क्यानाडामा बस्ने नेपालीको कथा

- नरेन्द्र रौले

असार १, २०७३

विश्वकै दोस्रो ठूलो देश हो, क्यानाडा । पूर्वी क्यानाडाको न्युफाउन्डल्यान्डदेखि ब्रिटिस कोलम्बियासम्म फैलिएको क्यानाडामा नेपालीहरू विभिन्न पेसा वा व्यवसायमा संलग्न छन् । ओन्टेरियो, अलबर्टा र ब्रिटिस कोलम्बियामा नेपालीहरूको बाक्लो बसोबास छ । त्यसबाहेक क्युबेकको मन्ट्रियल, सास्काचुवेन तथा मनिटवामा पनि नेपालीहरूको बसोबास छ ।

स्थायी बसोबासको अनुमति लिएर क्यानाडा पुग्ने नेपालीहरूको संख्या बढिरहेको छ । शैक्षिक योग्यता, दक्षता, अनुभव, अंग्रेजी भाषामाथिको पकड, वैवाहिक स्थिति तथा उमेरका आधारमा प्रदान गरिने अंकका आधारमा क्यानाडामा स्थायी बसोबासको अनुमति पत्र पाइन्छ । निश्चित समयपछि त्यहाँको नियमअनुसार नागरिकतासमेत प्रदान गरिन्छ । 

पाँचखाल नगरपालिका, काभ्रेका माधव गजुरेललाई संसारकै सबैभन्दा सुन्दर देश क्यानाडा लाग्यो । सन् २०१३ मा क्यानाडा पुगेका गजुरेललाई सुरुका वर्ष केही असहज लागे पनि बिस्तारै बानी पर्दै गयो । ‘मेरा लागि यहाँ सबै कुरा नयाँ थियो,’ उनले भने– ‘एक ठाउँबाट अर्को ठाउँ पुग्नै २४ घण्टा लाग्ने । यहाँको विकास, प्रविधि हेर्दा हामी त २ सय वर्षपछाडि परेजस्तो लाग्यो ।’ गजुरेल त्यहाँको यातायात उद्योगमा रोजगारी गरिरहेका छन् । टोरन्टोको चमत्कारिक विकास, डिजिटल प्रणाली, कडा अनुशासन र सबैलाई दिइने समान अवसरले उनी प्रभाबित छन् । क्परदेश पुगेपछि दोस्रो दर्जाको नागरिक भएकोमा कता–कता नमीठो पनि लाग्छ । बेलाबेला आफू को हँु र आफ्नो पहिचान के हो भन्ने लागिरहन्छ । आफ्नो जन्मभूमिबाट टाढा हुँदा घर तथा देशको मायाले बिछट्टै सताउँछ । 

विगत ५ वर्षदेखि क्यानाडाको टोरन्टोमा बसोबास गरिरहेका ओखलढुंगाका अशोक खड्काका अनुसार क्यानाडा झन्डै २०/२२ हजार नेपालीको कर्मथलो हो । तिनैमध्येका एक हुन्— हलवार–७, लामिदमार, दाङका एनबी टन्डन । उनी क्यानाडा बसेको ११ वर्ष भयो । क्यानाडाको ओन्टारियोमा बसोबास गरिरहेका एनबीले नेपालमा रहँदा १३ वर्ष काठमाडौंस्थित क्यानेडियन राजदूताबासमा काम गरे । यहाँ राजदूतावासमा रहँदा लामो अनुभव बटुलेपछि उनलाई क्यानाडा नै जान मन लाग्यो । सुरुवातका दिनमा त्यहाँ घुलमिल हुन कठिन भए पनि यतिबेला टण्डन अभ्यस्त भैसकेका छन् । ‘क्यानाडा अवसरको भूमि हो ।’ टन्डन भन्छन्— ‘यहाँ पढ्न, बस्न तथा काम गर्न सहज छ ।’ फ्रेन्च र अंग्रेजी भाषा कुनै एउटा भाषामा दक्षता छ भने काम प्राप्त गर्न अझ सजिलो हुन्छ । 

जुन सोच लिएर टन्डन क्यानाडा पुगे त्यसमा सफल भएकोमा उनलाई गर्व लाग्छ । टन्डन नेपालको पर्यटन प्रवद्र्धन अर्थात् त्यसको प्रचार–प्रसारमा पनि क्रियाशील छन्, तर यो काममा अमेरिका र क्यानाडाका राजदूतबाट सहयोग नपाउँदा भने उनको मन दुखेको छ । टन्डन एनआरएन क्यानाडामा पर्यटन संयोजकका रूपमा पनि सक्रिय छन् । उत्तर अमेरिकाका ४८ तथा क्यानाडाका १० वटा राज्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि उनले अभियान नै चलाएका छन् । ‘यो ठूलो उपलब्धि हो ।’ उनले भने । ‘अरूले पैसा कमाउँछन् तर म नेपाललाई चिनाउँछु ।’ 

