परीक्षा बोर्डले गर्ने कुनै पनि काम रोक्दैनौं । अहिले दैनिक ५ सय सर्टिफिकेट बनिरहेका छन्, उनीहरूलाई नयाँ सिस्टम 

लागू भयो भनेर हामी १५ मिनेट पनि रोक्दैनौं । 

सर्टिफिकेटकै कुरा गर्दा अहिले डाक्टरहरू नक्कली सर्टिफिकेट काण्डमा मुछिएका छन् । दर्जनौ पक्राउ परेका छन् । खासमा उनीहरू कसरी नक्कली डाक्टर भए ?

सर्टिफिकेट छानबिनमा सुरुदेखि नै मेरो संलग्नता थियो, जसले भारतका विभिन्न कलेजको सर्टिफिकेट पेस गरेर आफू डाक्टर भएको बताएका छन्, ती कलेजहरूमा हामीले प्रहरी र मेडिकल काउन्सिलका वरिष्ठ व्यक्तिहरूलाई उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी बनाएर पठाएका थियौं । किनभने विदेशी विश्वविद्यालयले हामीलाई मात्र उनीहरूको गोप्य डाटा सेन्टरमा प्रवेश दिन्छन् । वर्षौं लगाएर, करोडौं खर्च गरेर नक्कली प्रमाणपत्रधारीका बारेमा सूचना संंकलन गरिएको हो । अहिले जो–जो पक्राउ परे, उनीहरू नक्कली प्रमाणपत्रधारी नै हुन्, त्यसमा शंका नगरे हुन्छ । कसको कुन सर्टिफिकेट नक्कली, उनीहरूले गरेको नक्कली काम के–के हुन् भन्ने कुरा मात्र फरक–फरक छ । कतिपयले यति ठूलो अपराध गरेका छन् कि त्यसको लेखाजोखा गर्दा पनि छक्क परिन्छ । राज्यलाई कसरी हेपिएको छ, यहाँ जे गरे पनि हुन्छ भन्ने सोच कसरी मौलाएको छ भन्ने कुरा यही काण्डलाई ध्यान दिएर हेर्दा पनि पुष्टि हुन्छ । 

केही उदाहरण दिन सकिन्छ ?

कतिपय पटक–पटक एसएलसी फेल भएका छन् । यसरी फेल भएपछि भारतका स्कुलबाट परीक्षा दिएर उच्च श्रेणीमा पास भएका छन् । नेपालमा पटक–पटक एसएलसी फेल भएको विद्यार्थीले भारतबाट उच्च अंक ल्याउनु आफैंमा आश्चर्य छ । त्यसपछि ऊ नेपालमा आईएस्सी भर्ना हुन्छ तर पास गर्न सक्दैन । त्यसपछि ऊ भारतको कुनै कलेज जान्छ र आईएस्सीमा उच्च अंक प्राप्त गर्छ । अनि त्यही एसएलसी र आईएस्सीको उच्च अंक देखाएर सरकारको सुविधामा डाक्टर पढ्न विदेश जान्छ । अचम्म छ, उसले त्यहाँ एमबीबीएस पास गर्छ तर नेपालको मेडिकल काउन्सिलले परीक्षा लिँदा ऊ फेल हुन्छ । अब कल्पना गर्नुहोस्, नक्कली सर्टिफिकेट ल्याएर उसले बिरामीको जीवनसँग मात्र खेलबाड गरिरहेको छैन, सरकारी सुविधामा डाक्टर पनि पढेको छ । जसले दु:ख गरेर पढेको थियो, एसएलसी र आईएस्सीमा ऊभन्दा थोरै अंक पाएको थियो त्यस्तो प्रतिभाशाली विद्यार्थी डाक्टर पढ्न बञ्चित भयो तर पढ्दै नपढी नक्कली सर्टिफिकेटको भरमा एउटा मान्छे डाक्टर भयो । कतिपयले सरकारी सुविधामा एमडीसमेत गरेका छन् । 

यति ठूलो अपराध कसरी सम्भव भयो ?

मैले माथि नै भनेँ, राज्य भनेको केही होइन, यहाँ जे गरे पनि चल्छ भन्ने मानसिकताले जरो गाडेको छ । त्यसैको परिणाम चिकित्सकजस्तो सम्मानित पेसामा समेत यस्तो विकृति छिरेको हो । अब कल्पना गर्नुहोस्, विश्वका चर्चित विश्वविद्यालयमा पढेरै पास गर्नुपर्ने चिकित्सा पेसाको अवस्था त यस्तो छ भने सामान्य पढाइ भए पुग्ने अन्य क्षेत्रको अवस्था कस्तो होला ?

अन्य कुन–कुन क्षेत्रमा नक्कली प्रमाणपत्रधारी हुन सक्छन् ?

एक दर्जन पाइलटका सर्टिफिकेट नक्कली भएको कुरा थाहा भैसकेको छ । सम्भवत: यो अन्तर्वार्ता प्रकाशित हुन्जेलसम्म उनीहरू पनि पक्राउ पर्लान् । दुई–चार सय इन्जिनियर पनि पक्राउ पर्ने सूचीमा छन् । अझै २–४ सय डाक्टर पक्राउ पर्दैछन् । जब डाक्टर, इन्जिनियर र पाइलटको स्थिति यस्तो छ भने तपाईंले कुन पेसामा नक्कली सर्टिफिकेटधारी पाउनु हुन्न ? धेरै वकिल–पत्रकार आदिका सर्टिफिकेट नक्कली छन् भनेर ढुक्क हुनुहोस् । हामीले धेरैको नाममा छानबिन गरिरहेका छौं । 

यस्ता नक्कली प्रमाणपत्रधारीहरू सरकारी सेवामा छैनन् ?

अख्तियारले समाउने डरका कारण हुनसक्छ, डाक्टर, इन्जिनियर र पाइलटको लिस्टमा सरकारी जागिरेहरू अहिलेसम्म भेटिएका छैनन् । भएकाहरूले जागिर छाडिसकेका होलान्, तर निजी क्षेत्रमा काम गर्दा थाहा हुँदैन र यसलाई अपराध पनि मानिँदैन भनेर काम गरिरहेका हुन सक्छन् । नक्कली सर्टिफिकेट देखाएर त्यही आधारमा काम गर्नु अपराध हो । त्यस्ता व्यक्ति उम्कन पाउँदैनन् । 

तपाईंले २० वर्ष यही क्षेत्रमा काम गर्नुभयो । केही महिनापछि रिटायर्ड हुँदै हुनुहुन्छ ? कस्तो लागिरहेको छ ?

जुन बेला नेपालमा प्लस टु संस्कृतिको विकास भयो, संयोगले मैले त्यही बेलादेखि यो क्षेत्रमा काम गर्नर्े मौका पाएँ । आज प्लस टु शिक्षाले जुन उचाइ प्राप्त गर्‍यो, नीति–निर्माणको तहमा रहेका कारण यसमा मेरो पनि केही योगदान छ भन्ने लाग्छ । आज प्लस टु फेजआउट गरेर यसलाई विद्यालयीय शिक्षामा लगिँदैछ, यसको सम्पूर्ण जिम्मेवारी पनि मेरो अध्यक्षतामा सम्पन्न हुँदैछ । यसरी देशको शिक्षामै महत्वपूर्ण काम हुने बेलामा मैले सेवा गर्ने अवसर प्राप्त गरेँ । यस्तो मौका सबैले पाउँदैनन् । यसमा मलाई निकै गौरव लागेको छ । 

प्रकाशित :असार १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्