क्यानाडा आउन चाहनेहरूलाई नेपालमै सीप सिकेर आउन सुझाव दिन्छन् उनी । इलेक्ट्रोनिक्स, प्लम्बिङ, वाइल्डिङ तथा ड्राइभिङका लागि त्यहाँ रोजगारीको प्रशस्त अवसर छ । व्यापार गर्न चाहनेहरूलाई पनि पर्याप्त अवसर र सुरक्षाको वातावरण छ । त्यस्तो अवस्थामा सरकारले सहयोग गर्छ ।

विशेष गरी नर्सिङ, इन्जिनियरिङ, आइटी, विज्ञान, होटल व्यवस्थापन तथा टुरिज्म आदि विषय पढ्न विद्यार्थीहरू क्यानाडा रोज्न थालेका छन् । अध्ययनसँगै पीआरसमेत पाइने सम्भावना भएकाले क्यानाडा धेरैको रोजाइमा पर्ने गरेको छ । कर तिरेपछि नागरिकका न्यूनतम आधारभूत आवश्यकता खाना, बसोबास, शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिन्छ । 

नेपाली कला, संस्कृति र भाषाको जगेर्ना गर्न नेपालीहरूले विभिन्न संस्थामार्फत विभिन्न कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय नर्सिङ पढ्नेहरूको संख्या बढ्दैछ । नेपालमा स्नातकोत्तर पूरा गरेका पुरुषहरू पनि यहाँको स्कुलिङ सकेर नर्सिङ पढिरहेका भेटिन्छन् । केही नेपाली यहाँको सरकारी सेवामा पनि संलग्न छन् । प्राविधिक शिक्षामा राम्रो दख्खल हुनेहरूले छिटो काम पाउँछन् । मेडिकल रेडियसन टेक्नोलोजिस्ट तथा मेडिकल ल्याब टेक्नोलोजीमा काम पाउनेहरूको संख्या तुलनात्मक रूपले बढी छ ।

व्यवहारिक तथा जीवनोपयोगी शिक्षा

 यम घिमिरे

क्यानाडाका अनुभव र भोगाइ अपार छन् । हप्ताको ५ दिन काम गरेपछि बाँकी आफ्नो धुनमा चल्न पाइन्छ । राज्यलाई कर तिर्नु अनिवार्य छ । कर तिरेपछि नागरिकको जीवनको जिम्मा राज्यले लिन्छ । अन्यत्र जस्तो यहाँका विश्वविद्यालय र कलेजहरू सहज छैनन् । राज्य लगानीका कलेज तथा विश्वविद्यालयहरूमै जनताको विश्वास र भरोसा बढी भएकाले यहाँ प्राइभेट स्कुल कलेजको प्रभाव र उपस्थिति कम छ । युनिभर्सिटी प्राइभेट वा पब्लिक जे भए पनि एकेडेमिक एक्सिलेन्सीलाई नै जोड दिन्छन् । गुणस्तरमा कुनै सम्झौता हुँदैन ।

यहाँ जे विषय पढेको हो, त्यो क्षेत्रमा गएर धेरै रिसर्च पेपर र प्रोजेक्ट वर्कका असाइनमेन्टको बोझले कहिल्यै छोड्दैन । पढाउने तरिकालाई व्यवहारिक पक्षसँग जोडेर पढाएपछि सिकाइ दिगो, अर्थपूर्ण र जीवनउपयोगी हुँदो रहेछ । यहाँ नेपालमा जस्तो एउटा परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण विद्यार्थीको क्षमता परीक्षण गरेर पास वा फेल गराउने भन्ने हुँदैन । पढाउने प्राध्यापक नै परीक्षा नियन्त्रक वा कार्यालय हुन् भने हुन्छ । व्यक्तिगत चिनजानका आधारमा प्राध्यापकले पास, फेल गराउने भन्ने हुँदैन । शिक्षकलाई साथीजस्तो त बनाउन सकिन्छ, तर व्यवसायिक कर्म र धर्ममा एक इन्च तलमाथि हुँदैन ।

क्यानाडा आउन सीधै सरकारलाई आवेदन दिनुपर्छ र पर्याप्त जाँचबुझ गरेर मात्र भिसा दिने–नदिने निर्णय लिइन्छ । अस्ट्रेलिया, युरोपतिर र अमेरिकामा जस्तो विधि पूरा गरेर नेपाली विद्यार्थी क्यानाडा आउँदैनन् । त्यसको कारण यहाँका युनिभर्सिटीमा भर्ना पाउनै गार्‍हो हुनु नै हो । अर्को कुरा, सूचनामा पहुँच नहुनु पनि हो । 

पढ्नका लागि मात्र क्यानाडा आउनेलाई गार्‍हो छ । चर्को ट्युसन फी, खानेबस्ने खर्च जुटाउन काम गर्नुपर्ने बाध्यता छ । नेपालमा ‘क्यानाडामा वर्किङ भिसा सजिलै’ भन्ने नारामा ठगी हुन्छ । त्यसको पछि नलागे हुन्छ । अध्ययन वा अन्य जुनसुकै भिसामा पनि आवेदन दिन कुनै कन्सल्टेन्सी वा एजेन्सीलाई पैसा ख्वाउन आवश्यक छैन ।  

विश्वविद्यालयको पढाइ

 विश्वम्भर घिमिरे

आप्रवासी नेपालीहरूका लागि क्यानाडामा स्थापित हुनु फलामको चिउरा चपाउनुसरह छ । एमए तथा पीएचडी गर्न निकै संघर्ष गर्नुपर्छ । नेपाली शिक्षालाई आफ्नो शिक्षासरह मान्यता नदिनु, नेपालमा पढाइ हुने कुनै पनि युनिभर्सिटीमा अंग्रेजी माध्यममा पढाइ हुन्छ भनी प्रमाणित नगर्नाले यहाँका विश्वविद्यालयहरूमा भर्ना पाउन निकै गार्‍हो छ । 

वर्षमा एकपटक परीक्षा हुने अनि लब्धाङ्क न्यून हुने जस्ता कुराले गर्दा राम्रा विद्यार्थीहरू पनि यहाका विश्वविद्यालयमा पढ्नबाट वञ्चित छन् । म हाल क्यानाडाको टोरोन्टोस्थित रायर्सन युनिभर्सिटीमा पब्लिक पोलिसी विषय अध्यनरत छु । यहाँको पढाइको तरिका, गति तथा व्यावहारिकता हेर्दा अचम्म लाग्छ । उनीहरूले बजारको मागअनुसार विद्यार्थी उत्पादन गर्नेदेखि लिएर त्यही अनुसार स्तरीयताको ग्यारेन्टी पनि गर्छन् । अध्ययन सकेपश्चात् कोही बेरोजगार रहँदैनन् । दैनिकजसो हुने असाइन्मेन्ंट तथा अन्य प्रिजेन्टेसनको तयारीले गर्दा जीवनमा कहिलेकाहीं नैराश्यता पनि छाउँछ । क्यानेडियन विश्वविद्यालयहरूले स्नातक तहमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षण गर्न खोजेको पाइन्छ तर नेपालीहरूका लागि क्यानाडाको शिक्षा त्यति आकर्षण बन्नसकेको छैन । स्नातक तहको अध्ययन शुल्क चर्को छ । विद्यार्थीहरूले हप्तामा जम्मा २० घण्टा मात्र काम गर्न पाउने अनुमति पाउँछन् । खानबस्न पनि गार्‍हो हुन्छ । 

अन्तर्राष्ट्रिय विद्यार्थीले चारवर्षे स्नातक पूरा गर्न युनिभर्सिटी शुल्क मात्र लगभग १ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । यद्यपि स्नातकोत्तर तथा पीएचडी गर्न सम्पूर्ण खर्चको बन्दोबस्त विश्वविद्यालयहरूले नै गर्छन् । उच्च शिक्षा हासिल गर्न यहा प्रशस्त विश्वविद्यालय पनि छैनन् । विभिन्न कारणले गर्दा जोकोहीले सहज रूपमा पढ्न पाउँदैनन् । उत्तर अमेरिकी युनिभर्सिटीहरू विश्वप्रतिस्पर्धामा अग्रस्थानमा छन् । त्यसैले त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षण बढ्नु स्वाभाविक हो । शिक्षाका साथसाथै यहाँको शासन पद्धति, व्यवहार, रहनसहन, बोलीबचन, वेशभूषा तथा सम्बृद्ध संस्कार विश्वमै उत्कृष्ट छ । यसबाट जो–कोही प्रभावित नहुने कुरै भएन । हाम्रो जस्तो देश अथवा हामी नेपालीहरूले यस्ता कुराहरूबाट पाठ सिक्नु जरुरी छ ।

प्रकाशित :असार १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्